शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी स्पेसल : घटे चिनियाँ पर्यटक

नेपाल आउने पर्यटक सङ्ख्यामा चीनलाई उछिन्दै अमेरिका

बिहीबार, १९ असार २०८२, १० : ५८
बिहीबार, १९ असार २०८२

सारांश

  • कोभिड-१९ पछि नेपाली पर्यटन क्षेत्रमा अमेरिकी पर्यटकको संख्या बढेको छ, जबकि चीनबाट आउने घटेको छ।
  • सन् २०२४ को तथ्यांक अनुसार, भारतबाट सबैभन्दा धेरै पर्यटक आएका छन्, र अमेरिका दोस्रो स्थानमा छ, चीन तेस्रो स्थानमा झरेको छ।
  • सरकारले पर्यटन क्षेत्रको सुधारका लागि विभिन्न पहल गरिरहेको छ, जसमा पूर्वाधार विकास र अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन समावेश छ।

काठमाडौँ । नेपालको पर्यटन क्षेत्रले कोभिड–१९ महामारीपछि पुनः जुर्मुराउन थालेको छ । 

नेपाल पर्यटन बोर्डले मंगलबार सार्वजनिक गरेको सन् २०२५ को तथ्यांकअनुसार जुन महिनामा अमेरिकी पर्यटकको सङ्ख्यामा उत्साहजनक वृद्धि देखिएको छ । तर कुनै समय पर्यटकीय आगमनमा दोस्रो स्थानमा रहेको चीन भने खस्किएको छ । 

अर्थात् यी दुई देशका पर्यटकको उतार–चढावले नेपाली पर्यटन व्यवसायीहरूलाई आशा पनि थपिएको छ र चिन्ता पनि । 

बोर्डले सार्वजनिक गरेको तथ्याङ्कमा जुन महिनामा नेपालको पर्यटनमा छिमेकी मुलुक भारतकै वर्चस्व छ । जुनमा मात्रै भारतबाट ३२ हजार ६ सय ६२ जना पर्यटक नेपाल भित्रिएका छन्, यसले नेपालको पर्यटन बजारमा भारतको निकै महत्त्वपूर्ण हिस्सा रहेको फेरि पनि देखाउँछ । 

तथ्याङ्कको दोस्रो स्थानमा संयुक्त राज्य अमेरिका आएको छ, जहाँबाट जुनमा मात्र ९ हजार ६ सय ९६ पर्यटकले नेपाल भ्रमण गरेका छन् । कुनै समय दोस्रो स्थानमा रहेको चीन भने ६ हजार ७ सय ३६ पर्यटकसहित तेस्रो स्थानमा खुम्चिएको छ । 

यसै गरी चौथोमा बङ्गलादेश (५ हजार ४४९) र पाँचौँ स्थानमा बेलायत (२ हजार २८४) रहेका छन् ।

यो तथ्याङ्कले चिनियाँ बजारबाट आशा गरेका नेपालका पर्यटन व्यवसायीहरूलाई भने चिन्तित तुल्याएको छ । कोभिड महामारीको प्रभाव कम भएसँगै चिनियाँ पर्यटकहरू नेपालमा बढ्ने अपेक्षा गरिएको थियो । तर वास्तविकता भने उल्टिएको देखिन्छ । सन् २०१९ अघिसम्म भारतीयपछि नेपालमा सबैभन्दा धेरै पर्यटक चीनबाटै आउने गरेका थिए । तर त्यो स्थानमा अहिले अमेरिका उक्लिएको हो । 

June-2025

  • कोभिडअघि चिनियाँकै बाहुल्य

सन् २०१४ यताको तथ्याङ्क हेर्दा कोभिड–१९ महामारीअघि नेपालमा चिनियाँ पर्यटकको आधिपत्य नै थियो । सन् २०१४ मा भारतपछि सबैभन्दा धेरै अर्थात् एक लाख २३ हजार ८ सय ५ चिनियाँ पर्यटक नेपाल आएका थिए । यो सङ्ख्या भनेको भनेको त्यस वर्ष नेपाल आएका कुल पर्यटकको १५.७ प्रतिशत हो । 

त्यतिवेला पहिलो स्थानमा रहेको भारतबाट एक लाख ३५ हजार पर्यटक आएका थिए, जसको हिस्सा १७.१ प्रतिशत थियो । तेस्रो स्थानमा रहेको अमेरिकाबाट भने जम्मा ४९ हजार ८३० अर्थात् ६.३ प्रतिशत पर्यटक मात्र आएका थिए, जहाँ चीन र अमेरिकाबिच ठुलो अन्तर देखाउँछ । 

नेपालमा सन् २०१५ (२०७२ साल) मा विनाशकारी भूकम्प आयो । तर त्यस समयमा पनि नेपालमा चिनियाँ पर्यटकको कमी थिएन । त्यसवेला पनि ६४ हजार ६ सय ७५ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरे, जसले कुल पर्यटकको १२ प्रतिशत हिस्सा ओगटेको थियो । यसले के देखाउँछ भने, नेपालप्रतिको चिनियाँ आकर्षण बढी नै थियो । त्यस वर्ष भारतबाट ७५ हजार र अमेरिकाबाट ५३ हजार आएका थिए । 

त्यसपछिका वर्षहरू पनि चिनियाँ पर्यटक बढ्दै गए । सन् २०१६ मा एक लाख ४ हजार ५ चिनियाँ पर्यटक नेपाल आए । जसले कुल पर्यटक आगमनको १३.८१ प्रतिशत हिस्सा बन्यो ।

सन् २०१७ मा यो सङ्ख्या एक लाख ४ हजार ६६४ (११.१ प्रतिशत) पुग्यो भने २०१८ मा चिनियाँ पर्यटकको सङ्ख्यामा ठुलो उछाल आएको थियो । त्यस वर्ष १ लाख ५३ हजार ६०२ चिनियाँ पर्यटक नेपाल भित्रिएका थिए अर्थात् कुल हिस्सा बढेर १३.१ प्रतिशत पुगेको थियो । यो अवधिमा अमेरिकी पर्यटकको सङ्ख्या पनि क्रमशः बढेको थियो । तर चिनियाँजति पुगेन ।  

सन् २०१९ नेपालको पर्यटनमा चिनियाँ बजार एक महत्त्वपूर्ण वर्ष थियो । त्यस वर्ष हालसम्मकै सबैभन्दा धेरै १ लाख ६९ हजार ५४३ चिनियाँ पर्यटक नेपाल आएका थिए । जुन त्यस वर्षको कुल पर्यटकको १४.२ प्रतिशत हिस्सा थियो । 

त्यतिवेला भारतबाट २ लाख ५४ हजार १५० (२१.२ प्रतिशत) पर्यटक आएका थिए भने तेस्रो स्थानमा रहेको अमेरिकाबाट ९३ हजार २१८ (७.८ प्रतिशत) पर्यटक आएका थिए ।

  • कोभिडपछि भने चिनियाँ झरे, अमेरिका उकालो लाग्यो

सन् २०१९ सम्म उत्साहजनक रूपमा भित्रिएका चिनियाँ नागरिक कोभिड–१९ को महामारीपछि भने एकाएक घट्न थाले । महामारीपछि विश्वभरि जनजीवन सामान्य बन्दै गए पनि नेपालमा चिनियाँ पर्यटक घटे । चिनियाँ पर्यटकको नेपाल आगमनले पुरानो लय समात्न सकेन । र चीन नेपाल आउने पर्यटकको सङ्ख्यामा तेस्रो स्थानमा खुम्चियो । 

तर यसको ठीकविपरीत अमेरिकी पर्यटकको आगमन छ । कुल पर्यटन हिस्सामा अमेरिका अघि बढ्दै गएको छ ।

सन् २०२० मा चीनबाट जम्मा १९ हजार २५७ (८.४ प्रतिशत) पर्यटक आउँदा अमेरिकाबाट १७ हजार ७६७ (७.७ प्रतिशत) पर्यटक आएका थिए । तर सन् २०२१ मा  भारतबाट आउने पर्यटकको हिस्सा ४२ प्रतिशत हुँदा चीनबाट जम्मा ४ प्रतिशत आए । जबकि अमेरिकी पर्यटकको हिस्सा बढेर १५ प्रतिशत पुग्यो । 

सन् २०२२ मा पनि लगभगत यस्तै थियो आँकडा । भारतबाट आउने पर्यटकको हिस्सा ३४ प्रतिशत पुग्दा चीनको हिस्सा घटेर १.५६ प्रतिशतमा झर्‍यो, जुन हालसम्मकै सबैभन्दा कमजोर हो । तर उता अमेरिकी पर्यटकको हिस्सा भने १२.५४ प्रतिशत थियो । 

नेपाली पर्यटन व्यवसायीहरूले सन् २०२३ पछि चिनियाँ पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि हुने अपेक्षा गरे पनि त्यो पूरा हुन सकेन । सन् २०२३ मा चीनबाट जम्मा ६० हजार ८ सय ७८ (६ प्रतिशत) पर्यटक आए, जबकि यही वर्ष अमेरिकाबाट एक लाख ३ सय अर्थात् ९.८९ प्रतिशत पर्यटक भित्रिए । 

अर्थात् अमेरिकीले नेपाली पर्यटन बजारमा चीनलाई उछिन्यो ।

सन् २०२४ को जुनसम्मको तथ्याङ्कले पनि यस्तै भन्छ । जहाँ अमेरिकाबाट आउने पर्यटकको हिस्सा (९.६९ प्रतिशत) चीनको भन्दा (८.८८ प्रतिशत) बढी देखिएको छ । 

  • के छ सरकारको पहल र भावी योजना ?

पर्यटक आगमनको यो तथ्यांकबिच सरकारले पर्यटन क्षेत्रको सुधारका लागि निरन्तर काम गरिरहेको दाबी गरेको छ । बुधबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डले यससम्बन्धी आफ्ना गतिविधिबारे जानकारी गराएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पर्यटन बोर्डले गरिरहेका प्रवर्द्धनात्मक कार्यहरूको प्रशंसा गर्दै मन्त्रालय नीतिगत र संरचनागत सुधारमा केन्द्रित रहेको बताए । बुधबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नेपालले पर्यटन क्षेत्रमा सुधार गरिरहेको उनको दाबी थियो । 

निजी क्षेत्रलाई विश्वासमा लिएर मात्र पर्यटनमा लगानी बढाउन सकिने उनले त्यहाँ बताए । भने, ‘पर्यटन बोर्डको माध्यमबाट निजी क्षेत्रलाई सहजीकरण गर्ने र उनीहरूको आत्मविश्वास बढाउने काममा हामी लागिरहेका छौँ ।’

यसै गरी नेपाल पर्यटन बोर्डले पर्यटन प्रवद्र्धनका लागि विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा सक्रियता बढाएको जनाएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीका अनुसार बोर्डले अमेरिका, युरोप, चीन, भारत, बङ्गलादेश, दक्षिण–पूर्व एसिया र मध्यपूर्वका विभिन्न सहरहरूमा गरी २५ वटा अन्तर्राष्ट्रिय पर्यटन मेलामा सहभागिता जनाएको छ । 

ती मेलामा ३ सय ३३ भन्दा बढी नेपाली पर्यटन कम्पनीहरू कम्पनीहरूले आफ्ना उत्पादन र सेवाहरूको प्रवर्द्धन गरेका थिए । साथै विदेशस्थित नेपाली दूतावासहरूसँगको सहकार्यमा १५ वटा गन्तव्य प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको र जसले नेपालको दिगो पर्यटन विकासमा कूटनीतिक नियोगहरूको भूमिकालाई थप प्रभावकारी बनाएको बोर्डको दाबी छ । 

  • पूर्वाधार सुधार 

पर्यटन विकासका लागि पूर्वाधार सुधार पहिलो सर्त हो । सीईओ जोशीले ’पर्यटन सडक पूर्वाधार आयोजना’अन्तर्गत काठमाडौँ–पोखरा, नारायणघाट–बुटवल, धुलिखेल–रामेछाप, रसुवा–केरुङ, र बुटवल–पाल्पा–पोखरा जस्ता महत्त्वपूर्ण पर्यटकीय मार्गहरूको स्तरोन्नति आवश्यक रहेको औँल्याएका छन् । जोशीले डिजिटल मार्केटिङसम्बन्धी तालिमहरू पनि सञ्चालन गरिएको बताए । 

त्यस्तै हवाई सेवा सुधारमा पनि बोर्डले विशेष जोड दिएको छ । सीधा अन्तर्राष्ट्रिय उडान विस्तार, हेलिकोप्टर सञ्चालनमा सहजता, गौतमबुद्ध तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अधिकतम उपयोग, र साहसिक हवाई खेलकुदको प्रवर्द्धनजस्ता लक्ष्यहरू बोर्डले लिएको छ । यी सुधारहरूले पर्यटकको यात्रालाई सहज बनाउनुका साथै नेपाल बसाइलाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ ।

  • २५ लाख पर्यटक, १४ लाखलाई रोजगारी

यी सबै प्रयासहरूमार्फत पर्यटन बोर्डले अर्को महत्त्वाकाङ्क्षी दीर्घकालीन योजना अघि सारेको जनाएको छ । आगामी वर्षहरूमा नेपालमा वार्षिक २५ लाख अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउने, १४ लाख रोजगारी सिर्जना गर्ने र अढाई खर्ब रुपैयाँ बराबरको पर्यटन आम्दानी गर्ने लक्ष्य राखिएको हो । 

यो लक्ष्य हासिल गर्न स्रोत बजारको विविधीकरण, पूर्वाधार विकास र गुणस्तरीय सेवा प्रवाहमा एकीकृत प्रयास आवश्यक देखिन्छ । चिनियाँ बजारको गिरावटलाई सम्बोधन गर्दै अमेरिकी तथा अन्य नयाँ बजारहरूमा प्रभावकारी पहुँच बनाउनु नै नेपालको पर्यटन क्षेत्रको अबको प्रमुख चुनौती र अवसर हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमृत चिमरिया
अमृत चिमरिया
लेखकबाट थप