‘चिनियाँको चाहनाअनुसार मार्केटिङ नहुँदा उनीहरू अन्तै गए’
सारांश
- कोभिडपछि नेपालमा चिनियाँ पर्यटकको संख्या घटेको छ, तर अन्य देशको तुलनामा यो कम छ।
- कमजोर पूर्वाधार र मार्केटिङ शैलीका कारण चिनियाँ पर्यटक नेपाल आउन कम भएको विश्लेषण छ।
- चिनियाँ पर्यटकलाई आकर्षित गर्न पूर्वाधार सुधार, डिजिटल मार्केटिङ र नयाँ पर्यटकीय प्याकेज आवश्यक छ।
कोभिड–१९ महामारीभन्दा अगाडि नेपालको पर्यटन क्षेत्रमा चिनियाँ पर्यटकको सङ्ख्या भारतीय पर्यटकपछि सबैभन्दा बढी थियो । कोभिडपछिको बदलिएको विश्वव्यापी परिवेशमा नेपालले पर्यटक आगमनमा क्रमशः सुधार गरिरहँदा चिनियाँ बजार भने अपेक्षित रूपमा सुधार भएको छैन । तथ्याङ्कअनुसार कुनै वेला दोस्रो स्थानमा रहेको चीनबाट आउने पर्यटकको सङ्ख्या हाल अमेरिकाबाट आउनेको भन्दा पनि कम देखिन्छ ।
यसको कारण के हो ? के यो चीनको आन्तरिक आर्थिक अवस्थाको प्रभाव हो वा नेपालको आफ्नै तयारीमा कमजोरी ? पूर्वाधार, मार्केटिङ रणनीति र बदलिँदो विश्वव्यापी प्रतिस्पर्धामा नेपाल कहाँ उभिएको छ ? चीनको सामाजिक र आर्थिक विषयबारे जानकार डा. कल्याणराज शर्मासँग रातोपाटीका अमृत चिमरियाले गरेको कुराकानीको सम्पादित अंशः
- कोभिड–१९ अघि भारतपछि चीन नेपालका लागि दोस्रो ठुलो पर्यटक स्रोत बजार थियो । तर अहिले तथ्याङ्कमा यो अमेरिकाभन्दा पनि पछि देखिन्छ, किन यस्तो अवस्था आयो ?
पहिलो कुरा, तथ्याङ्कलाई अलिकति केलाएर हेर्नुपर्छ । अहिले जुन अमेरिका, बेलायत वा अस्ट्रेलियाबाट आउने पर्यटकको सङ्ख्या बढी देखिएको छ, त्यसमा विशुद्ध पर्यटक मात्र छैनन् । धेरैजसो गैरआवासीय नेपाली (एनआरएन) हरू पनि छन्, जो पारिवारिक भेटघाट वा अन्य कामले नेपाल आउने गर्छन् । हाम्रो तथ्याङ्क प्रणालीले उनीहरूलाई पनि पर्यटककै रूपमा गणना गर्छ । त्यसैले, विशुद्ध छुट्टी मनाउन आउने पर्यटकको हिसाबले हेर्दा चित्र अलि फरक हुन सक्छ भन्ने मलाई लाग्छ ।
तर, यसो भन्दैमा चिनियाँ पर्यटकको सङ्ख्यामा कमी नआएको भने होइन । चिनियाँ पर्यटकको सङ्ख्या घटेको कुरा सत्य हो । यसका मुख्यतः दुई वटा कारण देख्छु । पहिलो, हाम्रो फितलो र परम्परागत मार्केटिङ शैली, र दोस्रो, यहाँको कमजोर पूर्वाधार, जसले पर्यटकको अनुभवलाई नराम्रो बनाइदिएको छ ।
‘वर्ड अफ माउथ’ मार्केटिङ नै नकारात्मक भएपछि नयाँ पर्यटक आकर्षित हुँदैनन् । पोखराको बाटो, लुम्बिनीको बाटो, चितवनको बाटो— यी हाम्रा प्रमुख पर्यटकीय जीवनरेखा (लाइफलाइन) हुन्, तर यिनै अस्तव्यस्त छन् ।
- यी कमजोरीहरू कसरी र के–केमा भए ?
पूर्वाधारको असर सबैभन्दा बढी देखिन्छ । उदाहरणका लागि, एक चिनियाँ पर्यटक ७–१० दिनको छोटो छुट्टी लिएर नेपाल आउँछ । उसको चाहना काठमाडौँ, पोखरा, चितवन र लुम्बिनी घुम्ने हुन्छ । तर यहाँको वास्तविकता के छ भने काठमाडौँबाट पोखराको २०० किलोमिटर यात्रा गर्न कहिलेकाहीँ ८ देखि १० घण्टा लाग्छ । नारायणगढ–मुग्लिन सडकखण्डको अवस्थाले यात्रालाई अनिश्चित बनाइदिन्छ । त्यसैगरी, लुम्बिनी जानुपर्दा १४–१५ घण्टासम्म लाग्न सक्छ । यो अनुभव उनीहरूका लागि निकै दिक्कलाग्दो हुन्छ । उनीहरूले आफ्नो देश वा थाइल्यान्ड, मलेसियाजस्ता अन्य गन्तव्यमा गरेको सहज यात्रासँग यसलाई तुलना गर्छन् । अनि उनीहरूले आफ्ना साथीभाइलाई दिने प्रतिक्रिया (फिडब्याक) अत्यन्तै नकारात्मक हुन्छ ।
उनीहरूले आफ्ना साथीभाइ वा सामाजिक सञ्जालमा ‘नेपाल सुन्दर त छ, तर बाटोको दुःखले सबै सुन्दरता बिर्साइदिन्छ’ भन्ने सन्देश प्रवाह गरेपछि नयाँ पर्यटक कसरी आउँछन् र? ‘वर्ड अफ माउथ’ मार्केटिङ नै नकारात्मक भएपछि नयाँ पर्यटक आकर्षित हुँदैनन् । पोखराको बाटो, लुम्बिनीको बाटो, चितवनको बाटो— यी हाम्रा प्रमुख पर्यटकीय जीवनरेखा (लाइफलाइन) हुन्, तर यिनै अस्तव्यस्त छन् । यो हाम्रो सबैभन्दा ठुलो कमजोरी हो ।
- तपाईंले मार्केटिङको अभावको कुरा पनि उठाउनुभयो । कोभिडपछि बजार विस्तार गर्न नेपाल कहाँ चुक्योजस्तो लाग्छ ?
कोभिडपछि जब विश्वव्यापी पर्यटन खुल्यो, थाइल्यान्ड, जापान, कोरियाजस्ता देशहरूले चिनियाँ बजारलाई आकर्षित गर्न युद्धस्तरमा काम गरे । उनीहरूले ठुला–ठुला प्रवद्र्धनात्मक अभियान चलाए, चिनियाँ ट्राभल एजेन्टहरूलाई आकर्षक प्याकेज दिए, र आफ्नो देशमा पर्यटकलाई स्वागत गर्न विशेष तयारी गरे । तर, हामीले के गर्यौँ ? हामी ‘पर्ख र हेर’ को अवस्थामा बस्यौँ । पर्यटन बोर्डले केही प्रयास त गर्यो, तर त्यो पर्याप्त भएन ।
चीन सरकारले नेपालप्रति सद्भाव देखाउँदै २०२५ लाई ‘भिजिट नेपाल इयर’ का रूपमा मनाउन सहयोग गर्ने घोषणा गर्यो । यो हाम्रा लागि एउटा सुनौलो अवसर थियो । तर त्यो घोषणाको फाइदा उठाउन हामीले कुनै ठुलो र योजनाबद्ध मार्केटिङ अभियान सुरु गरेनौँ । बल्ल अलिअलि काम सुरु भएको छ, तर यतिवेलासम्म अरू देशले बजारको ठुलो हिस्सा लिइसकेका छन् । हाम्रो मार्केटिङ रणनीति परम्परागत मात्र भयो, रचनात्मक र रणनीतिक हुन सकेन ।
- हामीले चिनियाँ पर्यटकलाई लक्षित गरेर डिजिटल प्लेटफर्म प्रयोग गर्न नसकेका हौँ ? उनीहरूले प्रयोग गर्ने सामाजिक सञ्जाल र हाम्रो प्रचार शैलीमा तालमेल नमिलेको हो कि ?
यो एकदमै सही कुरा हो । आजको पर्यटन मोबाइलबाटै चलिरहेको छ, तर हामीले चिनियाँ डिजिटल इकोसिस्टमलाई बुझ्नै सकेका छैनौँ । चीनमा फेसबुक, ट्विटर वा इन्स्टाग्राम चल्दैन । त्यहाँका आफ्नै प्लेटफर्महरू छन्, जसमा हामीले काम गर्न सकेनौँ ।
त्यहाँका ‘ट्राभल ब्लगर’ वा ‘इन्फ्लुएन्सर’सँग सहकार्य गर्नुपर्छ । उनीहरूको भाषा र संस्कृति सुहाउँदो सामग्री बनाएर प्रचार गर्नुपर्छ । हामीले के गरिरहेका छौँ भने, यहाँ बनाएको एउटा सामान्य अङ्ग्रेजी भिडियोलाई सबैतिर पोस्ट गरिदिन्छौँ । त्यसले काम गर्दैन । हामीले चिनियाँ पर्यटकको रुचि के हो, उनीहरू कस्तो अनुभव खोज्छन्, र कुन प्लेटफर्ममा सक्रिय छन् भन्नेबारे विस्तृत बजार अध्ययन गर्नैपर्छ । त्यसैअनुसार हाम्रो डिजिटल प्रवर्द्धनलाई अनुकूलित गर्नुपर्छ । जबसम्म हामी यो सूक्ष्मस्तरको (माइक्रो–लेभल) मार्केटिङमा जाँदैनौँ, हाम्रो सन्देश सही ठाउँमा पुग्दैन ।
हाम्रो नेपाल एयरलाइन्स चीनका प्रमुख सहरहरूमा नियमित छैन । हामी चिनियाँ एयरलाइन्समा निर्भर छौँ । कोभिडअघिको तुलनामा अहिले उडानहरूको सङ्ख्या पनि कम छ ।
- केहीले कोभिडपछिको चिनियाँ अर्थतन्त्रमा आएको समस्याले उनीहरूको भ्रमणमा कमी आएको तर्क गर्छन् । के त्यस्तो होला त ?
चिनियाँ अर्थतन्त्रमा केही सुस्तता आएको कुरा सत्य हो, तर त्यसले नेपाल आउने पर्यटकको सङ्ख्यामा प्रत्यक्ष र ठुलो असर पारेको हो जस्तो मलाई लाग्दैन । यदि आर्थिक अवस्था नै प्रमुख कारण हुन्थ्यो भने उनीहरू संसारका अन्य देशमा पनि जाँदैनथे होला । तर वास्तविकता के छ भने, चिनियाँ पर्यटकहरू ठुलो सङ्ख्यामा थाइल्यान्ड, भियतनाम, युरोप र अन्य गन्तव्यमा गइरहेका छन् । यसले उनीहरूसँग घुम्नका लागि पैसा नभएको होइन भन्ने त स्पष्ट पार्छ नि ! कुरा के हो भने उनीहरूको प्राथमिकतामा नेपाल नपरेको हो ।
- हवाई कनेक्टिभिटीको अवस्था कस्तो छ ? यसले पनि प्रभाव पारेको हो र ?
हो, पारेको छ । हाम्रो नेपाल एयरलाइन्स चीनका प्रमुख सहरहरूमा नियमित छैन । हामी चिनियाँ एयरलाइन्समा निर्भर छौँ । कोभिडअघिको तुलनामा अहिले उडानहरूको सङ्ख्या पनि कम छ । केरुङ नाकाबाट स्थलमार्ग हुँदै आउने पर्यटकको सङ्ख्या पनि राम्रो थियो, तर त्यो बाटोको अवस्था पनि भरपर्दो छैन । जबसम्म हामीले हवाई र स्थलमार्ग दुवैबाट सहज, भरपर्दो र प्रतिस्पर्धी मूल्यमा पहुँच सुनिश्चित गर्न सक्दैनौँ, पर्यटकको सङ्ख्या बढाउन गाह्रो हुन्छ ।
- त्यसोभए अबको बाटो के हो ? चिनियाँ पर्यटकलाई पुनः आकर्षित गर्न नेपाल सरकार, पर्यटन बोर्ड र निजी क्षेत्रले तत्काल के–कस्ता कदम चाल्नुपर्ला ?
पहिलो, पूर्वाधारमा तत्काल सुधार गर्नुपर्छ । सरकारले काठमाडौँ–पोखरा, काठमाडौँ–चितवनजस्ता प्रमुख पर्यटकीय राजमार्गलाई तुरुन्तै सुधार गर्नुपर्छ । दोस्रो, डिजिटल मार्केटिङ हो । पर्यटन बोर्ड र निजी क्षेत्र मिलेर चीनकेन्द्रित डिजिटल मार्केटिङ रणनीति बनाउनुपर्छ । चिनियाँ सहरहरूसँग हवाई पहुँच बढाउन पहल गर्नुपर्छ ।
साथै अब हामीले केवल हिमाल र मन्दिर मात्र बेचेर हुँदैन । चिनियाँ पर्यटकको रुचिअनुसार नयाँ अनुभव दिने खालका प्याकेज ल्याउनुपर्छ । जस्तैः वेलनेस टुरिजम, कल्चरल इमर्सन, लक्जरी टुरिजम आदिलाई प्रवद्र्धन गर्नुपर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कलाकार लुकाएर छायांकन सकेको ‘बाः एक योद्धा’ले सार्वजनिक गर्यो कलाकार
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण