वैदेशिक रोजगारबाट फर्केर केरा खेतीमा जमेका भण्डारी
सारांश
- कैलालीका पुष्पराज भण्डारीले व्यावसायिक केरा खेती सुरु गरेका छन्, र उनले वार्षिक १५ लाखको कारोबार गर्छन्।
- भण्डारीले कोरोना महामारीको समयमा विदेशबाट फर्केपछि केरा खेती सुरु गरे, र अहिले उनले परिवारको खर्च धान्दै आएका छन्।
- भण्डारीले सरकारले अनुदान र मलखादको सहयोग गरे केरा खेतीको विकासमा थप मद्दत पुग्ने बताए।
कैलाली। धनगढी उपमहानगरपालिका–१४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक केरा खेती गर्दै आएका छन् । उनले भण्डारी बहुउद्देश्य कृषि फार्म दर्ता गरी विगत छ वर्षदेखि व्यवसाय गर्दै आएका हुन् ।
सोह्र वर्षको कलिलै उमेरमा वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका भण्डारी २० वर्षसम्म वैदेशिक रोजगार गरी घर फर्किएपछि केरा खेतीमा लागेका हुन् । उनले कोराना महामारी फैलिएपछि भएको ‘लकडाउन’ कै बिचमा व्यवसाय सुरु गरेका हुन् । “विदेशबाट फर्केपछि फुर्सदमा घर बसिरहेको थिए, त्यति बेला नेपालसहित सारा विश्व नै कोभिड–१९ को महामारीमा थियो । उक्त समयमा बजारमा अर्को व्यापार सुरु गर्ने अवस्था थिएन”, भण्डारीले भने, “गाउँमा केही व्यक्तिले केरा खेती व्यवसाय गरेका थिए, त्यो देखेर मैले पनि अब केरा खेती नै गर्नुपर्छ भन्ने व्यवसाय सुरु गरेको हुँ ।”
उनले आफ्नो एक बिघा जमिनमा केरा खेती गरेका छन् । त्यसबाट वार्षिक रु १५ लाख बराबर केराको कारोबार हुने र रु १० लाख जति फाइदा हुने गरेको भण्डारीले सुनाए । उनले उत्पादित केरा बिक्रीका लागि धनगढी र नजिकैको स्थानीय बजारमा बिक्री गर्ने गरेको बताए ।
कृषक भण्डारीको परिवारमा आमा, श्रीमती, छोराछोरी गरी पाँच जना छन् । उनले परिवारको लालनपालन, छोराछोरीको शिक्षादीक्षालगायत सम्पूर्ण खर्च सोही व्यवसायबाट धान्दै आएका छन् ।
हिजोआज धेरैजसो व्यक्तिहरू कमाउनका लागि विदेश पलायन भइरहेका बेला भण्डारी भने विदेशको मोह त्यागेर आफ्नो ठाउँ र परिवारसँगै बसेर व्यवसाय गरिरहेका छन् । “गर्न जान्यो भने आफ्नै देशमा पनि केही हुन्छ भन्ने उदाहरण दिइरहेको छु । पाँच जनाको परिवारको खर्च यसैबाट टरेको छ”, उनले भने, “सबैभन्दा ठुलो कुरा आफ्नै देशमा घरपरिवार, समाज र साथीभाइसँगै बसेर रमाउन र कमाउन पाइएको छ । यो नै खुसीको कुरा हो ।”
भण्डारीको बसोबास क्षेत्र अर्थात् वडा नं १४ मा हिजोआज १० जना जति कृषकले केरा खेती गरिरहेका छन् । यसको विकास र बिस्तारका लागि सरकारले अनुदानका साथै समयमै मलखाद र बीउ बिजन सहुलियत मूल्यमा उपलब्ध गराई दिए धेरै सहज हुने उनको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण