सानेपाको दृश्य : शेखर भर्सेस विनोद, मोहन भर्सेस गगन
सारांश
- नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा नेताहरूबीच आरोप प्रत्यारोप चलिरहेको छ।
- डा. शेखर कोइराला र विनोद चौधरीबीचको विवाद र गगन थापा र मोहन बस्नेतबीचको घोचपेच बैठकमा चर्चाको विषय बनेको छ।
- विभिन्न नेताहरूले एक अर्कालाई कारबाहीको माग गर्दै आ-आफ्नो धारणा राखिरहेका छन्।
काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक गत सोमबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ ।
बैठककै पहिलो दिन महामन्त्री गगन थापाले छलफलका लागि १३ एजेन्डा प्रस्तुत गरेका थिए । तिनै एजेन्डामा नेताहरूले धारणा राख्ने क्रम जारी छ । नेताहरूले धारणा राख्ने क्रममा एकले अर्कालाई आरोप–प्रत्यारोप गरिरहेका छन् ।
ती आरोप–प्रत्यारोपमध्ये डा. शेखर कोइराला र विनोद चौधरीबिचको आरोप–प्रत्यारोप र महामन्त्री गगन थापा र मोहनबहादुर बस्नेतबिचको घोचपेच चर्चामा छ ।
बैठकको पहिलो दिन नेता डा. कोइरालाले लिखित धारणा राखेका थिए । उनको धारणाको बुँदा नम्बर ६ मा उद्योगपति विनोद चौधरीबारे उल्लेख थियो ।
डा. कोइरालाले भनेका थिए, ‘विनोद चौधरीको केन्द्रीय सदस्य बन्ने योग्यता थियो कि थिएन ? त्यो हेरियो ? क्रियाशीलको १० वर्षे अवधि पुग्थ्यो ? सभापतिज्यूलाई स्मरण होला, पहिलो पटक गिरिजाप्रसाद कोइरालासँग उहाँ सभापतिमा प्रतिस्पर्धा गर्दै हुनुहुन्थ्यो । उक्त महाधिवेशनमा सुजाता कोइरालाले केन्द्रीय सदस्य लड्ने इच्छा व्यक्त गर्नुभयो । १० वर्ष नपुगेकाले गिरिजाबाबुले सुजातालाई उम्मेदवार बन्न दिनुभएन ।’
बैठकमै केन्द्रीय सदस्य चौधरीले डा. कोइरालालाई जबाफ फर्काएका छन् । डा. शेखर बोलेको एक दिनपछि चौधरीले केन्द्रीय समिति बैठकमै भने, ‘उहाँले हिजो प्रश्न उठाउनु भयो कि विनोद चौधरीजस्तो मान्छेलाई चार वर्ष अगाडि नीति नियम मिचेर केन्द्रीय समितिमा ल्याउनु गलत निर्णय थियो । मेरो पहिलो प्रश्न– पहिलो त म उहाँलाई जानकारी गराउन चाहन्छु कि त्यो सारा विधि कुराहरू पार्टीको नियम, अर्को पार्टीबाट आएको पृष्ठभूमि, त्यसको कानुनी परिप्रेक्ष्य पार्टीको कानुन विभागले गरेको त्यसको विश्लेषण र त्यसपछिको निर्णय, अदालतले समेत गरेको निर्णय अनुसार भएको हो ।’
चौधरीले बैठकमै आफूलाई प्रतिनिधि सभा निर्वाचनको वेलामा हराउन डा.शेखरले मान्छे खटाएको आरोप लगाउँदै भने, ‘घरघर गएर यो पार्टीको आधिकारिक उम्मेदवारको विरोधमा हृदयेश त्रिपाठीका लागि ठाउँ ठाउँमा बुथबुथमा मान्छे राखिकन यस पार्टीका शीर्षस्थ नेताहरूलाई तथानाम गाली गरिकन हराउनका लागि हर प्रयास गर्ने लुम्बिनी प्रदेशको महामन्त्रीको पदमा आसीन भएर बस्ने मान्छेलाई बोकेर हिँड्ने नेताले यो पार्टीलाई हाँक्ने हो भोलिको दिन ?’
चौधरीले सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै शेखरले गुटको राजनीतिमा सीमा नाघेको आरोप लगाए । उनले शेखरमाथि कारबाहीको माग गर्दै भने, ‘म सभापतिलाई फेरि पनि आग्रह गर्न चाहन्छु– गुटको राजनीतिको पनि एउटा सीमा हुन्छ । यो अहिलेको कारबाहीमात्र होइन, यसपछि पनि सधैँ नै यस्ता किसिमका गतिविधिमा संलग्न हुने, पार्टीलाई नोक्सान पुर्याउने, पार्टीका आधिकारिक उम्मेदवारलाई नोक्सान पुर्याउने, आफ्ना जिम्मेवारीलाई पूरा अगाडि नबढाउने, त्यस्ताका खिलाफमा उजुरीमात्रै हैन, तत्काल कारबाही गर्ने वातावरण बनाउन सक्नुपर्दछ ।’
दुई नेताको आरोप–प्रत्यारोपबारे आ–आफ्नो पक्षका नेताले बचाउने र अर्कालाई खुइल्याउने क्रम चलिरहेको छ ।
केन्द्रीय समितिको बिहीबारको बैठकमा शेखर र विनोदको आरोप प्रत्यारोपबारे दिनेश कोइरालाले धारणा राखे । दिनेशले दुई नेताबिचको विवादमा भने, ‘विनोद चौधरीका बारेमा शेखर कोइरालाले एउटा प्रश्न उठाउनुभयो, जबाफमा विनोदले आठ वटा प्रश्न उठाउनुभयो । शेखर कोइरालालाई सङ्कीर्ण पनि भन्नुभयो । शेखर कोइराला, शेरबहादुर देउवा लगायत हाम्रो पार्टीका नेताहरू सङ्कीर्ण हुनुहुन्थ्यो भने उहाँ अन्तरिक्षबाट टपक्क ओर्लिएर केन्द्रीय सदस्य बन्न पाउनुहुन्नथ्यो । कांग्रेसका कार्यकर्ता सङ्कीर्ण थिए भने उहाँ त्यति राम्रो मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित नै बन्नुहुन्नथ्यो । शेखर कोइराला सङ्कीर्ण व्यक्ति हो भने उहाँले पार्टी सभापति पदमा कसरी ४० प्रतिशत मत ल्याउनुभयो ? उहाँलाई मत दिने सबै सङ्कीर्ण हुन् ? याद राख्नुहोस्, शेखर कोइराला पार्टी सभापति पदका निकटतम प्रतिस्पर्धी हो ।’
कांग्रेसभित्र चुनावमा पराजित हुनेलाई समाप्त पार्ने चलन छैन बरु उच्च कदर गरिने उनको आशय थियो । चुनावमा शेरबहादुर देउवालाई शेखर कोइरालाले हराउन औपचारिक प्रयास गरे पनि शेरबहादुरले जितेको उनले बताए ।
चौधरीले डा. शेखरप्रति गरेको आलोचनाको विरोधमा केन्द्रीय समिति बैठक बाहिर कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की, कांग्रेसका पूर्वकेन्द्रीय सदस्य गुरुराज घिमिरेसहितकाले सामाजिक सञ्जालमा लेख्ने र सञ्चारमाध्यमहरूमा अन्तर्वार्ता दिइरहेका छन् ।
महामन्त्री गगन थापा र केन्द्रीय सदस्य मोहन बस्नेतबिच पनि केन्द्रीय समिति बैठकमा विवाद देखियो । बस्नेतले केन्द्रीय समितिको बुधबार बसेको बैठकमा महामन्त्री थापा आफ्नोविरुद्धमा रहेको भन्दै सचेत रहन चेतावनी दिए ।
बस्नेतले महामन्त्री थापाले टेरामक्स प्रकरणमा आफूविरुद्ध संसद्मा बढी बोल्ने गरेको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग आफ्नो विरुद्धमा लाग्नुमा उनको भूमिका रहेको दाबी गरे ।
‘महामन्त्री गगनजी, तपाईं सबै नेतालाई समाउन लगाउनुस् । भ्रष्टाचारको मुद्दामा एउटाले अर्कोलाई सकाउनका लागि नेपाल पाकिस्तानको मोडलमा गएको छ । समय लाग्ला, कोही पनि सग्लो देखिने छैनन्,’ बस्नेतले भने ।
बस्नेतलाई महामन्त्री थापाले जबाफ फर्काइसकेका छन् । महामन्त्री थापाले फोहोर चलाएर आफू फोहोरी नबन्ने बताए । थापाले गम्भीर अराजनीतिक, अशिष्ट र अमर्यादित आरोपलाई खण्डन गर्दै फोहोरी बन्न नचाहेको उनको भनाइ थियो ।
‘फोहोर चलाएर म फोहोरी बन्न चाहन्नँ,’ थापाले भने । थापाले ती आरोपलाई ‘राजनीतिको तह र सभ्यताको सीमा नाघ्ने’ भन्दै जबाफ फर्काएका हुन् ।
थापाले सभापति शेरबहादुर देउवालाई प्रत्यक्ष सम्बोधन गर्दै आफ्नो अनुपस्थितिमा केन्द्रीय समितिको बैठकमा धम्कीपूर्ण भाषा र अभद्र व्यवहार देखाउने प्रवृत्तिको आलोचनासमेत गरे ।
बस्नेतको विरोधमा र महामन्त्री थापाको समर्थनमा केन्द्रीय समितिको बिहीबारको बैठकमा अजयबाबु सिवाकोटीले धारणा राखे । सिवाकोटीले भने, ‘तपाईं (देउवा)कै सामुन्ने बुधबार केन्द्रीय सदस्य मोहन बस्नेतले जुन किसिमले हिंसात्मक अभिव्यक्ति दिनुभएको छ, के त्यसलाई हामीले टुलुटुलु सहेर बस्नुपर्ने हो ? ठुला तीघ्रा र पाखुरा देखाएकै भरमा राजनीतिमा रहेका दुब्ला पातला मानिस पलायन हुनुपर्ने हो ? के हामीले पार्टीलाई मल्लयुद्धको मैदान बनाउन खोजिरहेका हौँ ?’
बैठकमा केन्द्रीय सदस्य नागिना यादवले बस्नेतमाथि अन्याय भएको भन्दै समर्थन गर्न भ्याइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मगर खाम भाषामा पठनपाठन सुरु गर्दै रघुगङ्गा
-
विदेशमा पढेर आएका अधिकांश चिकित्सक लाइसेन्स परीक्षामा किन अनुत्तीर्ण ?
-
अन्नपूर्ण पदमार्गमा बृहत् सरसफाइ
-
अत्यावश्यक बाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
-
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण