‘होमस्टे’ मार्फत पर्यटक आकर्षित गर्दै ह्याङ्जाकोट
सारांश
- कास्कीको ह्याङ्जाकोट होमस्टेमा पर्यटकको आकर्षण बढ्दो छ, जहाँ स्थानीय संस्कृति र प्राकृतिक सुन्दरताको अनुभव गर्न सकिन्छ।
- होमस्टे विसं २०६४ मा सुरु भएको थियो र २०७२ मा उत्कृष्ट गाउँ पर्यटन गन्तव्य घोषित भएको थियो, जसले यसको महत्त्व बढाएको छ।
- बसाइँसराइको समस्याका कारण होमस्टे सञ्चालनमा केही चुनौतीहरू छन्, तर स्थानीय व्यवसायीहरूले पर्यटनको विकासका लागि प्रयास गरिरहेका छन्।
कास्की । बर्खायाम सुरु भएको अनुभूति हुने गरी झ्याइझ्याइ कीराको आवाज । भरखरै रोपिएको धानखेतका आलीको माथिल्लो भागसम्म टिलपिल्लै पानी । आँखै अगाडि सेताम्मे हिमाल, दक्षिणतर्फ पोखरा बजारको दृश्यसँगै वरपर हरियाली जङ्गल । त्यहाँ पुग्ने जो कोहीको मन आनन्दित नहुने त कुरै भएन ।
हिमालको चिसो हावाले शरीर नै सितलो बनाउने । त्यसैमा यहाँको शान्त वातावरण, थप मनमोहक छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ स्थित पर्यटकीय गाउँ ह्याङ्जाकोट सामुदायिक ‘होमस्टे’ (घरबास) का विशेषता हुन् यी । त्यसमा यहाँ पुग्ने स्वदेशी तथा विदेशी पाहुनाको स्वागतमा पञ्चेबाजासहित फूलमाला लिएर पर बाटैसम्म पुग्ने सञ्चालक र गाउँवासीहरूको शैली थप हेर्न लायक हुन्छ ।
पोखरा महानगरपालिका–१ को सिमपानीदेखि हेम्जाको याम्दी, मिलनचोक, मेलबोट हुँदै माछापुच्छ्रे«े गाउँपालिकाको धितालबाट तीन किलोमिटर अगाडि बढेपछि ह्याङ्जाकोट पुग्न सकिन्छ । पोखराको सिमपानीबाट १८ किमी दूरीमा रहेको यस ठाउँमा अधिकांश गुरुङ समुदायको बसोबास छ । ५० घर रहेको बस्तीका १२ घरमा ८० जना पाहुना अट्ने गरी होमस्टे सञ्चालनमा छ ।
विसं २०६४ बाट सञ्चालनमा ल्याइएको उक्त सामुदायिक होमस्टे विसं २०७२ मा पर्यटन मन्त्रालयद्वारा उत्कृष्ट गाउँ पर्यटन गन्तव्य घोषित भएको थियो । त्यसपछि यहाँको महत्त्व थप बढेको छ ।
ह्याङजाकोटबाट कुमारी माछापुच्छ्रे« सहित अन्नपूर्ण, लमजुङलगायत हिमाल मात्र हैन, छिमेकी गाउँ ल्वाङको चियाबारी समेत यहाँबाट सजिलै दृश्यावलोकन गर्न सकिन्छ । गाउँबाट माछाको पुच्छर आकारको माछापुच्छ्रे« नजिकै देखिनुका साथै यो गाउँ ‘माछापुच्छ्रे मोडल ट्रेक’मा पर्ने भएकाले पर्यटकीय मौसममा विदेशी पर्यटकको भीड लाग्ने गर्छ ।
होमस्टेका अध्यक्ष ईश्वर गुरुङ आन्तरिकले पर्यटक ढिँडो, लोकल कुखुरा, रक्सीलगायत खाना मन पराउनुको साथै साँझ सांस्कृतिक कार्यक्रममा खुसी मानेर नाच्ने गरेको सुनाउँछन् । उनका अनुसार यहाँका समग्रमा रु एक हजार मूल्य पर्ने ‘प्याकेज’ बनाइएको छ । त्यसमा स्वागत सत्कार, स्थानीय रूपमा उत्पादित रैथाने बाली कोदो, गाउँमै उत्पादन भएको साग, आलु, लोकल कुखुरा, खाजा, रात्रिको खान, एक रातको बासलगायत सुविधा छन् ।
स्थानीय पर्यटन व्यवसायी हर्क गुरुङले गाउँमा पर्यटक बढेसँगै ठूला होटलहरू निर्माण हुने क्रमसमेत बढ्दै गएको बताए । ह्याङ्जाकोटदेखि तीन किमी पूर्वको धिताल गाउँमा अर्बौँ खर्चेर दुई होटल निर्माण हुन लागेका उजले बताए । “ह्याङ्जाकोटले होमस्टेको विकास गर्दै अगाडि बढ्न खोजेको छ, । यसले खुसी नै दिएको छ, तर तीन सय वर्ष पुरानो इतिहास बोकेको यस गाउँका अधिकांश परिवार पोखरा तथा काठमाडाैँमा बसाइँ सर्दा गाउँ नै खाली हुने चिन्ता छ”, गुरुङले भने ।
ह्याङ्जाकोट सामुदायिक होमस्टे १० नं का सञ्चालक सुन्दर गुरुङले वर्षातको समयमा पर्यटक आवागमन केही कम भए पनि अन्य मौसममा भने भरिभराउ हुने गरेको बताए । गाउँमा पानी, बत्ती र सञ्चारको सुविधा पुगेकाले हाल पर्यटक आनन्दसँग बस्ने गरेको उनले बताए ।
होमस्टे सञ्चालक कुमार गुरुङले सुरुमा २० घरमा सञ्चालन गरिएको घरबास कार्यक्रम अधिकांश परिवार बसाइँ सरेर गएका कारण हाल १२ घरमा सीमित हुन पुगेको जानकारी दिए । उनले भने, “रमणीय गाउँ भए पनि यहाँबाट बसाइँ सरेर जाने क्रम रोकिएको छैन । यसलाई रोक्न सके गाउँको रौनकै अर्को हुन्थ्यो ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाउँपालिकाले एक वर्षदेखि तलब नदिएको भन्दै ३९ सामुदायिक विद्यालयमा पठनपाठन ठप्प
-
दक्षिण कोरियाले उत्तर कोरियासँगको सीमावर्ती नागरिक नियन्त्रण क्षेत्र घटाउने
-
एक महिनामै रौतहट प्रहरीले बरामद गर्यो १ करोड ४३ लाखभन्दा बढीको अवैध सामान
-
इतिहास रच्ने दाउमा कीर्तिमानी क्रिस्टियानो
-
रास्वपाले सार्वजनिक गर्यो महाधिवेशनको आधिकारिक लोगो
-
मकवानपुरका ४० भन्दा बढी औषधी पसल बन्द गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण