बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

एक महिनामै रौतहट प्रहरीले बरामद गर्‍यो १ करोड ४३ लाखभन्दा बढीको अवैध सामान

बुधबार, ०३ असार २०८३, ११ : ४४
बुधबार, ०३ असार २०८३

सारांश

  • रौतहट प्रहरीले एक महिनामा १ करोड ४३ लाखभन्दा बढीको अवैध सामान बरामद गरेको छ।
  • जेठ महिनाभर सञ्चालन गरिएको विशेष निगरानी तथा कारबाहीका क्रममा प्रहरीले तस्करीमा संलग्न एक व्यक्तिलाई पक्राउ गरी तीनवटा सवारीसाधन नियन्त्रणमा लिएको छ।
  • यस अवधिमा प्रहरीले विभिन्न प्रकृतिका ११९ मुद्दा दर्ता गरी ६५४ ठाडो उजुरीमध्ये ५३७ वटा फर्छ्योट गरेको छ भने १७० फरार प्रतिवादी पक्राउ गरी ३४ लाखभन्दा बढी जरिवाना असुल गरेको छ।

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरी युनिटहरूले पछिल्लो एक महिनामा १ करोड ४३ लाख ५८ हजार ९८५ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सिताराम रिजालका अनुसार जेठ महिनाभर सञ्चालन गरिएको विशेष निगरानी तथा कारबाहीका क्रममा उक्त परिमाणको अवैध सामान बरामद गरिएको हो। बरामद सामान आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) बसन्त गौतमद्वारा जारी प्रेस विज्ञप्तिमा तस्करीमा संलग्न एक जना व्यक्तिलाई पक्राउ गरिएको छ भने तीनवटा सवारीसाधन नियन्त्रणमा लिइएको उल्लेख छ।

प्रहरीका अनुसार जेठ महिनामा जिल्लामा विभिन्न प्रकृतिका ११९ वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये ज्यानसम्बन्धी १३, आत्महत्यासम्बन्धी २६, चोरीका २, संगठित तथा आर्थिक अपराधका ३०, सामाजिक अपराधका १७, महिला तथा बालबालिकासम्बन्धी १२, सवारी ज्यानका ५ तथा अन्य १४ वटा मुद्दा रहेका छन्।

यस्तै जघन्य तथा गम्भीर अपराधअन्तर्गत कर्तव्य ज्यान १, हातहतियार १, बैंकिङ कसुर २४, हुण्डी १ तथा ठगीका ५ गरी कुल ३२ वटा मुद्दा दर्ता भएका छन्।

सोही अवधिमा जिल्ला प्रहरी कार्यालयमा ६५४ वटा ठाडो उजुरी दर्ता भएकामा ५३७ वटा फर्छ्योट गरिएको छ भने ११७ वटा उजुरी प्रक्रियामा रहेका छन्।

फैसला कार्यान्वयनतर्फ १७० जना फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ परेकामध्ये १० वर्ष ७ महिना १९ दिन बराबरको कैद असुल भएको छ भने ३४ लाख ७३ हजार १२० रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी १६० वटा उजुरी प्राप्त भएका छन्। घरेलु हिंसासम्बन्धी ४२ वटा उजुरी परेकामा ४३ वटा फर्छ्योट गरिएको र ८ वटा घटनाको अनुसन्धान जारी रहेको जनाइएको छ।

लागुऔषध नियन्त्रणतर्फ तीन वटा मुद्दा दर्ता गरी चार जनालाई पक्राउ गरिएको छ। प्रहरीले १८९ किलो ५५ ग्राम गाँजा तथा ६ ग्राम ३६० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ।

अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी सात वटा मुद्दा फर्छ्योट गरिएको छ। यस क्रममा पीडितलाई २६ लाख ८५ हजार रुपैयाँ नगद तथा ७ कठ्ठा १५ धुर जग्गा फिर्ता गराइएको प्रहरीले जनाएको छ।

ट्राफिक कारबाहीतर्फ नियमविपरीत सञ्चालन भएका १ हजार ५९ सवारीसाधनमाथि कारबाही गरी ९ लाख ६१ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ। उक्त अवधिमा जिल्लामा ८२ वटा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको तथा १२२ जना घाइते भएका छन्।

वन क्षेत्रबाट अवैध रूपमा कटान गरी ल्याइएको ४० क्युबिक फिट सालको काठ बरामद गरी १ लाख ७ हजार रुपैयाँ राजस्व संकलन गरिएको प्रहरीले जनाएको छ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न स्थानमा ९२ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ, जसबाट १ हजार ७१५ जना लाभान्वित भएका छन्। साथै १४ वटा विद्यालयमा कार्यक्रम सञ्चालन गरी ६७५ जना विद्यार्थीलाई सहभागी गराइएको विज्ञप्तिमा उल्लेख छ।

नियमित सुरक्षा व्यवस्थाअन्तर्गत प्रहरीले जेठ महिनामा ५८१ वटा मोबाइल गस्ती, ४७१ वटा पैदल गस्ती, १ हजार वटा ग्रामीण गस्ती लगायत कुल ६ हजार १२० वटा विभिन्न सुरक्षा गस्ती सञ्चालन गरेको जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप