माधवलाई झलनाथले सम्झाए नैतिकता, झाँक्रीमाथि कारबाहीको विपक्षमा
सारांश
- नेकपा एस पार्टीले माधव नेपालबारे अख्तियारको मुद्दामा ठोस निर्णय लिन सकेन।
- पार्टीभित्र राजीनामाको आवाज उठे पनि बहुमत सदस्य विपक्षमा उभिएपछि निर्णय हुन सकेन।
- झलनाथ खनालले मुद्दा पार्टीको नभई व्यक्तिगत भएको र नेपाल आफैँले लड्नुपर्ने बताए।
काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीले पतञ्जली जग्गा खरिदबिक्री प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मुद्दा खेपिरहेका आफ्ना अध्यक्ष माधवकुमार नेपालबारे ठोस निर्णय लिन सकेन ।
मंगलबार सकिएको सचिवालय बैठकले अध्यक्ष नेपालबारे ठोस निर्णय नगरेको उपाध्यक्ष प्रकाश ज्वालाले जानकारी दिए ।
‘अध्यक्षबारे कुनै ठोस निर्णय भएको छैन’, उपाध्यक्ष ज्वालाले भने, ‘बैठकमा सदस्यहरूले आ–आफ्ना भनाइ राख्नुभयो । त्यो स्वाभाविक प्रक्रिया हो ।’
भ्रष्टाचार मुद्दा लागेपछि माधव नेपालले अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने आवाजसमेत पार्टीभित्र उठेको थियो । तर सचिवालयका बहुसङ्ख्यक सदस्य विपक्षमा उभिएपछि त्यसबारे पार्टीले ठोस निर्णय गर्न नसकेको हो ।
षड्यन्त्रपूर्ण र राजनीतिक प्रतिशोधका आधारमा अध्यक्ष नेपालमाथि मुद्दा चलाएको आरोप नेकपा एकीकृत समाजवादी पार्टीले लगाउँदै आएको छ । यही आरोपका बाबजुद पार्टीले नेपालमाथि लागेको मुद्दामा प्रभावकारी ढंगले प्रमाणसहित कानुनी लडाइँ लड्न सक्नुपर्नेमा अधिकांश नेता एकमत देखिएका छन् ।
तर पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले अध्यक्ष नेपालमाथि लागेको मुद्दा पार्टीलाई नभई व्यक्तिगत रूपमा लागेको भन्दै यस्तो खालको मुद्दामा व्यक्ति स्वयंले लड्नुपर्ने बताएका छन् ।
आइतबार सचिवालय बैठकमा आफ्नो धारणा राखेर सोही दिन चीन भ्रमणमा निस्किएका खनालले मुद्दा लड्ने क्रममा आवश्यक कानुनविद् र वकिलहरूको समन्वय भने पार्टीले गर्न सक्नुपर्ने बताएका थिए ।
‘कमरेड माधवकुमार नेपाल विशेष अदालत समक्ष सम्पूर्ण कुरा प्रस्ट प्रस्तुत गर्न सक्षम व्यक्ति हुनुहुन्छ । उहाँले भनिसक्नुभएको छ– नबिराउनु नडराउनु । त्यही कुरालाई हामी पनि विश्वास गर्दछौँ’, नेता खनालले बैठकमा राखेको भनाइ उद्धृत गर्दै एक सचिवालय सदस्यले भने ।
ती सदस्यका अनुसार खनालले बैठकमा पतञ्जली सम्बन्धी सम्पूर्ण कुराहरू कानुनी रूपले प्रतिवादीका पक्षबाट अध्यक्ष नेपालले सशक्त रूपले प्रतिवाद गर्ने र आफूलाई निर्दोष साबित गर्नेमा विश्वास व्यक्त गरेका थिए ।
त्यसक्रममा उनले पतञ्जली सम्बन्धी मुद्दा अदालतमा पुगिसकेकाले पक्ष विपक्षमा नेताहरूले मिडियामा गएर बोल्नुभन्दा अदालतलाई सम्मान गर्दै कानुनी रूपमा बलियो ढङ्गले उभिनुपर्नेमा जोड दिएका थिए ।
‘त्यहाँबाट दुधको दुध, पानीको पानी । यथार्थ कुरा आउनेछ र सम्मानित अदालतबाट यथाशीघ्र निष्कर्ष निकाल्ने वातावरण बनाउने काम गर्नुपर्छ’, खनालका भनाइ उद्धृत गर्दै ती सदस्यले भने ।
नेता खनालले अध्यक्ष नेपालमाथि मुद्दा लागेसँगै नैतिकताको प्रश्न उठ्न पुगेको समेत बताएका छन् । घुमाउरो भाषामा खनालले अध्यक्ष नेपाललाई राजीनामा दिन सुझाव दिएका छन् ।
‘कमरेड माधवकुमार नेपाल अहिले पार्टी अध्यक्ष हुनुहुन्छ । उहाँ पार्टी अध्यक्षमा भइरहँदा विभिन्न मिडियादेखि चारैतिर नैतिकताका प्रश्न आइरहेका छन्’, खनालले बैठकमा भनेका छन्, ‘नैतिकताका प्रश्नहरूले कमरेड माधवकुमार नेपालको मनोविज्ञानमा पनि असर पार्छ । मिडियामा प्रचार हुन्छ र सम्मानित अदालतलाई पनि नकारात्मक असर पर्न सक्छ । त्यसैले आफूलाई स्वतन्त्र राखेर कानुनी प्रतिवादमा पूर्ण रूपले उतार्नु उपयुक्त हुन्छ ।’
अध्यक्ष नेपालले त्यसो गर्दा उहाँ आफैँलाई पनि मानसिक रूपले उच्च मनोबल दिने र कानुनी प्रतिवादको तयारीमा लाग्न पनि समय पुग्ने खनालको सुझाव छ ।
अध्यक्ष पदबाट नेपालले राजीनामा दिएको खण्डमा अदालतलाई पनि निष्पक्ष भएर सहयोग गरेको अनुभूति हुनुका साथै पार्टीका सबै नेता कार्यकर्ता र समर्थकहरूको मनोबललाई पनि उच्च बनाउने खनालको निष्कर्ष छ ।
खनालले बैठकमा भने, ‘यो सम्पूर्ण कुराहरू सोच्नुपर्ने र निर्णय गर्नुपर्ने विषय कमरेड माधवकुमार नेपालले नै हो । उहाँको नैतिकता र आत्मनिर्णयको कुरा हो । राजीनामा गर्न वा नगर्न दबाब दिनु आवश्यक पर्दैन ।’
अध्यक्ष नेपाल र नेतृ रामकुमारी झाँक्रीबारे निर्णय गर्न बसेको बैठकले झाँक्रीको हकमा सात दिनभित्र आत्मालोचनासहित आइन्दा यस्तो नबोल्ने प्रतिवद्धता जनाउन निर्देशन दिएको छ । उपाध्यक्ष ज्वालाले झाँक्रीलाई सात दिनभित्र आत्मालोचनासहित आइन्दा यस्तो नगर्ने प्रतिवद्धता जनाउन दिर्नेशन दिएको बताए ।
‘सात दिनभित्र आत्मालोचनासहित आगामी दिनमा यस्तो नगर्ने प्रतिवद्धता जनाउन बैठकले निर्देशन दिएको छ’, ज्वालाले भने ।
यसअघि बैठकमा नेतृ रामकुमारी झाँक्रीका बारेमा अधिकांश नेताले कारबाही गर्नुपर्ने मत राखेका थिए । त्यसक्रममा नेता झलनाथ खनालले पनि आफ्नो धारणा राखेका थिए । ‘लुम्बिनीमा कमरेड रामकुमारी झाँक्रीले बोल्नुभएको विषय को व्यक्तिप्रति लक्षित हो भन्ने कुरा हामीले स्वयं उहाँलाई यहाँ बोलाएर छलफल गर्नुपर्छ’, खनालले बैठकमा भनेका थिए, ‘कार्यकर्तालाई सिधै पार्टीबाट निष्कासन गर्ने काम गर्नु हुँदैन ।’
असार १४ गते लुम्बिनीमा भएको एक कार्यक्रममा नेतृ झाँक्रीले ‘अर्ली महाधिवेशन’ गरेर अध्यक्ष परिवर्तन गर्नुपर्ने भन्दै मरेको सिनो काँधमा बोकेर पार्टी नबन्ने बताएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण