केरा गाउँ ‘बाँस्टारी’
स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ५ बाँस्टारीका अधिकांश कृषकले केराखेती गरेका छन् । बाँस्टारीका ३५ घरमध्ये अधिकांशले व्यावसायिक र केहीले घरायसी प्रयोजनका लागि बारीमा केरा लगाएका छन् ।
बाँस्टारीमा वि.सं. २०३६ आसपासमा स्थानीय प्रेमनारायण गौडेलले दुई वटा केराका उत्पादन सुरु गरेका थिए । पछि त्यसलाई विस्तार गरेर व्यावसायिक केराखेती थालेका छन् ।
यहाँ धेरैजसोले आफ्नै जग्गा जमिन वा जमिन भाडामा लिएर पनि केराखेती गरिरहेका छन् । कालीगण्डकी नदी किनारमा फैलिएको समथर फाँटमा अवस्थित बाँस्टारी माटो तथा हावापानीका दृष्टिले पनि केराखेतीका लागि उपयुक्त छ ।
करिब ४५ वर्षअघि आफ्नो बुवाले लगाएको केराखेतीलाई पछिल्ला दिनमा विस्तार गर्दै व्यावसायिक रूपमा अगाडि बढाएको कृषक रविलाल गौडेलले बताए । उनले तीन रोपनी क्षेत्रफलमा व्यावसायिक केराखेती गरेका छन् ।
गौडेलले हरिसाल र झापाली मालभोग जातका केराखेती गरेको बताए । गत वर्ष कालीगण्डकी गाउँपालिकाले व्यावसायिक केराखेतीमा जोड दिँदै केराका बेर्ना तथा अन्य सहयोग गरेको पछि आफूलाई थप हौसला मिलेको उनको भनाइ छ ।
“अन्य बालीबाट भन्दा केराखेतीबाट राम्रो आम्दानी लिन सफल भएका हौँ । बिरुवा लगाएको करिब १५ महिनामा उत्पादन लिन सकिन्छ, हाल केरा बिक्रीबाट वार्षिक रु एक लाख आम्दानी भइरहेको छ । आगामी दिनमा पाँच लाखसम्म आम्दानी लिन सकिन्छ भनेर व्यवस्थापनमा लागिरहेको छु”, कृषक गौडेलले भने ।
बाँस्टारीकै चन्द्रकान्त न्यौपानेले व्यावसायिक केराखेती गर्न थालेका १३ वर्ष भयो । उनले हाल नौ रोपनी क्षेत्रफलमा झापाली मालभोग जातको केरा लगाएका छन् ।
तीन रोपनी आफ्नो र ६ रोपनी जग्गा भाडामा लिएर केराखेती गरिरहेको र यसबाट वार्षिक रु दुई लाख आम्दानी गरिरहेको उनले बताए । “यहाँ केरा उत्पादन गर्न सके बजारको कुनै समस्या छैन । केरा खरिदका लागि व्यापारी केराबारीमै आउँछन् । हाल व्यापारीलाई प्रतिदर्जन रु ७०/८० का दरले बिक्री गरिरहेको छु”, न्यौपानेले भने ।
विगतमा मकै, कोदो, सिल्टुमलगायत खाद्यान्न बाली लगाउँदै आएको बारीमा व्यावसायिक केराखेती गरेपछि आम्दानी राम्रो हुँदै गएको कृषकहरूको भनाइ छ । यहाँ धेरैजसोले केराखेती गरेका छन्, तर बेलाबेला गबारो, कोसामा कालाकाला थोप्लाहरु देखिने तथा गुवोमा असिना लागेर उत्पादनमा कमी आउने गरेको छ ।
बाँस्टारीमा सबैगरी करिब १५० रोपनी क्षेत्रफलमा व्यावसायिक रूपमा केराखेती भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण