बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

अध्यक्षमा हराउन भूमिका खेलेका वामदेवलाई माधवको रातो कार्पेट

शुक्रबार, २७ असार २०८२, १६ : ५६
शुक्रबार, २७ असार २०८२

सारांश

  • वामदेव गौतम नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने पक्का भएको छ र साउन २ गते पार्टी एकता घोषणा हुने सहमति भएको छ।
  • गौतम एकीकृत पार्टीमा तेस्रो वरियताको वरिष्ठ नेता रहनेछन् र यसअघि एमाले र एकीकृत समाजवादीसँग एकता प्रयास असफल भएका थिए।
  • गौतमले यसअघि माधव नेपाललाई अध्यक्षमा हराउन भूमिका खेलेका थिए र उनी २०५४ मा एमाले विभाजन गरी नेकपा(माले) गठन गरेका थिए।

काठमाडौँ । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतम अन्ततः नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने निश्चित भएको छ । एमालेका पूर्वउपाध्यक्ष समेत रहेका गौतम र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहितका नेताहरुबिच साउन २ गते शुक्रबार पार्टी एकताको घोषणा गर्ने सहमति भएको हो ।

एकीकृत पार्टीमा गौतम तेस्रो वरियताको वरिष्ठ नेता रहने एकीकृत समाजवादीका उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले बताए ।

‘वामदेव कमरेडलाई सम्मानित नेता झलनाथ खनालपछिको वरिष्ठ नेताको जिम्मेवारी दिने सहमति भएको छ । एकता प्रक्रियामा आउने अन्य नेताहरूको जिम्मेवारी एकता घोषणा सम्ममा टुंगो लगाउँछौँ’, रातोपाटीसँग उनले भने ।

  • यसअघि कसरी भाँडियो एकता ?

राष्ट्रिय राजनीतिमा ढुलमुले र अस्थिर नेताका रूपमा परिचित रहेका गौतम हक्की स्वभावका मानिन्छन् । तत्कालीन एमालेभित्र ५० को दशकसम्म प्रभावशाली नेताको छवि बनाएका गौतमलाई बोलीको खास ठेगान नभएको नेताका रूपमा चिन्नेहरु पनि कम छैनन् ।

केही बर्षयता नेकपा एकता अभियान चलाएका गौतमले एमाले र एकीकृत समाजवादीसँग एकता प्रक्रिया अघि बढाउने पटक पटक प्रयास गर्दै आएका थिए । गत बर्ष २०८१ पुष १५ गतेभित्र एकीकृत समाजवादीसँग पार्टी एकता वा प्रवेश गर्नेगरी अध्यक्ष नेपालसँग सम्वाद अगाडि बढाएपनि त्यसवेला सम्भव भएको थिएन ।

०८१ पुस २ गते बसेको एकीकृत समाजवादीको स्थायी समिति बैठकमा नेपालले गौतमलाई पार्टीमा ल्याउनेबारे छलफल भइरहेको र त्यो छलफल सकारात्मक भएको ब्रिफिङ गरेका थिए । त्यतिबेला पनि गौतमलाई तेस्रो वरियतामा रहनेगरी वरिष्ठ नेताको जिम्मेवारी दिने चर्चा चलेको थियो । त्यसपछि गौतमले एकतालाई मूर्तरुप दिन पुस ९ गते महासचिव डिबी कार्कीको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन पनि गरेका थिए ।

त्यस्तै, एकीकृत समाजवादीबाट नेपालको नेतृत्वमा वरिष्ठ नेता प्रमेश हमाल र बलराम बास्कोटा रहेको तीन सदस्यीय टोली गठन गरिएको थियो । आन्तरिक गृहकार्यपछि पुस १७ गते नेपाल र गौतमबिच एकीकृत समाजवादीको  केन्द्रीय कार्यालय आलोकनगरमा घनिभूत छलफल भएको थियो । नेपालसँगको छलफलबाट उत्साहित हुँदै गौतमले १५ दिनभित्रै पार्टी एकता हुने सञ्चारकर्मीसँग बताएका थिए । एकीकृत समाजवादीका तत्कालीन प्रवक्ता जगन्नाथ खतिवडाले पनि केहि दिनमै एकता सम्पन्न हुने दाबी गरेका थिए । तर, गौतमले दाबी गरेको १५ दिन पूरा नहुँदै पार्टी एकतामा ‘ब्रेक’ लाग्न पुगेको थियो ।

395ea290-02e2-487a-b785-3383668f56b5

नाटकीय ढंगले पूर्वनिर्णयबाट पछि हटेका गौतमले त्यसैवेला एमालेमा प्रवेश गर्न लागेको सूचना चुहाए । माघ ३ गते नेपालसँग भएको छलफलमा १२ भन्दा बढी नेतालाई केन्द्रीय समिति सदस्य बनाउनुपर्ने गौतमको प्रस्ताव अस्वीकार भएपछि एकता भाँडिएको एकीकृत समाजवादीका नेताहरुले त्यसैबेला बताएका थिए ।

त्यतिबेला कार्कीसहित गौतम र उनका पत्नी तुलसा थापालाई केन्द्रीय सदस्य  बनाउन नेपाल तयार थिए । एकीकृत समाजवादीमा प्रवेश गर्ने योजना असफल भएपछि गौतमले माघ ४ गते प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी ओलीसँग भेटावर्ता गरे । ओलीसँगको भेटमा आफू एमाले फर्किन तयार भएको गौतमले बताएका थिए । ओली गौतम भेटपछि महासचिव कार्कीले एमालेमा गौतमलाई संरक्षक वा वरिष्ठ नेतामध्ये एक पद दिन ओली सकारात्मक देखिएका बताएका थिए । उनीसहित अन्य नेताहरूको व्यवस्थापनको विषयमा माघ ६ गते पनि ओली र गौतमबिच सकारात्मक टेलिफोन वार्ता भएको जिकिर गरेका थिए । तर ओलीले गौतमलाई खास महत्व नदिएपछि एकता प्रक्रिया अगाडि बढ्न सकेन ।

nepal gautam

हाल एकीकृत समाजावदीमा गौतमको व्यवस्थापन निश्चित जस्तै भएपनि अन्य नेताहरूको हकका कुनै टुंगो लागेको छैन । पार्टीको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद(जबज)को वकालत गर्दै आएको उनी एकीकृत समाजवादीकै नीति, सिद्धान्त, कार्यदिशा मान्न तयार भएका छन् । जबज त्यागेको भन्दा पनि समाजवादी दृष्टिकोण मान्न तयार भएको गौतम र ज्वालाले जिकिर गरेका छन् । 

  • माधवलाई अध्यक्षमा हराउने निर्णाय थिए गौतम

२०६५ साल फागुनमा बुटवलमा भएको एमालेको आठौँ राष्ट्रिय महाधिवेशनमा झलनाथ खनालसँग मिलेर गौतम केपी ओलीलाई हराउन भूमिकामा पुगे । उनै गौतम २०७१ साल असारमा काठमाडौँमा भएको नवौं महाधिवेशनमा ओलीसँग मिलेर नेपाललाई हराउन भूमिका खेले । त्यतिबेला गौतम र झलनाथ खानालका प्रतिनिधिले भोट नहाल्दा नेपाल झिनो मतले पराजित बनेका थिए । सुरुमा अध्यक्षमा जिताउने बचन पक्का गरेका गौतम र खनालकै कारण ओली नेतृत्वमा आउन सफल भएको नेताहरूको दाबी छ । एमालेमा रहँदा कहिले नेपाल, कहिले ओली त कहिले झलनाथ खनाल समुहमा लागेर उनले पार्टीभित्र प्रभाव जनमाउँदै आएका थिए । त्यहि गुटगत प्रभावको फाइदा उठाउँदै गौतमले धेरैपटक राजकीय पद प्राप्त गरे ।

२०७५ जेठ ३ गते एमाले र माओवादीबिच एकता भएर नेकपा बनेपछि उनी सचिवालय सदस्य थिए । तर नेकपाभित्र ओली र प्रचण्डबिच अन्तर्विरोध चर्किँदै गएपछि गौतम कहिले ओली समूह कहिले प्रचण्ड–माधवमा लागेर एक अर्कालाई उचाल्ने काम गरेको आरोप लाग्यो ।

२०७७ साल फागुन २३ गते सर्वोच्च अदालतद्वारा नेकपा विघटन गरी एमाले र माओवादी साबिक पार्टीमा फर्किए । तर गौतम कुनै समूहमा नलागी नेकपा एकता अभियानमा लागे । अन्ततः २०७८ साल भदौ १८ गते एमाले परित्याग गरी आफ्नै नेतृत्वमा पार्टी गठन गरे । त्यसयता पनि नेकपा ब्युँताउने नाममा कहिले प्रचण्ड कहिले ओली र कहिले नेपाल निवास धाए तर सफल भएनन् । अहिले आएर भने नेपालले गौतमलाई आफ्नो पार्टीमा भित्र्याउन रातो कार्पेट बिछ्याइसकेका छन् । 

वामपन्थी राजनीतिका पुराना र अनुभवी नेता गौतम २०४८, २०५१ को निर्वाचनमा बर्दिया–१ र २०७० सालको संविधानसभा निर्वाचनमा प्युठान–१ बाट निर्वाचित भएका थिए । २०५३ सालमा उपप्रधानमन्त्री तथा गृहमन्त्री भएका उनी २०६५ र २०७० मा पनि उपप्रधानमन्त्री तथा गृहमन्त्री भएका थिए । २०५६, २०६४ र २०७४ सालको निर्वाचनमा बर्दिया–१ बाट पराजित भएका थिए । २०७९ को निर्वाचनमा भाग नै लिएनन् । २०७४ को निर्वाचनमा आफूलाई हराउन ओलीले नै भूमिका खेलेको गौतमले आरोप लगाएका थिए । निर्वाचन जितेको खण्डमा ओली प्रधानमन्त्री बन्न नक्ने देखेर नै आफूलाई नियोजित रुपमा हराएको उनको आरोप थियो । प्रतिनिधिसभा सदस्यमा पराजित भए पनि २०७६ सालमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई राष्ट्रिय सभामा मनोनीत गरेकी थिइन् ।

केहि समयअघि राजनीतिक विश्लेषक तथा प्राध्यापक कृष्ण पोखरेलले गौतम कुशल संगठक भएपनि ढुलमुले चरित्रको पराकाष्ठ भएको टिप्पणी गरेका थिए । उनका यहि अस्थिर र ढुलमुले चरित्रका कारण ६० को दशकदेखि राजनीति प्रभाव खस्किँदै गएको विश्लेष्ण उनको विश्लेषण थियो ।

२०५१ सालमा पहिलोपटक एमाले सरकार बन्दा उनले पार्टी उपमहासचिवको रुपमा जिम्मेवारी पाएका थिए । २०५३ साल असोजमा संसदबाट दुई तिहाइ बहुमतले महाकाली सन्धि पारित भएसँगै एमाले विभाजन भयो । २०५४ साल फागुनमा गौतमले एमाले विभाजन गरी सहाना प्रधानको अध्यक्षतामा नेकपा(माले) गठन गरे र उनी महासचिव भए । २०३५ सालमै मालेका संस्थापक नेता रहेका गौतमले एमालेबाट झण्डै आधाआधि नेता तथा कार्यकर्ता लिएर माले पुर्नगठन गरेका थिए । मालेका नेता–कार्यकर्ताले एमालेलाई राष्ट्रघाती, विसर्जनवादी, संशोधनवादी, दक्षिणपन्थी, दलाल जस्ता आरोप लगाएका थिए । वैचारिक–सैद्धान्ति विचलन आएकाले माले नै देशको नेतृत्व गर्ने दाबी गरेका थिए । तर २०५६ सालको आम निर्वाचनमा शून्य सिट पाएपछि २०५८ सालमा पुनः एमालेमै फर्किएका थिए ।

‘लामो समयदेखि एउटै पार्टीमा रहेपनि अध्यक्ष नेपाल र गौतमबिच राजनीतिक विचार र स्वभाव विपरित कित्तामा रहँदै आएका थिए’, एमाले केन्द्रीय सदस्य विष्णु रिजाल भन्छन्, ‘वामदेव गौतम जवजका कट्टर पक्षपाती हुन् भने माधव जवजलाई ठिकठिकै मान्नुपर्छ भन्ने मान्यता राख्छन् ।’ राजनीतिक र व्यक्तिगत रुपमा पनि नेपाल र गौतम दुवै विपरित धु्रवका नेताहरुका रुपमा आफुले चिनेको रिजालको बुझाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप