ग्रामथानका अध्यक्षलाई प्रश्न : वडाध्यक्षहरूलाई किन निलम्बन गर्नुभयो ?
सारांश
- मोरङको ग्रामथान गाउँपालिकामा दुई वडाध्यक्षलाई गाउँ सभामा अभद्र व्यवहार र पालिकाको काममा अवरोध गरेको आरोपमा निलम्बन गरिएको छ।
- निलम्बित वडाध्यक्षहरूले अध्यक्षले मनोमानी र निरङ्कुश तरिकाले काम गरेको आरोप लगाएका छन्।
- अध्यक्षका अनुसार, वडाध्यक्षहरूले पालिकाको काममा अवरोध पुर्याएको र राजस्व गुमाएको आरोप छ।
विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा दुई जना वडाध्यक्षलाई निलम्बन गरिएपछि यहाँको राजनीतिक माहौल तातेको छ । गाउँ सभामा अभद्र व्यवहार गरेको र पालिकाको काममा निरन्तर अवरोध सिर्जना गरेको आरोपमा अध्यक्ष नमोनारायण माझीले उनीहरूलाई निलम्बन गरेका हुन् । अर्कोतिर, निलम्बित पक्षले अध्यक्षले मनोमानी र निरङ्कुश तरिकाले काम गरेको आरोप लगाएको छ । यही विषयमा केन्द्रित रहेर रातोपाटी संवाददाता अर्जुन आचार्यले ग्रामथान गाउँपालिकाका अध्यक्ष माझीसँग गरेको कुराकानीको सम्पादित अंश ः
दुई जना वडाध्यक्षलाई निलम्बन नै गर्नुभयो, खास कारण के हो ?
– हो, मैले उहाँहरूलाई निलम्बन गरेको छु । यसको मुख्य कारण गाउँ सभामा भएको अभद्र व्यवहार र पालिकाको कामकारबाहीमा निरन्तर गरिएको अवरोध हो । अध्यक्षको कुरा नमान्ने, आफ्नै हिसाबले बोल्ने, टेबल ठोक्ने, चुप लाग्न आग्रह गर्दा पनि अटेर गर्ने जस्ता गतिविधि भए । गाउँ सभा सञ्चालन ऐन र कार्यविधिको ठाडो उल्लङ्घन भयो । यस्तो अराजकतालाई पालिकाले सहन सक्दैन ।
उहाँहरूले त तपाईंले मनोमानी गरेको, बोल्न नदिएको र मुख थुन्न खोजेको आरोप लगाइरहनुभएको छ नि ?
– त्यो सरासर गलत आरोप हो । त्यहाँ विधिको शासन हुन्छ, पद्धतिको शासन हुन्छ । मैले कसैको मुख थुन्न खोजेको होइन । उहाँहरूलाई बोल्नका लागि समय दिइएको थियो । तर बोल्ने पनि एउटा तरिका र मर्यादा हुन्छ । गाउँ सभाको आचारसंहिता हुन्छ । त्यो पालना गर्नु पर्दैन ? उहाँहरूले अभद्र शब्द प्रयोग गर्नुभयो, ‘यो तिम्रो बाउको हो ?’ जस्ता अमर्यादित कुरा गर्नुभयो । तपाईं हाम्रो भिडियो फुटेज हेर्न सक्नुहुन्छ, कसले कस्तो व्यवहार गरेको छ भन्ने प्रस्ट हुन्छ ।
तपाईंले पालिकाको काममा अवरोध भयो भन्नुभयो, कस्तो खालको अवरोध थियो ?
– अवरोधको शृङ्खला नै छ । पछिल्लो १८ पटक कार्यपालिका बैठक बोलाउँदा जम्मा २ वटा बैठक मात्र राम्रोसँग सम्पन्न भए । १६ वटा बैठक उहाँहरूकै कारणले असफल भए । जेठ ४ गतेको गाउँ सभामा मैले प्रस्ट भनेको थिएँ, ‘कार्यपालिका सदस्यहरूले गाउँपालिकालाई बन्धक बनाउन खोजिरहेका छन्, जनताको आवश्यकतालाई अन्धकारमा धकेल्दै छन् ।’ उहाँहरू जानी–जानी लोहन्द्रा खोलाको ठेक्का लाग्न दिनुभएन, जसले गर्दा पालिकाले करिब अढाई करोड रुपैयाँ राजस्व गुमायो । बहुक्षेत्रीय पोषण कार्यक्रमको २ करोड ७५ लाख रुपैयाँको बजेट फ्रिज गराइदिनुभयो । यो नियतवश गरिएको अवरोध हो ।
यो निलम्बनले बजेट पारित गर्ने प्रक्रियामा झन् समस्या ल्याउँदैन र ?
– केही समस्या आउँदैन । बजेट बहुमतबाट पारित हुन्छ । बरु उहाँहरूको अवरोध कायम रहेको भए समस्या हुन्थ्यो । नीति तथा कार्यक्रम र बजेट पास नहुँदा कर्मचारीको तलब रोकिन्छ, स्वास्थ्य चौकी र वडाहरूको सेवा ठप्प हुन्छ, वृद्ध भत्ता, ज्येष्ठ नागरिक भत्ता वितरण रोकिन्छ । के पालिकालाई यसरी बन्धक बनाउन मिल्छ ? उहाँहरूले यही गर्न खोज्नुभएको थियो । त्यसैले यो कदम आवश्यक थियो ।
अब कसरी अगाडि बढ्नुहुन्छ ?
– नियम र कानुनअनुसार अगाडि बढ्छु । घेराउ गर्ने, अभद्र व्यवहार गर्ने कुरालाई नियमले नै वर्जित गरेको छ । गाउँ सभामा बोल्न अध्यक्षको अनुमति लिनुपर्छ, अध्यक्षको आदेश पालना गर्नुपर्छ भन्ने ऐनमै छ । हामीले विधि मान्ने कि नमान्ने ? उहाँहरूले जानी–जानी गलत गरिरहनुभएको छ । यो उहाँहरूको अज्ञानता होइन, पालिकालाई असफल बनाउने प्रपञ्च हो ।
तपाईंको विचारमा उहाँहरूको खास उद्देश्य के हो त ?
उहाँहरूको उद्देश्य भनेकै ग्रामथान गाउँपालिकालाई असफल बनाउनु हो । यसको पछाडि के–कस्ता अदृश्य शक्ति छन्, म त्यो भन्न चाहन्नँ । तर जनताको प्रत्यक्ष सरोकारका विषयमा निर्णय गर्दा अदालत जाने, तर गाडी खोसियो, कर्मचारी निकालियो जस्ता व्यक्तिगत विषयमा चाहिँ पालिका घेराउ गर्ने ? यो कस्तो प्रवृत्ति हो ? म स्पष्ट पार्न चाहन्छु, म कुनै पार्टीको होइन, ग्रामथानको अध्यक्ष हुँ । मेरो लागि यहाँका ३७ हजार जनता बराबर हुन् । म ऐन र विधिभन्दा बाहिर गएको छैन र जान्नँ पनि । मैले जे गरेको छु, पालिका र यहाँका जनताको हितका लागि गरेको छु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण