काठमाडौंँ । धेरै गीतसंगीत यस्ता छन्, जसले ठुलै प्रचारप्रसार गर्दा पनि चर्चा बटुल्न सकेका छैनन् । शब्द, संगीत, भिडियोमा निकै खर्च गरे पनि र पर्याप्त लगानी गरे पनि केही गीतहरू त्यसै त्यसै हराइरहेका हुन्छन् ।
तर केही गीत भने अनायासै चर्चित भइदिन्छन् । त्यस्तै कुनै त दशकभन्दा बढी समयपछि पनि चर्चामा आउने गरेका छन् । जसको प्रमुख कारण– सामाजिक सञ्जाल अर्थात् टिकटकको प्रभाव हो । अहिले त्यस्तै एउटा गीतले बजार तताएको छ । गीतको बोल हो– ‘पान मिठो चुनाले’ । जुन गीत करिब तीन दशकपछि झनै चर्चित भएर आएको छ ।
यो गीत यतिवेला सामाजिक सञ्जाल टिकटकमा भाइरल छ । ‘भ्युज’ र ‘ट्रेन्ड’को पछि लाग्नेलाई उछिन्दै यो गीत टिकटकमा अगाडि छ । टिकटक हेर्दै जाँदा यो गीतमा बनेका सयौँ भिडियोहरू आउने गर्छन् ।
करिब २५–२६ वर्षअघिको यो गीतमा गायक घमेश दुलाल, हरि थापा, इन्दिरा गोले र सीता थापाले स्वर दिएका थिए । हरि थापाको शब्द रहेको गीतमा इन्दिरा गोलेको संगीत छ । ‘पान मिठो चुनामा’ एल्बममा समावेश यो गीत तत्कालीन समय इन्द्रेणी क्यासेट सेन्टरले बजारमा ल्याएको थियो । उतिवेला पनि यस गीतको अडियो क्यासेटले बजारमा राम्रै स्थान पाएको बताउँछन् गायक दुलाल ।
_vm6KgK2Ifl.jpg)
‘यो गीतको एल्बम यति धेरै बिक्री भयो कि भनिसाध्य छैन,’ दुलाल भन्छन्, ‘अहिले फेरि एकाएक भाइरल भएको देख्दा अचम्मै लागेको छ ।’ गीतमा सदाबहार मायाप्रेमका विषयवस्तु समेटिएक कारण पनि पटक–पटक चर्चामा आएको उनको बुझाइ छ ।
उक्त गीतको अडियो भिडियो सोही इन्द्रेणी क्यासेट सेन्टरले डिजिटल प्लेटफर्म युट्युबमा दुई वर्ष अघि मात्र ल्याएको थियो । ‘युट्युबमा गीत सार्वजनिक भएपछि डिजे लक्ष्मणजीले रिमिक्स गरेर आफ्नो च्यानलबाट पनि सार्वजनिक गरेका थिए,’ दुलाल बताउँछन् । र अहिलेको भाइरल गीत रिमेक भर्सन हो ।
खासमा यो गीत भाइरल हुनुको मुख्य कारण ‘काभ्रेली सम्धी’को एउटा समूहका कारण हो । तर ‘काभ्रेली सम्धी’ अर्कै चर्चित गीत हो, जसलाई गायक तथा संगीतकार कोसिस थोकर तामाङले तयार गरेका हुन् ।
‘पान मिठो चुनामा’ गीत चर्चित हुनमा गायक तामाङको कुनै हात छैन, बरु गीत भाइरल गर्न ‘डिजे लक्ष्मण’को भूमिका महत्त्वपूर्ण मान्न सकिन्छ । किनभने उनले यसलाई अहिलेका पुस्ताले रुचाउने शैलीमा रिमेक गरेका छन् । गीतलाई रिमेक गरेर उनले आफ्नो च्यानलबाट दुई वर्षअघि नै ल्याएका थिए ।
केही साताअघि गीतमा पहिलो पटक ‘काभ्रेली सम्धी’ नामबाट युवाहरूको एउटा समूहले टिकटक भिडियो बनाएर अपलोड गरेका थिए । त्यसपछि यो गीतमा टिकटक भिडियो बनाउने अत्यधिक देखिए ।
_e8ePpi8ZfG.jpg)
हुन त कुनै सिर्जना कालजयी बन्न त्यो उत्कृष्ट हुनुपर्छ । ‘पान मिठो चुनामा’ एक उत्कृष्ट सिर्जना हो । जसले अढाई दशकपछि नयाँ पुस्तालाई नचाउन सफल भयो । गीतको ‘पुनर्जन्म’ले यसका गायक घमेश दुलाल पनि दंग छन् । गीत एक व्यक्तिको प्रयासले बनेको भन्दा संगीतिक टिकवर्कले जन्मिएको उनी तर्क गर्छन् ।
‘त्यतिवेला पूर्ण गुरुङ, इन्दिरा गुरुङ दिदी, हरि थापा भाइ, सीता थापा र म काठमाडौँ डिजिटल रेकर्डिङ स्टुडियोमा जम्मा हुन्थ्यौँ । हामी सबै बसेर गीत राम्रो बनाउन सल्लाह गर्दै शब्द कोथ्र्याै,’ दुलाल ती दिनमा फर्किए, ‘पान मिठो चुना शब्दभन्दा पनि सामूहिक प्रयासबाट जन्मिएको थियो ।’
त्यो समय लोकगीतको बजार पूर्ण रूपमा अडियो क्यासेटमा निर्भर थियो । सहकार्यमा ल्याइएका गीतहरू बेस्सरी चल्थे । उनी भन्छन्, ‘गायनमा पनि केटा र कोटी जोडी हुन्थे । यसमा पनि जोडी नै रहेको छ । हामी मात्र होइन, त्यो समय सबै सहकार्यमा विश्वास गर्थेँ ।’
उक्त गीतको अडियो बजारमा निस्किनेबितिक्कै सकिने गरेका दुलाल सम्झन्छन् । ‘एफएम, रेडियोहरूमा खुब बज्थ्यो, देश–विदेशका कार्यक्रममा जाँदा पनि यो गीत कति गाइयो, गाइयो,’ उनी त्यसवेलाको समय सम्झन्छन्, ‘अहिले डिजिटल प्लेटफर्ममा आएपछि फेरि भाइरल भएको छ । यो देख्दा म प्रफुल्लित हुन्छु ।’ राम्रो सिर्जना दियो भने कहिल्यै मर्दैन, पुनजीर्वित बनिरहन्छ भन्ने यो गीत दर्बिलो प्रमाण भएको उनी सुनाउँछन् ।
टिकटकमा युवापुस्ताले यो गीतलाई फ्युजन डान्ससहित प्रस्तुत गरेका छन् । यसलाई भने दुलाल समयको माग ठान्छन् । ‘अहिलेको सांगीतिक ट्रेन नै यस्तो छ । ट्रेनअनुसार जो चल्यो । त्यो चर्चामा रह्यो,’ उनी थप्छन् ।
_wayMvfCIF4.jpg)
‘पान मिठो चुनामा’ मात्र होइन, घमेशका ‘दमौलीमा गेट’, ‘मुग्लिन कटेर’, ‘आमाको आशीर्वाद’जस्ता सयौँ हिट गीत छन् । सशस्त्र द्वन्द्वकालमा उनले ल्याएको ‘मरे चिठी धागोले बाँनेको’ र ‘राइफलैको सिरानी’ बोलको गीत नसुन्ने पनि कमै नेपाली होलान् । मर्मस्पर्शी र कालजयी गीत बनाउनु दुललाका लागि नौलो काम भने थिएन । तर उनी सानैदेखि संगीतिक क्षेत्रमा सक्रिय थिए ।
सिन्धुपाल्चोकको जलबिरेमा जन्मिएका उनले १०–११ वर्षको उमेरदेखि नै गीत गाउन थालेका थिए । विद्यालयका कार्यक्रमदेखि गाउँघरका पूजासम्म भ्याउने उनी गायक बन्न १४–१५ वर्षकै कलिलो उमेरमा रेडियो नेपाल धाउँथे ।
‘त्यो समय रेडियो नेपालको ‘चौतारी’ कार्यक्रम खुब चल्थ्यो । त्यसमा नवप्रतिभालाई पनि गीत गाउन दिइन्थ्यो,’ उनी विगत सुनाउँछन्, ‘पाण्डव सुनुवार र युक्तबहादुर गुरुङको त्यो कार्यक्रमका लागि शुक्रबार स्कुल छुट्टी हुनेबित्तिक सिन्धुपाल्चोकबाट काठमाडौंँ धाउँथेँ । कार्यक्रममा गाउने मौका खोज्थेँ ।’ पहिलो प्रयासमै ‘चौतारी’मा गाउने अवसर पाएका उनलाई आफ्नो स्वर पहिलोपटक रेडियोमा बजेको अहिले पनि सम्झना छ ।
‘रेडियामा गाएर सिन्धुपाल्चोक फर्किएँ, शनिबार ८ बजे रेडियोमा गीत बज्यो । त्यो वेलाको खुसी अहिले बयान गर्न सक्दिनँ,’ उनी भन्दै गए, ‘भोलिपल्ट त गाउँभरि नै हल्ला भयो, फलानोको छोराको गीत रेडियोमा बज्यो भनेर ।’ त्यो कुराले उनी जिल्लाभरि नै चिनिए । जसले आफूलाई गायनमा लाग्न थप प्रेरणासमेत मिलेको उनी बताउँछन् ।
त्यो चर्चापछि हौसिएका उनले २०४६/४७ सालतिर आफ्नो पहिलो एल्बम ‘कस्की छोरी’ बजारमा ल्याए । त्यो समयको रेकर्डिङ प्रविधि निकै चुनौतीपूर्ण थियो । तीन ट्रयाकको स्टुडियोमा रेकर्ड गर्नुपथ्र्यो । एकैपटकमा नबिगारी गाउनुपर्ने, बिग्रिए फेरि सुरुदेखि नै गाउनुपर्ने बाध्यता थियो । त्यसरी गाउँदा धेरै मिहिनेत पथ्र्याे । त्यही मिहिनेतले उनी खारिँदै गए । त्यसपछि आएका हुन्, उनका चर्चित गीतहरू ‘नारायणथानमा गेट’, ‘दमौलीमा गेट’, ‘मुग्लिन गेटैमा’ लगायत ।
_QQxfrS0GGh.jpg)
संगीतिक क्षेत्रमा डिजिटल प्रविधि भित्रिएसँगै अडियो क्यासेट विस्तापित हुँदै गयो । यही प्रविधिको आगमनमा बिचको एक दशक उनी हराए । ‘बिचमा अडियो क्यासेट विस्थापित भयो, त्यसपछि भीसीडी, सिडीहरू आए,’ दुलाल थप्छन्, ‘डिजिटल मार्केट आयो, त्यसको हामीलाई धेरै ज्ञान भएन । के गर्ने, कसरी अगाडि बढ्ने भन्ने अन्योल भयो ।’
राज्यबाट पनि गीतसंगीतका लागि कुनै प्रस्ट कानुन नबनेकाले केही समय ग्याप बस्नुपरेको उनी बताउँछन् ।
तर, असली सिर्जनाको आयु लामो हुन्छ । त्यो समयको पर्खाल नाघेर फेरि दर्शक–स्रोताको मनमा बस्न आइपुग्छ । उनको त्यही पुरानो गीत ‘पान मिठो चुनामा’ले आजको डिजिटल युगमा, विशेषगरी टिकटकमा तहल्का मच्चाएको छ । यो पुनरागमनले उनी अचम्मित र हर्षित पनि छन् । चर्चा दिलाउने टिकटक प्रयोगकर्तालाई धन्यवाद दिन्छन् ।
करिब दश वर्ष सांगीतिक क्षेत्रबाट हराएका उनी फेरि यही कर्ममा फर्किएका छन् । अहिले उनी आफ्नो युट्युब च्यानल ‘घमेश दुलाल’मार्फत नयाँ गीतहरू निरन्तर सार्वजनिक गरिरहेका छन् । ‘इन्द्रावती उर्लियो’ उनले अघिल्लो साता ल्याएका गीत हो भने त्यसअघि ‘जाले रुमाल चटक्कै परेको’, ‘जवानीमा बिताको पल मिठो’ लगायत केही गीत आफ्नो युट्युबबाट नियमित ल्याइरहेका छन् ।
गायनको अलावा उनी मादल, बाँसुरी, सारङ्गीजस्ता लोक बाजाहरूमा पनि निपूर्ण छन् । यही सीपले उनलाई सांगीतिक क्षेत्रमा टिक्न धेरै सहज भएको हो । ‘म गाउने मात्रै नभएर बजाउने पनि भएँ । बजाउने भनेको त हात चलुञ्जेल सकियो,’ उनी कुराकानीको बिट मार्छन्, ‘त्यसैले पनि यो क्षेत्रमा टिक्न सकेको हो ।’
प्रतिक्रिया