बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
भाषा विमर्श

भाषा मासिए संस्कृति मासिन्छ

शनिबार, २८ असार २०८२, १५ : ००
शनिबार, २८ असार २०८२

सारांश

  • भाषा र संस्कृतिको सम्बन्ध गहिरो छ, संस्कृति जोगाउन भाषा र भाषा जोगाउन संस्कृति आवश्यक छ।
  • भाषा र संस्कृतिको संरक्षण र सम्वर्द्धनका लागि समुदाय र राज्य दुवैको भूमिका महत्त्वपूर्ण छ।
  • अङ्ग्रेजीको बढ्दो प्रभाव र सांस्कृतिक आक्रमणका कारण मातृभाषा र मौलिक संस्कृतिमा असर परेको छ।

संस्कृति जोगिन भाषा जोगिनुपर्छ, भाषा जोगिन संस्कृति जोगिनुपर्छ । भाषा र संस्कृति अन्तर्सम्बन्धित छन् । संस्कृतिको निर्माण, विस्तार र संवर्द्धनमा भाषाको महत्त्वपूर्ण भूमिका हुन्छ । भाषाको निर्माण, संरक्षण र संवर्द्धनमा संस्कृतिले पनि महत्त्वपूर्ण भूमिका सम्पादन गर्छ । संस्कृति नबुझी भाषा बुझ्न सकिँदैन । भाषा नबुझी संस्कृति बुझ्न सकिँदैन । भाषा मर्नु संस्कृति मर्नु हो । संस्कृति मर्नु भाषा मर्नु हो । सांस्कृतिक सम्पदाका रूपमा रहने भाषा संस्कृति नजोगिए मासिन्छ । भाषिक र सांस्कृतिक रूपमा जागरुक हुन नसके मौलिकता र आत्मसम्मान गुम्न सक्छ । 

भूमण्डलीकरण र सांस्कृतिक आक्रमणको समयमा आफ्नो भाषा र संस्कृतिको संरक्षण र संवर्द्धनका निम्ति अझ जागरुक र सक्रिय हुन आवश्यक छ । आफ्नो भाषा र संस्कृतिको संरक्षण र संवर्द्धनप्रति उदासीन रहँदा कैयौँ भाषा र संस्कृति मासिएका छन् । समुदायले आफ्नो पहिचान र आत्मसम्मान गुमाएका छन् । भाषिक र सांस्कृतिक औपनिवेशीकरण आज पनि जीवित छ । वर्चस्वकारी भाषा र संस्कृतिको पीडा विभिन्न भाषा र संस्कृतिले खप्दै छन् । भाषिक र सांस्कृतिक आक्रमणका नयाँ नयाँ रूप अगाडि आएका छन् । भाषिक एवं सांस्कृतिक आक्रमण र वर्चस्व अझ गहिरो र फराकिलो बनेको छ । 

डेभिड हेरिसन र ग्रेग एन्डरसन मानिसले आफ्नो भाषा बोल्न बन्द गरेपछि काम गर्न सक्ने अद्वितीय अन्तरदृष्टि पनि गुमाउँछ भन्छन् । यस भनाइमा थोरै अतिशयोक्ति छ कि भन्ने लाग्न सक्छ, तर भाषाले मनुष्यको संज्ञानात्मक विकास र चिन्तन प्रक्रियामा निर्वाह गर्ने भूमिकालाई हेर्दा मातृभाषाबाट अन्य भाषातिर सर्दा वक्ताले यस्तो समस्याको सामना गर्नुपर्छ । भाषा मनुष्यको संज्ञानात्मक विकास र मनोविज्ञानसँग गहिरो गरी जोडिएको छ । गाई डायस्चर जब हामी मातृभाषा सिक्छौँ, सोच्ने विधि पनि सिक्छौँ र यसले हाम्रो अनुभवलाई आकार प्रदान गर्छ भन्छन् । भाषा सिक्दा निर्माण हुने सोच्ने विधिसँग मातृभाषाबाट अन्य भाषातिर सर्दा गुमाइने अन्तरदृष्टि सम्बन्धित छ । 

मातृभाषाबाट मानिसले आफूलाई जति सहज रूपमा व्यक्त गर्न र आफ्नोपन प्रदर्शन गर्न सक्छ, दोस्रो भाषाबाट गर्न गाह्रो हुन्छ । भाषा व्यवस्था संस्कृतिसँग जोडिने भएकाले यस्तो हुन्छ । कमै मानिस पछि सिकिएको भाषामा दक्ष हुन्छन् तर पनि त्यो मातृभाषा समान हुँदैन । भाषामा संस्कृतिको प्रभाव उच्चारण, शब्द, व्याकरणात्मक कोटी आदि सबैतिर पर्छ । भाषा जैविक र मनोवैज्ञानिक वस्तु मात्र नभएर सामाजिक र सांस्कृतिक वस्तु पनि हो । यसलाई ऐतिहासिक र सामाजिक उत्पादनका रूपमा हेरिन्छ । यो मानव समाजको इतिहाससँगै विकास भएको संरचना हो । यो कसैको चाहनाको निर्मिति होइन । उत्पादन प्रणाली, श्रम विभाजन र सामाजिक आवश्यकताबाट यसको निर्माण भएको हो । भ्यालेन्टिन भोलोसिनोभले भाषालाई सामाजिक संवादको परिणाम मानेका छन् र अर्थलाई शब्दमा होइन समग्र सामाजिक सन्दर्भमा हेर्नुपर्छ भनेका छन् । 

आफ्नो भाषा र संस्कृतिको संरक्षण र संवर्द्धनप्रति उदासीन रहँदा कैयौँ भाषा र संस्कृति मासिएका छन् । समुदायले आफ्नो पहिचान र आत्मसम्मान गुमाएका छन् । भाषिक र सांस्कृतिक औपनिवेशीकरण आज पनि जीवित छ ।

एस. हल भाषाले निश्चित समुदायको मूल्यलाई प्रतिनिधित्व गर्छ र समाजका सदस्यहरूका बिच संस्कृतिको आदानप्रदान भाषाका माध्यमबाट हुन्छ भन्छन् । भाषा विचार, ज्ञान, भावना, अनुभूति आदिलाई सञ्चार गर्ने माध्यम त हो नै, तिनलाई आकार प्रदान गर्ने माध्यम पनि हो । भाषा र संस्कृतिले सँगसँगै सांस्कृतिक मूल्य व्यवस्थाको निर्माण गर्छन् । यो कार्य सामुदायिक अन्तर्क्रियाका माध्यमबाट गरिन्छ । परम्परा, विश्वास, मूल्य, ज्ञान, प्रथा आदिलाई संस्कृतिका रूपमा परिभाषित गरिन्छ । संस्कृतिको क्षेत्र फराकिलो छ । मनुष्य निर्मित दोस्रो प्रकृति भएका कारण यसको क्षेत्र फराकिलो भएको हो । भौतिक–अभौतिक वा मूर्त–अमूर्त संस्कृतिको योगका रूपमा यसलाई हेरिन्छ । भाषा अभौतिक संस्कृतिसँग सम्बन्धित छ । विभिन्न समुदायले बोल्ने मातृभाषामा ती समुदायको संस्कृतिको स्पष्ट प्रभाव रहन्छ । मातृभाषाको आकार निर्माणमा मातृभाषी समुदायको संस्कृतिको महत्त्वपूर्ण भूमिका हुन्छ । एडवर्ड सपिर भाषालाई संस्कृतिको अभिन्न अङ्गका रूपमा लिन्छन् । उनको भनाइ भाषामा संस्कृतिको प्रभाव र भूमिकासँग सम्बन्धित छ । उनी संस्कृति भाषाविना अस्तित्वमा आउँदैन भन्छन् । 

बेन्जामिन लि हुर्फ भाषाले हाम्रो सोच्ने तरिका र विश्वदृष्टिलाई प्रभावित गर्छ भन्छन् । डेल हाइम्स भाषा बुझ्न संस्कृति बुझ्न मात्र आवश्यक छ भन्दैनन्, भाषिक व्यवहारलाई सामाजिक सन्दर्भमा अध्ययन गरिनुपर्ने उल्लेख पनि गर्छन् । भाषिक व्यवहारलाई सांस्कृतिक दृष्टिबाट अध्ययन एवं विश्लेषण गर्न उनले ‘स्पिकिङ मोडल’ नै प्रस्तुत गरेका छन् । माइकल ह्यालिडे भाषालाई सामाजिक अनुभवको निर्मितिका रूपमा लिँदै सामाजिक सन्दर्भमा प्रयोग हुने माध्यमका रूपमा चर्चा गर्छन् । भाषा र संस्कृतिका सम्बन्धका बारेमा ‘निर्धारणवादी’, ‘सापेक्षतावादी’ दृष्टिकोणका सीमाबाट बच्दै यसका बारेमा विचार गरिनुपर्छ । भाषा र समाजको सम्बन्ध एवं एकले अर्कालाई पार्ने प्रभावका बारेमा अध्ययन गर्दा यस्ता दृष्टिकोण विकसित भएका हुन् । सपिरको चिन्तनलाई ‘निर्धारणवाद’ र हुर्फको चिन्तनलाई ‘सापेक्षतावाद’का रूपमा लिइन्छ । सपिर हुर्फ ‘हाइपोथेसिस’का रूपमा पनि यसलाई उल्लेख गरिन्छ । यस चिन्तनका आफ्ना सीमा भए पनि भाषालाई समग्र संस्कृतिसँग जोडेर अध्ययन र विश्लेषण गर्ने कुरामा यी दुवैको विशेष योगदान छ । 

भाषा र संस्कृतिले सँगसँगै सांस्कृतिक मूल्य व्यवस्थाको निर्माण गर्छन् । यो कार्य सामुदायिक अन्तर्क्रियाका माध्यमबाट गरिन्छ । परम्परा, विश्वास, मूल्य, ज्ञान, प्रथा आदिलाई संस्कृतिका रूपमा परिभाषित गरिन्छ ।

भाषा परिवेशबाट प्रभावित हुन्छ र भाषा विज्ञानमा यसको तात्पर्य समाज, त्यसको संस्कृति र मूल्य व्यवस्था हुन्छ । सामाजिक संरचना अनुसार भाषाको व्यावहारिक रूपले आकार ग्रहण गर्छ । समाजभाषा वैज्ञानिकहरू भाषाको संरचनाका माध्यमबाट सामाजिक संरचनाको पनि अनुमान गर्न सकिन्छ भन्छन् । उनीहरू भाषामा सामाजिक तथ्य अन्तर्निहित हुन्छ भन्ने मान्छन् । उनीहरूको धारणा सामाजिक संरचनाले भाषाको संरचना र व्यवहार दुवैलाई निर्धारित र नियन्त्रित गर्छ भन्ने रहेको पाइन्छ । सम्प्रेषणमा भूगोल, उमेर, सामाजिक पद सोपान क्रम, वर्गभेद आदिको प्रभाव पर्नुको कारण यही हो । उच्चारण, शब्दचयन, वाक्यरचना आदि सबैमा यसको प्रभाव पर्छ । समाज भन्नु नै मूलतः सांस्कृतिक एकाइ र व्यवस्था हो । 

विलियम लेबोभले समाजसँग भाषालाई समन्वित गरेर हेर्दा मात्र भाषासम्बन्धी ज्ञानको सही प्रकृति निर्धारण सम्भव छ भनेर यसै सन्दर्भमा भनेका हुन् । उनले सामाजिक वर्ग, जातीयता, उमेर, लिङ्ग, समुदायसँग भाषा गहिरो गरी जोडिन्छ भनेका छन् । उनी भाषाले खास समुदायको सांस्कृतिक एकता, स्वतन्त्रता र सामाजिक अन्तर्सम्बन्धलाई झल्काउँछ भन्छन् । परिस्थिति अनुसार भाषा बदलिने कुरा संस्कृतिसँग सम्बन्धित रहेको छ भन्ने उनको धारणा छ । उनले यसलाई ‘स्टाइल सिफ्टिङ’ भनेको पाइन्छ । संवाद, संरचना, वाक् व्यापार, प्रोक्ति, भाषा प्रयोग आदिलाई समाजसँग जोडेर अध्ययन गर्दा मात्र भाषा र यसको व्यावहारिक प्रयोजनका बारेमा सही दृष्टिकोण निर्माण गर्न सकिन्छ । भाषा विशुद्ध व्याकरणिक संरचनामा मात्र बाँधिदैन । भाषाको प्रयोगले व्याकरणको नियमलाई पनि उल्लङ्घन गर्छ । यसको कारण समाजको भाषा व्यवहार हो । समाजको नियम र मान्यताबाट भाषाको प्रयोग र संरचना प्रभावित हुन्छ । भाषा न शब्दहरूको समूह मात्र हो, न त शुद्ध व्याकरणीक व्यवस्था मात्र । भाषाको मूल प्रयोजन र सन्दर्भ सम्प्रेषण व्यापार हो र यसले आफ्नो संरचनात्मक सीमालाई अतिक्रमण पनि गर्छ भन्ने समाजभाषा वैज्ञानिकहरूको भनाइलाई यहाँनेर ध्यान दिन आवश्यक छ । भाषा नीति, भाषा सम्पर्क, भाषा सङ्घर्ष, भाषा समुदाय, भाषा नियोजनजस्ता विषय यसै सन्दर्भमा महत्त्वपूर्ण बन्छन् । 

भाषाको संरचनामा देखिने भिन्नता संस्कृतिसँग जोडिन्छ । सबै भाषाको संरचना उस्तै हुँदैनन् । भाषाहरू एकअर्कादेखि भिन्न हुन्छन् । भाषाको विशेषता हो यो । नेपाली भाषा र नेपालका अन्य कतिपय मातृभाषाका संरचना समान छैनन् । व्याकरणिक संरचनामा देखिने भिन्नताको निर्माण र विकासमा संस्कृतिको योगदान रहन्छ । लिङ्ग, वचन, आदरार्थी लगायतमा यस भिन्नतालाई नियाल्न सकिन्छ । भाषाको संरचनात्मक अवयवको निर्माण सांस्कृतिक संरचनाभित्रै हुन्छ । नाता–सम्बन्धका शब्द, सर्वनाम प्रयोग, सम्बोधनको तरिका, शिष्टाचार, विनम्रता, आशीर्वाद, विरोध, सहमति, असहमति, श्लील, अश्लील आदिजस्ता प्रयोगहरू संस्कृतिद्वारा निर्मित हुन्छन् । नेपाली भाषामा पाइने आदरार्थीको श्रेणीक्रम वर्गभेद र संस्कृतिसँग जोडिएको छ । शब्द, पदावली, वाक्य, टुक्का, उखान आदि सबैमा सांस्कृतिक संरचना र मूल्य व्यवस्था प्रतिबिम्बित हुन्छन् । व्याकरणिक संरचनाले सांस्कृतिक अर्थलाई संवहन गर्छ । जर्ज ग्युसडोर्फ भाषा र विचारलाई कहिल्यै अलग गर्न नसकिएजस्तै भाषा र संस्कृतिलाई पनि अलग गर्न सकिँदैन, न त अलग गर्न नै मिल्छ भन्छन् । भाषिक संरचनाको अध्ययन सामाजिक सांस्कृतिक व्यवस्थादेखि अलग रहेर गर्न सम्भव छैन ।

अङ्ग्रेजी माध्यम भाषा मात्र होइन, संस्कृति संवहनको माध्यम पनि हो । उच्चारण, हाउभाउदेखि समग्र सांस्कृतिक संरचनामा यसको असर पर्छ । सांस्कृतिक समरूपताको निर्माणमा यस भाषाको ठुलो भूमिका छ ।

मातृभाषामा शिक्षाको प्रभावकारिता भाषाको सांस्कृतिक पक्षसँग सम्बन्धित छ । मातृभाषामा शिक्षा प्रदान गर्ने समुचित व्यवस्था नहुँदा नेपालमै लाखौँ विद्यार्थी प्रभावित छन् । दोस्रो भाषामा शिक्षा प्राप्त गर्दा उनीहरूको संज्ञानात्मक क्षमता र मनोविज्ञानमा प्रतिकूल असर पर्छ । भिन्न संस्कृतिको मूल्य व्यवस्थाबाट प्रभावित भिन्न भाषासँग खेल्दै आफ्नो क्षमताको पूर्ण विकास गर्न गाह्रो हुन्छ । मानिसमा एकभन्दा धेरै भाषा सिक्न सक्ने क्षमता हुन्छ । अर्को भाषा पनि उसले राम्रोसँग सिक्न, त्यसमा दक्ष हुन र सम्प्रेषण गर्न सक्छ । तर यो मातृभाषा समान हुँदैन । मातृभाषा व्यक्तिको समग्र जीवन प्रणालीसँग छुट्ट्याउनै नसकिने गरी एकीकृत हुन्छ । यद्यपि भाषामा वर्ग र समुदायभन्दा माथि रहेर सम्प्रेषणको कार्य गर्न सक्ने क्षमता हुन्छ । तर यस यथार्थलाई अति सरलीकृत गरेर मातृभाषाको विशिष्टतालाई न्यून गर्न मिल्दैन, न त भाषाको संस्कृतिसँगको सम्बन्धलाई नै उपेक्षा गर्न मिल्छ । अङ्ग्रेजी भाषा विश्वमै माध्यम भाषाका रूपमा छ । तर यसबाट एक खास संस्कृतिको संवहन पनि हुँदै आएको छ । अङ्ग्रेजी माध्यम भाषा मात्र होइन, संस्कृति संवहनको माध्यम पनि हो । उच्चारण, हाउभाउदेखि समग्र सांस्कृतिक संरचनामा यसको असर पर्छ । सांस्कृतिक समरूपताको निर्माणमा यस भाषाको ठुलो भूमिका छ । वर्चस्वकारी भाषाका रूपमा यसलाई लिइन्छ । मातृभाषा, मातृभाषामा शिक्षा र यसको विकासमा यसले खडा गर्दै आएको व्यवधान गम्भीर छ । 

अङ्ग्रेजी भाषामा दिइने शिक्षाप्रतिको आकर्षण अङ्ग्रेजी भाषाको वर्चस्व, यसका आर्थिक, राजनीतिक पक्ष र लाभसँग जोडिएको छ । राज्य एवं अभिजात वर्गका नीति तथा दृष्टिकोण मात्र यसका निम्ति जिम्मेवार छैनन्, स्वयं भाषिक समुदायका कमजोरी पनि जिम्मेवार छन् । भाषा अध्ययनका माध्यमबाट संस्कृति बोध र भाषाका माध्यमबाट संस्कृतिको शिक्षा भन्ने रबर्ट पोलित्जरको कथनलाई यसै सन्दर्भमा लिन सकिन्छ । संस्कृतिविना भाषा सिकाइ अधुरो रहन्छ भन्ने उनको दृष्टिकोण भाषाको सांस्कृतिक आयामसँग जोडिएको छ । मातृभाषामा शिक्षा प्रभावकारी पढाइ र सिकाइसँग मात्र सम्बन्धित छैन, भाषा एवं संस्कृतिको संरक्षण र संवर्द्धनसँग पनि सम्बन्धित छ । 

भाषाले संस्कृतिलाई प्रतिबिम्बित गर्छ । इतिहास, परम्परा, मूल्य, विश्वदृष्टि, विचार, सामुदायिक परिचय आदि भाषाका माध्यमबाट प्रतिबिम्बित र सम्प्रेषित हुन्छन् । भाषाकै माध्यमबाट संस्कृतिको सारतत्त्वले अभिव्यक्ति पाउँछ । भाषालाई सङ्केतहरूको प्रणालीका रूपमा मात्र नलिएर सामाजिक क्रियाको माध्यमका रूपमा लिने मलिनोवस्कीको दृष्टिकोण यही यथार्थसँग सम्बन्धित छ । भाषा निर्जीव उपकरणका रूपमा नरहेर संस्कृतिको पोषिकाको रूपमा रहन्छ । ब्लुमफिल्डले भाषाको स्वरूप र त्यसको संस्कृतिको ज्ञानबिना भाषा पढाउनुको अर्थ बालबालिकाको कैयौँ वर्ष बर्बाद गर्नु हो भन्छन् । मातृभाषा र शिक्षाको साइनो भाषिक मात्र नभएर सांस्कृतिक विषय पनि हो । 

संस्कृतिले भाषालाई समृद्ध गर्न योगदान दिन्छ । भाषाको समृद्धिको तात्पर्य भाषाको विस्तार मात्र होइन, भाषिक सामर्थ्यको विकास पनि हो । समाजमा परिवर्तन आउँदा भाषामा पनि परिवर्तन आउँछ । भाषाको परिवर्तनशील चरित्रलाई सामाजिक–सांस्कृतिक प्रयोजनसँग सन्दर्भित गरेर हेरिनुपर्छ । आर्थिक, राजनीतिक परिवर्तन र विकास एवं वैश्विक पर्यावरणको प्रभाव पनि भाषामा पर्छ तर सामाजिक सांस्कृतिक परिवर्तनको प्रभाव व्यापक र गहिरो हुन्छ । सामाजिक सन्दर्भ र सांस्कृतिक अनुभवले भाषाका विविध पक्षमा योगदान दिन्छन् । सांस्कृतिक प्रतिमान र मूल्यले भाषाको प्रयोग, सञ्चार शैली, औपचारिक, अनौपचारिक अभिव्यक्तिका तरिका आदिलाई प्रभावित गर्छन् । भाषिक विविधतालाई आकार प्रदान गर्न संस्कृतिको महत्त्वपूर्ण भूमिका हुन्छ । भिन्नभिन्न भाषा र भाषिकाहरूले सांस्कृतिक पहिचानलाई प्रतिबिम्बित गर्छन् । सांस्कृतिक सन्दर्भले अर्थ स्पष्ट गर्न योगदान दिन्छ । संस्कृतिले भाषाको संरक्षण र संवर्द्धनमा इतिहासदेखि नै योगदान दिँदै आएको छ । 

नेपाल बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो । यहाँ एकातिर अङ्ग्रेजीको प्रभाव बढ्दै छ, सांस्कृतिक आक्रमण तीव्र हुँदै छ । अर्कातिर भाषिक र सांस्कृतिक समुदायमा यस विषयप्रति अपेक्षित गम्भीरता पाइँदैन । मातृभाषा र मौलिक संस्कृतिमाथि यसको गम्भीर असर परेको छ । मातृभाषा अभियन्ता र सीमित प्राज्ञिक व्यक्तित्वहरूमा केही गम्भीरता देखिए पनि भाषिक समुदायमा अपेक्षित गम्भीरता नदेखिँदा भाषाको संरक्षण र संवर्द्धनमा असर पर्नु स्वाभाविक छ । नेपाली र अन्य मातृभाषीहरूमा देखिएको अङ्ग्रेजी भाषाप्रतिको आकर्षण छक्कलाग्दो छ । राज्यका नीतिगत कमजोरीलाई देखाएर उम्किने ठाउँ छैन । राज्यमा कमजोरी छन्, कमजोरी भाषिक समुदायमा पनि छन् । भाषिक अपशरण एवं संस्कृतिमा सङ्करीकरण र पश्चिमीकरण बढ्दो छ । जीवनमूल्य त्यसै अनुरूप निर्माण हुँदै छ । सांस्कृतिक साम्राज्यवाद र भाषिक साम्राज्यवादका विषयमा भाषा र संस्कृति दुवै क्षेत्रमा त्यति चर्चा भएको पाइँदैन । भाषिक र सांस्कृतिक आक्रमणको प्रतिवाद कमजोर छ । भाषा मासिए संस्कृति मासिन्छ र संस्कृति मासिए भाषा पनि मासिन्छ भन्ने चेतना विगतको तुलनामा अझ बलियो हुनुपर्ने हो, तर स्थिति त्यस्तो छैन । 

संसारका सबै मुलुकहरूको पहिचान मूलतः भाषा एवं संस्कृतिका माध्यमबाट परिभाषित हुन्छ । नेपालको पहिचान बहुभाषा र बहुसंस्कृति हो । यसको आफ्नो इतिहास, मौलिकता र चरित्र छ । यसको संरक्षण र संवर्द्धनबाटै हाम्रो अस्मिता जीवित रहन सक्छ । भाषा र संस्कृति जोगाउन भाषा र संस्कृति बिचको सम्बन्धलाई गहिराइमा बुझ्न र त्यसअनुरूप अघि बढ्न आवश्यक छ । राज्यको भूमिका यस सन्दर्भमा निकै महत्त्वपूर्ण हुन्छ । अझै पनि राज्य पुरानो मानसिकताबाट मुक्त भइसकेको छैन । भाषिक समुदाय आत्मविसर्जन वा आफ्नो मौलिक स्वलाई बिर्सने कुराबाट पनि मुक्त हुनुपर्छ र भाषा एवं संस्कृतिको संरक्षण र संवर्द्धनलाई उच्च प्राथमिकतामा राख्नुपर्छ । भाषिक एवं सांस्कृतिक आक्रमणको प्रतिवाद बलियो गरी गर्न सक्नुपर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. अमर गिरी
डा. अमर गिरी
लेखकबाट थप