शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

‘हिमालसम्मै डेंगु पुगिसक्यो, यो सरकारी उदासीनताको भयावह परिणाम हो’

अध्ययनविना लामखुट्टेलाई प्रभावकारी माध्यमबाट नियन्त्रण गर्न सक्दैनौँ : डा. बाबुराम मरासिनी
आइतबार, २९ असार २०८२, १० : १३
आइतबार, २९ असार २०८२

सारांश

  • सन् २००४ मा नेपालमा पहिलो पटक डेंगु देखिएको थियो र अहिले देशका ७७ वटै जिल्लामा सङ्क्रमण फैलिएको छ।
  • वातावरण बिग्रेका कारण लामखुट्टेको लार्भा खाने जीवहरू लोप हुँदा र जलवायु परिवर्तनका कारण डेंगु हिमाली क्षेत्रमा पनि फैलिएको छ।
  • डेंगु नियन्त्रणका लागि बहुक्षेत्रीय समन्वय, जनचेतना र लामखुट्टेको संख्या घटाउनु आवश्यक छ, तर सरकारको स्पष्ट योजना देखिएको छैन।

सन् २००४ मा पहिलोपटक नेपालमा डेंगु सङ्क्रमण देखिएको थियो । तर त्यसको १८ वर्षको अवधिमै देशका ७७ वटै जिल्लामा सङ्क्रमितहरू भेटिइसकेका छन् । यस्तो हुनुमा सरकारको पर्याप्त लगानी तथा सचेतनामूलक काम नहुनुको यो परिणाम देख्छन् जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी ।

डेंगु फैलनुको मुख्य कारक के हो ? यसलाई भयावह अवस्थाबाट कसरी रोक्न सकिन्छ ? सरकारले सङ्क्रमण रोकथाममा के गर्न सक्यो के गर्न सकेन ? यस्तै प्रश्नहरू हामीले डा. मरासिनीलाई सोधेका छौँ । प्रस्तुत छ रातोपाटीका लागि माया श्रेष्ठले लिएको अन्तर्वार्ताको सारसंक्षेप । 

  • नेपालमा पछिल्ला वर्षहरूमा डेंगुका केस हिमाली जिल्लामा कसरी देखिन थाले ?

नेपालको वातावरण एकदमै बिग्रेको छ । लामखुट्टेको लार्भालाई खाइदिने प्राणीहरू हराउँदै गएका छन् । उदाहरणका लागि, भ्यागुताका बच्चाहरू, साना–साना माछाहरू बस्ने खेत, पोखरी मासिँदै गएका छन् । यही राजधानीका खेत, पोखरीमा स–साना माछा, भ्यागुता हुन्थे । लामखुट्टेले पानीमा अण्डा अथवा लार्भा पार्दा माछा, भ्यागुताले खाइदिन्थे, जसका कारण लामखुट्टेको सङ्ख्या घट्थ्यो ।

अहिले राजधानीदेखि अन्य स्थानमा सहरीकरण भएसँगै भ्यागुता र माछा हराउँदै गएका छन् । पुराना रैथाने माछाहरू र भ्यागुता हराएका कारण पोखरीहरूमा अब लामखुट्टेलाई ‘वाकओभर’ दिएजस्तो भएको छ । लामखुट्टेले जति अण्डा पार्छ, त्यसबाट वयस्कहरू निस्किन्छन् अनि बस्तीमा गएर मान्छेलाई टोक्ने गर्छन् । 

पहिला पर्यावरणीय सन्तुलन (इकोलोजिकल ब्यालेन्स) थियो, अहिले जलवायु परिवर्तनका कारण बिग्रेको छ । जलवायु परिवर्तनका कारण माथिल्लो भेगमा गर्मी बढ्दै गएको छ । माथिल्लो भेगमा लामखुट्टे लामो समयसम्म बसी अण्डा पारी वृद्धि गर्न सक्ने वातावरण सिर्जना भएको छ ।

एक अध्ययनअनुसार चितवनबाट एडिस जातिको लामखुट्टेको अण्डा बर्लिन युनिभर्सिटीको प्रयोगशालामा राखिएको थियो । एडिस लामखुट्टेको अण्डा शून्य डिग्री सेन्टिग्रेडमा राखेर लामखुट्टे बन्छ कि बन्दैन भनेर हेरिएको थियो । सो अण्डा हाल नेपालको मौसमअनुसार १०–१२ दिनमा लामखुट्टे बनिसक्नुपर्ने थियो । तर, शून्य डिग्री सेन्टिग्रेडमा राख्दा करिब ३५ दिनमा लामखुट्टेको लार्भा बन्यो अनि वयस्क बनेको पुष्टि भयो ।

मलेरिया कसरी आयो भनेर अध्ययन गर्दा हवाईमार्ग हुँदै जोहानेसबर्गबाट पुगेको कारण मलेरिया फैलिएको पुष्टि भयो ।

प्रयोगशालामा त्यस्तो परिणाम आएपछि नेपालमा प्राकृतिक रूपमा माथिल्ला भेग मनाङ, मुस्ताङ, जुम्लालगायत हिमाली क्षेत्रमा डेंगु तीव्र गतिमा फैलिरहने डर भयो । जलवायु परिवर्तनसँगै लामखुट्टेले आफूलाई अनुकूलन (एडप्ट) गर्‍यो । लामखुट्टेले आफूलाई समयानुकूल ढाल्दै लगेकाले डेंगुका केस अब हिमाल, पहाड र तराई सबैतिर देखिन थाल्यो ।

  • माथिल्ला भेगमा डेंगुका केस देखिनुमा जलवायु परिवर्तन मात्रै कारक तत्त्व हो त ?

स्थलमार्ग, हवाईमार्गबाट पनि लामखुट्टे हिमाली र उच्च पहाडी जिल्लामा पुगेका छन् । मुगु, डोल्पालगायत विमानस्थलमा प्लेन जान्छ । उता तराईका जिल्लाबाट हिमाली जिल्लामा स्थलमार्ग हुँदै बस जान्छन् । हवाईमार्ग र स्थलमार्गबाट डेंगु सार्ने लामखुट्टे पुगेको हुन सक्छ । प्लेन उड्नुभन्दा वा सवारी गुड्नुभन्दा अगाडि लामखुट्टेलाई माथि जान नदिन नियन्त्रणका विधि अपनाउनुपर्छ । यो सम्बन्धित निकायले सोचेकै छैन । 

यस्तै उदाहरणहरू धेरै छन्, लामखुट्टेकै कारण ‘एयरपोर्ट मलेरिया’ भन्ने गरिएको छ । साउथ अफ्रिकाको जोहानेसबर्गदेखि प्लेन उडेर लामो, १४–१५ घण्टाको उडानपछि नेदरल्यान्ड्सको एम्स्टर्डम पुग्छ । त्यसपछि एम्स्टर्डमको एयरपोर्टवरिपरिका बासिन्दाहरूमा मलेरिया देखियो । मलेरिया कसरी आयो भनेर अध्ययन गर्दा हवाईमार्ग हुँदै जोहानेसबर्गबाट पुगेको कारण मलेरिया फैलिएको पुष्टि भयो । त्यहाँको टोली गएर अध्ययन गर्दा दुवै देशका लामखुट्टेको जेनेटिक म्याचिङ गर्दा ठ्याक्कै मिलेको थियो । त्यस्तै नेपालमा पनि भएको हुन सक्छ, यद्यपि यसमा गहन रूपमा अध्ययन भएको छैन ।

  • लामखुट्टेको सङ्ख्या कम गर्न ‘सर्च एन्ड डिस्ट्रोय’ भनिएको छ । किन यो प्रभावकारी भएन ?

‘सर्च एन्ड डिस्ट्रोय’ भनिए पनि व्यवहारतः लागू भएको छैन । विभिन्न अनुसन्धानमा उल्लेख गरिएअनुसार धेरै लामखुट्टेको सङ्ख्यात्मक वृद्धि विकास मुख्यतया टायरमै भएको छ । लामखुट्टेले आफ्नो वृद्धिविकासका लागि टायर असाध्यै मन पराउने रहेछ । 

नेपालमा पनि मकै, बाँसमा लामखुट्टेले प्रजनन गर्न सक्छ, सोहीअनुसार जनचेतना फैलाउनुपर्छ ।

लामखुट्टेलाई नियन्त्रण गर्न नयाँ नीति नै ल्याउनुपर्छ । जस्तै: जसले टायरलाई बाहिर राखेर आकाशको पानी पर्न दिन्छ, त्यो मान्छेलाई प्रतिटायर ५०० रुपैयाँको दरले जरिवाना गर्ने भनेर लेखिदिने । अनि प्रहरीले मोटरसाइकलको हेल्मेट नलाउँदा जसरी चिट काट्छ, त्यसैगरी चिट काट्ने प्रणाली बनाएमा लामखुट्टेको दर घट्न सक्छ । ‘सर्च एन्ड डिस्ट्रोय’ बढी टायरमा हुन जरुरी छ ।

यस्तै पानी जम्मा हुने ठाउँहरूमा लामखुट्टे बस्छन् भनेर जनचेतना व्यापक रूपमा जगाउनुपर्ने हुन्छ । मानवीय व्यवहार परिवर्तनका लागि जनचेतना फैलाउनुपर्छ । आकाशे पानी जम्मा गरेर राख्ने भाँडालाई छोप्नेलगायत कुरामा जानकारी दिन आवश्यक छ । सरकारले फूलदानी, गमलामा बढी लामखुट्टे हुने भने पनि खुला रूपमा राखिएका टायरमा ध्यान दिन जरुरी छ । यदि त्यसो गरिएन भने धनजनको क्षति हुन सक्छ भनेर चेतना फैलाउनुपर्छ । सरकारी संयन्त्रबाट जनचेतना फैलाउन सकिएन ।

यस्तै, कृषकलाई पनि लामखुट्टेको वृद्धि हुन नदिन जनचेतना फैलाउन आवश्यक छ । जापानमा लामखुट्टेको सङ्ख्या बढ्दा अध्ययनका क्रममा थाहा भयो कि, मकैको डाँठको आँख्ला सीधा पारेर काट्दा आकाशबाट आएको पानी जम्मा भई लामखुट्टेले प्रजनन (ब्रिडिङ) गरेको पाइएको थियो । त्यसपछि किसानलाई त्यसो नगरी छड्के पारेर काट्न सिकाइयो, ताकि पानी जम्मा नहोस् । यस्तै, नेपालमा पनि मकै, बाँसमा लामखुट्टेले प्रजनन गर्न सक्छ, सोहीअनुसार जनचेतना फैलाउनुपर्छ ।

यस्तै, निजी तथा सरकारी भवन निर्माण गर्दा अनिवार्य रूपमा झ्याल–ढोकामा जाली राख्ने नियम बनाउनुपर्छ । यस्ता खालका निर्देशिका (गाइडलाइन) बनाएर लागु गराए लामखुट्टेको दर कम हुन्छ, जसका कारण डेंगुका बिरामी र मृत्युदर घट्छ ।

धेरैजसो स्थानीय तहका वडा–वडामा सवारी पुगेको छ । त्यहाँ पुराना टायर फालिएको छ, त्यहाँ पनि बिस्तारै लामखुट्टेको सङ्ख्या बढ्दै छ । लामखुट्टेले प्रजनन गर्ने उपयुक्त स्थान टायर हो भनेर युरोपमा भएको अध्ययनमा भनिएझैँ नेपालमा त्रिभुवन विश्वविद्यालयको प्राणीशास्त्र (जुलोजी) विभागले गरेको अध्ययनमा ६० प्रतिशत लामखुट्टेले टायरमै प्रजनन गरेको पाइएको थियो ।

‘सर्च एन्ड डिस्ट्रोय’ मात्रै भनेर हुँदैन । कतिपय मान्छेले बुझिसकेका छन् । कहिलेकाहीँ प्रचारका लागि एक दिन जुलुस–सुलुस निकाले हुन्छ । खाली ट्याङ्कीमा पानी राखेको छ भने पल्टाइदिने । जस्तै: २०१४ मा भरतपुरमा डेंगुका ५ सय बिरामी पुगेपछि जिल्ला प्रशासन, नगरपालिका, सेना र महिला स्वयंसेविकाहरूले मिलेर जुलुस निकाल्दै, दोकान र साना होटेलहरूमा जाँदै ‘पानी यसरी राख्नुहुँदैन’ भनेर पोखाउँदै हिँडिएको थियो । त्यसपछि खुला भाँडामा पानी राख्दा ढाकेर राख्ने गरियो, जसको १० दिनपछि लामखुट्टेको दर स्वाट्टै घट्यो । डेंगु सङ्क्रमण कम गर्न सङ्घदेखि स्थानीय तहका वडा–वडासम्म प्रचारात्मक तरिका पटक्कै अपनाइएन ।

  • ७२ जिल्लामा डेंगुका केस पुष्टि भइसकेको छ । डेंगु फैलन कम गर्न सरकारले स्पष्ट योजना बनाएको पाइँदैन । १० वर्षपछि अवस्था कस्तो होला ?

डेंगुको एउटा उपजातिबाट सङ्क्रमण भएपछि पुनः अर्को उपजातिबाट सङ्क्रमण हुँदा एन्टिबडीको भिडन्त भएर स्वास्थ्यमा झन् खराब असर परी मृत्यु नै हुन सक्छ । जति धेरै मान्छेलाई टोक्दै गयो, त्यति धेरै मान्छेहरूको मृत्यु हुने खतरा बढेर जान सक्छ । त्यसैले धेरै भयावह स्थिति पनि हुन सक्छ । समयमा सचेत भइएन भने नेपाल एसियाको कोलम्बिया हुँदैछ । त्यहाँ हरेक तीन वर्षमा ठुलो प्रकोप हुन्छ । सरकार ‘यो–यो महिना यति पुग्छ’ भनेर प्रक्षेपण गरेर बस्ने र फैलावटअनुसार काम नभए भयावह स्थिति नआउला भन्न सकिँदैन ।

डेंगुका केस बढ्न नदिन बहुक्षेत्रीय समन्वय हुनुपर्छ । स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार मन्त्रालयको समन्वय आवश्यक छ ।

कोलम्बिया पनि पहाडी मुलुक हो । सहरमा भन्दाभन्दै डेंगु गाउँमा देखिन थाल्यो । कोलम्बियामा धेरै पहाड भएकाले अमेरिका, क्यानडालगायत राष्ट्रबाट पर्यटकहरू जाने गर्थे । लामखुट्टेका कारण त्यहाँ पर्यटकहरू पुग्न कम भएको थियो । त्यहाँ तीन–तीन वर्षमा कलेज, विश्वविद्यालय बन्द हुन्छन् । हजारौं मान्छेको मृत्यु भयो । यति ठुलो पीडा कोलम्बियाले संसारलाई बताइरहेको छ । नेपालले त्यहीँबाट सिक्नुपर्छ ।

  • डेंगु नियन्त्रण गर्न क–कसको भूमिका कस्तो रहन्छ त ?

डेंगुका केस बढ्न नदिन बहुक्षेत्रीय समन्वय हुनुपर्छ । स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार मन्त्रालयको समन्वय आवश्यक छ । लामखुट्टेलाई बुझ्न धेरै गाह्रो छ । सानो तर ठुलो वुद्धि भएको प्राणी हो । लामखुट्टे एकदमै चलाख खालको हुन्छ । किनभने मिर्मिरे बिहान, साँझतिर सूर्य अस्ताउने वेलामा मात्र टोक्छ भन्ने थियो, राति टोक्दैन भन्ने थियो । अहिले दिनभरि टोक्छ । बिहानैदेखि बेलुकासम्म टोकिरहेको छ । कार्यालयमा काम गर्दा, स्कुलका बच्चाहरूलाई टोकेको टोक्यै छ । सबैभन्दा धेरै पीडित बच्चाहरू छन् ।

नीतिगत व्यवस्था गरेर नै मातहतका निकायलाई निर्देशन, अनुगमन, सहजीकरण र जनचेतना प्रचारप्रसार गर्न आवश्यक छ । नीति बनाइसकेपछि सरकारी कार्यालयहरूमा जाली हाल्ने काम सरकारले गर्ला, घरमा जाली हाल्ने काम व्यक्तिले गर्ला । नीतिगत रूपमा कमजोर भएकाले डेंगुबाट बच्न सामान्य तरिकाबाट कम खर्च गर्न सकिने कार्यलाई अगाडि बढाउन सरकारले सकेन ।

नेपालमा एडिस एजिप्टाई र एडिस एल्बोपिक्टस लामखुट्टे देखिएका छन् । लामखुट्टे नियन्त्रणका लागि नेपालमा मलेरियाको सन्दर्भमा राम्रोसँग जनचेतना फैलाइएको थियो । एक जना अमेरिकी र दुईजना नेपाली वैज्ञानिकहरूले अध्ययन गर्दा एडिस प्रजातिको लामखुट्टे भेटिएको थियो ।

डेंगु गराउने भाइरस हो, जुन औषधि खाएर निको हुँदैन ।
  • अहिले छपक्कै लामखुट्टेहरू बढिरहेका छन् । हिमाली क्षेत्रका माथिल्ला भागमा कुन प्रजातिका लामखुट्टे पुगेका हुन् ? रैथाने प्रजाति माथि गएको हो कि अन्य प्रजाति पुगेका छन् ? 

हाल देखिरहेका लामखुट्टे कुन प्रजातिका हुन् भन्नेबारे सरकारले बृहत् रूपमा अध्ययन गर्न सकेको छैन । अध्ययनविना लामखुट्टेलाई प्रभावकारी माध्यमबाट नियन्त्रण गर्न सक्दैनौँ ।

लामखुट्टेजन्य रोग नियन्त्रणका लागि दुई वटा पाटा छन्: एउटा भेक्टर (रोगवाहक) नियन्त्रण, अर्को ब्याक्टेरिया अथवा प्यारासाइट नियन्त्रण । विगतमा मलेरियाको सन्दर्भमा एउटा भेक्टर नियन्त्रण थियो भने अर्को रोग नियन्त्रणका लागि मलेरियाको प्यारासाइटलाई औषधि खुवाएर निको पारिन्थ्यो । औषधि खुवाएर मारिन्थ्यो अर्थात् औषधिले मर्थ्यो । बाहिरचाहिँ औषधि छर्केर लामखुट्टेको सङ्ख्या घटाउने काम गरिन्थ्यो ।

डेंगु गराउने भाइरस हो, जुन औषधि खाएर निको हुँदैन । त्यसैले एउटा मात्रै उपाय भनेको भेक्टरको सङ्ख्या घटाउने हो । भेक्टरको जनसङ्ख्या जतिसक्दो घटाउन सक्यौँ, त्यति नै डेंगुको केस घटाउन सकिन्छ । यस कुरालाई सरकारले नीतिगत रूपमा लागु गर्न सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप