शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

पार्टीभित्रको एकता मजबुत बनाइए एमालेलाई कसैले पराजित गर्न सक्दैन : अध्यक्ष ओली

आइतबार, २९ असार २०८२, १७ : ०८
आइतबार, २९ असार २०८२

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पार्टी एकतालाई जोड दिए।
  • ओलीले एमालेलाई कमजोर पार्न खोज्ने षड्यन्त्रको भण्डाफोर गर्दै पार्टीको नीति र नेतृत्वको पक्षमा उभिन आग्रह गरे।
  • उनले नेपालको विकास र समृद्धिका लागि एमालेको योगदानको चर्चा गर्दै विपक्षीको आलोचना गरे।

झापा । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको एकतालाई मजबुत बनाएर सङ्कल्पका साथ लाग्ने हो भने एमालेलाई अरूले हराउन नसक्ने बताएका छन् । नेकपा (एमाले) को जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एमालेमा लामो समय बसेर विभिन्न जिम्मेवारी र लाभको अवसर लिएका कतिपय स्वार्थी नेताहरूले विगतमा पार्टी विभाजन र पार्टी सिध्याउने षड्यन्त्र गरे पनि कार्यकर्ता र जनताले एमालेलाई बचाएर पुनः राष्ट्रिय शक्ति बनाएको बताए ।

केपी ओली विनाको एमाले देख्न चाहने प्रतिक्रियावादीहरूको खेल भएको टिप्पणी गर्दै उनले पार्टीभित्र र बाहिरबाट भइरहेको षड्यन्त्र चिर्दै ढुक्कका साथ पार्टीको सही नीति र नेतृत्वको पक्षमा लाग्न आग्रह गरे । ‘एमाले विनाको देश र केपी ओली विनाको एमाले होस् भन्ने कामना गर्नेहरूको कामना पुरा हुँदैन । एमाले साना स्वार्थ बोक्ने पार्टी होइन । यसको काँधमा देश बनाउने महान् उद्देश्य छ । यो राष्ट्रिय हितका लागि बलिदानबाट आएको पार्टी हो ।’ 

अध्यक्ष ओलीले भने, ‘एमालेविरुद्ध जाल बुन्नेहरू सफल हुँदैनन् । माकुरोको जालोमा कहिल्यै भैँसी पर्दैन । हाम्रा विरुद्धको भ्रामक प्रचारको पछि लाग्नु हुँदैन । केपी ओली र एमालेले भ्रष्टाचार गर्दैन । हामी सहकारी ठगेर मुद्दा  झेलेपछि आफ्नो पक्षमा हस्ताक्षर अभियान चलाउने रास्वपाजस्तो हुँदै होइन ।’ 

उनले नेपाललाई एमालेले नसके अरू कसैले बनाउन नसक्ने स्पष्ट गर्दै आफू प्रधानमन्त्री भएपछि फलाम खानी र पेट्रोलियम पदार्थको उत्खनन, सुरुङ मार्ग निर्माणजस्ता अनेकौँ  विकास र समृद्धिका काम थालनी भएको र त्यसको प्रतिफल आउन थालेको बताए ।

अहिले नेपालको अन्तर्राष्ट्रिय छवि देखिने र सुनिने अवस्थामा रहेको उल्लेख गर्दै उनले पछिल्लो स्पेन भ्रमणको सफलता सुन्न नचाहने विपक्षीले वाइसीएल प्रयोग गरेर स्पेन भ्रमणमा मान्छे छाडेर आयो भन्ने दुष्प्रचार गरेको जनाए ।  कार्यक्रममा सयौँ युवाहरूलाई अध्यक्ष ओलीले पार्टी प्रवेश गराएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप