विकासको मार्गमा सरकार जनतासँग काँधमा काँध मिलाएर अगाडि बढ्छ : मन्त्री यादव
कैलाली । खानेपानी मन्त्री प्रदीप यादवले देश र नागरिकको विकासको मार्गमा सरकार जनताको काँधमा काँध मिलाएर सँगसँगै अगाडि बढ्ने बताएका छन् ।
कैलालीको लम्कीचुहा नगरपालिकास्थित लम्की साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाअन्तर्गत लम्कीचुहा सहलगानी खानेपानी आयोजनाको दोस्रो चरणको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले खानेपानी क्षेत्रलाई सामाजिक न्याय र समावेशी विकाससँग जोडेर नागरिकको जीवनस्तर सुधार गर्ने सरकारको प्रयास निरन्तर जारी रहेको बताए ।
मन्त्री यादवले सुदूरपश्चिम प्रदेशको राजधानी रहेको कैलालीमा विकासका थुप्रै पूर्वाधार निर्माण गरिएका भए पनि लम्कीचुहा नगरपालिकामा खानेपानीको समस्या भएका कारण यहाँका नागरिकलाई स्वच्छ, सुरक्षित खानेपानी प्रदान गर्ने उद्देश्यले उक्त आयोजनाको शिलान्यास गरिएको उल्लेख गरे ।
“देशका हरेक नागरिकको आधारभूत अधिकार सुरक्षित खानेपानी र सरसफाइ पहुँच सुनिश्चित गर्नु हाम्रो सर्वोच्च प्राथमिकता र दीर्घकालीन नीतिगत प्रतिबद्धता हो”, उनले भने, “यही राष्ट्रिय लक्ष्यलाई सार्थक बनाउँदै हामी अहिले गाउँ–शहर, हिमाल–पहाड–तराईसम्मका सबै बस्तीमा खानेपानी तथा सरसफाइका पूर्वाधार निर्माणमा नयाँ गति, पारदर्शिता र गुणस्तर थपिरहेका छौँ ।”
सुरक्षित खानेपानी सबै नागरिकका लागि मौलिक अधिकार मात्रै होइन, समृद्धि र सामाजिक न्यायको आधार पनि हो भन्ने दृष्टिकोणले सरकारले यस क्षेत्रमा दीर्घकालीन नीतिगत सुधार तथा पूर्वाधार विस्तारमा विशेष जोड दिइरहेको मन्त्री यादवको भनाइ थियो ।
उक्त आयोजनालाई सफल बनाउन नेपाल सरकार, लम्कीचुहा नगरपालिका र खानेपानी उपभोक्ता समितिको त्रिपक्षीय सहकार्य अपरिहार्य रहेको तथा तोकिएकै समयमा आयोजना सफल पार्न उनले आग्रह गरे ।
लम्कीचुहा नगरपालिकाका नगरप्रमुख सुशिला शाहीले लम्कीचुहा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण सम्पन्न भएपछि खानेपानी समस्याबाट पीडित नागरिकलाई राहत पुग्ने बताए ।
खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इञ्जिनियर रामकुमार श्रेष्ठले आयोजनाको दोस्रो चरण सम्पन्न भएपछि लम्कीचुहा–१, २, ३, ४ र ५ का कम्तीमा ७४ हजार ५०० नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुने बताए । यस आयोजनामा नेपाल सरकारको ७० प्रतिशत, खानेपानी उपभोक्ता समितिको २५ र लम्कीचुहा नगरपालिकाको पाँच प्रतिशत लागत साझेदारी रहेको छ ।
लम्कीचुहा सहलगानी खानेपानी तथा सरसफाइ आयोजना प्याकेज दुई निर्माण गर्न यही असार २३ गते निर्माण व्यवसायी सुप्रिम जयमाता जेभी र सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयबिच ठेक्का सम्झौता भई सोही दिन आयोजना कार्यालयले तोकिएको समयमा निर्माण गर्न कार्यादेश दिइएको आयोजना प्रमुख अरुणकुमार कर्णले जानकारी दिए ।
आयोजनाको लागत रु २९ करोड ४८ लाख ३२ हजार रहेको छ । सो आयोजना आगामी २०८५ असारसम्म निर्माण सम्पन्न गर्नुपर्नेछ । शिलान्यास कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, सहसचिव कमलराज श्रेष्ठ, लम्की साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका पदाधिकारी, निर्माण व्यवसायी एवं उपभोक्ता सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण