डिग्रीसँगै दक्षता चाहिन्छ
हरेक वर्ष जुलाई १५ मा मनाइने ‘विश्व युवा दक्षता दिवस’ले आजको युवा वर्गलाई शिक्षासँगै व्यवहारिक सीप सिकाउने सन्देश दिन्छ । यद्यपि यो दिवस भाषण, ब्यानर र गोष्ठीमा मात्र सीमित हुनु हुँदैन । यस दिवसले प्रवाह गर्ने नारा वा सन्देशहरुलाई मूर्त रुप दिने वातावरण बन्नुपर्छ ।
संयुक्त राष्ट्रसंघले सन् २०१४ देखि यो दिवस मनाउन थालेको हो । यसको उद्देश्य स्पष्ट छ— युवालाई रोजगारी, आत्मनिर्भरता र उद्यमशीलताको मार्गमा डोर्याउने व्यावहारिक सीप उपलब्ध गराउनु । आजको विश्वमा शिक्षा किताबी ज्ञानमा सीमित हुनु हुँदैन, जीवन उपयोगी सीपमा आधारित हुनुपर्छ शिक्षा । यही चेतना दिनकै लागि यो दिवस मनाइन्छ । शिक्षा त्यति बेला मात्र उपयोगी हुन्छ, जब त्यसले जीवन निर्माण गर्ने सीप दिन्छ ।
विश्वभर शिक्षामा युवाको पहुँच बढ्दो छ तर त्यस शिक्षाले उनीहरूको जीवनमा रोजगारी वा उद्यमशीलताको स्पष्ट बाटो दिन सकेको छैन । यही कारण विश्वभर सात करोडभन्दा बढी युवा बेरोजगार छन् ।
हामीकहाँ पनि डिग्रीधारी हजारौँ युवा रोजगारको सम्भावना नपाएर दैनिक रूपमा परदेसिन बाध्य छन् । हाम्रो करिब ४० प्रतिशत जनसंख्या १६ देखि ४० वर्ष उमेर समूहमा पर्छ । जसलाई राष्ट्रको शक्ति मानिन्छ तर यिनै शक्तिशाली युवालाई हामीले विदेशतर्फ धपाइरहेका छौँ । हरेक वर्ष चार लाखभन्दा बढी युवा वैदेशिक रोजगारीमा जान बाध्य छन् । शिक्षाको नाममा डिग्री दिइन्छ, तर त्यो डिग्रीले सीप दिन सक्दैन । शिक्षा अनुसार रोजगारी वा स्वरोजगारीको प्रत्याभूति गराउन राज्यले सकेको छैन, देशमै कुनै उद्यम गर्ने वातावरण पनि छैन । त्यसैले डिग्रीधारी वा साधारण लेखपढ युवा अन्ततः अवसर र रोजगारी खोज्दै बिदेसिन्छन् ।
नेपालमा अझै पनि शिक्षा भनेको किताबी ज्ञान प्राप्त गर्नु हो भन्ने सोच हाबी छ । सैद्धान्तिक विषयलाई मात्र प्राथमिकता दिइन्छ । विद्यालयमा मातृभाषा, अंग्रेजी, नागरिक शास्त्रजस्ता विषय पढाइन्छन् तर जीवनमा उपयोगी सीप (जस्तै ः कम्प्युटर, बिजुली मर्मत, कृषि वा लघु उद्यम तालिम आदि) दिनेबारे चासो छैन । विद्यार्थीले पढेको हुन्छ तर प्रत्यक्ष रूपमा केही गर्ने सीप हुँदैन ।
अहिलेको विश्व बजारले सीपयुक्त र लचिलो जनशक्ति खोजिरहेको छ, जसमा सोच्न सक्ने, नेतृत्व लिन सक्ने, टोलीमा मिलेर काम गर्न सक्ने, समाधान दिन सक्ने क्षमता होस् । यसका साथै पछिल्लो विज्ञान र प्रविधि धेरथोर तालिम वा शिक्षा लिएको व्यक्तिलाई पनि रोजगार पाउन सहज हुन्छ ।
नेपालमा अझै पनि सीपलाई ‘पछाडि परेका’ वर्गसँग जोड्ने सोच पाइन्छ । व्यावसायिक तालिमलाई विकल्पका रूपमा हेर्ने प्रवृत्तिले नै सीप आधारित शिक्षा पद्धतिको विकास हुन सकेको छैन । पछिल्लो दशकमा केही सरकारी तथा निजी संस्थाहरूले सीपमूलक तालिममा ध्यान दिए पनि त्यो प्रयत्न पर्याप्त हुन सकेको छैन । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को प्रयास तारिफयोग्य छ तर देशका हजारौँ विद्यालय र क्याम्पस अझै पनि सीपशून्य पाठ्यक्रम पढाउँदै छन् ।
आजको आवश्यकता भनेको शिक्षा र सीपबिचको दूरीलाई समाप्त गर्नु हो । विद्यालय तहदेखि नै साना उद्यम, कृषि, प्राविधिक, सूचना प्रविधि र वित्तीय शिक्षाजस्ता विषय समावेश गरिनु आवश्यक छ । कक्षा ६ देखि नै व्यावहारिक विषयहरूलाई नियमित पाठ्यक्रममा गाभ्नुका साथै स्थानीय तहमा युवाहरूलाई लक्षित गरी ‘युवा सीप केन्द्र’हरू खोलिनुपर्छ । गाउँ–गाउँमा रहेका बेरोजगार युवालाई निःशुल्क सीपमूलक तालिम दिने हो भने स्वदेशमै रोजगारी र उद्यमको अवसर निर्माण गर्न सकिन्छ ।
नेपालको समृद्धि अब गाउँका सीपयुक्त युवाको मेहनतमा निर्भर छ । अब पढेर विदेश जाने सोचको होइन, सीप लिएर देश बनाउने संस्कारको थालनी गरिनुपर्छ ।
आजको युवा पुस्तालाई चाहिएको केवल डिग्री होइन, त्यो डिग्रीसँगै जीवन निर्माण गर्न सक्ने सामर्थ्य हो । यसका लागि शिक्षा प्रणालीमा सुधार गर्न आवश्यक छ । सीपयुक्त शिक्षा वा तालिमका लागि राज्यले लगानी गर्नुपर्छ, सोही बमोजिमको नीति तथा कार्यक्रम ल्याउनुपर्छ ।
अन्ततः ‘विश्व युवा दक्षता दिवस’ केवल एउटा दिवस होइन यो हाम्रो शिक्षा प्रणाली परिमार्जन गर्ने अवसर हो । आज हामीले आफैँसँग एउटा प्रश्न गर्नु जरुरी छ, ‘के हाम्रो शिक्षा व्यावहारिक छ ?’ उत्तर ‘छैन’ आउँछ भने अब ढिला नगरी सीपयुक्त शिक्षाको अभियान प्रारम्भ गरिनुपर्छ ।
सीपयुक्त युवा नै समृद्ध राष्ट्रका आधार हुन् । नेपालले युवा पलायन होइन, युवा उत्थानको युग सुरु गर्नुपर्ने बेला यही हो ।
(राना स्वतन्त्र विद्यार्थी युनियन, त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पाकी कोषाध्यक्ष हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण