साउने सङ्क्रान्तिले दिने खुसी
नेपाली समाजमा साउने सङ्क्रान्तिको एक विशेष स्थान छ । यो कुनै साधारण तिथि होइन, बरु यो दिन प्रकृति, आस्था र परम्पराको संगम झल्काउने एउटा विशेष क्षण हो । आमा, हजुरआमा, छोरी, बहिनी, काकी, फुपू सबैको अनुहारमा छुट्टै चमक देखिन्छ यो दिन । साउने सङ्क्रान्तिमा केवल भोजन र वेशभूषा मात्रै होइन, आस्था र अपनत्वको पनि समेटिएको मिठो स्वाद हुन्छ ।
गाउँघरको आँगनमा बिहानैदेखि ढिकी कुट्ने आवाज आउँछ । कोही कचौरामा गहुँको पिठो मोल्दै छन्, कोही भान्छामा आलु टुक्राउँदै छन् । त्यहीँ कतै कोदोको ढिँडो पनि पकाइँदै छ तर सबैभन्दा धेरै प्रतीक्षा गरिन्छ साउने सङ्क्रान्तिको परिकार ‘घिउ–चाकु–तरुल’ हो । यो केवल खानाको नाम होइन, हाम्रा बाल्यकालका सम्झनाका स्वाद हुन् । घिउ, तरुल र चाकुमा आमाको मायाको स्पर्श हुन्थ्यो, जसलाई अहिलेका आधुनिक व्यञ्जनहरूले स्पर्श गर्न सक्दैनन् ।
साउने सङ्क्रान्ति भन्नासाथ हरियो चुरा, हरियो सारी र मेहेन्दीको खुसी पनि मनमा आइहाल्छ । छोरीहरूका लागि यो महिनाभरको रमाइलो सुरु हुने दिन हो । नजिकका दिदीबहिनीहरू भेला भएर एकअर्कालाई चुरा लगाइदिनु, मेहेन्दी कोर्दिनु र एकअर्काको हात समाउँदै ‘हेर नि कति राम्रो बन्यो’ भनेर हाँसो छर्नु— यी दृश्यहरू केवल फेसनका कुरा होइनन्, यी त परम्परा र प्रेमको सुन्दर पहिचान हुन् ।
धार्मिक पक्षले हेर्दा पनि साउने सङ्क्रान्तिको आफ्नै महत्त्व छ । शिवजीको आराधनामा समर्पित यो महिना विशेष गरी महिलाका लागि व्रत, पूजा र आस्थाको प्रतीक बनेको छ । शिव मन्दिरहरूमा बिहान सबेरै बेलपत्र चढाउन पुग्ने भक्तहरूको भिड देख्दा लाग्छ, आस्था अझै पनि गहिरो छ र त्यसले नेपाली समाजको आत्मालाई अझै बलियो बनाइरहेको छ । चर्को घाम होस् या पानीको झरी, शिवजीको दर्शन गर्न जाने श्रद्धालुहरूको लहर कहिल्यै कम हुँदैन ।
साउने सङ्क्रान्ति केवल एक दिनको उत्सव होइन, यो हो समग्र साउन महिना बिताउने शैलीको सुरुवात । यो दिनले मानिसमा भित्रिँदै गरेको न्यानोपन र चिसोपनको सन्तुलन बनाउँछ । परम्परागत रूपमा यो ऋतुको परिवर्तनसँग पनि जोडिएको दिन हो । गर्मी घट्दै जाँदा चिसो बढ्न थाल्छ, अनि शरीरलाई बलियो बनाउने चिजहरूको सेवन गर्नुपर्ने समय पनि यही हो । घिउ, तरुल, चाकु यी सबै स्वस्थ जीवनशैलीका संकेत हुन्, जुन हाम्रा पूर्वजहरूले विनाकुनै मेडिकल रिपोर्ट अपनाएका थिए ।
नजिकका दिदीबहिनीहरू भेला भएर एकअर्कालाई चुरा लगाइदिनु, मेहेन्दी कोर्दिनु र एकअर्काको हात समाउँदै ‘हेर नि कति राम्रो बन्यो’ भनेर हाँसो छर्नु— यी दृश्यहरू केवल फेसनका कुरा होइनन्, यी त परम्परा र प्रेमको सुन्दर पहिचान हुन् ।
समाजशास्त्रीय रूपमा हेर्दा पनि साउने सङ्क्रान्तिको महत्त्व अलग छ । यो पर्वले परिवारलाई एक ठाउँमा ल्याउँछ, पिँढीगत सम्बन्धलाई सुदृढ बनाउँछ । ससुराली गएकी छोरी माइती आउने बहाना बनाउँछे र भाइबहिनी, काकाकाकी, मामाघर सबै भेला हुने मौका मिल्छ । यो पर्व सम्बन्धको पुनः प्राप्तिको पनि अवसर हो, जहाँ भावनाहरूले खाना र चाडपर्वमा मिसिएर परिवारभित्र पुनः जरो गाड्छन् ।
यस्तो रमाइलो र भावनात्मक पर्वले समाजमा सकारात्मक ऊर्जा फ्याल्ने मात्र होइन आर्थिक रूपमा पनि स्थानीय बजारमा हलचल ल्याउँछ । बजार चुरा, सारी, मेहेन्दी, फलफूल र पूजा सामग्रीले भरिन्छ । चाकु बनाउने, तरुल बेच्ने, पूजा सामग्री तयार पार्ने, घिउ पस्किने सबैलाई रोजगार र आम्दानीको अवसर पनि मिल्छ ।
आजको व्यस्त जीवनशैलीमा जब मानिस आफ्ना जरा बिर्सँदै गएका छन्, साउने सङ्क्रान्तिले हामीलाई सम्झाउँछ कि हामी को हौँ, हाम्रो संस्कृति के हो र हाम्रो आत्मा कुन रीतिसँग जोडिएको छ । हामी चाहे जतिसुकै आधुनिक बनौँ, हाम्रो पहिचान सधैँ यी परम्पराले नै निर्धारण गर्नेछ ।
त्यसैले साउने सङ्क्रान्ति केवल एक पर्व होइन यो चाहनाको हरियाली हो । यसले जीवनमा नवीनता ल्याउँछ, सम्बन्धमा मिठास भर्छ, अनि परम्परालाई जोगाउने सूत्रधार बन्छ । वर्षको यो अनौठो दिनमा आकाश ढाक्ने कालो बादलभन्दा पनि गहिरो हुन्छन् हाम्रा सम्झनाहरू, अनि त्यो सम्झनाको स्नेह, मायालु स्पर्श र सांस्कृतिक गौरव सधैँ हामीभित्र हरियो भएर बाँच्छ ।
(राना स्वतन्त्र विद्यार्थी युनियन, त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पाकी कोषाध्यक्ष हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण