आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

चिनिया राजदूतद्वारा भौतिक पूर्वाधार मन्त्रीसँग भेटवार्ता

स्याफ्रुबेसी–रसुवागढी सडक तथा सीमा पुल पुनर्निर्माण विषयमा छलफल
बिहीबार, ०१ साउन २०८२, १६ : ०३
बिहीबार, ०१ साउन २०८२

काठमाडौँ । नेपालका लागि चीनका राजदूत चेन सङले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग शिष्टाचार भेट गरेका छन् । बिहीबार मन्त्रालयमा भएको भेटमा बाढीले क्षतिग्रस्त बनाएको स्याफ्रुबेसी–रसुवागढी सडक तथा सीमा पुल निर्माण लगायतका विषयमा छलफल भएको हो । 

भेटका क्रममा क्षतिग्रस्त सडक तथा पुलको पुनर्निर्माणमा चिनिया पक्षले चासो देखाएको छ । सिमापुल भएको स्थान जतिसक्दो छिटो अस्थायी पुल बनाउन चिनिया पक्षबाट प्रतिबद्धता आएको छ ।

यसै गरी चिनिया सहयोगमा सञ्चालित अन्य आयोजनाहरू टोखा–छहरे सुरुङ मार्ग, हिल्सा–सिमिकोट सडक, खाँदबारी–किमाथांका सडक लगायतका विषयमा पनि छलफल भएको थियो । छलफलमा राजदूत चेनले काठमाडौँ–चक्रपथ दोस्रो खण्ड विस्तारको काम छिटै सुरु हुने बताए । 

भेटपछि मन्त्री दाहालले नेपालको विकासमा चीनले गर्दै आएको सहयोग प्रति धन्यवाद व्यक्त गरे। आगामी दिनमा नेपाल र चीन बिच रहँदै आएको सहकार्य अझ प्रगाढ बन्ने विश्वास समेत व्यक्त गरे । 

छलफलमा सहभागी मन्त्रालयका सचिव केशवकुमार शर्माले बाढी क्षतिग्रस्त बनाएको सिमापुल रहेको स्थानमा दसैँ अघि नै पुल निर्माण हुने अपेक्षा राखिएको बताए ।

मन्त्री दाहाल, मन्त्रालय एवम् सडक विभागका अधिकारीहरूबिच फलदायी छलफल भएको सचिव शर्माले जानकारी दिए । बाढीले नेपाल–चीनको मुख्य नाका रसुवागढीबाट आवातजावतमा कठिनाइ भए पछि मन्त्री दाहालले त्यस खण्डलाई सुचारु गर्ने विषयमा चासो लिँदै आएका छन् । 

छलफलमा सडक विभागका महानिर्देशक डा. बिजयकुमार जैसी लगायत मन्त्रालय तथा सडक विभागका अधिकारीहरू सहभागी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप