भुटानमाथि नेपालको गोल वर्षा, पूर्णिमा र मिनाको ह्याट्रिक
सारांश
- साफ यू-२० महिला च्याम्पियनसिपमा नेपालले भुटानलाई ८-० गोलले पराजित गर्यो।
- मिना देउवाले ह्याट्रिक गरिन् भने पूर्णिमा राईले पनि ह्याट्रिक पूरा गरिन्।
- नेपाल ५ खेलबाट १२ अंकसहित पहिलो स्थानमा उक्लिएको छ।
काठमाडौँ । बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालले शनिबार नेपालले भुटानमाथि गोल वर्षा गरेको छ । ढाकास्थित बसुन्धरा स्पोर्टस् ग्राउन्डमा जारी खेलमा नेपालले ८-० गोलले जित हात पारेको हो ।
खेलको पहिलो मिनेटमा मिना देउवाले गोल गर्दै टोलीलाई अग्रता दिलाइन् । नवौँ मिनेटमा समीक्षा मगरले टोलीका लागि दोस्रो गोल गरिन् ।
३ मिनेटपछि मिनाले व्यक्तिगत दोस्रो गोल गरिन् । २३ औँ मिनेटमा पूर्णिमा राईले अर्को गोल थपिन् । प्रतियोगिताकी शीर्ष गोलकर्ता रहेकी उनको यो आठौँ गोल थियो ।
२७ औँ मिनेटमा मिनाले ह्याट्रिक गर्ने अवसर भएकी थिइन् । तर, गोलकिपरसँग वान अन वानमा उनी गोल गर्न चुकिन् ।
पहिलो हाफको इन्जुरी समयमा नेपालले पाँचौँ गोल थप्यो । पूर्णिमाले खेलमा दोस्रो र प्रतियोगिताको नवौँ गोल गरिन् । केही मिनेटपछि अर्को गोल थप्दै उनले ह्याट्रिक पूरा गरिन् ।
दोस्रो हाफमा पनि नेपालले गोल वर्षा जारी राख्यो । ६४ औँ मिनेटमा कुसुम खतिवडाले सातौँ गोल थपिन् । एक मिनेटपछि मिनाले पोस्ट नजिकबाट गोल गर्दै ह्याट्रिक पूरा गरिन् ।
प्रतियोगितामा दुई टोली दोस्रोपटक आमनेसामने भएका हुन् । यसअघि नेपालले पहिलो खेलमा भुटानलाई ६-१ गोलअन्तरले हराएको थियो । सो खेलमा पूर्णिमा राईले ४ गोल तथा सेनु परियारले २ गोल गरेकी थिइन् ।
यसपटक प्रतियोगिता ४ सहभागी राष्ट्रबिच डबल राउन्ड रोबिन आधारमा खेलाइँदै छ । सबै खेल सकिएपछि शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्ने छ ।
नेपाल ५ खेलबाट १२ अङ्कसहित पहिलो स्थानमा उक्लिएको छ । आयोजक बंगलादेशको ४ खेलबाट १२ अङ्क रहे पनि गोल अन्तरको आधारमा नेपालले बंगलादेशलाई केही समयका लागि उछिनेको हो । बंगालदेशले आजै श्रीलङ्कको सामना गर्नेछ । टोलीसँग नेपाललाई उछिन्ने अवसर रहनेछ । अब सोमबार हुने नेपाल र बंगलादेशबिच खेल निर्णायक हुनेछ ।
भुटानले ५ खेलबाट ३ अङ्क बटुलेर तेस्रो स्थानमा छ भने अङ्कविहीन रहेको श्रीलङ्का पुछारमा रहेको छ ।
पछिल्लो खेलमा नेपालले श्रीलङ्काविरुद्ध शानदार जित हात पारेको थियो । बिहीबार सम्पन्न खेलमा नेपालले ७–० विजयी बन्यो । नेपाल र श्रीलङ्का प्रतियोगितामा दोस्रोपटक आमनेसामने भएका थिए । यसअघि गत मंगलबार भएको खेलमा नेपाल समान ७–० को विशाल अन्तरले विजयी भएको थियो ।
नेपाल आफ्नो दोस्रो खेलमा बंगलादेशसँग प्रतिस्पर्धात्मक खेलमा २–३ गोलले स्तब्ध बन्न पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण