प्रधानमन्त्री ओलीको भारत भ्रमण : मिडियामा मिति छताछुल्ल, परराष्ट्र र दूतावास अनभिज्ञ
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने मिति तय भएकोबारे सञ्चारमाध्यममा समाचारहरु प्रकाशित भए पनि परराष्ट्र मन्त्रालय यसबाट बेखबरजस्तो देखिएको छ ।
प्रधानमन्त्री ओलीले सेप्टेम्बर १६ र १७ मा भारत भ्रमण गर्ने भनेर मिति नै सार्वजनिक भइसकेको अवस्थामा परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय दूतावासले भने आश्चर्य प्रकट गरेका छन् ।
परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘प्रधानमन्त्री ओली भारत भ्रमण जाने मिति प्रधानमन्त्री कार्यालयबाट लिक भएको हो । दुई महिना अगाडि यसरी मिति कतै बाहिर आउँदैन ।’
भ्रमणका लागि दुई महिना बाँकी रहेकै अवस्थामा मिति घोषणा गरेपछि भ्रमणलाई असर गर्न सक्ने परराष्ट्र मन्त्रालयका ती अधिकारीले बताए । उनले भने, ‘प्रधानमन्त्री कार्यालयले सूचना लिक गरिदियो तर त्यसको जबाफ अहिले हामीले दिनु परिरहेछ ।’
परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भारत भ्रमणको मितिबारे अहिले पनि खुलेर बताउन चाहेको छैन । मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले भने, ‘अहिलेलाई यति भन्न सकिन्छ, प्रधानमन्त्री भारत भ्रमणमा जानुहुन्छ तर कहिले जानु हुन्छ भनेर भन्ने अवस्था छैन ।’
परराष्ट्र मामिलाका जानकार एवं पूर्वराजदूत विजयकान्त कर्णले प्रधानमन्त्री ओली भ्रमणको मिति प्रधानमन्त्री कार्यालयबाट लिक हुनु कूटनीतिक मार्यादा विपरीत रहेको बताए ।
प्रधानमन्त्री फलानो मितिमा जानुहुन्छ भन्ने खालको समाचार आइरहेकोबारे मन्त्रालयलाई केही जानकारी नरहेको उनको भनाइ छ ।
परराष्ट्र मन्त्रालयमात्र होइन, नेपालस्थित भारतीय दूतावासले पनि यसमा अनभिज्ञता जनाएको छ । भारतीय दूतावासका एक अधिकारीले भने, ‘नेपालको मिडियाले प्रधानमन्त्री कार्यालयको हवाला दिँदै समाचार लेखेका छन् तर त्यो मिति वा भ्रमणको बारेमा हामीलाई केही जानकारी छैन ।’
परराष्ट्र मामिलाका जानकार एवं पूर्वराजदूत विजयकान्त कर्णले प्रधानमन्त्री ओली भ्रमणको मिति प्रधानमन्त्री कार्यालयबाट लिक हुनु कूटनीतिक मार्यादा विपरीत रहेको बताए । प्रधानमन्त्री ओलीलाई नै भ्रमणका लागि हतार भएर यस्तो भएको हुन सक्ने उनको अनुमान छ ।
दुई महिना भनेको निकै लामो समय रहेको जिकिर गर्दै कर्णले भने, ‘यो अवधिमा जे पनि हुनसक्छ । प्रधानमन्त्री कार्यालयबाट लिक गराइएको मितिमा यदि भ्रमण हुन सकेन भने गलत सन्देश जान्छ ।’
कर्णले उच्चस्तरीय भ्रमणको तयारी पूरा भएपछि दुईचार दिन अघिमात्र मिति घोषणा गर्ने चलन रहेको प्रस्ट पारे । यहाँ अरुलाई देखाउनका लागि प्रधानमन्त्री कार्यालयबाट हतार हतारमा सूचना लिक गराइएको उनको भनाइ छ ।
ओली प्रधानमन्त्रीमा नियुक्त भएको एक वर्षपछि भारत भ्रमणमा जान लागेका हुन् । सुरुवाती चरणमै उनी भारत जान चाहे पनि भारतका तर्फबाट औपचारिक निमन्त्रणा आएको थिएन । प्रधानमन्त्रीको भ्रमण तयारीका लागि परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा पटक–पटक दिल्ली पुगेकी थिइन् । यद्यपि ओलीको भ्रमण तय हुन सकेको थिएन ।
अन्ततः भारतले भ्रमणका लागि निम्तो दियो । सोही अनुसार मिति पनि तय भयो तर भ्रमण दुई दिनमा सीमित रहने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण