शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

एक सातामा ४ किसानको मृत्यु

बिहीबार, ०८ साउन २०८२, २० : १३
बिहीबार, ०८ साउन २०८२

रौतहट । सुक्खाग्रस्त रौतहट जिल्लामा खेतमा सिँचाइका लागि मोटर चलाउने क्रममा करेन्ट लागेर एक साताभित्र चार जना किसानको मृत्यु भएको छ । 

पछिल्लो घटना बिहीबार मौलापुर नगरपालिका–७, ननकार पथराका ५५ वर्षीय चन्देश्वर बैठाको मृत्युसँगै सार्वजनिक भएको हो ।

मौलापुर नगरपालिकाका प्रवक्ता समेत रहेका बैठा बिहीबार दिउँसो आफ्नै खेतमा पानी पटाउने क्रममा विद्युतीय मोटरबाट करेन्ट लागेर अचेत भएका थिए । उनलाई तत्कालै एम्बुलेन्समार्फत गौरस्थित प्रादेशिक अस्पताल लैजाँदा चिकित्सकले मृत घोषणा गरेका इलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख, प्रहरी निरीक्षक प्रवेश कार्कीले जानकारी दिए ।

यसअघि बुधबार बिहान माधवनारायण नगरपालिका–४, बिसनपुरवा मानपुरका ४० वर्षीय रामबाबु मुखियाको पनि करेन्ट लागेर मृत्यु भएको थियो। खेतमा सिँचाइका लागि प्रयोग गरिएको मोटरको तारबाट करेन्ट लाग्दा गम्भीर घाइते भएका मुखियाको उपचारका क्रममा गौर अस्पतालमै निधन भएको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीले बताए ।

त्यस्तै, कटहरिया नगरपालिका–२, जमुनिया गाउँका ५२ वर्षीय मोक्तार देवानको पनि यही कारण मृत्यु भएको छ। मोटरबाट पानी पटाउने क्रममा करेन्ट लागेर घाइते भएका देवानको उपचारको क्रममा गरुडास्थित ग्राण्डी अस्पतालमा ज्यान गएको हो ।

यसअघि असार ३१ गते मौलापुर–८ सोनरनियाका १४ वर्षीय नरेन्द्र पटेल (गोलु) को पनि खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर मृत्यु भएको थियो ।

तराई क्षेत्रमा यस वर्ष खडेरी परेकाले अधिकांश किसानहरु मोटरको सहायताले खेतमा सिँचाइ गर्न बाध्य छन्। लगातार भइरहेका यस्ता घटनाले स्थानीयहरु त्रसित बनेका छन् ।

यसैबिच, आमजनता पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहले मौलापुर नगर प्रवक्ता चन्देश्वर बैठाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले विद्युत् प्राधिकरणको लापरबाहीले यस्तो घटना भएको भन्दै दोषीलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप