त्रिभुवन विमानस्थल : ६० प्रतिशत सकियो ट्याक्सी–वे विस्तार, जहाज ‘होल्ड’ हुने समस्या हट्दै
सारांश
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सी–वे विस्तारको काम ६० प्रतिशत सकिएको छ, जसले दैनिक १० घण्टा उडान बन्द गरेर काम गरिएको थियो।
- विमानस्थलको उडान र अवतरण क्षमता २५ प्रतिशतले बढाउन समानान्तर ट्याक्सी–वे निर्माण सम्पन्न हुनेछ।
- पार्किङ क्षमता वृद्धि र जहाज होल्ड हुने समस्या हटाउन नयाँ अन्तर्राष्ट्रिय पार्किङ–वे निर्माण भइरहेको छ।
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट ७५ मिटरभित्र पर्ने ट्याक्सी–वे विस्तारको काम ६० प्रतिशत सकिएको छ । २०८१ कात्तिक २३ देखि दैनिक १० घण्टा विमानस्थलको उडान बन्द गरेर ट्याक्सी–वे विमानस्थल विस्तारको काम सुरु गरिएको थियो ।
ट्याक्सी–वे विस्तारमा काम आयोजनाले राखिएको लक्ष्यअनुसार नै सक्ने गरी काम भइरहेको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका हवाई यातायात क्षमता अभिवृद्धि आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठले अहिलेसम्म ट्याक्सी–वेको काम करिब ६० प्रतिशत प्रगति भएको जानकारी दिए ।
आयोजना प्रमुख श्रेष्ठले विमानस्थल विस्तारका तीन वटा प्याकेजमध्ये अन्तर्राष्ट्रिय समानान्तर ट्याक्सीवेको काम ६० प्रतिशत, एप्रोन निर्माणको काम भौतिक रूपमा ७५ प्रतिशत सम्पन्न भएको बताए । त्यस्तै विमानस्थलमा विभिन्न एयरलाइन्सहरूको ह्याङ्गर क्षेत्र विकासको काम पनि करिब ४०–५० प्रतिशत सकिएको उनले जानकारी दिए ।
एप्रोन निर्माणको काम भौतिक रूपमा ७५ प्रतिशत सम्पन्न भएसँगै हाल केही आन्तरिक जहाजहरूलाई अस्थायी रूपमा नयाँ ट्याक्सीवेमा पार्किङ गरिएको छ । पुरानो आन्तरिक एप्रोनको ३० देखि ४० प्रतिशत भाग नयाँ बन्ने अन्तर्राष्ट्रिय एप्रोनमा पर्ने भएकाले उक्त संरचना भत्काउनुअघि अस्थायी व्यवस्थापन गरिएको उनको भनाइ छ ।
उनले आयोजनाले राती विमानस्थल बन्द गरी मध्यरातमा विमानस्थल विस्तारको काम गरेर ट्याक्सीवेको काम ६० प्रतिशत , एप्रोन निर्माण ७५ प्रतिशत र ह्याङ्गर क्षेत्र विकासको काम ४०–५० प्रतिशत गर्न सफल भएको बताए ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले २०८१ कात्तिकदेखि २३ दैनिक १० घण्टा उडान बन्द गरेर अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको काम गरेको थियो । धावनमार्गबाट ७५ मिटरभन्दा बाहिर पर्ने समानान्तर ट्याक्सी वे, उत्तरतर्फ (पशुपति क्षेत्र) इन्टरनेसनल एप्रोन, पूर्वतर्फ ह्यांगर एप्रोन, साउथतर्फ (कोटेश्वरतर्फ) ट्याक्सी–वे विस्तारका काम करिब अन्तिम चरणमा पुगेको बताए ।
समानान्तर ट्याक्सीवे बनेसँगै २५ प्रतिशत क्षमता वृद्धि
विमानस्थलमा विस्तार भइरहेको समानान्तर ट्याक्सी–वे निर्माण सम्पन्न भएसँगै विमानस्थलको उडान र अवतरण क्षमता २५ प्रतिशतले वृद्धि हुने भएको छ ।
प्राधिकरणका अनुसार हाल दैनिक करिब ३०० उडान व्यवस्थापन गर्दै आएको विमानस्थलले २५ प्रतिशत क्षमता वृद्धि हुँदा दैनिक ७५ वटासम्म थप उडान सञ्चालन गर्न सक्नेछ । विमास्थल विस्तारले हवाई ट्राफिक व्यवस्थापनलाई सहज बनाउँदै उडान सुरक्षालाई थप सुदृढ बनाउने प्राधिकरणको भनाइ छ ।
प्राधिकरणका महानिर्देशक अधिकारीका अनुसार यसले विमानस्थलको रनवे क्षमता २५ प्रतिशतसम्म बढाउँछ । यो महत्त्वपूर्ण पूर्वाधार निर्माणपछि जहाजहरूले उडानका लागि पालो कुरेर बस्नुपर्ने (क्युरमा बस्ने) अवस्थाको अन्त्य हुने उनको भनाइ छ ।
जहाज विमानस्थलमा अवतरणपछि रनवेमै लामो समय रहनुपर्ने समस्याको अन्त्य हुने र यसले हवाई ट्राफिक जाम घटाउनुका साथै समग्र उडान सञ्चालनलाई प्रभावकारी बनाउने उनले दाबी गरे ।
भने, ‘यो समानान्तर ट्याक्सीवे बनेपछि जहाज अवतरण गर्नासाथ तुरुन्तै रनवेबाट बाहिरिएर ट्याक्सीवे हुँदै पार्किङतर्फ लाग्नेछ, जसले रनवे तत्काल खाली हुन्छ । रनवे खाली हुनासाथ उडान भर्न तयार जहाजले तुरुन्तै उडान भर्न सक्ने वा अवतरणका लागि आएको अर्को जहाजले अनुमति पाउने हुँदा विमानस्थलको क्षमतामा उल्लेख्य वृद्धि हुनेछ ।’
जहाजहरूले उडान र अवतरणका लागि लामो समय कुर्नु नपर्ने हुँदा यात्रुहरूको समय बचत हुने तथा जहाजले रनवेमा होल्ड बस्नु नपर्दा एयरलाइन्स कम्पनीहरूको लाखौं रुपैयाँ बराबरको इन्धन बचत हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार हाल दैनिक करिब ३०० उडान व्यवस्थापन गर्दै आएको विमानस्थलले २५ प्रतिशत क्षमता वृद्धि हुँदा दैनिक ७५ वटासम्म थप उडान सञ्चालन गर्न सक्नेछ । विमास्थल विस्तारले हवाई ट्राफिक व्यवस्थापनलाई सहज बनाउँदै उडान सुरक्षालाई थप सुदृढ बनाउने प्राधिकरणको भनाइ छ ।
अधिकारीले थपे, ‘समानान्तर ट्याक्सीवेको निर्माण विमानस्थलको लागि एक ‘गेम चेन्जर’ परियोजना हो, जसले वर्षौंदेखिको हवाई ट्राफिक जामको समस्यालाई समाधान गर्दै विमानस्थलको सेवालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।’
पार्किङ क्षमता वृद्धि, जहाज ‘होल्ड’ हुने समस्या हट्ने
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माणाधीन नयाँ अन्तर्राष्ट्रिय पार्किङ–वे सम्पन्न भएपछि जहाज पार्किङ क्षमता झण्डै तीन गुणाले वृद्धि हुने छ ।
यो पूर्वाधार निर्माणपछि आकाशमा जहाज ’होल्ड’ हुनुपर्ने र पार्किङ अभावमा एयरलाइन्सहरूले उडान अनुमति (स्लट) नपाउने समस्याको अन्त्य हुनेछ ।
प्राधिकरणका महानिर्देशक अधिकारीका अनुसार नयाँ पार्किङ–वेमा १८ वटा न्यारो बडी जहाज वा ६ वटा वाइड बडी र ६ वटा न्यारो बडी जहाज एकैसाथ पार्किङ गर्न सकिने छ । हाल सञ्चालनमा रहेको पार्किङ–वेको क्षमता ११ वटा जहाजको मात्रै छ । नयाँ पूर्वाधार थपिएसँगै विमानस्थलले एकैपटक २९ वटासम्म जहाज व्यवस्थापन गर्न सक्ने छ ।
‘अहिले हाम्रो ११ वटा पार्किङ–वे भरिएको अवस्थामा कुनै अन्तर्राष्ट्रिय जहाज आउँदा त्यो जहाज आकाशमै होल्ड बस्नुपर्छ,‘महानिर्देशक अधिकारीले भने, ‘नयाँ पार्किङ–वे बनेपछि यो समस्या समाधान हुन्छ ।’
पार्किङ क्षमताको अभावकै कारण प्राधिकरणले धेरै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई सहजै स्लट दिन सकेको छैन । पार्किङ क्षमता बढेपछि धेरै जहाजलाई एकै समयमा व्यवस्थापन गर्न सकिने हुँदा विमानस्थलको समग्र ‘स्लट’ क्षमता बढ्नेछ ।
ट्याक्सीवे निर्माणमा निगमको डिपो ‘अवरोध’, प्राधिकरण भन्छ– ‘काम रोक्नुपर्ने कारण छैन’
_cnLL82waVy.jpg)
विमानस्थलको धावनमार्ग (रनवे) र निर्माणाधीन समानान्तर ट्याक्सीवे जोड्ने महत्त्वपूर्ण पूर्वाधार ‘कनेक्टिङ ट्याक्सीवे’को निर्माण कार्य सफलतापूर्वक सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।
यो काम सम्पन्न भएसँगै अब विमानस्थललाई दैनिक १० घण्टा बन्द गर्नुपर्ने अवस्था हटेको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताए । समानान्तर ट्याक्सीवे परियोजनाको काम नेपाल आयल निगमको इन्धन डिपोका कारण अन्तिम चरणमा आएर रोकिने अवस्थामा पुगेको उनको भनाइ छ ।
कूल पाँचवटा कनेक्टिङ ट्याक्सीवे निर्माण गर्ने योजनाअनुसार सबैभन्दा जटिल मानिएको रनवेमा जोड्ने काम सकिएको बताए । उनले अब ट्याक्सीवे निर्माणको समग्र कार्य सम्पन्न हुन नेपाल आयल निगमको इन्धन डिपो स्थानान्तरणमा निर्भर रहेको उल्लेख गरे ।
डिपो सरेमा अबको करिब एक–डेढ वर्षभित्र सम्पूर्ण परियोजना सम्पन्न हुने महानिर्देशक अधिकारीको भनाइ छ ।
ट्याक्सीवेलाई एप्रोन (जहाज पार्किङ क्षेत्र) सम्म जोड्न डिपो सार्नु अनिवार्य भए पनि निगमले ढिलाइ गर्दा समग्र परियोजना नै प्रभावित हुने देखिएको अधिकारीले जानकारी दिए । महानिर्देशक अधिकारीका अनुसार प्राधिकरण र निगमबिच कुनै विवाद नरहेको र डिपो सार्नका लागि आवश्यक सम्पूर्ण सहजीकरण भइसकेको छ । ‘हामीले डिपो स्थानान्तरणका लागि आवश्यक जग्गा उपलब्ध गराइसकेका छौँ,’ अधिकारीले थपे, ‘उहाँहरूले काम सुरु गर्न कुनै बाधा छैन ।’
निगम र प्राधिकरणबिच के हो विवाद ?
_puumd9KgtB.jpg)
प्राधिकरण र नेपाल आयल निगमबिच डिपो सार्ने विषयमा विवाद सिर्जना भएको छ । तर प्राधिकरण भने कुनै विवाद नभएको जनाएको छ । प्राधिकरण आयल निगमले कुनै पनि काम अघि नबढाई प्राधिकरणलाई दोष लगाउने काम मात्रै गरेको बताए ।
प्राधिकरणका महानिर्देशक अधिकारीका अनुसार, निगमले नयाँ डिपो निर्माण अवधिभरका लागि विमानस्थल सेवा शुल्क नियमावली बमोजिम लाग्ने जग्गाको भाडा छुट दिन अनुरोध गरेको थियो।
प्राधिकरणको सञ्चालक समितिले उक्त छुट दिने निर्णय गरी स्वीकृतिका लागि पर्यटन मन्त्रालयमा सहमतिका लागि पठाइसकेको छ ।
‘नियमावली अनुसार मन्त्रालयको सहमतिमा छुट दिन सकिन्छ । तर त्यो निर्णय नआउँदासम्म काम रोक्नुपर्ने अवस्था छैन, ‘अधिकारीले स्पष्ट पार्दै भने, ‘भोलि मन्त्रालयबाट जे निर्णय भएर आउँछ, सोहीबमोजिम हुनेगरी आजै सम्झौता गरेर काम थाल्न सकिन्छ । हामी साइट उपलब्ध गराउन तयार छौँ ।’
नेपाल सरकारले सुरक्षा र सञ्चालनका हिसाबले संवेदनशील क्षेत्रमा रहेको डिपो सार्न र त्यसका लागि प्राधिकरणले जग्गा उपलब्ध गराउन स्पष्ट निर्देशन दिइसकेको छ । डिपो निर्माणका लागि निगमसँग बजेट रहेको र प्राधिकरणले जग्गा दिएको अवस्था छ भने निगमले काम मात्र सुरु गर्न बाँकी रहेको अधिकारीको भनाइ छ ।
हाल निगमले प्रयोग गरिरहेको ३२ रोपनी जग्गा बराबरको जग्गा नयाँ स्थानमा निःशुल्क उपलब्ध गराइने पनि प्राधिकरणले जनाएको छ ।
१० घण्टा विमानस्थल बन्द गर्दा पनि आम्दानी घटेन
_36B2ByHvT3.jpg)
महानिर्देशक अधिकारीले विमानस्थललाई राति १० बजेदेखि बिहान ८ बजेसम्म बन्द गरेर रनवे र ट्याक्सीवे निर्माण गरिएको बताए । विमानस्थल सञ्चालनमा रहेकै वेला रनवेमा जोड्ने काम गर्न असम्भव हुने भएकाले उडान बन्द गरेर काम गर्नुपरेको उनले स्पष्ट पारे ।
विमानस्थल बन्द गर्दा पर्यटकीय सिजनमा यात्रु र उडान संख्या घट्ने भन्दै आलोचना भए पनि प्राधिकरणले कुशल व्यवस्थापनका कारण कुनै नकारात्मक असर पर्न नदिएको अधिकारीले दाबी गरे ।
‘सानो जहाज उडान हुने ठाउँमा हामीले एयरलाइन्सहरूलाई न्यारो बडी र वाइड बडी जहाज ल्याउन अनुरोध गर्यौं,’ उनले भने, ‘जसले गर्दा प्यासेन्जर पनि घटेनन् र क्यानको आम्दानी पनि घटेन ।’
प्राधिकरणले गत वर्ष अनुमानित राजस्वको ९८ प्रतिशत संकलन भएको र यात्रु संख्यामा पनि कमी नआएको उनले बताए । ‘तोकिएको समय र गुणस्तरमा काम सम्पन्न भएको छ, यो हामी सबैका लागि खुसीको कुरा हो,’ उनले थपे ।
ट्याक्सीवे निर्माणमा रिटेनिङ वाल र नयाँ प्रविधि
विमानस्थलमा ट्याक्सीवे निर्माणका लागि विमानस्थलको पूर्वी क्षेत्रमा करिब १ किलोमिटर लामो र २७ मिटर (करिब ९ तला) अग्लो रिटेनिङ वाल निर्माण गरिएको छ । ट्याक्सी–वे निर्माणका लागि जमिन फिलिङ गर्नुपर्ने र त्यो माटोलाई अड्याउन विशाल संरचना बनाइएको छ ।
प्राधिकरणका महानिर्देशक अधिकारीका अनुसार ‘रेनफोर्स वाल’ प्रविधि प्रयोग गरेर वाल निर्माण गरिएको छ । जुन नेपालको विमानस्थल निर्माणमा यस स्तरमा पहिलो पटक प्रयोग गरिएको हो ।
त्यस्तै अन्तर्राष्ट्रिय एप्रोन’ (पार्किङ–वे) निर्माणका लागि ११ तले घर बराबरको उचाइसम्म माटो भरेर जमिन तयार पारिएको छ । आयोजनाका अनुसार यो काम सम्पन्न गर्न काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ७ करोड घनफिट (२० लाख घनमिटर) भन्दा बढी माटो ढुवानी गरी प्रयोग गरिएको हो ।
हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका निर्देशक इन्जिनियर दीपेन्द्र श्रेष्ठले ३० मिटरभन्दा बढी माथि ल्याएर अन्तर्राष्ट्रिय एप्रोन बनाइएको बताए ।
उनले भने, ‘यो ठाउँ पहिले धेरै होचो थियो, हामीले ३० मिटरभन्दा बढी अर्थात् १०–११ तले घर जति अग्लो फिलिङ गरेका छौं । यो भनेको तीन–चारवटा डाँडापाखा सम्याए बराबरको माटो हो ।’
आयोजनाका लागि आवश्यक माटो काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न खानी (क्वारी) क्षेत्रबाट ल्याइएको थियो । ‘हामीले हरेक रात ७०० देखि ८०० ट्रिपसम्म माटो ढुवानी गरेर यो काम सम्पन्न गरेका हौँ,’ श्रेष्ठले भने ।
नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवन बन्ने, हालको टर्मिनल आन्तरिक
विमानस्थलको गुरुयोजनाअन्तर्गत नै रहेर नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माण गरिने भएको छ । हाल सञ्चालनमा रहेको अन्तर्राष्ट्रिय टर्मिनल भवनलाई पूर्ण रूपमा आन्तरिक (डोमेस्टिक) उडानका लागि प्रयोग गरिने महानिर्देशक अधिकारीले बताए ।
उनले नेपाल वायुसेवा निगम र नेपाली सेनाको पुरानो ह्याङ्गर रहेको स्थानमा अत्याधुनिक सुविधायुक्त नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माणको योजना रहेको बताए ।
नयाँ टर्मिनल निर्माणका लागि जग्गा व्यवस्थापन गर्न हाल सञ्चालनमा रहेका ह्याङ्गरहरूलाई स्थानान्तरण गरिने उनको भनाइ छ । बुद्ध एयरको ह्याङ्गरको दक्षिणतर्फ श्री र यती एयरलाइन्सका लागि नयाँ ह्याङ्गर निर्माण गरिने उनले बताए ।
त्यस्तै, बुद्ध एयरकै ह्याङ्गरको उत्तरतर्फ नेपाल वायुसेवा निगमको नयाँ ह्याङ्गर बन्ने छ भने नेपाली सेनाको भीभीआईपी ह्याङ्गर पनि सोही क्षेत्रमा सारिने प्राधिकरणले जनाएको छ ।
समानान्तर ट्याक्सीवे र ह्याङ्गर निर्माणः नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी) को करिब ४ अर्ब लगानीमा बन्न लागेको हो । अन्तर्राष्ट्रिय पार्किङ–वेः नेपाल सरकार र प्राधिकरणको करिब ७ अर्ब लगानीमा छ ।
महानिर्देशक अधिकारीका अनुसार विमानस्थलको क्षमता र यात्रु चापबिच ठुलो अन्तर देखिएको छ । ‘हाम्रो अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनलको वार्षिक क्षमता ४५ लाख यात्रुको हो, तर अहिले हामीले झण्डै एक करोड यात्रु व्यवस्थापन गरिरहेका छौँ, उनले भने, ‘यसले गर्दा टर्मिनल भवनमा निकै भीडभाड (कन्जेसन) भएको छ ।’
नयाँ बन्ने टर्मिनल भवन बोर्डिङ ब्रिजसहितको, ऊर्जा किफायती र आधुनिक ‘ट्रस बिल्डिङ’ डिजाइनमा आधारित हुनेछ, जसले यात्रुहरूलाई सीधै जहाजसम्म पहुँच दिनेछ ।
नयाँ टर्मिनल बनाउन चुनौतीपूर्ण रहेको प्राधिकरणको भनाइ छ । उक्त भवन बनाउन करिब ५० अर्बको लागत आवश्यक छ । नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माण प्राधिकरण एक्लैको लगानीमा सम्भव नहुने अधिकारीले बताए ।
‘योे करिब ५० अर्ब लागतको ठुलो आयोजना हो,’ उनले भने, ‘यसको लगानी र राष्ट्रिय गौरवको अर्को आयोजना निजगढ विमानस्थलको प्राथमिकतालाई तुलना गरेर हेर्नुपर्ने अवस्था छ ।’
हाल विमानस्थलमा गुरुयोजनाअन्तर्गत करिब १४ अर्ब रुपैयाँ बराबरका तीन ठुला आयोजनाहरू चलिरहेका छन् ।
समानान्तर ट्याक्सीवे र ह्याङ्गर निर्माणः नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी) को करिब ४ अर्ब लगानीमा बन्न लागेको हो । अन्तर्राष्ट्रिय पार्किङ–वेः नेपाल सरकार र प्राधिकरणको करिब ७ अर्ब लगानीमा छ ।
कनेक्टिङ ट्याक्सीवेः करिब ४ अर्बको लगानीमा बनिरहेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण