मेयरको औँठाछाप पर्खिबसेको खाली क्यानभास
सारांश
- राष्ट्रिय कला प्रदर्शनीमा रवीन्द्र कुमार श्रेष्ठको 'यु आर वेलकम' शीर्षकको खाली फ्रेमको कला प्रदर्शन भयो।
- कलामा मेयरको औंठाछापको प्रतीक्षा गरिएको छ, जसले राम्रो कामको प्रतिनिधित्व गर्दछ।
- यो कलाले नेपाली कलामा नयाँ प्रयोगको सुरुवात गरेको छ, र यसले विश्वव्यापी मानवताको सन्देश दिन्छ।
जेठ १५ देखि ३० गतेसम्म चलेको ‘राष्ट्रिय कला प्रदर्शनी, २०८२’ मा ६०० को हाराहारीमा विविध खालका लोककला, हस्तकला, समसायिक कला, फोटोग्राफी र कार्टुन, व्यावसायिक कलादेखि उपयोगी कला प्रदर्शन भए ।
जसमध्ये रवीन्द्र कुमार श्रेष्ठको कला अलग्ग प्रकारले देखापर्यो । कलाको रुपमा ‘खाली फ्रेम’ राखेर शीर्षक दिइएको छ, ‘यु आर वेलकम’ । नितान्त खाली सेतो क्यानभासमा कलाकारको हस्ताक्षरबाहेक केही देखिँदैन, तैपनि यसले भावकको मन जितेको छ । हरेकजसो भावकले यसलाई आ–आफ्नै कथासँग जोडेर हेरेको पाइन्थ्यो ।
नाफाको ठुलो कक्षमा रवीन्द्रको यो कामलाई विशेष अलग्ग स्पेस प्रदान गरिएको छ । जहाँ यो सानो चित्र सँगसँगै सानो मनिटर पनि छ, मनिटरमा उनका ‘थम्ब सिरिज’का कामहरूलाई भिडियोमार्फत देखाइएको थियो । त्यसमा यस कलाबारे उनको अवधारणा पनि रहेको छ । खाली क्यानभासको मुन्तिर लामो बेन्चमा सफा सेतो क्यानभास राखिएको छ, सँगै मसीदान पनि राखिएको छ औँठाछाप लगाउनका लागि । यस खाली कला हेर्न आउने भावकले यस खाली सेतो कागजमा थम्ब (बुढीऔँलाको छाप) लगाउन सक्थे ।
मूल खाली क्यानभास भने मेयरलाई पर्खिबसेको स्पेस हो, जसमा मेयरबाहेक अरुले औँठाछाप लगाउन पाउँदैनथे ।
बेन्चमा रहेको खाली क्यानभासमा भावकले ‘औँठाछाप’ लगाइरहेको दृश्य देखिन्थ्यो । कसैले नजिकै रहेको सानो मनिटरमा केही पढ्दै केही बुझ्न खोज्दै गरेको दृश्य पनि देखिन्थ्यो । अझ कसैले अवाक् भएर भनेको सुनिन्थ्यो, ‘यस्तो पनि कला हुन्छ र ?’ हेर्दा सुन्दा अलि अचम्म लागे पनि समग्र रुपमा यो सबै कलाकै अंश हुन् ।

समसामयिक कलाको नमुनाको रूपमा रहेको यो कलाको साइज चार बाई चार सेन्टिमिटर छ । यति सानो कलाले राष्ट्रिय कला प्रदर्शनीमा ठाउँ पाएको सम्भवतः यो पहिलोपटक हो । किनकि उहिलेदेखि नै एक फुटभन्दा सानो कलालाई यहाँ प्रदर्शन गरिँदैनथ्यो, यही नियम छ । यो कलाले स्वीकृति पाउन निकै गाह्रो भएको रहेछ ।
यो कलाले ठाउँ पाउँछ कि पाउँदैन भनेर सुरुमा कलाकार र आयोजकबिच लामै छलफल चलेछ । अन्ततः दुवै पक्ष एउटा सहमतिमा पुगेछन्— त्यो सानो पे्रmममाथि अर्को ठुलो फ्रेम राख्ने । यसरी यो कलाले नाफाको कक्षमा प्रदर्शित हुने अवसर पायो । नेपाली कला इतिहासमै पहिलोपल्ट खाली क्यानभासले राष्ट्रिय कला प्रदर्शनीमा ठाउँ पायो, जो आफैँमा एक अलग्ग इतिहास हो । यो कलामाथिको स्वीकृति (मान्यता प्राप्तको सन्दर्भमा) पनि हो । यस कलाले पुरस्कार पाएन । तथापि यो सबैभन्दा चर्चाको शिखरमा भएको कलाको रूपमा रह्यो । भावकले यसलाई अचम्मको कलाको रूपमा हेरे । कतिले त यसको मूल्य सोधेर लैजान पनि कोसिस गरे ।
माथिको मूल खाली क्यानभासले कसैको औँठाछाप पर्खेर बसेको छ, तर जसलाई पर्खिएको हो, उनैलाई खबर गरिएको थिएन । उनले सुनेर यहाँ आउनुपर्छ र औँठाछाप लगाउनुपर्छ भन्ने आग्रह राखिएको रहेछ । यस खाली क्यानभासमा मेयरले औँठाछाप लगाइदिएपछि यो कला पूर्ण हुनेछ अथवा यस ‘थम्ब सिरिज’को एउटा भाग सम्पन्न हुनेछ । कसैलाई पर्खेको अर्थमा यस खाली फ्रेमको नाम राखिएको रहेछ, ‘यु आर वेलकम’ । ती विशेष मानिस आइसकेपछि मात्र फ्रेम खोलेर उनलाई औँठाछाप लगाउने व्यवस्थापन गरिनेछ ।
यस खाली क्यानभासमा ती विशेष मान्छेको औँठाछाप परेपछि त्यसैमा एउटा रातो रेखा थपिनेछ । यद्यपि यो कला प्रदर्शनी सकिँदासम्म मेयर आइपुगेनन् ।

नेपाल भरका राम्रो काम गर्ने तमाम मेयरहरूलाई पर्खिबसेको यो उनको काम हो । हामीकहाँ गणतन्त्रको आगमनपछि साँचो अर्थमा विकेन्द्रीकरण सुरु भयो । केही नगरका मेयर र गाउँपालिकाका अध्यक्षले साँच्चिकै राम्रो काम गरेका छन्, राम्रो नगर्ने पनि धेरै छन् । यी र यस्तै परिवर्तन भइरहेको अवस्थाको प्रतिनिधित्वका लागि पनि यो कला नमुना कलाका रूपमा बन्ने क्रममा छ । जे जति राम्रा काम भएका छन्, तिनीहरुले जनताको मनमा छाप पारेका छन्, यो कला यसैको प्रतिविम्ब पनि हो । कलाकार भन्छन्, ‘राम्रो कामको प्रभाव आम मान्छेमा परिरहेको हुन्छ तर त्यो देखिँदैन, महसुस मात्र गरिने हो । यसैको विम्बका रूपमा यो खाली क्यानभास हो । जहाँ केही छैन, देखिँदैन तर थुप्रै कुराहरू यसभित्र लुकेर बसेका छन् । यसलाई भावकले अनुभूत गर्ने हो ।’ भित्री आँखाले यसलाई हेरिदिन उनको आग्रह पनि छ ।
औँठाछाप पर्खेर बस्नु र औँठाछापपछि बगेको जस्तो भएर एउटा रातो रेखा बन्नुले गहिरो अर्थ बोक्नेछ । यी सब क्रियाकलाप हुन्छ वा हुँदैन, हुन पाउँछ वा पाउँदैन— यो त भविष्यले बताउला । तथापि यसो भनी राख्दा पनि एउटा अचम्मको कलाले नेपालमा जन्म लिइसकेको रहेछ भनेर गर्व गर्ने ठाउँ रहन्छ ।
औँठाछाप पर्खेर बस्नु र औँठाछापपछि बगेको जस्तो भएर एउटा रातो रेखा बन्नुले गहिरो अर्थ बोक्नेछ । यी सब क्रियाकलाप हुन्छ वा हुँदैन, हुन पाउँछ वा पाउँदैन— यो त भविष्यले बताउला । तथापि यसो भनी राख्दा पनि एउटा अचम्मको कलाले नेपालमा जन्म लिइसकेको रहेछ भनेर गर्व गर्ने ठाउँ रहन्छ । हुन त यस कलालाई प्रदर्शनी कक्षको कुनामा पछिल्तिर राखिएको छ । आयोजकको नजरमा यसले कतिको महत्त्व पायो, क्युरेटरले यसलाई कसरी बुझे, थाहा छैन । जेहोस् यो कलाले कक्षको अग्रभागमा ठाउँ पाएन । घुमाउरो अलमल हुँदै जानुपर्ने ठाउँ भएकाले पनि त्यहाँसम्म भावक हतपत पुग्न पाउँदैनथे तर जो पुग्न सके तिनले एउटा अनौठो अब्बल कलाको रसास्वादन गर्न पाए । यसलाई अवलोकन गर्नेले एउटा कुतूहलता बोकेर जान्थे ।

यो एउटा ‘कन्सेप्चुअल’ काम हो । नेपालमा कन्सेप्चुअल कलाले प्रवेश पाउन थालेको पनि झन्डै दुई दशक नाघिसक्यो । अहिले सयौँ नेपाली कलाकार कन्सेप्चुअल कलामा रुचि राख्छन् । यस्ता कलालाई क्युरेटरले कसरी बुझ्ने हुन् भन्ने चुनौतीकै विषय छ । उत्तरआधुनिक कलाको चरम उत्कर्ष कन्सेप्चुअल कामलाई बुझ्न र क्युरेटिङ गर्न थोरै थप अध्ययन र अनुभवको खाँचो देखिन्छ ।
रवीन्द्रको कलाको अर्को महत्त्वपूर्ण पक्ष हो, थप भिडियो कला । मूलतः यो ‘कन्टेस्चुअल कोल्याबोरेटिभ’ कला पनि हो । यसलाई हिजोआज ‘पार्टिसिपेटोरी आर्ट’ पनि भनिन्छ । अहिलेका कलाकारले विश्वमा प्रचलनमा आइसकेका यस्ता प्रवृत्तिका कलालाई अपनाउन थालेका छन्, यी सबैजसो शैली र प्रवृत्तिलाई राम्रैसँग अँगाली बढ्न थालेका छन् । यस मानेमा नेपाली कला निकै अगाडि बढिसकेको छ, आयोजकले यो बुझ्न जरुरी छ ।
मूल क्यानभासमा विशेष व्यक्तिको औँठाछाप राख्ने जुन सन्दर्भ छ, यसले पनि गहिरो अर्थ बोकेको छ । संसारका हरेक मान्छेको औँठाछाप अलग–अलग हुन्छन् । अर्थात् पहिचान अलग–अलग हुन्छन् तर रातो रगत (रातो रेखा) भनेको सबैको एउटै हुन्छ । यसले जातपात, भाषा, धर्म, संस्कृति वा धनी–गरिब, पढे–नपढेको केही भन्दैन । यसर्थ मान्छे भएर जन्मेपछि हामी सबै एकै हौँ । रातो रगतले यसैको प्रतिनिधित्व गरिरहेको हुन्छ । यसैले कलाकार भन्छन्, ‘माया गरौँ, हिंसा त्यागौँ ।’
यही अवधारणा बोकेर आएको यो काम मूलतः विश्वव्यापी मानवताको गहिरो सन्देश पनि हो । यही अवधारणाको साथसाथै राम्रो हुँदै गइरहेको व्यवस्था, मान्छेले गर्ने राम्रो कामको पनि स्वागत गरौँ । सकारात्मक विकासतर्फ अघि बढौँ । यही नै यो कलाको सशक्त अवधारणा (कन्सेप्ट) पनि हो ।
_uiU69iJqEX.jpg)
नेपालमा रवीन्द्र यस्तायस्तै प्रयोगात्मक काम गर्ने कलाकारका रूपमा निकै चर्चित छन् । पछिल्लो डेढ दशकदेखि राजनीतिक र सामाजिक मुद्दामा यस्तायस्तै प्रयोगात्मक काम गर्दै आएका रवीन्द्रको काम र नाम दुवै अब्बल रूपमा देखापर्न थालेको छ । अहिले उनको काम अन्तर्राष्ट्रिय रूपमै मान्यता प्राप्त गर्ने दौडमा छ ।
यो कला बागमती प्रदेशमा छनोट भई त्यहाँबाट पनि पुनः छनोट भएर नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले हरेक वर्ष आयोजना गर्ने राष्ट्रिय कला प्रदर्शनीमा टाँगिन आइपुगेको हो । हिजोआज राष्ट्रिय कला प्रदर्शनीको नियम अलि फरक भएर आएको छ । राष्ट्रिय कला प्रदर्शनी हुनुभन्दा केही महिनाअघि प्रदेशहरूमै त्यहाँका कलाहरूको अलग्ग प्रदर्शनी हुने गर्छ । सातवटै प्रदेशमा अलग–अलग मितिमा स्थानीय संघ–संस्थाको सहयोगमा यस्ता कला प्रदर्शनी गर्ने चलन छ । त्यहाँ छानिएका कलाहरू राष्ट्रिय कला प्रदर्शनीमा आइपुग्ने गर्छन् । यसले गर्दा देशका कुना–काप्चाका कलाकारहरूले पनि सार्वजनिक हुन मौका पाएको छ ।
यसपल्ट राष्ट्रिय कला प्रर्दशनीमा हरेक प्रदेशको अलग–अलग खण्ड बनाएर कलाहरूलाई प्रदर्शनमा राखिएको छ । यसले गर्दा हरेक प्रदेशका कलाको अलग–अलग स्थिति, स्तर र अवस्थालाई सबैले हेर्न र अध्ययन गर्न पाउँछन् । तथापि कलाले आफ्नो गुणिलो पक्षलाई राम्रोसँग देखाउन पाउने अवस्था कम हुन्छ । किनकि हरेकजसो कलालाई उपयुक्त स्पेस अनि प्रकाशको अनुकूल व्यवस्था हुन आवश्यक छ । यसो हुन पाएन भने कलाले आफ्नो वास्तविक गुणलाई देखाउन पाउँदैन । यो विश्वभरि चलेको कलागत मान्यता पनि हो । गोलाकारमा खण्डखण्ड भएर कलाहरू बस्दा केही कला अँध्यारो कुनामा पर्न सक्छन् । अहिलेका अधिकांश समसामयिक कला अलि टाढाबाट अवलोकन गर्नुपर्ने हुन्छ । अनि मात्र यसको वास्तवित सौन्दर्यतालाई अनुभूत गर्न सकिन्छ ।

एक्सपेरिमेन्टल कलाका रूपमा विकसित भएको रवीन्द्रको यो कला ‘थम्ब सिरिज’को अघिल्लो पाइलो हो । उनले ‘थम्ब सिरिज’का यस्तायस्तै विविध स्वरूपका कला विगत एक दशकदेखि गर्दै आइरहेका छन् । यसपल्टको कला यसैको नयाँ रूप हो, जहाँ अहिले थम्ब छैन । तथापि कसैको थम्बलाई पर्खेर बसेको छ । यसले राम्रो काम गर्ने मेयरको थम्ब पर्खेर बसेको हो । यो एक प्रकारको कलागत प्रक्रिया पनि हो । सबैभन्दा अचम्मको कुरा त यो प्रदर्शित भइरहँदा पनि यो कला कलागत प्रक्रियामै छ । अहिलेको चलन अनुसार कलागत प्रक्रियालाई पनि कलाकै रूपमा हेर्ने प्रवृत्ति विश्वमै मौलाइरहेको छ । एक प्रकारले निरन्तर चलिरहने प्रक्रियामा यो कला छ भन्दा हुन्छ । हिजोआज कलागत प्रक्रियालाई कला मान्ने प्रचलन नेपालमै नौलो भएन । विश्वको सन्दर्भमा यो पुरानो कुरा भइसक्यो । अहिले देखापरिरहेको उत्तरआधुनिक प्रवृत्तिका कलाको त कुरा छाडौँ, सन् चालिसको दशकतिर उदाएको अमूर्त अभिव्यञ्जनावादी कलाहरू बन्दै पनि कला कहिले सकिँदैन भन्ने सिद्धान्त प्रतिपादक भइसकेको थियो ।
अहिलेका कलाकारले विश्वमा प्रचलनमा आइसकेका यस्ता प्रवृत्तिका कलालाई अपनाउन थालेका छन्, यी सबैजसो शैली र प्रवृत्तिलाई राम्रैसँग अँगाली बढ्न थालेका छन् । यस मानेमा नेपाली कला निकै अगाडि बढिसकेको छ, आयोजकले यो बुझ्न जरुरी छ ।
रवीन्द्रको यो कला आजको विश्व कला बजारमा अनौठो भने होइन । विश्वमा यस्तायस्तै अनेकौँ अनौठा कलाहरू देखिन थालेको धेरै भइसक्यो । विश्वका समसामयिक कलाकारहरू आफूलाई अलग्ग देखाउन आफ्ना भावना, विचारलाई नितान्त नौलो प्रकारले प्रस्तुत गर्ने गर्छन् ।

रवीन्द्रको यही थम्ब कला विश्वका धेरै मुलुकमा घुमिसकेको छ । एभरेस्टको टाकुरामा पुगिसकेको छ, एभरेस्ट चढ्ने आरोहीले यसलाई आफूसँगै लिएर गएर टाकुरामा पुगेपछि सगौरव यसैलाई प्रदर्शन गरेर रमाएको घटना पनि छ । पहाडको टाकुरामा यो कला कलाकारसँग एक्लै पनि बसिसकेको छ । पर्फर्मेन्स कलाका रूपमा आफ्नै बुढीआँैलाका साथ (थम्बलाई देखाएर) राष्ट्रिय कला प्रदर्शनीमा पनि पुगिसकेको छ । दुईवटा गाउँहरू जोड्ने पुलमा पनि यो कला झुन्डिन पुगेको छ । बंगलादेशको ढाकाकै ‘एसिएन बायोनाले’ कला प्रदर्शनीमा तीनपल्ट सेलेक्सनमा पनि परिसकेको छ । चीन, अमेरिका र युरोपमा समेत यो कलाले भ्रमण गरिसकेको छ । यस्तै थम्ब कलाको स–साना पिसहरू विश्वभरि छरिएका बसेका समेत छन् । नेपालमा भने यो नितान्त नौलो प्रयोगको रूपमा देखापरेको सत्य हो । यस्ता स–साना थम्ब कला (जहाँ विश्वभरिका मान्छेका थम्ब समेटिएको छ) सयौँ बने होलान् । यही थम्ब कला बिक्री भई विश्वको हरेक कुनामा वा कोठामा पुगिसकेको कलाकार स्वयंले बताउने गर्छन् ।
(मल्ल कलाकार र कला समीक्षक हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण