बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिममा अखिल क्रान्तिकारीका नेताबिच किन कुटाकुट भयो ?

सोमबार, १२ साउन २०८२, १४ : १३
सोमबार, १२ साउन २०८२

सारांश

  • अनेरास्ववियु (क्रान्तिकारी) का उपमहासचिव रामचन्द्र भट्टमाथि पूर्वविद्यार्थी नेता भुवनसिंह विष्टद्वारा आक्रमण भएको छ।
  • कञ्चनपुरको पार्टी कार्यालयमा छलफल चलिरहेको बेला विष्टले भट्टलाई कुटपिट गरेका थिए, र यो व्यक्तिगत रिसिइबीको परिणाम हो।
  • घाइते भट्टको उपचार काठमाडौंमा भइरहेको छ, र क्रान्तिकारीले घटनाको छानबिनका लागि समिति गठन गरेको छ।

काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी) का उपमहासचिव रामचन्द्र भट्ट र पूर्वविद्यार्थी नेता भुवनसिंह विष्ट बिचको आन्तरिक विवाद व्यक्तिगत रिसिइबी भएको क्रान्तिकारीले निष्कर्ष निकालेको छ । आइतबार माओवादी केन्द्र कञ्चनपुर जिल्ला पार्टी कार्यालयमा छलफल भइरहेका बेला विष्टले भौतिक आक्रमण गरी भट्टलाई गम्भीर घाइते बनाएका थिए ।

दुई जना बिचको विवाद पार्टीभित्रको देखिएको अन्तर्विरोधको असर नभई व्यक्तिगत रिसिइबी भएको क्रान्तिकारीका महासचिव रोशन थापामगरले बताए । मगरका अनुसार साउन १४ गते सुदूरपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन गर्ने विषयमा प्रदेशका इन्चार्ज समेत रहेका भट्टले पार्टी कार्यालयमा छलफल गरिरहेका बेला विष्टले भौतिक आक्रमण गरेको हो । 

‘साउन १४ गते सुदूरपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन गर्ने विषयमा हाम्रा केन्द्रीय उपमहासचिव तथा प्रदेश इन्चार्जले कञ्चनपुर पार्टी कार्यालयमा आन्तरिक छलफल राख्नुभएको थियो । भुवनसिंह विष्ट पूर्व नेता हो । आन्तरिक विषयमा छलफल भइरहेको बेला असम्बन्धित व्यक्तिले साङ्घातिक आक्रमण गरेको हो । यो कुनै पार्टीभित्र देखिएको विवादका कारण होइन’, रातोपाटीसँग उनले भने । 

बाहिर पार्टीभित्रको अन्तर्विरोधको असर विद्यार्थी सङ्गठनमा पर्‍यो भनेर हल्ला फिँजाइएको तर त्यो नभएको उनले जिकिर गरे ।  घटनाबारे जानकारी दिँदै थापामगरले भने– ‘विष्ट उपमहासचिवमा भट्टसँग पराजित व्यक्ति हुन् । व्यक्तिगत रिसिइबीका कारण अप्रिय घटना भएको छ । उनलाई पार्टी कमिटीले कारबाही गरिसकेको छ  । घटनाबारे निष्पक्ष छानबिन गर्नका लागि समिति गठन गरिसकेका छौँ ।’

घाइतेको अवस्था अहिले सामान्य भए पनि चिकित्सकले अप्रेसन गर्न सुझाव दिएकाले काठमाडौँ ल्याइरहेको थापामगरले जानकारी दिए । काठमाडौँको अन्नपूर्ण न्युरो अस्पतालमा भट्टको उपचार हुने उनले बताए । भट्टको टाउकोमा गहिरो चोट लागेका कारण माया मेट्रो अस्पताल धनगढीमा भर्ना गरिएको थियो । 

घटना लगत्तै क्रान्तिकारीले विज्ञप्ति जारी निष्पक्ष छानबिनका लागि केन्द्रीय अनुशासन आयोगका अध्यक्ष इन्दिरा पुरीको संयोजकत्वमा इन्दु केसी र प्रकाश तामाङ सदस्य रहेको तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । घटनाको निष्पक्ष छानबिन गरी ७ दिनभित्र केन्द्रीय कार्यालयमा प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप