के हो अमेरिका हल्लाइरहेको एपस्टिन फाइल ?
सारांश
- एलोन मस्कको घोषणाले डोनाल्ड ट्रम्पको प्रतिष्ठामा असर पारेको छ, जसमा एफबीआई फाइलमा ट्रम्पको नाम उल्लेख छ।
- एपस्टिनमाथि यौन दुर्व्यवहार र बेचबिखनको आरोप थियो, जसको अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धताबाट ट्रम्प प्रशासन पछि हट्यो।
- ट्रम्पले आफ्ना समर्थकहरूलाई मुद्दालाई गम्भीर रूपमा नलिन आग्रह गर्दै, प्रशासनले फाइल सार्वजनिक गर्न आनाकानी गरिरहेको छ।
गत महिना अमेरिकी अर्बपति एलन मस्कले एउटा घोषणा गरे- ‘अमेरिकी समाजमा असाध्यै घृणित व्यापारी (फाइनान्सर) जेफ्री एपस्टिनसम्बन्धी एफबीआईले तयार पारेका फाइलमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम उल्लेख छ’
मस्कको यस्तो घोषणाले राष्ट्रपति ट्रम्पको सार्वजनिक प्रतिष्ठा तथा समर्थनमा ठुलो दरार ल्याएको संकेत गरेको थियो ।
एपस्टिनमाथि गैरकानुनी यौन गतिविधि सञ्चालन र त्यसका लागि महिलाहरुको बेचबिखन गरेको अभियोग थियो । सन् २०१९ मा म्यानहटनको हिरासतमा रहँदा एपस्टिनले त्यहीं आत्महत्या गरेका थिए ।
ट्रम्प प्रशासनले एपस्टिन मामलाका अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्ने घोषणा गरेको थियो, तर आफ्नो प्रतिबद्धता विपरीत ट्रम्प प्रशासन पछि हट्न पुग्यो ।

अमेरिकी अधिकारीहरुका अनुसार उक्त फाइलमा एपस्टिनका 'ग्राहकहरुको सूची’ पनि समावेश छ । जसमा आफूलाई संलग्न नभएको दाबी गर्ने धेरै जनाको नाम उल्लेख छ । प्रशासनले यी फाइल सार्वजनिक गर्ने काम विभिन्न बहानामा टार्न खोजेपछि ट्रम्पका कडा समर्थकहरु पनि ढाकछोप हुनसक्ने शंका गर्न थालेका छन् । सूचीमा को-को संलग्न छन् भन्ने मामलामा फरक मत राखे पनि अहिले उनका समर्थकहरुको ठुलो पंक्ति ढाकछोपको प्रयासप्रति सार्वजनिक रुपमै प्रश्न गर्न थालेको छ ।
ट्रम्पले आफ्ना समर्थकहरुलाई यो मामलालाई गम्भीरताका साथ नलिन आग्रह गरेका छन् । यसलाई ठुलो मुद्दा नबनाउन उनले अनुरोध गरेका छन् । विरोध तीव्र बन्दै गएपछि भने प्रशासन विस्तारै केही नरम हुन थालेको जस्तो देखिन्छ ।
गत शुक्रबार अमेरिकी न्याय मन्त्रालयले न्युयोर्कमा संघीय न्यायाधीशहरुलाई एपस्टिनमाथि अनुसन्धान हुँदा लिइएका बयानहरु सार्वजनिक गर्न आग्रह गरेका छन् । ट्रम्पले महान्यायधिवक्ता पाम बोन्डीलाई आवश्यक बयान तयार गर्न निर्देशन दिएका छन् ।
ट्रम्प प्रशासनले यी फाइल गोप्य राख्ने निर्णयबाट पछि हट्न गरेको आलटालका कारण ६ वर्ष पहिले नै आत्महत्या गरिसकेका एपस्टिन आजको दिनमा पनि राजनीतिक रुपमा कति शक्तिशाली व्यक्तित्वको रुपमा छन् भन्ने देखाएको छ ।
- कसरी सुरु भयो काण्ड ?
एपस्टिनले किशोरीहरुलाई पैसा दिएर यौन गतिविधिमा संलग्न गराउँथे । यसका लागि उनले कुनै समय आफ्नी प्रेमिका घिस्लेन म्याक्सवेल मार्फत किशोरीहरु खोज्ने, नियुक्त गर्ने र व्यवस्थापन गर्ने गर्थे ।
सन् २००६ मा एफबीआई र फ्लोरिडा प्रहरीले उनीमाथि अनुसन्धान गरी मुद्दा दायर गरे । त्यसको दुई वर्षपछि राज्य अदालतले उनलाई दुई जघन्य मुद्दामा दोषी ठहर गर्यो । जसमा एक नाबालिगलाई गलत क्रियाकलापका लागि मनाएको मुद्दा थियो ।

त्यसको केही वर्षपछि 'द मियामी हेराल्ड'मा यस मामलालाई लिएर शॄंखलाबद्ध लेखहरु प्रकाशित भए । जसमा पर्याप्त प्रमाणहरु हुँदाहुँदै पनि कसरी अमेरिकी फौजदारी न्याय प्रणाली पीडकको पक्षमा ढल्कियो भन्ने थियो ।
सन् २०१९ मा एपस्टिनलाई न्युयोर्कबाट पक्राउ गरियो । यसपटक उनीमाथि दर्जनौं किशोरीको बेचबिखन गरेको, १४ वर्षका किशोरीहरुलाई समेत यौन गतिविधिमा संलग्न हुन बाध्य पारेको आरोप लागेको थियो । हिरासतमा रहेकै समय एपस्टिनले झुण्डिएर आत्महत्या गरेका थिए ।
एपस्टेनी तत्कालीन प्रेमिका म्याक्सवेल यही मुद्दामा सन् २०२१ देखि २० वर्षको जेल सजाय भोगिरहेकी छिन् । एक दशकसम्म एपस्टिनलाई यौन दुर्व्यवहारजन्य गतिविधिमा सघाएको अभियोगमा उनी दोषी ठहर भएकी हुन् ।
यस मामलामा धनाढ्य तथा राजनीतिक व्यक्तिहरुलाई कानुनी दायरामा ल्याइएको थिएन । घटना शंकास्पद देखिनासाथ एपस्टिनको एक्कासि मृत्युको खबर आयो ।
एपस्टिनको मुद्दाले यी तत्वहरुमा नयाँ मोड दिएको थियो । अमेरिकी 'कन्जरभेटिभ'हरु एपस्टिन र पूर्वराष्ट्रपति विल क्लिन्टनको निकट सम्बन्धलाई लिएर चर्चा गर्थे । उता 'उदारवादी'हरु भने ट्रम्प र एपस्टिनको वर्षौंको मित्रता तथा ट्रम्प आफैं राष्ट्रपति भएको समयमा हिरासतमै एपस्टिनको मृत्युलाई लिएर प्रश्न गर्ने गर्छन् ।
एपस्टिनको मृत्युले उदारवादी र कन्जरभेटिभ दुवै पक्षलाई सरकारविरुद्ध सशंकित बनायो । ट्रम्पका समर्थकहरु उनको व्हाइट हाउस पुनरागमनले बालबालिकाहरुमाथि यौन अपराध गर्ने संभ्रान्तहरुको मामला सार्वजनिक हुने दाबी गर्थे ।
एपस्टिनबारेको यो चर्चा अमेरिकामा चलेका सशक्त षड्यन्त्र सिद्धान्तमा पर्छ । 'क्युआनन' तथा 'पिज्जागेट' नामका अन्य चर्चित षड्यन्त्र सिद्धान्तहरु पनि बालबालिकाको हत्या र दुर्व्यवहारसँग सम्बन्धित छन् ।
पछिल्लो समयको हस्ताक्षरविहीन मेमोमा न्याय मन्त्रालय तथा एफबीआईले एपस्टिन फाइलमा अन्य व्यक्तिविरुद्ध अनुसन्धान गर्नुपर्ने प्रकारका कुनै प्रमाण नरहेको उल्लेख गरेका छन् । एपस्टिनसँग सम्बन्धित भनिएका भिडियोहरुबारे बोल्दै पाम बोन्डिले बताएअनुसार अनुसन्धानकर्ताहरूले फेला पारेका बाल दुर्व्यवहारका भिडियोहरू एपस्टाइनले आफू वा अरूले अपराध गरेको रेकर्डिङ नभएर उसले डाउनलोड गरेका भिडियो थिए ।

यहाँनिर प्रश्न उठ्छ- त्यसो भए कुन दबाबका कारण पाम बोन्डी र एफबीआईका निर्देशक काश पटेल ती फाइल सार्वजनिक गर्न हिच्किचाइरहेका छन् ?
धनाढ्य र चर्चित व्यक्तिका बारेमा एफबीआईका फाइलहरूमा हल्ला र अनुमानको पनि मिश्रण हुन्छ । कुनै समय फ्रान्क सिनात्रा कम्युनिस्ट हुन् कि हैनन् भनेर गरिएको अनुसन्धान उनका दन्तचिकित्सकसँग मिलेर गरेको भन्ने हाँसउठ्दो कथा बन्न पुगेको थियो । अर्थात् धेरै फाइलहरु कति सत्य वा अफवाह भन्ने ठम्याउन गाह्रो हुन्छ ।
- ट्रम्प-एपस्टिन सम्बन्ध
मस्कले बताएभन्दा विपरीत एफबीआईका फाइलमा ट्रम्पको उल्लेख असाध्यै कम मात्रै उल्लेख हुनसक्छ । यस्ता फाइलमा साक्षीको बयान, पीडितका सूचना धेरै हुने गर्छन् । तर त्यस बाहेक पनि एपस्टिन र ट्रम्पबिच सम्बन्ध रहेको देखाउने धेरै आधार छन् ।
धेरै प्रतिवेदन अनुसार उनीहरुबिच वर्षौंदेखिको सम्बन्ध रहेको तथा फ्लोरिडा र न्युयोर्कका उच्चवर्गीय पार्टीमा सँगै जाने गरेका थिए ।
सन् २००२ मा द न्युयोर्क टाइम्ससँगको अन्तर्वार्तामा ट्रम्पले एपस्टिनलाई 'बबाल मान्छे' भनेका थिए । साथै, १५ वर्षदेखि चिनेको समेत उल्लेख गरेका थिए । अन्तर्वार्तामा उनले एपस्टिनले पनि आफूले जस्तै सुन्दर महिलाहरु मन पराउने गरेको तथा धेरैजसो किशोरीहरु हुने गरेको समेत बताएका थिए ।

त्यसको दुई वर्षपछि सन् २००४ को नोभेम्बरमा फ्लोरिडामा टाट पल्टेको घोषणा गरिएको घरजग्गा खरिद गर्न खोज्दा यी दुईबिच प्रतिस्पर्धा भएको थियो । यो तानातानमा ट्रम्पले एपस्टिनलाई हराएर उक्त जग्गा हात पारेका थिए । त्यसपछि उनीहरुबिच तिक्तता बढेको थियो ।
त्यसको चार वर्षपछि ट्रम्पले उक्त सम्पत्ति रुसी व्यापारीलाई करिब दोब्बर मूल्यमा बेचिदिए । नोभेम्बरको जग्गा बोलकबोलको समयपछि 'पाल्म बिच' प्रहरीले एपस्टिनको घरमा किशोरीहरुको आवतजावत नदेखिएको बताएको थियो ।
त्यसको चार महिनापछि प्रहरीमा एउटा उजुरी आयो । उजुरीमा एक जना महिलाले आफ्नी नावालिग सौतेनी छोरीलाई एपस्टिनले नग्न बनाएर मसाज गर्न लगाएको आरोप लगाइएको थियो । त्यसमाथि अनुसन्धान गर्दा एक दर्जन महिला पीडित रहेको देखिएको थियो ।
त्यस समय एपस्टिन अनुसन्धानबाट जोगिन सफल भए । तर सन् २०१९ मा भएको गिरफ्तारीले भने उनलाई हिरासतमा मात्रै पुर्याएन, त्यही आत्महत्या समेत गरे ।
- एपस्टिन फाइलबारे के भन्छन् ट्रम्प ?
ट्रम्प र उनको प्रशासनले पहिले एपस्टिनको मृत्युसँग सम्बन्धित बाँकी फाइल पनि सार्वजनिक गरिने बताएका थिए । तर केही समयपछि भने ट्रम्पले आफ्ना समर्थकलाई यो मुद्दा छाडेर अरु नै गम्भीर विषयमा केन्द्रित हुन आग्रह गर्न थाले । यस मामलामा थप प्रश्नहरुमा झिँजो मान्न थाले ।

सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले प्रशासनले फाइल ह्यान्डलिङ गरेको तरिकाबाट निराश भएका आफ्ना समर्थकहरूलाई आक्रमण गरे । साथै, थप जानकारी जारी नगर्ने र अनुसन्धान पनि बन्द नगर्ने न्याय मन्त्रालयको निर्णयप्रतिको आक्रोशलाई डेमोक्र्याटहरूको षड्यन्त्रको रुपमा व्याख्या गरेका थिए ।
यही बेला ट्रम्पका सहयोगीहरु पाम बोन्डी र टोड ब्लान्चेले एपस्टाइनको मुद्दाबाट गोप्य 'ग्रान्ड जुरी'का बयान खोल्न अदालतलाई आग्रह गरे । उनीहरूले जनता अझै पनि यो मामलाबारे थाहा पाउन इच्छुक रहेको बताएका थिए ।
'ग्रान्ड जुरी'ले धेरै कुरा खुलासा गर्न सक्छन् । तर जुरीका बयानहरु सार्वजनिक गर्ने अनुमति पाउन निकै कठिन हुनसक्छ । बयानहरु गोप्य राख्नुपर्ने भएकाले यस्ता सामग्री सार्वजनिक गर्न न्यायाधीहरु विरलै मात्रै तयार हुन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ बालगृह खोल्ने अनुमति नदिन मन्त्री बादीको निर्देशन
-
विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट खारेज
-
युक्रेन युद्धमा हताहतको संख्या २० लाख नाघ्यो
-
विमानस्थलबाट अमेरिका तस्करी हुन लागेको गहना सक्कली सुनचाँदीकै रहेको पुष्टि
-
सर्लाहीमा धारिलो हतियार प्रहार गरी हत्या गर्ने अभियुक्त पक्राउ
-
पेटमा क्यान्सर हुनुभन्दा अघि देखिन्छ यी ५ लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण