म्याद सकिन १३ महिना बाँकी छँदै बन्यो भिमादको मोटरेवल पुल
सारांश
- गण्डकी प्रदेशमा २२ भन्दा बढी योजना अलपत्र अवस्थामा छन्, जसमा सडक र पुलका योजनाहरू प्रमुख छन्।
- तनहुँको भिमादमा सम्झौता अवधिभन्दा १३ महिना अगाडि नै पक्की पुल निर्माण सम्पन्न भएको छ।
- ७ करोड ५३ लाखको लागतमा निर्माण भएको ७४.२० मिटर लामो पुलले स्थानीय बासिन्दालाई उत्साहित बनाएको छ।
पोखरा । गण्डकीमा अहिले अलपत्र योजनाको चाङ छ । सरकारले नै राखेको विवरणमा २२ भन्दा बढी योजना रुग्ण भएर थलिएको छ । केही योजनामा प्रगति भएपनि धेरै योजना अलपत्र हुने अवस्थामा पुगेको छ ।
खासगरी सडक र सडक पुलका योजना अलपत्र परेका हुन् । बहुवर्षे योजना र स्रोत सुनिश्चित भएकै योजनाहरूमा समस्या बढी देखिएको छ । धेरै योजनामा निर्माण व्यवसायीलाई दोषी देखाइए पनि कतिपय योजनामा सरकारकै कारण अलपत्र बनेका छन् ।
धेरै विकास आयोजनाहरू समयमा सम्पन्न नहुने र अलपत्र बन्ने समस्याका बिच तनहुँको भिमादमा तोकिएको म्यादभन्दा १३ महिना अघि नै पक्की पुल निर्माणको काम सकिएको छ । भिमाद नगरपालिका–१ डुम्रीबेंसीस्थित कुलुङ खोलामा सम्झौता म्याद भन्दा अघि नै पुल निर्माण भएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ ।
श्री ज्वालामुखी कन्स्ट्रक्सन धादिङले २०८१ असार १० गते सम्झौता गरेर २ वर्षभित्र सम्पन्न गर्ने म्याद पाएको थियो । तर गत असारमै पुल सम्पन्न भैसकेको कार्यालयका प्रमुख रवीन्द्र तिवारीले जानकारी दिए । ७४ दशमलव २० मिटर लामो पुल गण्डकी प्रदेश सरकारको ७ करोड ५३ लाख ६४ हजार लागतमा निर्माण भएको हो । पुल निर्माणका लागि ११ करोड २७ लाखको लागत अनुमान गरिएको थियो ।
पुल निर्माण भएसँगै त्यस क्षेत्रका बासिन्दा तथा सवारी चालकहरू उत्साहित भएका छन् । कार्यालय प्रमुख तिवारी निर्माण व्यवसायीले चाहे समयअघि नै काम सकिन्छ भन्ने उदाहरण प्रस्तुत भएको बताउँछन् । ‘यसले निर्माण क्षेत्रमा सकारात्मक सन्देश दिएको छ । निर्माण व्यवसायीको इच्छाशक्तिले कति परिवर्तन हुन्छ भन्ने उदाहरण यही हो,’ उनले भने । यसले अन्य आयोजनाहरूलाई पनि समयमै काम सम्पन्न गर्न प्रेरणा दिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
-
कुशलको नाममा अर्को शतक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण