कांग्रेसका सात भाइको शृङ्खलाबद्ध बैठक, दबाब कि सामूहिक सौदाबाजी ?
सारांश
- नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सभापति देउवा समूहभित्र शक्ति संघर्ष चर्किएको छ।
- देउवानिकट सात नेताले आगामी महाधिवेशनमा आफूहरूमध्येबाट एक जनालाई सभापतिको उम्मेदवार बनाउन देउवालाई दबाब दिइरहेका छन्।
- देउवाले कसैलाई पनि उत्तराधिकारी तोकेका छैनन्, उनले 'पछि सल्लाह गरौँला' भन्दै टारेका छन्।
काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन समूहभित्र ‘शक्ति सङ्घर्ष’ चर्किएको छ ।
सभापति देउवानिकट सात प्रभावशाली नेताहरूः पूर्वउपसभापतिहरू विमलेन्द्र निधि, विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ तथा पूर्वमहामन्त्रीहरू कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, डा. शशांक कोइराला र पूर्वसहमहामन्त्री डा. प्रकाशशरण महतले शृङ्खलाबद्ध बैठकहरू गर्दै आएका छन् ।
वैशाखयता तीन पटक बैठक गरिसकेका यी नेताहरूले आगामी महाधिवेशनमा आफूहरूमध्येबाट एक जनालाई सभापतिको उम्मेदवार बनाउन देउवामाथि सामूहिक दबाब सिर्जना गरिरहेका छन् ।
उनीहरूले आफ्ना निष्कर्षसहित सभापति देउवालाई भेटेरै जानकारी गराए पनि देउवाले कसैलाई स्पष्ट उत्तराधिकारी तोकेका छैनन् र ‘पछि सल्लाह गरौँला’ भन्दै टारिरहेका छन् ।

समूहका नेता कृष्णप्रसाद सिटौलाले बैठकहरू राष्ट्रिय राजनीति, सरकारको समीक्षा र महाधिवेशन केन्द्रित सामान्य छलफल भएको दाबी गरे पनि अर्का नेता गोपालमान श्रेष्ठले भने आफूलाई सहयोग गर्न देउवाले गरेको पुरानो बाचा सम्झाउँदै सभापतिमा दाबी प्रस्तुत गरेका छन् ।
फागुनमा ११ जना नेताको समूहले सुरु गरेको यो दबाब समूह अहिले सात भाइमा झर्नुले संस्थापनभित्रकै आन्तरिक समीकरण नै जटिल बन्न थालेको त होइन ? भन्ने सङ्केत गर्छ । तर यो निरन्तरको भेटघाटलाई पार्टीभित्र देउवाको उत्तराधिकारी बन्ने तीव्र ‘सामूहिक सौदाबाजी’ का रूपमा भने हेरिएको छ । महाधिवेशनलक्षित पेचिलो बन्दै गएको कांग्रेसको आन्तरिक राजनीतिबारे यहाँ चर्चा गरौँ ।
०००
शेरबहादुर देउवा सभापति रहेको कांग्रेस केन्द्रीय कार्यसमितिको कार्यकाल आगामी मङ्सिरमा सकिँदै छ । मङ्सिरमा महाधिवेशन गरेर नयाँ कार्यसमिति निर्वाचित गर्नुपर्ने हो, तर विधानमा केन्द्रीय समितिको बहुमतले एक वर्ष कार्यकाल थप्ने व्यवस्था छ, जसअनुसार समय थपिने निश्चितजस्तै छ ।
एक वर्ष थपिए पनि १७ महिनामा हुने महाधिवेशनमा केन्द्रित भएर पूर्वपदाधिकारीसमेत रहेका सात भाइको बैठक निरन्तर चलिरहेको छ ।
पूर्वउपसभापतिहरू विमलेन्द्र निधि, विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठ तथा पूर्वमहामन्त्रीहरू कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र डा.शशांक कोइराला तथा पूर्वसहमहामन्त्री डा. प्रकाशशरण महतले वैशाखयता तीन बैठक गरिसके । एक पटक त आफूहरूको बैठकको निष्कर्ष उनीहरूले सभापति देउवालाई उनकै निवास बूढानीलकण्ठमा पुगेर सामूहिक रूपमा भेटेर सुनाएका थिए ।

भेट्ने नेताहरू सभापति देउवासँग लामो समयदेखि साथमै रहेकाहरू हुन् । सिटौला १३ औँ महाधिवेशनमा पहिलो चरणको निर्वाचनमा सभापतिको उम्मेदवार बनेका थिए । पराजित भएपछि दोस्रो चरणमा देउवालाई सहयोग गरे, र अहिलेसम्म उनीसँगै छन् ।
डा. कोइराला १४ औँ महाधिवेशनदेखि नै देउवालाई सहयोग गर्ने पात्र हुन् । गत फागुन १ गते बुढानीलकण्ठमा देउवालाई चौधौँ महाधिवेशनमा सहयोग गर्ने नेताहरूको बैठकमा सहभागी भएदेखि उनी औपचारिक रूपमा देउवा गुटमा छन् ।
सिंहले कांग्रेस फुटाएर कांग्रेस (प्रजातान्त्रिक) बनाउँदादेखिका देउवाका सारथि हुन् । तर १२ औँ महाधिवेशनमा तत्कालीन संस्थापनमा प्रवेश गर्दै सुशील कोइराला प्यानलबाट महामन्त्रीको उम्मेदवार बने, निर्वाचित पनि भए । तर १४ औँ महाधिवेशनमा पहिलो चरणमा सभापतिमा भिडेर पराजित भएपछि उनी देउवातिर लागेका छन् ।
कांग्रेसमा सामूहिक बैठकको सुरुवात ११ भाइले गत फागुन १ गते बुढानीलकण्ठ पुगेर भेटेपछि भएको हो । त्यस वेला १४ औँ महाधिवेशनमा सभापतिका रूपमा देउवालाई सहयोग गर्ने नेताहरू थिए । त्यो वेला उपसभापति पूर्णबहादुर खड्का, पूर्वउपसभापतिहरू विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, पूर्वमहामन्त्रीहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, कोषाध्यक्ष उमाकान्त चौधरी, नेताहरू बालकृष्ण खाँण, एनपी साउद र प्रवक्ता डा. प्रकाशशरण महत थिए ।

त्यस वेला नेताहरूले पार्टीभित्रको इतर समूहका नेताहरू १५ औँ महाधिवेशनका लागि सभापतिमा उम्मेदवारी घोषणा गर्दै देश दौडाहामा लागिसकेको भन्दै आफूहरूमध्ये एकलाई उम्मेदवार बनाउन देउवालाई सुझाएका थिए । एक जनालाई उम्मेदवार भनेपछि सबैले सहयोग गर्ने उनीहरूको भनाइ थियो । तर, देउवाले रणनीतिक रूपमा ‘पछि सल्लाह गरौँला’ भन्ने जवाफ फर्काए ।
त्यसपछि देउवालाई दबाब दिन सबै सहभागी भएर बैठक बस्ने प्रयास गरे पनि यो समूह ११ बाट झरेर सात भाइमा सीमित भयो । वैशाख ११ गते पूर्वमहामन्त्री डा. कोइराला निवास महाराजगञ्जमा ‘लोकतन्त्र दिवस’को उपलक्ष्यमा सात भाइले चियापान बैठक गरे ।
त्यहाँ पूर्वउपसभापतिहरू निधि, गच्छदार र श्रेष्ठ तथा पूर्वमहामन्त्रीहरू सिटौला, सिंह र डा. कोइराला र पूर्वसहमहामन्त्री डा. महत सहभागी थिए । फागुन १ मा देउवाकहाँ गएका चार भाइ: उपसभापति खड्का, कोषाध्यक्ष चौधरी, नेता खाँण र साउद त्यो बैठकमा देखिएनन् । त्यसपछि उनीहरू बाँकी दुई बैठकमा पनि पुगेका छैनन् ।
डा. कोइराला निवासमा भएको बैठकपछि सात भाइको बैठक जेठ ४ गते पूर्वउपसभापति गोपालमान श्रेष्ठको निवास कालिमाटीमा बसेको थियो । उक्त बैठकमा सात भाइमध्ये पूर्वउपसभापति गच्छदार थिएनन् । उनी जिल्ला गएकाले आउन ढिला भएको भनिएको थियो ।
फेरि अघिल्लो बिहीबार साउन ८ गते पूर्वमहामन्त्री सिंह निवास चाक्सिबारीमा सात भाइको बैठक बस्यो । त्यो बैठकमा लामै कुराकानी भयो । त्यही बैठकको निष्कर्ष सुनाउन उनीहरू भोलिपल्टै सभापति देउवानिवास पुगे ।
देउवासँगको भेटपछि रातोपाटीसँग पूर्वउपसभापति श्रेष्ठले १० विषयमा कुराकानी भएको जानकारी दिएका थिए ।
जहाँ सातमध्ये पाँच भाइ गएका थिए । पूर्वउपसभापति निधि र पूर्वमहामन्त्री डा. कोइराला भने सहभागी थिएनन् ।
निरन्तर बैठकमा रहेका पूर्वमहामन्त्री सिटौला आफूहरूको बैठकमा मुख्यतः तीन विषयमा कुराकानी हुने गरेको बताउँछन् । सिटौलाका अनुसार पहिलो, राष्ट्रिय राजनीति र समसामयिक परिस्थिति, दोस्रो, कांग्रेस–एमाले गठबन्धन सरकारका उपलब्धि र तेस्रो, पार्टीको आगामी महाधिवेशनबारे बैठकमा कुराकानी हुने गरेको छ ।
‘पहिलो, राष्ट्रिय राजनीति र समसामयिक परिस्थितिबारे छलफल गछौँ । दोस्रो, नेपाली कांग्रेस र नेकपा एमालेबिच जुन सम्झौता भएर वर्तमान गठबन्धन सरकार बनेको छ, त्यसबमोजिम सरकारले जनतालाई उपलब्धि दिन सकेको छ कि छैन, त्यो विषयमा छलफल गर्छौँ,’ सिटौलाले रातोपाटीसँग भने, ‘तेस्रो, पार्टीमा १४ औँ महाधिवेशनबाट निर्वाचित भएर आएको कार्यसमितिको कार्यकाल चार वर्ष पूरा हुन लाग्यो । क्रियाशील सदस्यता नवीकरण हुँदैछ । यसको म्याद केही दिन अगाडि सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले आगामी असोज मसान्तसम्म लागि थपिदिएको छ । त्यसपछि मात्रै पार्टीमा नयाँ क्रियाशील सदस्यता वितरणको कार्य सुरु हुन्छ ।’
_r78Ih69QTI.jpg)
यसरी ढिलाइ हुँदै गए पाँच वर्षभित्र पनि १५ औँ महाधिवेशन हुन नसक्ने उनको चिन्ता थियो । साथै यो चिन्ता पार्टीभित्र पनि रहेको उनले बताए । विगतमा पनि पाँच वर्षमै महाधिवेशन भएकाले त्यही समयमा अहिले पनि गर्नुपर्ने उनको भनाइ थियो । भने, ‘त्यो लाइनमा हामीले छलफल गर्छौँ ।’
सात भाइले बैठक नै गरेर आफूहरूबाटै सभापतिको उम्मेदवार बनाउन दबाब दिएको भन्ने प्रश्न छ नि भन्ने प्रश्नमा सिटौलाले जवाफ दिए, ‘यसलाई सहयोग गर्नुस्, उसलाई सहयोग नगर्नुस् भन्ने हाम्रो धारणा छैन, त्यो सभापतिलाई भनेका पनि छैनौँ ।’
यता सात भाइमध्येका अर्का नेता श्रेष्ठ भने आफूले १४ औँ महाधिवेशनमै सभापतिको तयारी गरेको तर देउवा दम्पतीबाट ‘यो पटक मलाई सहयोग गर्नू, अर्को पटक सहयोग गर्छौँ’ भन्ने जवाफ पाएको बताउँछन् । र यस पटक आफूलाई सभापतिको उम्मेदवार बनाउन देउवासँग शुक्रबारको बैठकमा आफूले माग गरेको उनले जानकारी दिए ।

‘कुराकानीका क्रममा टिमबाट कसलाई सभापति बनाउने भन्ने कुरा उठ्यो । त्यसपछि मैले ठट्यौली पारामा १४ औँ महाधिवेशनमा नै तयारी गरेको थिएँ । तर सभापतिज्यू र भाउजु (आरजु राणा देउवा)ले यो पटक म उठ्नुपर्ने अवस्था आयो । अहिले सहयोग गर्नुस्, अर्कोपटक तपाईंलाई सहयोग गरौँला भन्नुभएको हो,’ देउवासँगको बैठकपछि श्रेष्ठले रातोपाटीसँग देउवासँग भनेका कुरा बताए, ‘अहिले मेरो चाहना छ, दिएको बचन नभुल्नुहोला ।’
तर सामूहिक रूपमा दबाब नै दिएर सभापतिको उम्मेदवार तोकिँदा पनि कोही सभापति बन्न नसक्ने राजनीतिक विश्लेषक पुरञ्जन आचार्य बताउँछन् । देउवाको समर्थनमा भोट ल्याउँछु भन्नलाई महाधिवेशन, महासमिति प्रतिनिधिहरूले पत्याउनुपर्ने तर आफूले त्यो अवस्था नदेखेको उनी तर्क गर्छन् ।
‘अबको कांग्रेसमा शेरबहादुरको समर्थनमा म भोट ल्याउँछु भन्नेलाई महाधिवेशन, महासमिति प्रतिनिधिहरूले पत्याउने अवस्था म देख्दिनँ,’ विश्लेषक आचार्यले भने, ‘देउवाको अलिअलि सुदूरपश्चिम प्रदेशमा चल्ला । चलिहाल्यो भने पनि समर्थनमा सभापति बन्ने मानिसले देश त्यसले चलाउन सक्दैन । पार्टी चलाउन सक्दैन ।’
सात भाइले सामूहिक प्रेसर दिए पनि देउवाले भने आफ्नो उत्तराधिकारीबारे मुख खोलेका छैनन् । सबैलाई ‘वेला आएपछि सल्लाह गरौँला’ भन्दै टारिरहेका छन् । नेता सिटौला भन्छन्, ‘यो विषयमा यतिवेला कुनै समूह खडा गरेर हिँड्न सभापतिलाई सुहाउँदैन । आफै उठ्ने भए आन्तरिक रूपमा तयारी गर्ने एउटा कुरा हुन्थ्यो । तर आफू नउठ्ने भएपछि मेरो आन्तरिक टिम भनेर अहिल्यै भन्दा उचित नहोला भन्ने नै लाग्छ मलाई ।’
वेला आएपछि उहाँले (सभापति) कसै न कसैलाई त सहयोग गर्नेमा सिटौला विश्वस्त देखिएन । ‘महाधिवेशनको कार्यतालिका घोषणा भइसकेपछि सभापतिले आफ्नो उत्तराधिकारी छानेर सहयोग गर्नुहुन्छ,’ उनले विश्वास व्यक्त गरे ।
तर सात भाइ भने सभापतिको समर्थन आफूहरूमध्ये एक हुने विश्वासमा छन् । तर, देउवासँग भने यीबाहेक उपसभापति पूर्णबहादुर खड्का, नेता खाँण पनि भएकाले उनीको चित्त बुझाउनुपर्ने हुन्छ । जसका कारण उनलाई गाह्रो पर्ने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण