शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
५ भाइको देउवा भेट

देउवासँग कांग्रेसका ५ भाइको बैठकमा उठेका १० विषय

मङ्गलबार, ०६ साउन २०८२, १७ : २१
मङ्गलबार, ०६ साउन २०८२

सारांश

  • कांग्रेसका ५ नेताले सभापति देउवालाई भेटेर विभिन्न विषयमा छलफल गरे।
  • भेटमा पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन, पार्टी र राष्ट्रिय राजनीतिबारे परामर्श, भ्रष्टाचार, र मन्त्रीहरूको कार्यसम्पादन मूल्यांकन लगायतका विषय उठे।
  • नेताहरूले आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार र सरकारको भूमिकाबारे पनि छलफल गरे।

काठमाडौं । मंगलबार बिहान साढे १० बजे कांग्रेसका ५ जना नेता सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगे ।

पूर्वउपसभापतिद्वय गोपालमान श्रेष्ठ र विजयकुमार गच्छदार, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, पूर्वसहमहामन्त्री डा. प्रकाशशरण महतले देउवासँग दुई घण्टा छलफल गरे १० विषयमा ।

सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारमा कांग्रेसबाट नेतृत्व गर्दै उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री रहेका नेता सिंह निवासमा भएको सात नेताको बैठकले निकालेका निष्कर्षबारे जानकारी गराउन उनीहरू देउवा निवास पुगेका थिए । त्यो बैठकमा सहभागी पूर्वउपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री डा. शशांक कोइराला भने देउवा निवास गएनन् । 

बैठकमा पहिलो विषय उठ्यो, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिमा पुनरागमन । यसबारे पाँच पूर्वपदाधिकारीले भण्डारी सक्रिय राजनीतिमा फर्किएमा संविधानको भावना विपरीत हुने भन्दै देउवालाई आउन नदिने पहल गर्न सुझाए । 

भेटमा सहभागी श्रेष्ठले यसबारे रातोपाटीसँग भने, ‘उहाँ (पूर्वराष्ट्रपति भण्डारी) फेरि राजनीतिमा आएर गणतन्त्रलाई हँसीमजाक बनाउन भएन । आएमा हामीले बनाएको संविधानको भावना विपरीत हुन्छ ।’

नेताहरूले यसबारे थप्दै भने, ‘राजनीतिमा राष्ट्रपतिभन्दा माथिल्लो पद के हुन्छ ? केही पनि हुँदैन । त्यो पदमा पुगेपछि के पदमा पुग्नका लागि पुनः राजनीतिमा फर्किने ? तसर्थ फेरि राजनीतिमा आएमा त्यो राजनीतिक बेइमानी हुन्छ ।’ 

जवाफमा देउवाले यसबारे प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेरै आफू राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा फर्किन हुन्न भन्ने मान्यता राख्ने व्यक्ति भएको जानकारी गराइसकेको जवाफ दिए । 

दोस्रो, नेताहरूले पार्टी र राष्ट्रिय राजनीतिबारे महत्वपूर्ण निर्णय गर्दा आफूहरूसँग परामर्श नगरेकोमा दु:खेसो पोखे । ‘हामीले सभापतिजीलाई पहिला केही निर्णय गर्दा परामर्शका लागि बोलाउनुहुन्थ्यो । हामी आएर परामर्श दिन्थ्यौं । त्यसले राम्रै गरेको थियो । अहिले बोलाउन छोड्नुभयो । किन हो ? बोलाएर छलफल गर्दा राम्रो हुन्छ । उपयुक्त परामर्शअनुसार बढ्दा निर्णय अझ बढी परिपक्व हुन्छ,’ देउवालाई दिएको सुझावबारे श्रेष्ठले भने । 

यो उनीहरूको असन्तुष्टि थियो । मन्त्रीलगायत राजनीतिक नियुक्तिमा देउवाले आफूहरूसँग परामर्श नगरेपछि सामूहिक रूपमा उनीहरूले दबाब दिएका हुन् । 

श्रेष्ठका अनुसार देउवाले ‘उपयुक्त समयमा उपयुक्त परामर्श गर्ने’ जवाफ दिए ।

तेस्रो विषय थियो, पार्टी सरकारमा गएको एक वर्षमा भ्रष्टाचार मौलाएको, भ्रष्टाचारका काण्डहरू बाहिर आउँदा पनि कारबाही नभएको । यो विषय राख्दै नेताहरूले देउवालाई भने, ‘कांग्रेस सरकारमा गएपछि भ्रष्टाचार मौलाएको छ । भ्रष्टाचारका घटना बाहिरिएका छन्, कारबाही भएको छैन भन्यौं । भ्रष्टाचार गर्नेलाई आफ्नो र अर्काको नभनी छानबिन गरी दोषी देखिएमा कानुनी कारबाहीको दायरामा ल्याउनुपर्छ ।’

यो सुझाव देउवाले सुने, मुन्टो हल्लाए तर केही बोलेनन् ।  

नेताहरूले उठाएको चौथो विषय थियो, १५ औं महाधिवेशनमा सभापतिको उम्मेदवार । नेताहरूले केही नेताले १५ औं महाधिवेशनमा सभापतिमा सभापतिको ‘ग्रिन सिग्नल’ पाए भनेर प्रचार गर्दै हिंडेको भन्दै सत्यता के हो भनेर सोधे । 
सभापति देउवाको भनाइ उद्धृत गर्दै श्रेष्ठले भने, ‘मैले १५ औं महाधिवेशनमा कसैलाई पनि मेरोतर्फबाट सभापतिको उम्मेदवार बनाउँछु भनेर वचन दिएको छैन ।’ 

पाँचौं विषय थियो, काम गर्न नसक्ने मन्त्रीहरू फिर्ता बोलाउने । श्रेष्ठका अनुसार नेताहरूले सरकारमा गएको एक वर्ष पुगेकाले पार्टीका तर्फबाट मन्त्री बनेकाहरूको कार्यसम्पादन मूल्यांकन गर्दै राम्रो काम गर्न नसक्नेलाई फिर्ता बोलाउन सुझाव दिए । ‘कांग्रेस ओलीजी नेतृत्वको सरकारमा सहभागी भएको एक वर्ष पुगेको छ । समग्रमा सरकारले नै राम्रो काम गर्न सकेको छैन । कांग्रेसका मन्त्रीहरूले पनि राम्रो काम नगरेका गुनासोहरू आएका छन् । तपाईंले कार्यसम्पादन मूल्यांकन गर्नुस् । राम्रो काम गर्नेलाई राख्नुस् । नराम्रो काम गर्नेलाई ‘विथ ड्र’ गर्नुस् भनेर हामीले सभापतिलाई सुझाव दिएका छौं,’ श्रेष्ठले भने । 

यो सुझावमा देउवाले आफूले मूल्यांकन गरिरहेको बताएका थिए ।

छैटौं विषय थियो, रूपन्देही ३ को उपनिर्वाचन । नेताहरूले आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनमा २०७९ मा भएको निर्वाचनका उम्मेदवारलाई प्राथमिकता दिन सुझाए । ‘पुरानै उम्मेदवार उठाएर हुन्छ कि के गरेर हुन्छ, कांग्रेसले नै रूपन्देही ३ मा विजय हासिल गर्ने गरी सभापतिजी अघि बढ्नुपर्छ भनेर कुरा राख्यौं,’ श्रेष्ठले भने ।  

जवाफमा सभापति देउवाले सल्लाह गर्दै जाऔंला भन्ने जवाफ दिएको श्रेष्ठले सुनाए ।  

२०७९ मा भएको निर्वाचनमा बालकृष्ण खाँण राप्रपा नेता दीपक बोहरासँग पराजित भएका थिए । बोहराको निधन भएपछि उपनिर्वाचनको मिति तोकिएको हो ।

सातौं विषय थियो, संघीय निजामती कर्मचारी विधेयकको ‘कुलिङ अफ पिरियड’ ।

नेताहरूले संघीय निजामती सेवा विधेयकमा राखिएको दुईवर्षे कुलिङ पिरियड, एमालेले राष्ट्रिय सभामा राखेको संशोधन, भूमि विधेयकमा एमालेको बलजफ्तीबारे भएको के हो भनेर बुझ्न खोजे । 

‘कुलिङ पिरियड दुई वर्ष राख्ने सहमति भएको हो, त्यो राख्नैपर्छ । भूमि विधेयक पनि हतार गर्नुहुन्न । सबैको सहमतिले निष्कर्षमा पुगेपछि मात्र सदनमा अघि बढाउनुपर्छ,’ देउवाले जवाफ दिए ।

आठौं विषय थियो, सरकार सञ्चालन गर्ने राजनीतिक सम्यन्त्रमा बसेका नेताहरूले गरेको मनलाग्दी । नेताहरूले संयन्त्रमा बसेकाहरूले आफ्नो स्वार्थपूर्तिका लागि मात्रै काम गरेको गुनासो गरे । 

‘संयन्त्रमा बसेका नेताहरूले पहिलो मुलुकलाई दोस्रो पार्टीलाई केन्द्रबिन्दुमा राख्नुपर्ने हो । त्यो नभई आफ्नो र निकटकाको स्वार्थपूर्ति गर्ने काम गर्नु भएन,’ आफूहरूले राखेको भनाइबारे श्रेष्ठले भने । 

नेताहरूले पार्टीभित्र र सरकारका कतिपय कुरामा पनि समन्वय गरेर जानुपर्ने आवश्यकता रहे पनि संयन्त्रमा  रहेकाहरूले वास्ता नगरेको गुनासो गरेका थिए । संयन्त्रमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा तथा गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा सदस्य छन् । 

यसबारे देउवाले सुने मात्रै जवाफ दिएनन् । 

नवौं विषय सरकारको भूमिका प्रभावकारी भएन भन्ने थियो । ‘सरकारको भूमिका प्रभावकारी बनाउनुपर्छ, नियुक्ति, सरूवा र बढुवालाई पारदर्शी बनाउनुपर्छ भन्ने कुरा छन्, सबै नियुक्ति प्रधानमन्त्रीको पार्टीले गर्ने कुरा पनि आउँदैन, यो गठबन्धन सरकार हो,’ श्रेष्ठले भने । 

देउवाले जवाफमा आफूले पनि सरकारका काम प्रभावकारी हुन नसकेका हुन् कि भन्ने अनुभूति पाएको बताए । त्यसबारे प्रधानमन्त्रीसँग कुरा गर्ने उनको भनाइ थियो । 

१० औं विषय थियो, सात भाइमध्येबाट आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार बनाउने । पार्टी फुटाउँदादेखि नै आफूहरूले सहयोग गर्दै आएकाले आफूहरूमध्येबाट सभापतिमा उम्मेदवार बनाउनुपर्ने उनीहरुले बताएका थिए । यो विषय यी नेताहरूले गत फागुन २ गते देउवालाई भेट्दा पनि राखेका थिए । त्यसबेला १४ औं महाधिवेशनमा देउवा सभापतिको उम्मेदवार हुँदा सहयोग गरेका ११ नेता थिए । 

नेताहरूको भनाइपछि देउवाले बेला आएपछि परामर्श गरेरै नेतृत्वको विषय टुंग्याउने बताए । 

यी नेताहरू १५ औं महाधिवेशनमा एउटा प्यानल बनाएर निर्वाचनमा होमिने कसरतमा छन् । सोमबारको उनीहरूको बैठक त्यसैमा केन्द्रित थियो । यसअघि श्रेष्ठ निवासमा र शशांक निवासमा पनि उनीहरूले बैठक गरेका थिए । कसले नेतृत्व गर्ने भन्नेमा सबैका आ–आफ्नै दाबी भएकाले उनीहरूबीच कुरा मिल्न सकेको छैन । एकजुट भएपछि देउवाले आफूहरूलाई सहयोग गर्छन् कि भन्नेमा उनीहरू आशावादी छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मधुसुधन भट्टराई
मधुसुधन भट्टराई

रातोपाटीका खोज तथा समाज ब्यूरो प्रमुख भट्टराईले राजनीति, संसद् र प्रशासनमा कलम चलाउँछन् ।

लेखकबाट थप