बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

‘आशीर्वादबाट नेता हुन्छु’ भन्नेहरू न नेतृत्वमा पुग्न सक्छन्, न पार्टी चलाउन सक्छन्

बिहीबार, १५ साउन २०८२, १० : ०७
बिहीबार, १५ साउन २०८२

सारांश

  • कांग्रेसभित्र नेतृत्व कसले बनाउने भन्ने विषयमा छलफल भइरहेको छ।
  • शेरबहादुर देउवाको उत्तराधिकारी बन्न केही नेताहरूले प्रयास गरिरहेका छन्।
  • विश्लेषकका अनुसार देउवाको आशीर्वादबाट नेता बन्ने प्रयास सफल नहुन सक्छ।

नेपाली कांग्रेसभित्र अहिले एउटा छटपटी छ । अब कांग्रेसमा नेतृत्व पार्टी कार्यकर्ताले बनाउने कि, समर्थक शुभेच्छुकले बनाउने कि, कांग्रेसभित्रकै आशीर्वाद पाएर हुने भन्ने मुख्य विषय हो । केही मानिस आशीर्वाद लिन सभापति शेरबहादुर देउवाकहाँ निरन्तर धाइरहेका छन् । त्यसमध्ये यी सात जना पनि हुन् । 

शेरबहादुरजीले उत्तराधिकारी खोज्नुपर्‍यो र त्योचाहिँ हामी नै हौँ भन्ने यिनीहरूको इच्छा होला । यी नेताहरू कांग्रेसभित्र दुई नम्बर, तीन नम्बर भूमिकामा रहिसकेका छन् । 

कांग्रेस संगठनभित्र सभापतिको पछि लागेर या सभापतिको प्रभावमा नेता भएकाहरू धेरै छन् । गोपालमान श्रेष्ठ भने पनि, विमलेन्द्र निधि भने पनि, प्रकाशमान सिंह भने पनि, विजयकुमार गच्छदार भने पनि, सबै यही प्रक्रियाबाट नेता भएका हुन् । सात जना आफैँले सभापतिमा उठेर कांग्रेसलाई नयाँ दिशा दिने भनेर विचार प्रवाह अहिलेसम्म गरेका पनि छैनन् । गर्ने अवस्था पनि म देख्दिनँ । 

वास्तवमा शेरबहादुरजीको ‘ह्यान्ड्स’ यिनीहरू नै हुन् । मूलतः शेरबहादुरजीलाई दुई कार्यकाल सभापति बनाएका, टिकाएका, राखेका यी सात जना हुन् । यिनीहरूलाई आफूले गर्दा देउवा यहाँसम्म पुगेका हुन् भन्ने पनि लाग्न सक्ला । त्यो लाग्नुचाहिँ स्वाभाविकै हो । यहाँ सबै कांग्रेसका खम्बा हुन्, एकसेएक छन् । एउटा महेन्द्रनारायण निधि पुत्र भइहाले  । एउटा विश्वेश्वरप्रसाद कोइराला पुत्र भए । अर्को गणेशमान सिंह पुत्र भए । गोपालमान श्रेष्ठ शेरबहादुरजीका समकक्षी नेता हुन् । उनले चाहना राख्नु स्वाभाविकै हो । 

यिनीहरू सबै पटक–पटक महामन्त्री, पटक–पटक पार्टी, सत्ता र राज्यसत्तामा बसेका छन् । यीमध्ये कसैको इतिहासमा त्याग पनि छ । कसैको चाहिँ इतिहासमा त्याग नभए पनि चतुर्‍याइँ र बठ्याइँ छ ।

मूल कुरो, उनीहरूले यो संगठित प्रयत्न कांग्रेसको जनमत समर्थक र शुभेच्छुकहरूको बिचमा गएर गरेको भए हुन्थ्यो । सातै जना देश यात्रा गरेर अगाडि बढेको भए हुन्थ्यो । उनीहरूले सभापति बन्ने चाहना राखेर परिक्रमा मुलुकको होइन, अन्त कतै सुरु गरे । परिक्रमाको व्याख्या स्वस्थानीमा राम्रोसँग गरिएको छ । त्यस्तै परिक्रमा यात्रा उनीहरूले सुरु गरे । शेरबहादुरजीको परिक्रमा गरेर नेतृत्वमा पुग्ने इच्छा गरे । त्यो पनि एउटा हिन्दुशास्त्रले दिएको बाटो हो । 

हामी ४०–५० वर्षदेखि कांग्रेसमा छौँ । हामी नै नेता हौँ भनेर भन्ने त्यो इच्छा लाग्नु स्वाभाविकै हो । यिनीहरू सबै पटक–पटक महामन्त्री, पटक–पटक पार्टी, सत्ता र राज्यसत्तामा बसेका छन् । यीमध्ये कसैको इतिहासमा त्याग पनि छ । कसैको चाहिँ इतिहासमा त्याग नभए पनि चतुर्‍याइँ र बठ्याइँ छ । केही नेता चतुर्‍याइँ र बठ्याइँले अहिलेको अवस्थासम्म पुगेका छन् । म नाम त किन लिनु, जे–जे भए पनि एउटा डेमोक्रेटिक मुभमेन्टमा लागेकै मान्छेहरू हुन् यी सात जना । त्यो ठिकै छ । 

मलाई लाग्छ, उनीहरूजस्तो यत्रो नेता, कांग्रेस यहाँसम्म चलाएका, देश पनि चलाएकाहरूलाई अब हामीले के भन्ने ? एलायन्स बिल्डअप गर्नुपर्छ, तर एलायन्स बिल्डअप गर्दा कसरी गर्ने ? त्यो भविष्योन्मुख हुनुपर्छ ।

तर मूल कुरो के छ ? समाज त्यस्तो छ ? पार्टीमा आज के–के भइरहेको छ भन्ने कुरा यिनीहरूले बुझेनन् । नबुझेकाले गर्दा शेरबहादुरजीको आशीर्वादबाट कांग्रेसको नेता हुन्छु भनेर उनीहरू लागिरहेका छन् । आज यस्तो जसले सोच्छ, न त्यसले कांग्रेस चलाउन सक्छ, न त्यो कांग्रेसको नेतृत्वमा पुग्छ । कांग्रेसमा शेरबहादुरको लिगेसी चल्नेवाला छैन । त्यो कुरा उनीहरूले बुझ्न सकेनन् । अबको कांग्रेसमा शेरबहादुरको समर्थनमा म भोट ल्याउँछु भन्नेलाई महाधिवेशन, महासमिति प्रतिनिधिहरूले पत्याउने अवस्था म देख्दिनँ । सुदूरपश्चिम प्रदेशमा देउवाको अलिअलि चल्ला । चलिहाल्यो भने पनि समर्थनमा सभापति बन्ने मानिसले देश त्यसले चलाउन सक्दैन, पार्टी चलाउन सक्दैन । यो पक्का हो ।

अहिले जुन ढंगको सोसियल मिडिया छ, जुन ढंगको आइटी छ, अब त एआईको जमाना आइसक्यो । अब परिक्रमै गर्ने हो भने देशको परिक्रमा गर्नुपर्छ । आफ्ना भोटरको, रिसाएका कार्यकर्ताहरूको परिक्रमा गरेको भए हुन्थ्यो । 

मलाई लाग्छ, उनीहरूजस्तो यत्रो नेता, कांग्रेस यहाँसम्म चलाएका, देश पनि चलाएकाहरूलाई अब हामीले के भन्ने ? एलायन्स बिल्डअप गर्नुपर्छ, तर एलायन्स बिल्डअप गर्दा कसरी गर्ने ? त्यो भविष्योन्मुख हुनुपर्छ । इतिहासलाई मात्रै टेकेर, इतिहासको मात्रै लिपापोती गरेर वर्तमानको नाजुक अवस्थाको कांग्रेसलाई भविष्योन्मुख बनाउन सकिँदैन । 

यो विषय सात भाइले नबुझेको मलाई लाग्छ । फेरि सातै भाइ स्वयम् नेपालको पार्टी सञ्चालनमा र देश सञ्चालनमा ‘टेस्टेड’ भएका नेताहरू हुन् । सातै जनाले आ–आफ्नो ढंगले सञ्चालन गरेको र योगदान गरेको पार्टीको हालत के छ आज ? देशको हालत के छ ? जनताले उनीहरूकै मूल्याङ्कन गरिदिएका छन् । 

कांग्रेसीजनले र नयाँ बन्ने कांग्रेसीहरूले पनि उनीहरूको मूल्याङ्कन गर्न पछि पर्ने छैनन् । त्यसैकारण, सात भाइ सामूहिक रूपमा भेट्न गएका वेला शेरबहादुरजीले अलिअलि भए पनि बुझेर ‘अब तिमीहरूको बाटो आफैँ तय गर’ भन्ने खालको मेसेज दिनुभयो । तिमीहरू जितेर आउँछौ भने के आपत्ति भो, तर म कसैलाई गर्दिनँ भन्ने खालको उहाँको म्यासेज रहेको मिडियामा आएका समाचारहरू अध्ययन गर्दा मैले पाएँ । कति सत्य हो थाहा छैन । 

(राजनीतिक विश्लेषक पुरञ्जन आचार्यसँग मधुसुधन भट्टराईले गरेको कुराकानीमा आधारित)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पुरञ्जन आचार्य
पुरञ्जन आचार्य
लेखकबाट थप