खिर खाने दिनको महत्त्व
नेपालजस्तो कृषिप्रधान मुलुकमा सधैँजसो किसानका कथा खेतको हिलो, पसिना र झरीसँग मिसिएका हुन्छन् । रोपाइँका बेला असारको घाम, वर्षा र आकाशको बादलसँग खेल्दाखेल्दै श्रावणको मध्यान्तरमा पुग्छन् किसानहरू । नेपाली मनले वर्षैपिच्छे प्रतीक्षा गर्छ, श्रावण १५ अर्थात् खिर खाने दिनलाई ।
झट्ट हेर्दा यस दिन खिर पकाएर खाएको देखिन्छ तर यसको गहिराइ निकै फराकिलो छ । यसका पछाडि गाउँले जीवनको संघर्ष, किसानको श्रमको मिठास, धर्मको पवित्रता र समाजको आत्मीयता मिसिएको हुन्छ ।
बाल्यकालका सम्झनाहरू अझै ताजा छन् । बिहानै आँगनको तुलसीको चौरमा धुलो पुछेर आमा ठुलो पितलको कराहीमा दुध उमाल्दै खिर पकाउँथिन् । चामल, सख्खर, काजु, किसमिस, नरिवल राखेर बनाइएको खिरको बास्नाले मात्र पनि मनभित्र छुट्टै उत्सवको आभास दिन्थ्यो । खिर पाक्दै जाँदा घरभरि फैलिने त्यो सुमधुर बास्ना, आमाको अनुहारमा देखिने हल्का मुस्कान र छिमेकीको घरसम्म पुग्ने त्यो सुवास— ती सबैको सम्झनाले आज पनि हृदय गह्रौँ बनाउँछ ।
खिर खाने दिन भनेको रोपाइँको मुख्य काम सकिएर किसानलाई केही फुर्सद मिल्ने समय हो । खेतका डिलमा टुसाउँदै गरेका धानका बिरुवाहरू हेर्दा पसिनाको मूल्य सम्झन सकिने समय हो । यो दिन आफैँमा श्रमको सम्मान हो, किसानका हातका काँडाहरू, शरीरका घाउहरू र पाखुराका रेखाहरूको कदर हो । खिर खाने बहानामा थाकेको शरीरलाई फुर्सद र मनलाई सान्त्वना दिने दिन हो ।
धार्मिक दृष्टिले पनि खिर खाने दिनको विशेष महत्त्व छ । श्रावण शिवजीको प्रिय महिना मानिन्छ । यस अवधिमा सोमवार व्रत बस्ने, शिवलिंगमा दुध चढाउने र भगवानलाई खिर अर्पण गरेर मात्र खानुपर्ने परम्परा अझै जीवित छ । खिरलाई शुद्ध परिकार मान्नुको कारण पनि यही हो— दुध, चामल र चिनी स्वयं पवित्र मानिने भएकाले । खिर चढाएर मात्र खानु भनेको भगवान्प्रति धन्यवाद व्यक्त गर्नु हो, माटोको फलप्रति कृतज्ञता प्रकट गर्नु हो ।
खिर खाने दिन साँच्चिकै नेपालीपनको त्यो मिठो उत्सव हो जसले हामीलाई हाम्रो पहिचान, हाम्रो इतिहास र हाम्रो संस्कृतिसँग अझ बलियोसँग गाँसिदिन्छ ।
यो दिन खानपिन गर्ने मात्र होइन, सम्बन्ध र आत्मीयताको उत्सव हो । बिहानै पकाएको खिरलाई ठुला कचौरामा हालेर छिमेकी, आफन्त र साथीहरूसँग बाँड्ने चलन अझै जीवित छ । बालापनमा त्यो खिर पुर्याउने जिम्मा साना नानीहरूकै हुन्थ्यो । एक हातले सानो कचौरा समातेर अर्को हातले सन्तुलन राख्दै बाटोभरि नखसोस् भनेर ध्यान दिँदै हिँड्थ्यौँ । खिरको मिठास मात्र होइन त्यसलाई पुर्याउँदा पाइने हर्ष अझ मिठो लाग्थ्यो ।
आज समय बदलिएको छ । सहरमा मानिसहरू व्यस्त छन्, कामको चाप छ, तर पनि खिर खाने दिन अझै मनाइन्छ । केहीका लागि यो सामाजिक सञ्जालमा तस्बिर हाल्ने अवसर भएको छ तर त्यो तस्बिरकै माध्यमबाट पनि परम्परा बाँचिरहेको छ । अब सायद ठुला कराहीमा भन्दा सानो इलेक्ट्रिक कुकरमा खिर पकाइन्छ, त्यस खिरमा पनि उस्तै प्रेम मिसिएको हुन्छ ।
खिर खाने दिनले हामीलाई सम्झाउँछ— हाम्रो श्रम, हाम्रो माटो, हाम्रो परम्परा र हाम्रो सम्बन्ध नै जीवनका आधार हुन् । खेतमा पसिना बगाएर आएको अन्न, गाईको दुध र आफ्नै हातले पकाइएको खिरले दिएको तृप्ति पैसा र बजारको मिठाइले कहिल्यै दिन सक्दैन । त्यो स्वाद केवल जिब्रोमा होइन आत्मामा पुग्छ ।
यही पर्वले हामीलाई सम्झाउँछ कि खुसी बाँड्दा बढ्छ । जीवन साँच्चिकै रमाइलो तब मात्र हुन्छ जब हामी आफन्त र छिमेकीसँगै बसेर खिर खान्छौँ, पुराना कुरा सम्झन्छौँ र नयाँ सपना बुन्छौँ । खिर खाने दिन साँच्चिकै नेपालीपनको त्यो मिठो उत्सव हो जसले हामीलाई हाम्रो पहिचान, हाम्रो इतिहास र हाम्रो संस्कृतिसँग अझ बलियोसँग गाँसिदिन्छ ।
अन्ततः खिर खाने दिन केवल एक दिनको पर्व होइन यो पुस्ता–पुस्तामा बगेको परम्पराको त्यो सेतो र मिठो धारा हो, जसले हाम्रा जीवनलाई अझ स्वादिलो, आत्मीय र अर्थपूर्ण बनाउँछ ।
(लेखक राना स्वतन्त्र विद्यार्थी युनियन त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाकी कोषाध्यक्ष समेत हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण