कोदो रोप्न गएका कृषिमन्त्री किसानका गीत सुनेर आए
सारांश
- भक्तपुरमा आयोजित राष्ट्रिय कोदो दिवसमा किसानहरूले मल, बीउ र बजारको अभावबारे गुनासो गरे।
- मन्त्री रामनाथ अधिकारीले रैथाने बालीको प्रवर्द्धन र स्वस्थ जीवनका लागि कोदोको परिकार खान आग्रह गरे।
- राष्ट्रिय कोदो दिवसको अवसरमा कोदोको उत्पादन र आयातको अवस्थाबारे जानकारी दिइयो, जसमा आत्मनिर्भरताको आवश्यकता औंल्याइयो।
काठमाडौँ ।
‘मलजल बीउको व्यवस्था भए नि
चल्छ निर्वाह, परदेश नगए नि’
शुक्रबार भक्तपुरको चाँगुनारायण नगरपालिका ताथलीका महिला किसानहरूले कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी अगाडि गीत गाएर सुनाए । सरकारले राष्ट्रिय दिवस घोषणा गरेपछि पहिलो पटक बनाइरहेको राष्ट्रिय कोदो दिवसमा कोदो रोप्न पुगेका मन्त्री अधिकारी किसानहरूले गीत गाएर समस्या सुनाएका हुन् ।
उनीहरुले सरकारले किसानहरूको लागि मल, पानी र विउविजनको व्यवस्था गरिदिए नेपालमा निर्वाह चल्ने सुनाएका हुन् । किसानहरूले लगानी गरे पनि बजार नपाएको भन्दै गीत मार्फत गुनासो सुनाए ।
खेर जान्छ लगानी हजारमा
व्यवस्थापन चाहिया’छ बजारमा
फला’का छन् फर्सी र लौकानी
चल्छ घरबार, खेर जान्छ मौका नि
मन्त्री अधिकारीले गीत मार्फत उठेको प्रश्नहरूको खासै जवाफ दिएनन् । बरु उनले रैथाने बाली लगाउन किसानहरूलाई आग्रह गरे । उनले नेपाली रैथाने अन्नहरूको प्रवर्द्धन गर्न आफू लागि परिरहेको भन्दै ब्राण्डिङ गर्नुपर्ने सुनाए । ‘अहिले उत्पादन नभएको होइन तर त्यही अनुसार ब्राण्डिङ गर्न आवश्यक पनि छ,’ मन्त्री अधिकारीले भने ।
_j3jt43bo5a_teeBTtlHMS.jpg)
मन्त्री अधिकारीले स्वस्थ रहनका लागि एक छाक कोदोको परिकार खान आग्रह गरेका छन् । राष्ट्रिय कोदो दिवसको अवसरमा भक्तपुरको चाँगुनारायणमा आयोजित कोदो रोपाइँ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले स्वस्थ रहनका लागिको कोदोको परिकार खानुपर्ने बताए । हरेक नेपालीहरूलाई दिनमा एक छाक कोदोको परिकार खाने हो भने स्वस्थ रहने उनको भनाइ थियो । कोदोको खानेकुराहरूले अहिलेलाई मात्रै फाइदा नभई भावी सन्ततिका लागि पनि स्वस्थ राख्न फाइदा पुग्ने बताए । मकै, धान, गहुँ सरह नै कोदो पनि महत्त्वपूर्ण बाली रहेको बताए ।
मन्त्री अधिकारीले भने, ‘हामी स्वस्थ रहने हो भने, हामीले एक छाक मात्रै भए पनि कोदोको परिकार भान्सामा राख्ने व्यवस्था गर्न सक्यौँ भने वास्तवमा स्वस्थ पनि हुन्छौँ । हामीलाई त रोग लागेको होला, अहिले उपचार गर्न सकौँला, तर भावी सन्तति पनि रोगी भएर जन्मिन्छन् । रोग भित्र्याउने काम हुन्छ ।’
‘नेपाल सरकारले गरेको निर्णयको कार्यान्वयन आज चाँगुनारायण नगरपालिकाले कार्यान्वयन गरेको छ । हामीले बाटाभर थुप्रै मकै बारी देखेर आयौँ । मकै,धान, गहुँ सरह नै कोदो पनि महत्त्वपूर्ण बाली हो । यसको पनि त्यत्तिकै विकास गर्न सक्नुपर्छ । उत्पादनको ग्यारेन्टी कसरी हुनसक्छ त्यसमा पनि खोजी गर्नुपर्छ,’ उनले भने ।
मन्त्री अधिकारीले कृषिमा काम गर्ने हो भने कोदो रोपेर उत्पादन बढाइ फाइदा लिनुपर्ने बताए । यसपछि मन्त्री अधिकारी नेपाली कांग्रेस पार्टी कार्यालयमा कार्यक्रम रहेको भन्दै फर्किए ।
पहिलो पटक राष्ट्रिय दिवस
नेपाल सरकारले यस वर्षदेखि साउन १६ गतेलाई ‘राष्ट्रिय कोदो दिवस’को रूपमा मनाउने निर्णय गरेसँगै, प्रथम राष्ट्रिय कोदो दिवस २०८२ को मूल समारोह भक्तपुरको चाँगुनारायण नगरपालिका–९, ताथलीमा आयोजना भएको हो ।
_rozlhe4z79_KZ3cClPNvH.jpg)
रैथाने बालीका विज्ञ तथा मन्त्रालयका सहसचिव एवं राष्ट्रिय कोदो दिवस संयोजक डा. रामकृष्ण श्रेष्ठले कोदोलाई खाद्य सुरक्षाको आधार, पोषणको स्रोत र जलवायु परिवर्तन–अनुकूल टिकाउ बालीका रूपमा प्रवर्द्धन गर्न सरकारले राष्ट्रिय दिवसको रूपमा समावेश गर्नु ऐतिहासिक कदम भएको बताए ।
‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने मूल नारा दिवस मनाइएको हो । कृषक समूह महासङ्घका अध्यक्ष पञ्चकाजी श्रेष्ठले कोदो स्वास्थ्य र पोषणको दृष्टिले अत्यन्त महत्त्वपूर्ण बाली भएको बताए ।
उनले देशभरी यसको प्रवर्द्धन गर्न दिवस मनाएकोमा किसानहरू खुसी भएको सुनाए । कार्यक्रममा कृषि मन्त्रालयका दुवै सचिव गोविन्द शर्मा र दिपक खराल पनि सहभागी थिए । मन्त्री, सचिव, सहसचिव लगायतले कोदो रोपाइँमा सहभागी भएका थिए ।
७६ करोड बढीको आयात
कृषि मन्त्रालयको तथ्याङ्क अनुसार, आर्थिक वर्ष २०८०/८१ मा २ लाख २४ हजार ९३५ हेक्टरमा कोदोजन्य बाली खेती भई ३ लाख ७३२ हजार मेट्रिक टन उत्पादन भएको देखिन्छ। तर उत्पादकत्व भने प्रति हेक्टर १.३३ मेट्रिक टन मात्र रहेको छ।
यदि सिँचाइ, उन्नत बीउ र प्रविधिको प्रयोगमा जोड दिन सकिएमा उत्पादन र उत्पादकत्वमा उल्लेखनीय वृद्धि गर्न सकिने विज्ञको भनाइ छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार, आर्थिक वर्ष २०८१/८२ मा करिब ७६ करोड ६३ लाख रुपैयाँ बराबरको १८ हजार ३१६ मेट्रिक टन कोदोजन्य उत्पादन आयात गरिएको छ । त्यही वर्षमा ९४ लाख रुपैयाँ बराबरको ७० मेट्रिक टन मात्र निर्यात भएको छ, जसले उत्पादनमा आत्मनिर्भरता आवश्यक रहेको स्पष्ट सङ्केत गर्छ ।
देशभरी मनाइँदै दिवस
देशका विभिन्न भागहरूमा पनि कोदो दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। लमजुङको सुन्दर बजारमा ‘युवा नेपाल (वाईसिटी)’, खाद्यका लागि कृषि अभियान र सुन्दरबजार नगरपालिकाको सहकार्यमा साउन १६ र १७ गते कार्यक्रम हुने जनाइएको छ । त्यसैगरी, रैथाने एग्रो, नेपाल उद्योग वाणिज्य महासङ्घ, लिवर्ड लगायत संस्थाहरूले पनि आफ्ना स्थानमा दिवस मनाइरहेका छन् ।
_oiptffuhrr_NjyqJY8N6L.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण