शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

माधव-झलनाथ खटपट : कहिले मिलाप, कहिले उतारचढाव

शुक्रबार, १६ साउन २०८२, १९ : ००
शुक्रबार, १६ साउन २०८२

सारांश

  • नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र झलनाथ खनालबीच खटपट बढेको छ, पुरानो सम्बन्धमा मतभेद देखिएको छ।
  • खनालले पार्टी निर्णयमा सल्लाह नगरेको र एमालेसँगको विद्रोहको औचित्य नभएको कुरा उठाएका छन्, जसले सम्बन्धमा थप दरार ल्याएको छ।
  • एमसीसी र पार्टीको सैद्धान्तिक विषयमा पनि दुई नेताबीच मतभेद रहेको छ, जसले गर्दा उनीहरूको सम्बन्धमा उतारचढाव आएको देखिन्छ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच खटपट बढ्ने संकेत देखिएको छ ।

खनाल र नेपालबीच भिन्न मत र सहकार्यको सम्बन्ध रोचक र धेरै पुरानो पनि छ । झण्डै पाँच दशक पुरानो सम्बन्ध रहेका नेपाल र खनाल २०३२ सालमा अखिल नेपाल कोर्डिनेसन केन्द्र (कोके)कालकै संस्थापक मानिन्छन् । तर पनि उनीहरुबिच निरन्तर मतभेदपूर्ण सहकार्य यहाँसम्म आइपुगेको दुवै नेताहरुलाई नजिकबाट चिन्नेहरु बताउँछन् ।

२०७८ सालमा एमालेसँग विद्रोह गर्दा झलनाथले ओलीतिर नलागेर माधवलाई साथ दिए । यद्यपि त्यसबेला खनाल नेपाल बाहिर उपचारका लागि गएका थिए ।

नयाँ पार्टी गठनपछि पनि दुई नेताबिच कहिल्यै सुमधुर सम्बन्ध बन्न सकेन । अध्यक्ष नेपालले महत्वपूर्ण निर्णय गर्दा आफूसँग कहिल्यै सल्लाह नगर्ने गरेको खनालले बताउने गरेका छन् । यसरी महत्वपूर्ण विषय र निर्णयमा मतभिन्नता देखिँदै आएकोमा पछिल्लो पटक खनालले एमालेसँग विद्रोह गर्नुको औचित्य नभएको भन्ने अभिव्यक्ति दिएपछि त दुई नेताबिचको खटपट सार्वजनिक आरोप-प्रत्यारोपमै परिणत हुन पुगेको छ । 

त्यसो त पार्टीको सैद्धान्तिक कार्यक्रममै नेपाल र खनालबिच फरक मत रहँदै आएको प्रष्टै छ । अध्यक्ष नेपाल जनताको बहुदलीय जनवाद (जबज)को पक्षमा छन् भने खनाल त्यसमा फरक मत राख्दै आएका नेता हुन् । पछिल्लो समय खनाल वैज्ञानिक समाजवादको वकालत गर्दै आएका छन् ।

नेपाल र खनालबिच यसअघि एमसीसीलाई हेर्ने सवालमा पनि मतभेद देखिएको थियो । जतिबेला एमसीसी अध्ययन गर्न गठित कार्यदलका संयोजक रहेका खनाल एमसीसी खारेजकै पक्षमा उभिए ।

जबकि २०७८ साल फागुन १५ गते एमसीसी अनुमोदन हुँदा खनाल पार्टी निर्णय विपरीत विपक्षमै मतदान गर्न पुगेका थिए ।

नेपाल र खनालको मिलाप र मतभेद बुझ्न २०३७ सालदेखिकै इतिहास हेर्नुपर्ने हुन्छ । नेपालले २०३७ सालतिरै सीपी मैनालीलाई नेतृत्वबाट हटाउन खनाललाई अगाडि सारेका थिए । नेपालको त्यसबेलाको योजना सफल पनि भयो । त्यो योजना अनुसार खनाल नै तत्कालीन मालेको महासचिव समेत बने । झलनाथ पछि मदन पार्टीको नेतृत्वमा आए । त्यसपछि पार्टीभित्रको सैद्धान्तिक र सांगठानिक मतभेदमा माधव मदनको नजिक बने । 

पाँचौं महाधिवेशनमा मदनले जबजको प्रस्ताव अघि सार्दा माधवले साथ दिए । तर झलनाथले त्यसमा भिन्न मत राखे । २०५० सालमा मदनको रहस्यमय मृत्युपछि नेपालले १४ वर्षसम्म एमालेको नेतृत्व गर्ने अवसर पाए । त्यसपछि पार्टीभित्र हुने कैयौं निर्णयमा नेपाल र केपी ओली नजिक बन्ने अवस्थामा खनाल भने अलग कित्तामा उभिन पुग्थे । तर २०५४ मा सीपी मैनाली, वामदेव गौतम, आरके मैनालीहरुले पार्टी विभाजन गर्दा झलनाथ तत्कालीन महासचिव माधव नेपालसँगै उभिए । २०६४ को निर्वाचनमा अप्रत्यासित पराजय भोगेपछि माधवले पार्टी महासचिवबाट राजीनामा दिए । त्यसपछि झलनाथ अध्यक्ष बन्न पुगे । 

२०७१ मा भएको एमालेको नवौं महाधिवेशनमा केपी शर्मा ओली र माधव नेपाल अध्यक्षमा प्रतिस्पर्धा गर्दा झलनाथ र वामदेवले ओलीलाई नै साथ दिएका थिए । यसरी उत्तरचढावपूर्ण सम्बन्ध गुजार्दै आएका यी दुई नेता एकीकृत समाजवादी गठनपछि पनि कहिल्यै सौहार्द्धपूर्ण सम्बन्धमा रहन सकेनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप