मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बार्पाक : पक्की बाटो, परदेशी मन र फोटोमै बाँचेको गाउँ

आइतबार, १८ साउन २०८२, १० : २७
आइतबार, १८ साउन २०८२

गाउँको रहर थियो— सडक होस्, विकासको उज्यालो आओस् । 

बार्पाककी ९० वर्षीया लालमायाले जीवनमा कहिल्यै गाडी देखिनन् । उनलाई गाडी हुन्छ भन्ने त थाहा थियो तर कस्तो हुन्छ, कसरी गुड्छ थाहा थिएन । कुनै साना, कुनै ठुला गाडी देख्दा ती ठुला गाडीका बच्चा होलान् भन्ने पनि लाग्थ्यो । ७५ वर्षका बलबहादुर गुरुङले सहरमा गुड्ने अनेक रङ्गका गाडीका ताँती त देखेका थिए तर गाउँमा गाडी आउला भन्ने कहिल्यै लागेकै थिएन । 

गाडी नदेख्ने र नचढ्ने गाउँमा धेरै वृद्धवृद्धाहरू थिए नै । बलबहादुरलाई सहरतिर गएर गाडी चढ्दा लाग्थ्यो, ‘हाम्रो गाउँमा त सायद कहिल्यै गाडी आउँदैन होला । ’ किनकि गाडी देख्नकै लागि पनि गाउँबाट कम्तीमा तीन दिनसम्म पैदल हिँड्दै, जङ्गलमा बास बस्दै पृथ्वी राजमार्गसम्म पुग्नुपर्थ्यो । 

तर गाउँमा गाडी आइपुगेको छ, पहिला–पहिला गाउँमा गाडी आएर घार्र–घुर्र आवाज निकाल्दा २०७२ सालको महाविनाशकारी भूकम्पको त्रास बल्झाएको जस्तो पनि लाग्थ्यो— भूकम्प हो कि ? बालबालिकाले सडकमा गाडी देख्न पाउँदा आँखा चम्काउँथे र परपरसँगै पछिपछि कुदिरहन्थे । 

त्यसैले बार्पाकका बासिन्दाका लागि सडक पुग्नु एउटा सपना पूरा हुनु थियो, तर आज त्यसै सडकको छेउ उभिएर ६५ वर्षीय धनबहादुर घले भन्छन्, ‘सडक त आइहाल्यो, तर आफू मात्र आएको रहेनछ । आफूसँगसँगै धेरै थोक बोकेर ल्याएछ— उज्यालो मात्र होइन, छाया पनि ।’

भुइँचालोअघिको बार्पाक : हराएको समयको अवशेष

२०७२ वैशाख १२ गते । घाम लागेको बिहान, साउनको झरीजस्तो अचानक झरेको विनाश । 

गाउँमा रहेका पूरै १८०० भन्दा बढी घरहरू निमिट्यान्न भएर भत्किए, कुनै ठाडो घर देखिएन । 

भित्तामा टाँसिएको फोटो, लुगाफाटा, अन्न र जिउँदो सपना— सब भत्कियो । 

धनबहादुर घले सम्झन्छन्, ‘हाम्रा घर ढले, तर त्यो माटोसँगै परम्परा, संस्कृति, हाम्रा आत्मा मात्र ढलेनन्, भरे बाल्ने चुलो, पाक्ने अन्न, भाँडावर्तनहरू सबै ती ढलेर आँसुमा बदलिए । यतिबेला हामीलाई सद्भाव र प्रेमका हातहरूको खाँचो थियो नै ।’१

सपना र चलायमान जीवन भत्काउन आयो भुइँचालो

बिहान कसैको चुल्होमा दाल उम्लिरहेको थियो, बाहिर खेलिरहेका नातिनातिनाहरू झसङ्ग भएर ढलेका थिए, घरभित्र एक्कासि कराउने आमाको आवाज धुलोमै हरायो । जङ्गलमा घाँस–दाउरा खोज्न, टिप्न गएकाहरू रुवाबासी गर्दै घरमा के भयो होला भनेर कुदाकुद गर्दै फर्किए र देखे, घरहरू चिहानघारी थियो— सपनाको चिहान, गाउँका ७२ जना मानिसहरूको एकै चिहान । 

भौतिक कृत्रिम सौन्दर्य आयो, भावनाहरू सदाका लागि बिलाए ।  गाउँ शोकमग्न थियो तर शोक पालेर बसिरहनुहुन्नथ्यो । छिटै ‘पुनर्निर्माण’ सुरु भयो । सिमेन्ट, रड, फलाम, एंगल, सर्भे अनि ‘मोडल हाउस’का बहसहरू प्रारम्भ भए । गाउँ पुनः उभिनैपथ्र्यो, प्रारम्भ भयो । धनबहादुर भन्छन्, ‘हामीलाई त चुल्हो फर्काउनुथियो, उनीहरूले त डिजाइन ल्याए— सिमेन्टको सपना ।’ देखाएर धमाधम घर बन्न थाले । 

अबका घरबाट फलेकले छाएका छाना हराए, आँगनमा ढुङ्गा बिछ्याइएका चोक र गल्लीहरू बिलाए । बन्न थाले कङ्क्रिटका महलहरू, बाहिर रङ्गिन पेन्ट, भित्र मौनता र नमिठो उष्णता । 

सडक आयो, बाटो गयो, संस्कृति हराउने सुरुवात । बार्पाक पुग्ने पक्की सडक— एक गौरवको विषय थियो । यो बाटोले केवल गाडी होइन; सहर ल्यायो, बजार ल्यायो, मूल्य ल्यायो र मौलिकता लग्यो । लग्यो आत्मनिर्भरता, आफ्नो उत्पादन हराएर कर्पोरेट व्यवसायीका खुद्रा सामान किनबेच हुन थाल्यो । 

गाउँ बिस्तारै उठेसँगै संवादको भर्चुअल दुनियाँ सहज भयो, फोन, मोबाइल, इन्टरनेटको सहजता प्राप्त भयो तर हाम्रो स्नेह, प्यार र सद्भाव हराउँदै गयो । सँगै आफन्तहरूसँगको भौतिक संवाद हराउँदै गयो । एकै घरमा मान्छेहरू पराया हुन थाले । 
गुञ्ज बहादुर गुरुङ भन्छन्, ‘हामीले बाटो मागेका थियौँ, संस्कृति बेच्ने यातायात होइन । गुम्बाहरू ढलेका ठाउँमा चर्चहरू बनुन् भनेका थिएनौँ । जन्मोत्सवमा गुम्बामा पूजापाठ होस् भनेका थियौँ, केक काट्नुपर्छ भनेका थिएनौँ ।  अहिले त गाउँका युवायुवतीहरू पिङमा रमाउन छोडेका छन् ।’

रोधी हरायो, मेलापात हरायो, गोठ–बसाइ गुम्यो । बार्पाकमा रोधी, परम्परागत नाचगानहरू अब त ‘पौराणिक इतिहासजस्ता’ भएका छन् ।  

मेलापात जहाँ गाउँले सँगै खेत जोत्थे, सँगै दाल–भात खान्थे, त्यो अब त्यसो गर्नेहरू मजदुरको दर्जामा गए । गोठ जानेहरू, चौँरी पाल्नेहरू, भेडा पाल्नेहरू हराउन थाले । 

जहाँ रनवनमा बिहान–दिउँसो मुरली बज्थे, साँझ–बिहान दुध दुहिने, मही पार्ने, आलोपालो ऐँचोपैँचो गर्ने परम्परा थियो, अब सहरको डेरी र प्याकेटमा कर्पोरेट व्यवसायीले पठाउने दुध र कोकाकोलाले खाइदियो । 

पुराना दृश्यहरू भित्तामा टाँसिने मात्र भए । काठले छाएका छाना, फलेकले बारेका भित्ता, ढुङ्गाले बिछ्याइएको आँगन, माटो र काठको दुईतले घर, बरन्डा, कौसी, मान्द्रोमा सुकाइएको गुन्द्रुक, ऊन कात्ने चर्खा भएका घरहरू अब दुर्लभ नै भइसके; भित्तामा टाँसिने पोस्टरमा बनिसकेका छन् । 

भुक्तभोगी शारदा भन्छिन्, ‘अहिलेका घरहरू त राम्रा होलान् तर चुल्होको धुवाँ छैन, त्यो धुवाँमै हाम्रो पहिचान थियो ।’ 

परदेशीको पर्खाइ, लाहुरे संस्कारदेखि मल्टिनेसनल सपना । हिजो ‘लाहुर जानु शान थियो । गाउँको इज्जत–प्रतिष्ठा थियो ।’ आज ‘भिसा लाग्नु नै भाग्य हो ।’ बार्पाकका युवाहरू कोरिया, जापान, कतार, दुबई, मलेसिया पुगेका छन् । सहरमा घडेरी किन्ने सपना बोकेका छन्, कसैले बार्पाकमा बस्ने र बाबुआमाको बिँडो थाम्ने रहर गर्दैनन् । 

युवाहरू परदेशी भएपछि गाउँमा वृद्धवृद्धा मात्र बाँकी छन्, बालबालिकाले आमाबाबुलाई मोबाइलमा चिन्छन्, हजुरबा–हजुरआमा चिन्दैनन् । नातिनातिनाको प्रेममा भुतुक्कै हुनु सामान्य मात्र हो । 

स्कुलमा शिक्षक छन्, तर विद्यार्थी छैनन्; भवन छ, स्याहार छैन । आँगन–आँगनमा सिस्नु उम्रिनु सामान्य बनेको छ । 

‘पुराना फोटो हेर्छु,’ घले बुबा भन्छन्, ‘त्यो घरलाई छोएझैँ लाग्छ, मन भक्कानिएर आउँछ । ढोकाको चौकटमा आमा झुन्डिएको तस्बिर, त्यही घरभित्र पुरिएर मनमा मात्र सँगालेको छु ।’

के बाँकी छ ? मौलिक बार्पाक अब गुगल म्यापमा देखिन्छ, तर हृदयमा त्यो बार्पाक बाँकी छैन । 

होमस्टेहरू खुलेका छन् । ‘गाउँ हेर्न आउनुहोस्’ भन्ने पोस्टर देखिन्छ तर पर्यटकले देख्ने बार्पाक सजिएको, पेन्ट गरिएको, होटलस्तरको सेवा के त्यो साँचो बार्पाक हो र   ?

गुञ्ज बहादुर गुरुङ भन्छन्, ‘पर्यटकलाई देखाउन झूटा झ्याल बनाउँछौँ, तर घरमा छैन । आफ्नै जीवनको झ्याल कहिले खोल्ने ?’

गाउँका पुरुषहरू परदेसिएपछि घर महिलाले घर, गोठ, समाज सम्हालेका छन् तर प्रश्नको केन्द्रबिन्दुमा छैनन् । कृषि, सहकारी, स्वास्थ्य, तालिम— सबैमा महिला तर राजनीतिको निर्णयात्मक पङ्क्तिमा छैनन् । त्यो पनि अधबैँसेहरू मात्र हुन् । 

ओसिना घले भन्छिन्, ‘हामीले घर बनायौँ, तर नक्सा कसले हो, अर्कैले बनाउँछ; जसले हाम्रोपन बुझ्दैनन्, जान्दैनन् । हामीले गाउँ सम्हाल्यौँ, तर नेतृत्वमा तिनै छन्, जो यहाँ छैनन् ।’

भविष्यको बार्पाक

सडक, भवन, इन्टरनेट सबै विकासका सूचक हुन् तर संस्कृति, परम्परा, सम्बन्ध, सामूहिकता— यी बिनागाउँ केवल नक्सामा बाँकी रहन्छ; जसले बल्लबल्ल गणितीय आँकडामा मात्र समाज बुझेका छन्, संस्कृति बुझेका छैनन् । के गर्न सकिन्छ त बार्पाक जोगाउन ?

हाम्रा रोधी घर पुनःस्थापना गर्न केही योजनाहरू हुनुपर्ने हो, स्थानीय गीत–सङ्गीतको सङ्ग्रहालय बन्नुपर्ने हो, तर कसरी ? युवालाई गाउँमै रोजगारी दिने तयारी कसले गर्ने ? पुराना घर–संरचना पुनर्निर्माण गरी जीवन्त म्युजियमको रूपमा विकास गर्नुपर्छ । यसका लागि सोच्ने कसले हो ?

निष्कर्ष 

बार्पाकको फलेक छाएको घर सुन्दर होला तर झिकिएको माटोमा आत्मा थियो जस्तो छ । 

ढोकामा लटकाइएका फोटोहरू राम्रा देखिएलान्, तर तिनको पछाडि उभिएको आत्मगौरव नै साँचो बार्पाक हो । 

‘घरको बनावट फेरिएको छ, तर आवाज फेरिएको छैन । त्यो पुरानो रोधीको गीत अझै कानमा गुन्जिरहेछ,’ गुञ्जबहादुर गुरुङ थप्छन् । अब जिउँदो भएर रोधी फेरि ब्युँझिएला त ! 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. नवीनबन्धु पहाडी
डा. नवीनबन्धु पहाडी
लेखकबाट थप