शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यादगार एक दिन र ‘कर्ण’को चौथो संस्करण

आइतबार, १८ साउन २०८२, ११ : ४३
आइतबार, १८ साउन २०८२

कुरा मध्यसाउनको भए पनि सन्दर्भ माघबाट सुरु गर्न मन लाग्यो । गएको माघ महिना । एक गते । शिखा बुक्सका पुष्पराज पौडेलजीसँग अकस्मात् भेट भयो । म प्रायः के केमा हराइरहन्छु । साथीहरूसँगको सम्बन्ध ‘रिन्यु’ गर्न पाइरहेको वा सकिरहेको हुन्न ।

पौडेलजी मेरा पुराना मित्र हुन् । ‘आगो छोपेर कतिन्जेल’ प्रकाशनको बेलादेखिको मित्र । ‘कर्ण’को पहिलो संस्करण प्रकाशनताका सहकार्यमा सक्रिय रहेका र अझ ‘धुनभित्र धुनबाहिर’ को सुर चलेको बेलादेखि सघन घनिष्ठताले घर बनाएको मित्र । माघे सङ्क्रान्तिको दिन धेरैले घिउचाकु खाए होलान्, हामीले कालो चिया सँगै खाएका थियौँ मज्जासित, मीठो सित ।

लामो समयपछिको त्यो भेटमा उनले कडै शैलीमा भने, नवराज लम्सालका सुरुवाती कविताहरू कस्ता थिए भनेर चासो राखिरहेका धेरै युवाहरू छन् । दिनहुँ पसलमा आउँछन् र फर्कन्छन् । सङ्ग्रह ‘रिप्रिन्ट’ गर्नुपर्दैन ? 

म चुप बसेँ । समाजमा सल्लाह दिनेको कमी छैन । पुराना मित्र हुन् । उनले पनि एउटा सल्लाह थपे । यसरी सम्झेँ ।

उनले कुरो टुङ्ग्याएनन् र फेरि भने, तपाईँको पहिलो कवितासङ्ग्रह ‘पाइलैपिच्छे सगरमाथा’ र ‘क्रमशः एक्लै एक्लै’ मलाई पठाउनुस् । छापूँ ।

मैले भनेँ, ती दुवै पुराना हुन् । ‘सफ्ट’ कपी छैन ।

‘एक प्रति किताब त छ, नि ?’

‘छ ।’

केही दिनमा मैले उनलाई किताब दिएँ ।

एक हप्तापछि फोनमा भने, केही हेर्नुछ भने हेर्नू, मेलमा पठाएको छु । मैले हेरेँ । दुवै पुस्तकको चिटिक्कको सेटिङ रहेछ । पुरु लम्सालले कभर बनाएछन् । फोटो स्केच गरेछन् । 

मैले सबै राम्रो भएको प्रतिक्रिया दिएँ ।

अर्को हप्ता फोन आयो, किताब हेर्न आउनुस् ।

पुष्पजीले एकै पटक दुई पुस्तक थमाए, ‘पाइलैपिच्छे सगरमाथा’ र ‘क्रमशः एक्लै एक्लै’ । दुई दुई प्रति पुस्तक लिएर म धनगढी उडेँ । एयरपोर्ट जाँदा बाटैबाट लिएको थिएँ ।

किताब हेरेर म मुस्कुराएँ । एयरपोर्ट पुग्दा र जहाज चढ्दासम्म पनि किताब झोलामा होइन, हातैमा थियो । कति मीठो बास्ना थियो, मगमग ।

समयले २०८२ टेक्यो । ‘अग्नि’ अग्नि नै भइरहेकै थियो । धमाधम नयाँ संस्करण आइरहेकै थिए, छन् । पुराना दुई कवितासङ्ग्रह पनि आए, थपिए । 

विभिन्न कारणले अलि ढिलो भइरहेको ‘धरा’ साँच्चै सुन्दर कलेबरमा बजारमा आइपुग्न लागेको खुशीमा थिएँ । भूपेन्द्रले भनिरहेका थिए, दाइ यसै हप्ता ।

सञ्चारकर्मी तथा गीतकार समेत रहेका मित्र भूपेन्द्र खड्काले धरा सिँगार्दै गरेको र अब छिटै भेट्न पाउने निकट खुशीको पूर्वतातो सघन हुँदै थियो । उनी मेरा दुई कवितासङ्ग्रह पुन:प्रकाशनमा आएको थाहा पाएर मभन्दा बढी खुशी थिए । ‘पढ्छ किताब नेपाली’ शृङ्खला रेकर्ड गर्दै गर्दा उनले थाहा पाएको यो खबरले उनको मुहारमा खुशीको चमक चमकदार थियो । त्यो चमक मित्रताको जग हो । उनको भनाइ थियो, दाइका सबै किताबहरू पसल पसलमा भेटिनुपर्छ । आलोपालो सबै ‘रिप्रिन्ट’ हुँदै जानुपर्छ, राम्रो क्वालिटिमा । 

म त झन् खुशी नहुने कुरै भएन ।

२०८२ को असार लाग्दा नलाग्दै पुष्पजीले फेरि भन्नु भयो, ‘कर्ण’ खोज्नेहरू निकै छन् । दिनहुँ आउँछन् र फर्कन्छन् । ‘सफ्ट कपी’ होला नि पाऊँ ।

‘धरा’ आउनै लागेको छ । एकै पटक दुईदुइटा जस्तो होला । एक दुई महिनाअघि मात्रै दुई सङ्ग्रह पनि छापिए । 

पुष्पले भने, मानूँ कुनै दिन तपाईँका बिस बटा किताब भए रे । बजारमा सकिएपछि प्रकाशकले एकै वर्षमा सबै ‘रिप्रिन्ट’ गर्‍यो रे, तपाईँ के गर्नुहुन्छ ? नयाँ किताब पो कहिले ल्याउने भन्ने तपाईँको योजना होला तर पुरानो किताबको नयाँ संस्करण त्यस्तो हुन्न । एकै वर्ष सबै पनि आउन सक्छ । यो आवश्यकताको कुरा हो ।

‘सफ्ट कपी’ पठाएँ । नयाँ सेटिङ, नयाँ कभर र नयाँ स्वरूपमा ‘कर्ण’ चौथो संस्करण तयार भयो ।

फेरि पनि कभर बनाएछन् पुरु लम्सालले र कतैबाट फोटो पनि उनैले तानेछन् । पुष्पजी र उनले सल्लाह गरेछन् र भनेछन्, तीनवटै महाकाव्यलाई जोडेर छोटो नयाँ टिप्पणी राखूँ । त्यो नयाँ हुन्छ । त्यो नयाँ काममा जोडिए गहिरो कलमका मेरा फराकिला मित्र राजकुमार बानियाँ ।

यसमा प्रा.डा. गोविन्दराज भट्टराई सर र प्रा.डा. सनतकुमार वस्ती सरको विषद विश्लेषण त पहिलो संस्करणदेखिकै थियो । राजकुमारजीको सटिक टिप्पणी नयाँ भयो । चौथो संस्करण विशेष ।

यिनै सल्लाह भएको दुई हप्ता नपुग्दैको एक दिन एकै समयमा दुई फोन आए । एउटा थियो भूपेन्द्र खड्काको र अर्को थियो पुष्पराज पौडेलको । भूपेन्द्रले भने, सूतपुत्र लेख्ने डा.शंकर गैरे पाल्पाबाट काठमाडौँ आएका छन् । कर्णमाथि महाकाव्य लेख्ने तपाईँ र कर्णमाथि आख्यान लेख्ने गैह्रैबिच एउटा भिडियो संवाद रेकर्ड गरौँ अनौपचारिक शैलीमा । यो नयाँ प्रयोग मीठो हुनेछ । बिचमा ‘एङ्कर’ हुँदैन । चौतारीमा बसेर दुई लेखक गफिएझैँ गफ गर्नुस् । आउँदा एउटा कर्ण पनि लिएर आउनुस् । मैले बजारतिर हेरेँ, कतै रहेनछ ।

त्यही बेला आएको अर्को फोन थियो, पुष्पजीको । पुष्पजीले भने, कर्णको पहिलो प्रति हेर्न आउनुस् । बाउ ! भिडियो रेकर्डिङमा जाँदा नयाँ लिएर जान पाउने भएँ । ‘हिपहिप हुर्रे’ । मान्छे खुशी भएपछि बच्चा उमेरमै फर्कन्छ भन्थे । हो रहेछ ।

चौथो संस्करणको पहिलो प्रति चुम्न हतारिएको थिएँ तर दुई घण्टाको फरकमा मैले दुई कार्यक्रममा पुग्नु थियो । आफैँ प्रमुख अतिथि नभएको भए, अलि ढिलो आउँछु भनेर किताब हेर्न जान्थेँ तर समय ठुलो कुरा हो, त्यसो गरिनँ । 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका महासचिवसमेत रहेका राजु सिटौलाको ‘ईश्वरका फूलहरू’ र अल्पज्ञानीको ‘उज्यालो पर्खिरहेको मानिस’ विमोचन सकेर पसिना नै नवोईकन पुष्पजीलाई भेटेँ । उता स्टुडियोमा पर्खिरहेका थिए, भूपेन्द्र र डा. गैरे । यो पर्खाइमा तीन कप कफी सकिएको खबर थियो । लगातारको म्यासेज पनि थियो तर पर्खिरहेका छौँ भन्ने शब्दमात्रै राखेर । जति मीठो माया, त्यति मीठो ‘प्रेसर’ ।

गैरे परिवारसँग मेरो निकटतम सम्बन्ध छ । गैरै सर अग्नि विमोचनको त्यो पुरानो दिनमा पनि काठमाडौँ आइपुगेका थिए । म पाल्पा पुग्दा पनि कमला म्याडमसहित मीठो भेट भएको याद छ । यी पुराना मित्र उहाँदेखि आएर मलाई कुरिरहेछन्, म कतै भाषण गरिरहेछु । कस्तो अनौठो ! तर उनले त्यति अनौठो मानेनन् । व्यस्तता बुझे, उनी आफै बुज्झकी जो छन् ।

पुष्पजीको हातबाट ‘कर्ण’ लिएको केही मिनेटमै हतारिँदै स्टुडियो पुगेँ । मपछि कर्णको पहिलो स्पर्श भूपेन्द्रको हातमा पुग्यो । उही चिरपरिचित मुस्कानसहति भूपेन्द्रले भने, गज्जब छ दाइ । हार्दिक बधाई ! भूपेन्द्र साँच्चै ‘पुस्तक लभर’ हो ।

भिडियो रेकर्डिङको सिलसिलामा डा. गैरे र मैले भिडियोमा कर्ण र सूतपुत्र साटासाट गर्‍यौँ तर त्यो पहिलो प्रति मेरो पहिलो प्रेमजस्तै थियो । दुवैलाई भनेँ, पहिलो प्रति मै लान्छु ल । दुवै जना मुस्कुराए । लेखकको हातमा परेको आफ्नो पहिलो प्रति प्रतिको प्रेम दुवैलाई थाहा नहुने कुरै थिएन तर म कति लोभी ! पाल्पादेखि आएका मित्र जो तुरुन्तै फर्कँदै छन्, तिनलाई त्यो किताब दिनु नि । तर सकिनँ त्यो पहिलो प्रति मेरो पहिलो प्रेम थियो । युवाको भाषामा ‘फष्ट लब’ ।

यति गरुन्जेल सङ्गीता मलाई बागबजारमा पर्खिरहेकी थिइन् । अल्पज्ञानीसहित अल्पज्ञानीको पुस्तक विमोचनलाई भव्य बनाउन पोखरादेखि आएका तन्नेरी स्रष्टाका सहृदयी मनहरू सँगै खाना खान मलाई पर्खिरहेका थिए । ३० मिनेट समय मागेर आएको म, भिडियो रेकर्डिङमै एकघन्टा सकियो । लेखक गैरेसँगको गहिरो न्यास्रो भरिएकै छैन । उही सेतो कपाल, सेता र मसिना दाह्री । कुनै दिन धनगढीमा भेटेर साहित्यिक महोत्सवमा लेखकीय बहस गरेको याद आयो । ढिलो हुने डरले त्यो कुरा सम्झाइनँ ।

भिडियो रेकर्डिङ सकिएपछि बल्ल फुर्सदको सास फेरेँ । म मस्त थाकेको रहेछु । काम सकिएपछि झन् बढी थकैलाग्दो रहेछ । अब सिधै घर गएर थोरै केही खाएर घुप्लुक्क सुत्न पाए ! शरीरले आराम खोज्यो । पेटले खाना र आँखाले निद्रा खोज्यो ।

यो भिडियो रेकर्डिङसमेत गरेर एकै दिनको लगातार तीन कार्यक्रम । उता राजु सिटौलाले भनिरहेका थिए, दाइ सँगै कफी खाऔँ न । मैले त्यहीँ भनेर हिँडेको थिएँ, म अल्पज्ञानीको किताब विमोचन गर्न जानुछ । अर्को दिन ल । उनी उसै गरी मुस्कुराएथे, जसरी सधैँ मुस्कुराउँथेँ । भूपेन्द्रले भने, प्राविधिक भाइसहित हामी चारै जना कतै बसेर कफी खाऔँ, केही खाऔँ । आज दौडादौड बढी छ । बूढी मलाई पर्खिरहेकी छिन् । तपाईँहरू खानुस् म अर्को दिन बरु दुई कप खाउँला नि । सबै हाँस्यौँ । पोखरेली टिम सँगै खाना खान पर्खिरहेको लुकाइनँ । उनीहरूले पनि सहमति दिए र भूपेन्द्रले भने, ‘साथीहरू कुरिरहेको भए तपाई जानुस् गैरे सरलाई खाना खुवाएर मात्रै पठाउँछु ।’

राजु र भूपेन्द्रलाई केही नखाऔँ भन्दै छोडी हिँडे पनि भोकचाहिँ साँच्चै नै लागेको रहेछ । बल्ल चाल पाएँ । 

गफ चल्दाचल्दै उता कुरिरहेकी बूढीलाई सम्झेर दिक्क लाग्यो । उनलाई बेअर्थ कुराएँ । घर जाऊ भन्नु पर्ने रहेछ । बूढी सम्झेपछि खल्तीबाट कलम झिकेँ र नयाँ किताबको पहिलो पानामा लेखेँ, ‘प्रिय सङ्गीता कर्णको चौथो संस्करणको पहिलो प्रति तिमीलाई हार्दिक उपहार ।’ यति लेखेर सही गरेँ, मिति लेखेँ । किताब च्यापेर निस्केँ । उनी पनि चौथो संस्करण हेर्न उत्साही थिइन् । 

तीन चार मिनेटमै बागबजार पुगेँ । उनी मलाई कुरिरहेकी रहिछिन् । ‘फोन अफ रैछ, रेकर्डिङ सकिएको रहेनछ जस्तो लाग्यो । अशोक बाबुले बाटो उतै पर्छ भाउजूलाई म पुर्‍याइदिऊँ त पनि भन्नु भएको थियो । सँगै जाउँला भनेर कुरेको । पुरु, जयराम, लक्ष्मण बाबुहरू पनि सँगै भएर रमाइलो पनि भयो । ल अब जाऊँ ।’ बूढीले एक सासमा भनिन् । यो टिम पेज टर्नरको अफिसमा थियो ।

पुरुले कर्ण मुसार्‍यो । आफैँले बनाएको कभर हेर्‍यो । कसले हो तुरुन्त फोटो खिचिदिए । पाना पल्टापछि थाहा पायो र भन्यो, ‘यो मेरो प्रति होला भनेको त दाजुले भाउजूको नाममा प्रेम पत्रै लेख्नुभएको रहेछ, ल भाउजू राख्नुस् ।’

डा. अशोक थापा कीर्तिपुर पुगिसकेका थिए । एक छिनपछि पुरुले एउटा बाटो पक्रियो, जयराम तिमिल्सिनाले अर्को । लक्ष्मण वियोगी र हामी लाग्योँ अर्को बाटो । बाटाभरि लक्ष्मणको नयाँ पुस्तक ‘सत्यम्’ को चर्चा गर्दै गयौँ । वियोगी युवाहरूमाझ निकै राम्रा लेखक हुन् । १७ वर्षको उमेरमा राष्ट्रकवि माधव घिमिरे र नाटककार गोविन्दबहादुर मल्ल गोठालेको घरमा पुगेर लेखक कसरी बन्ने भनेर छलफल गर्ने अनौठो तन्नेरी हो यो मान्छे । ऊभित्र एउटा अनौठो लेखकीय हुटहुटी देख्छु ।

ट्याक्सी गुडिरहेछ उसकै सुरमा । हामी आआफ्नो सुरमा । सङ्गीताले भनिन्, ‘पसिनाले लुगा जम्मै भिजेको छ । चिसो गढ्छ छातीमा । अब सिधै घर जान पाए हुने !’ 

मैले कुनै उत्तर दिइनँ । लक्ष्मण र अल्पज्ञानीबीच फोन सम्पर्क भइरहेको छ । कहाँ आइपुग्यौँ ? लक्ष्मण अल्पज्ञानीलाई त्यसै गरी सवर्णन सुनाइरहेछ, जसरी म कुनै दिन रेडियो नेपालमा प्रत्यक्ष प्रसारण गर्थेँ ।

काठमाडौँ र स्वयम् स्वयम्भूलाई साँझले छपक्कै छोपिसकेको त्यो बेला स्वयम्भूकै एउटा कुनामा अल्पज्ञानी एउटा टेबलभरि खाना राखेर मलाई कुरिरहेका थिए । उनीसँगै थिए, उनीजस्तै सहृदयी एक दर्जन कञ्चन मनहरू ।

त्यतिखेर हाम्रो आँखा आँखामा बात थियो, हात हातमा भात !

[email protected]

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. नवराज लम्साल
डा. नवराज लम्साल
लेखकबाट थप