बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अन्तर्वार्ता

माओवादी नेता पुनलाई प्रश्न : संस्थापनको विरोध गर्नु नै क्रान्तिकारी हुनु हो ?

आइतबार, १८ साउन २०८२

यतिखेर नेपालका प्रमुख कम्युनिस्ट पार्टीभित्र गहिरो वैचारिक तथा संगठनात्मक संकट र त्यसबाट उत्पन्न दुई लाइन संघर्ष स्पष्ट रूपमा देखिएको छ । यो केवल सामान्य मतभेद मात्र नभएर पार्टीहरूको भविष्य र समग्र कम्युनिस्ट आन्दोलनको दिशानिर्देशसँग जोडिएको छ । 

नेकपा एमालेभित्र पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति तथा पार्टीकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीबिच शक्ति संघर्षको टकराव सतहमा आएको छ । त्यसैगरी, दश बर्से जनयुद्धको नेतृत्व गरेर शान्ति प्रक्रियामार्फत मूलधारको राजनीतिमा आएको नेकपा माओवादी केन्द्रभित्र पनि अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्मा ’प्रभाकर’ बिचको अन्तरविरोध उत्कर्षमा छ । यो विवाद कार्यशैलीगत मात्र हो वा वैचारिक विचलनको परिणाम हो भन्नेमा बहस जारी छ । 

अर्कोतिर, नेकपा एकीकृत समाजवादीभित्र पनि अध्यक्ष माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेपछि पार्टी एक प्रकारको रक्षात्मक र सकसपूर्ण अवस्थामा पुगेको छ । यी सबै घटनाक्रमले के संकेत गर्छ भने नेपालका कम्युनिस्ट पार्टीहरू जटिल मोडमा उभिएका छन् ।

मूलतः यही कम्युनिस्ट पार्टीहरूभित्र देखिएको दुई लाइन संघर्ष, त्यसका कारण र भविष्यको सम्भावित परिदृश्यमा नेकपा माओवादी केन्द्रका नेता ओमप्रकाश पुनसँग रातोपाटीका लागि रोहित दाहालले लामो कुराकानी गरेका छन् । (पूरा अन्तर्वार्ता भिडियोमा) 

  • व्यक्तिगत प्रश्नबाटै सुरु गरौँ । तपाईंको राजनीतिक यात्रालाई हेर्दा अलि विद्रोही स्वभावको देखिनुहुन्छ । पहिला नेकपा माओवादीमा हुनुभयो, जनयुद्धमा होमिनुभयो । त्यसपछि पार्टी नेतृत्वसँग मतभेद राख्दै विप्लवतिर लाग्नुभयो । फेरि त्यहाँबाट पनि फर्किएर माओवादीमै आउनुभयो । र, अहिले फेरि माओवादीभित्रै बसेर हेडक्वाटर, अर्थात् संस्थापन पक्षविरुद्ध निरन्तर आवाज उठाइरहनुभएको छ भन्ने आरोप छ । के यो तपाईंको स्वभाव नै हो वा परिस्थितिजन्य बाध्यता ? 

नेता–नेताका झुण्डहरू हुन्छन्, जसलाई हामी गुट भन्छौँ । ती नेताका झुण्डको पछाडि हिँड्ने, उहाँहरूले जे भन्यो त्यही मान्ने मान्छेहरूलाई बाहिरबाट हेर्दा म विद्रोही देखिएको हुनसक्छु । तर मेरो निष्ठा व्यक्तिप्रति होइन, विचार र सिद्धान्तप्रति हो । म कुनै पनि गुट–सुटभन्दा पनि संस्थापन वा अरू मूल नेतृत्वभन्दा पार्टीको सिद्धान्त, निष्ठा र आदर्शको पक्षमा म बोल्ने मान्छे हो ।

हामी दिनदिनै स्खलित हुँदै किन गइराख्या छौँ ? टुटफुट र विभाजनतिर किन गइराख्या छौँ ? त्यसको पनि समीक्षा गर्नुपर्छ । त्योभन्दा नेतृत्वलाई खुइल्याएको वा स्टन्टबाज गरेको वा नेतृत्वभन्दा फरक देखिन खोजेको भन्ने कुरा हुँदैन ।
  • जसले अलि विद्रोह गर्छ, विद्रोही स्वभाव राख्छ, उसले आफूलाई भन्ने गर्छ – पार्टीको खास सिद्धान्त, निष्ठा, आदर्शमा रहेको मान्छे हो । तर बाहिरबाट हेर्दा, यो संस्थापनको विरोध गर्नु, नेतृत्वलाई खुइल्याउनुलाई नै क्रान्तिकारी ठान्ने एउटा रोगजस्तो पनि देखिन्छ नि । संस्थापनको विरोध गर्नु नै क्रान्तिकारी हुनु हो ?

मूल नेतृत्वलाई जयजयकार गर्ने, देवत्वकरण गर्ने, मूल नेतृत्वले गलत गर्दाखेरि पनि राम्रै भन्ने, सही गर्दाखेरि पनि राम्रै भन्ने एउटा प्रवृत्ति हुन्छ । माओवादी आन्दोलनभित्र पनि गाइडिङ थट अफ द पार्टी हुँदै प्रचण्डपथ हुँदासम्म ठीक भन्ने पनि त्यही पार्टीभित्रको प्रवृत्ति थियो । अब त्यसलाई बेठीक भन्ने हामी पनि त्यहीँभित्र थियौँ । पछि गएर मूल नेतृत्वले त्यसलाई कसैसँग सल्लाह नगरेर त्यो प्रचण्डपथ हटायो । त्यो ठीक भन्ने पनि त्यहीँभित्र छन् । नेतृत्व र सिद्धान्तलाई धर्मशास्त्रको रूपमा बुझ्ने एउटा प्रवृत्ति हुन्छ । शिवचाहिँ नाङ्गै हिँडे पनि, खरानी घस्दै हिँडे पनि ठीक, शिवलीला नै हुनुपर्ने । शिवले कपडा लगाएर हिँडे पनि ठीक । 

  • तर तपाईंले ४०औं वर्षदेखि यही नेतृत्वलाई मानेर आउनुभयो । यही नेतृत्वले चलाएको विभिन्न खालका कार्यक्रममा तपाईं सहभागी हुनुभयो । अहिले आएर उनीहरूको कमजोरी खोज्न थाल्नुभयो । भनिन्छ नि हाम्रो गाउँघरमा–तोरीको दानामा प्वाल खोज्दै हिँड्न थाल्यो भनेर । त्यो के नेतृत्व खुइल्याउनु क्रान्तिकारी हुनु हो त ?

जनयुद्धदेखि हामीले संविधानसभा र संविधान निर्माण गर्दा चरणसम्म आउँदाखेरि एक ढंगले हामीले हेर्नुपर्‍यो । संविधानसभा पछाडि यहाँसम्म आउँदाखेरिको पिरियडलाई अर्को ढंगले हेर्नुपर्‍यो । हामी दिनदिनै स्खलित हुँदै किन गइराख्या छौँ ? टुटफुट र विभाजनतिर किन गइराख्या छौँ ? त्यसको पनि समीक्षा गर्नुपर्छ । त्योभन्दा नेतृत्वलाई खुइल्याएको वा स्टन्टबाज गरेको वा नेतृत्वभन्दा फरक देखिन खोजेको भन्ने कुरा हुँदैन ।

  • असन्तुष्टि व्यक्त गर्ने ठाउँ कहाँ हो त ? कम्युनिस्ट पार्टीमा त्यसको विधि हुन्छ कि हुँदैन ? त्यसको ठाउँ हुन्छ कि हुँदैन? त्यसको कमिटी हुन्छ कि हुँदैन ? कि सडकमा भन्दै हिँड्ने हो ?

हाम्रो पार्टीभित्र प्रभाकरजीले फरक मत राखिराख्नुभएको छ । हाम्रो अध्यक्षले नै आन्दोलन डेभिएसनतिर गयो । हामी पनि बिग्रियौँ । आन्दोलन पनि बिग्रियो । माओवादी आन्दोलनलाई पुनर्संगठित, पुनर्गठित गरेर जानुपर्छ भनेर भन्नुभएको छ । 

यसको मतलब कम्युनिस्ट आन्दोलनभित्र एउटा नयाँ कार्यदिशा, नयाँ विचार र नयाँ नेतृत्वको आवश्यकता खड्कियो भन्ने त प्रस्ट रूपमा देखियो । 

om prakash pun

  • अघि तपाईंले बिम्बको रूपमा प्रयोग गर्नुभयो कृष्ण र शिवको । अहिले साउन महिना पनि छ । शिवलाई मान्ने भक्तजनहरू पनि धेरै छन् । अब शिवको त धेरै रूप छ । अहिले भन्नुभयो, मूल रूपमा चाहिँ कपडा नलगाएको रूप पनि छ । लगाएको रूप पनि छ । तपाईंले अहिलेचाहिँ नेतृत्वलाई कपडा नलगाएको शिवको रूप देख्न थाल्नुभएको हो ?

आज एउटा कुरा बोल्यो, भोलि अर्को कुरा बोल्यो । कहीँ मुस्लिमको टोपी लगाएको छ, कहीँ गएर रातो बर्को ओढ्या छ । नेतृत्व बहुरूपी हुन हुँदैन नि । नेतृत्व जे हो, त्यो हुनुपर्‍यो । 

  • त्यसलाई बहुरूपी भन्ने कि चलायमान भन्ने त ? प्रचण्डजीले त म चलायमान हुँ भन्नुहुन्छ ।

चलायमान भनेको त गतिशील हुने भनेको हो नि । अगाडितिर जाने भनेको हो नि त । पछाडि घुम्ने भनेको होइन नि । अहिले हाम्रा माओवादीका कार्यकर्ताहरू मन्दिरमा जाने, पूजा गरेको चाहिँ फोटो हाल्ने । कहाँ गयो त्यहाँ सिद्धान्त, आदर्श ? कम्युनिस्टहरू बौलायो भने मन्दिर पस्छन् भन्ने गरिन्थ्यो । 

यही मिस्टेक छ । प्रचण्ड माओवादी कम्पनीको मालिक अनि त्यो पार्टीचाहिँ कम्पनी हो त ? 
  • त्यसो भए, अहिले माओवादीभित्र एकखाले दुई लाइन संघर्ष चल्न खोजिराखेको छ, खास गरेर अध्यक्ष प्रचण्ड र प्रभाकरबिच, यो द्वन्द्वको जड के हो त ? यो साँच्चै वैचारिक हो, जस्तो कि; प्रचण्डमा डेभिएसन भयो, उहाँ मन्दिर जान थाल्नुभयो, गेरुवस्त्र धारण गर्न थाल्नुभयो, कहिले शिव बने, कहिले कृष्ण बने भन्नेमै हो, कि यो केवल शक्ति र पदको लेनदेनको झगडा हो ?

विचारकै तहको गहिरो अन्तरविरोध त्यस्तो त होइन । तर यो कार्यशैलीगत हिसाबले र पार्टीभित्रको समग्र प्रणाली भत्किएको लक्षण हो । पार्टीभित्र चाहिँ विचारको बहस चलोस्, यसलाई महाधिवेशनतिर जाने ढोका पार्टीले खोलोस् भन्ने हो । हामीले विधान अधिवेशन गर्‍र्यौँ । अहिले विधान कहाँ छ ? हाम्रा साढे चार सय केन्द्रीय सदस्य पुगिसके । तीन सय जति वैकल्पिक सदस्य पुगिसके । संगठन एकदम भद्रगोल हुँदै गइराख्या छ । पार्टीभित्र अनुशासन छैन, पद्धति छैन । विद्यार्थीको हानाहान, मारामार । यो त नेतृत्वको रिफ्लेक्सन हो नि त ।

  • तर, अध्यक्ष प्रचण्डले ‘मैले पार्टीभित्र सिँगौरी खेल्न दिएकै छु, बैठकमा पनि दुई–दुई घण्टा बोल्न दिएकै छ । अनि के चाहियो ? पद मागे, पद दिएकै छ, मन्त्री बनाइदिएकै छ । चाहियो के ?’ भनेर भन्नुभयो । उहाँको यो भनाइले त समस्याको जड कहाँ रहेछ भन्ने देखाउँदैन र ?

हो, यही मिस्टेक छ । प्रचण्ड माओवादी कम्पनीको मालिक अनि त्यो पार्टीचाहिँ कम्पनी हो त ? 

  • त्यो त हो नि । ३७ वर्षदेखि त्यही छ त ।

यो त कम्युनिस्ट पार्टी हो नि । यो त सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारीको सिद्धान्तमा चल्ने पार्टी हो । 

  • तपाईंहरू यो निष्कर्षमा पुग्नुभयो कि अब माओवादी आन्दोलन प्रचण्डको नेतृत्वमा अगाडि बढ्दैन । यो सक्नुहुन्छ त ?

हामीले २१औं शताब्दीको जनवाद भनेर भन्यौँ । ढाडमा टेकेर टाउकोमा हान्ने, संविधानसभामार्फत गणतन्त्र स्थापना गर्ने, त्यसपछि समाजवादमा बढ्ने जो हामीले भनेका छौँ । अबको नेपाली विशेषताको समाजवाद कस्तो हुन्छ त त्यसको चाहिँ बहस यहाँ टुंगिएको छैन । अहिलेको कुरा कमरेड प्रचण्डकै नेतृत्वमा यो बहस प्रारम्भ होस् भन्ने हो । त्यो भएन भने बहस नयाँ ढंगले अगाडि बढ्छ । त्यो मैले चाहेर वा तपाईंले नचाहेर भन्ने हुँदैन । हाम्रो चाहना त कमरेड प्रचण्डले नै त्यो सबै ढोका खोल्दिनुपर्छ । हाम्रै नेतृत्वमा त्यो बहस अगाडि बढ्नुपर्छ भन्ने हाम्रो सदाशयता हो । 

प्रभाकरजीले अहिले केही बुँदाहरू राख्नुभएको छ । पार्टीको पुँजीको रूपमा बस्या छ ।
  • अब विशेष महाधिवेशन बोलाउने संकेत पनि गर्नुभएको छ अध्यक्षले, हैन ? त्यो विशेष महाधिवेशनमा अब प्रचण्डविरुद्ध कसैले उम्मेदवारी दिन्छ ?

दिन सक्छ ।

  • त्यो तयारीमा तपाईंहरू हुनुहुन्छ ?

हामी तयारी, हाम्रो तयारीभन्दा पनि त्यहाँ विचारको बहस हुन्छ, कार्यदिशाको बहस हुन्छ ।  प्रचण्डभन्दा फरक विचारचाहिँ नआउने, कार्यदिशा पनि नआउने, अनि नेता म हुन्छु भनेर त हुँदैन नि त ।

  • फरक विचार त प्रभाकरले ल्याइरहनुभएको छ त । उहाँले त तीनवटा, चारवटा बुँदामा स्पष्ट भन्नुभएको छ त ।

प्रभाकरजीले अहिले केही बुँदाहरू राख्नुभएको छ । पार्टीको पुँजीको रूपमा बस्या छ । त्यो भोलि एउटा नयाँ विचारको रूपमा विकास भयो भने उहाँ नै आउन सक्नुहुन्छ । त्यो के ठुलो कुरो हो र आन्दोलनमा ?

  • तर तपाईंहरूको पनि कस्तो देखियो भने नि, भएन, यो भएन, ऊ भएन, के भएन, के भएन भन्ने तर अन्तिममा चाहिँ फेरि प्रचण्ड नै चाहिन्छ भन्ने । तपाईंले अहिले भनिसक्नुभयो नि त ।

हैन, यस्तो हो के ।

  • कस्तो ?

हैन, अहिले त हाम्रो नेता उहाँ नै हो नि त । प्रचण्ड नै हो नि त, हैन ? सबै कुराको लिगेसी भएको । हैन ? अबचाहिँ सबै हिसाबले जनयुद्ध गरेको नेता उहाँ नै हो नि त ।

  • तपाईं आफैं भन्नुहुन्छ फेरि प्रचण्डजीकै कारण पार्टी धेरै पटक फुटिसक्यो । बाबुराम, विप्लवज, किरणजीलाई प्रचण्डले पार्टी छाड्नुस् भनेको हो र ?

उहाँले नै पठाएको हो नि त । उहाँले किन पठाएको हो भन्नुहुन्छ भने उहाँले एउटा विद्रोहको कार्यदिशा, अर्को शान्ति र संविधानको कार्यदिशा खेलिदिनुभयो । अनि विद्रोहको कार्यदिशा समात्ने साथीहरू विद्रोहमा गए, शान्ति र संविधानको संसदको बाटो हिँड्नेहरू संसद्तिर गए । यद्यपि दुइटै कार्यदिशा बोकेर हिँड्नेहरू असफल भइयो, असफल भए ।

  • तपाईंले विप्लवजीको पछिल्लो भाषण पनि सुन्नुभएको छ, अन्तर्वार्ता पनि सुन्नुभएको छ । बाबुरामजीको पनि सुन्नुभएको छ, हैन ? किरणजीचाहिँ अलि बिरामी भएर त्यति आएको छैन । उहाँको तर्फबाट अरू नेताहरूले भनिरहनुभएको छ । त्यो सुन्दा प्रचण्डजीकै नेतृत्वमा उहाँहरू सबै आउनुहुन्छ भन्ने लाग्छ तपाईंलाई ?

प्रचण्डले चाहेपछि आउनुहुन्छ । अहिलेसम्म प्रचण्डको पहल नपुगेरै नआएको हो । 

अब गणितीय हिसाबले हेर्नुभएको छ कि ? सबै जम्मा भए भने फेरि मेरैविरुद्ध लाग्ने हुन् भन्ने सोच्नुभएको छ कि ? 
  • प्रचण्डजीले नचाहेर एकता नभएको हो त ?

नचाहेरै हो । उहाँले चाह्यो भने सबै एकै ठाउँमा आउँछन् ।

  • उहाँले किन चाहनुभएन?

त्यो त उहाँले के देख्नुभएको छ अब ।

  • तपाईंले के देख्नुभएको छ ?

अब गणितीय हिसाबले हेर्नुभएको छ कि ? सबै जम्मा भए भने फेरि मेरैविरुद्ध लाग्ने हुन् भन्ने सोच्नुभएको छ कि ? 

  • भनेको अध्यक्ष पद जोगाउन उहाँले त्यो गर्नुभयो भन्ने तपाईंको भनाई ?

अब सत्ता, शक्ति त अहिलेसम्मका नेताहरूको प्रवृत्ति नै छ नि । मरुन्जेलसम्म सत्ता, शक्ति नछोड्ने भन्ने त हामीले देखिराख्या छौँ नि ।  

  • प्रचण्डविनाको माओवादी अगाडि बढ्छ त ? यत्तिकै ?

प्रचण्डसहितको नयाँ ढंगले माओवादी अगाडि लानुपर्‍यो नि त । तर नेतृत्वको विकल्प हुँदैन, प्रचण्डको विकल्प हुँदैन भन्ने हुँदैन के । त्यहाँ विकल्प हुन्छ ।

  • कतिपय लाभको पद प्राप्त गर्न पनि प्रचण्डलाई धम्क्याउने वा विरोध गरेजस्तो गर्ने पनि चलन छ नि त ।

यसअघि प्रचण्डलाई धम्काउने, त्यसपछि नजिक जाने, पद लिने, प्रतिष्ठा लिने कुरा भयो । अध्यक्षलाई घुक्र्याउने, प्रेसरमा पार्ने, दबाबमा पार्ने, त्यसपछि आफ्नोअनुकूल निर्णय गराउने कुरा भएका छन् । 

  • माओवादी पार्टीभित्र गुट कति वटा छन् ?

प्रभाकरजीले आम कम्युनिस्ट आन्दोलनको विषयमा बोल्नुभयो । तल मुसो लेख्या छ, कसैले केही लेख्या छ, कसैले केही । भन्दाखेरि त यदि हेडक्वाटरका हौँ भन्नेहरूबाटै त्यो टिप्पणी भएको छ । नारायणकाजीले बोलेको इस्यु ठीक भन्ला कसैले । हेडक्वाटरचाहिँ एउटा ठुलो गुट भयो पार्टीमा । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया