आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

बुटवलमा बन्ने उजीरसिंह थापा रंगशालाले जग्गा पायो, निर्माण प्रक्रिया सुरु

आइतबार, १८ साउन २०८२, १७ : ४०
आइतबार, १८ साउन २०८२

बुटवल । वन मन्त्रालयले जग्गा प्रदान गरेपछि बुटवलमा उजीरसिंह रंगशालाको निर्माण कार्य सुरु भएको छ । प्रदेश सरकारबाट बजेट छुट्याइँदै आए पनि जग्गा प्राप्ति नहुँदा बुटवल उपमहानगरपालिका-१३ मा प्रस्तावित रंगशालाको निर्माण कार्य सुरु भएको हो । 

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ देखि नै बजेट विनियोजन गर्दै आए पनि जग्गा प्राप्ति नहुँदा निर्माण सुरु हुन सकेको थिएन ।

बुटवलको सालघारीस्थित जबई खेल मैदानलाई स्तरोन्नति गरी अन्तर्राष्ट्रिय स्तरको उजीरसिंह थापा रंगशाला बनाउने योजना छ । 

वन मन्त्रालयले जग्गा प्रदान गरेसँगै असार २७ गते पहिलोचरणअन्तर्गत चालु आर्थिक वर्ष २०८२/८३ का लागि १० करोड ७६ लाख ६१ हजार रुपैयाँ लागत अनुमान स्वीकृत भई बोलपत्र आह्वान प्रक्रिया अघि बढिसकेको लुम्बिनी प्रदेशका खेलकुदमन्त्री सन्तोष पाण्डेयले रातोपाटीलाई जानकारी दिए । रंगशाला निर्माणको जिम्मेवारी पूर्वाधार विकास प्राधिकरणले पाएको छ । 

Butwal Stadium1

प्रदेश पूर्वाधार विकास प्राधिकरणका इन्जिनियर शंकर सुवेदीका अनुसार लुम्बिनी प्रदेश सरकारले दुई चरणमा गरी ५३ करोड बजेट उपलब्ध गराउनेछ । 

गत असार २७ गते काठमाडौँ वनस्थलीमा कार्यालय रहेको अर्जुन, मार्क, प्रदीप जेभीसँग भ्याटसहित आठ करोड ५२ लाख ३२ हजार ४९३ रुपैयाँमा ठेक्का सम्झौता भएको छ । यो सम्झौता बहुवर्षे हो । इन्जिनियर सुवेदीले ठेकेदार कम्पनीले वर्षायाम सकिनासाथ निर्माण कार्य सुरु गर्ने बताए । 

कस्तो बन्नेछ उजीरसिंह थापा रंगशाला ?

बुटवलको जवईलाई लाहुरे बस्तीका रुपमा चिनिन्छ । त्यहाँ हाल भूपू जवई स्पोर्टिङ क्लबको नाममा विभिन्न् खेलकुद गतिविधिहरु भइरहेका छन् । तर बुटवलमा ठूला प्रतियोगिता गर्न मिल्ने क्रिकेट  मैदान छैन ।  

क्रिकेट रंगशालाको आवश्यकता पूर्ति गर्ने लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत मा उक्त खेल मैदानलाई स्तरोन्नति गरी कर्णेल उजीरसिंह थापाको नाममा क्रिकेट मैदान बनाउने घोषण गरेको थियो ।  

सुरुमा प्रदेश सरकारले १० लाख र उपमहानगरपालिकाले पाँच लाख गरी १५ लाख रुपैयाँ विनियोजन गरी रंगशालाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआइए) को कामअघि बढाउन लाग्दा वन क्षेत्रमा उजुरी परेर निर्माण प्रक्रिया रोकिएको थियो ।

विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार साढे चार बिघा क्षेत्रफलमा निर्माण हुने भनिएको रंगशालाको १५ मिटर जग्गा जितेश्वरी सामुदायिक वनमा पर्ने भएपछि डीपीआर र ईआइएको काम पूरा भए पनि जग्गाप्राप्तिको प्रक्रिया रोकिएको इन्जिनियर सुवेदीले बताए । 

जग्गा प्राप्त गर्न नसके पनि प्रदेश सरकारले रंगशाला निर्माण गर्ने भन्दै चार वर्षदेखि नियमित बजेट विनियोजन गर्ने र ‘फ्रिज’ हुने गरेको थियो । 

रंगशालाको दर्शक क्षमता करिब २० हजार हुने जनाइएको छ । मूलत: क्रिकेट रंगशाला भनिए पनि फुटबल मैदानसहित बहुउद्देश्यीय खेल मैदान, भलिबल कोर्ट, एथ्लेटिक्स ट्रेक, एक्वाटिक सेन्टर, स्विमिङ पुल, चमेनागृह, पार्किङ स्थल, बाल उद्यानलगायत संरचना समेत निर्माण गरिने इन्जिनियर सुवेदीले जानकारी दिए । 

लुम्बिनी  खेलकुद परिषद् पूर्वसदस्य सचिव जयप्रकाश भट्टराईले बुटवलमा बन्ने उक्त रंगशाले थप खेलाडी उत्पादन गर्न महत्त्वपूर्ण योगदान दिने बताए । रंगशाला निर्माण प्रक्रिया सुरु भएसँगै खेलाडीहरु पनि उत्साहित भएका छन् । 

अङ्ग्रेज फौजसँगको लडाइँमा नेपालीको वीरता फैलाउने कर्णेल थापाको सम्मानमा रंगशाला निर्माण गर्न लागिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप