शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय
उखु किसान आक्राेशित

१ अर्ब ६० करोडको अनुदान रोकिँदा उखु किसान आक्रोशित, आन्दोलनको घोषणा

आइतबार, १८ साउन २०८२, २० : ४४
आइतबार, १८ साउन २०८२

सारांश

  • गत आर्थिक वर्षको उखु अनुदान रकम अझै नपाएपछि रौतहटका उखु किसानहरूले भुक्तानीको माग गरेका छन्।
  • किसानहरूले साउनभित्र अनुदान नपाए भदौ ८ गतेदेखि काठमाडौंमा आन्दोलन गर्ने चेतावनी दिएका छन्।
  • सरकारले अनुदान बन्द गर्ने निर्णय गरेपछि किसानहरूले उत्पादन घट्ने र आयात बढ्ने चिन्ता व्यक्त गरेका छन्।

रौतहट । गत आर्थिक वर्षको उखु अनुदान रकम अहिलेसम्म नपाएको भन्दै उखु किसानहरूले तत्काल भुक्तानीको माग गरेका छन् । सरकारले असार मसान्तभित्र भुक्तानी दिने बाचा गरे पनि गत आर्थिक वर्षको अनुदान बापतको १ अर्ब ६० करोड रुपैयाँ अझै नछुट्टाइएको किसानहरूको गुनासो छ ।

सरकारले गत आवमा तोकेको प्रति क्विन्टल ७० रुपैयाँको दरले पाउनुपर्ने उक्त रुपैयाँ अहिलेसम्म पाउन नसकेको गुनासो किसानहरूको रहेको छ ।

रौतहट उखु उत्पादक सङ्घले आइतबार प्रधानमन्त्रीलाई जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र बुझाउँदै साउन महिनाभित्र अनुदान नपाए भदौ ८ गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलन गर्ने चेतावनी दिएका छन् । 

सङ्घका अध्यक्ष अशोकप्रसाद यादवको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले ज्ञापनपत्र बुझाउँदा सहायक प्रमुख जिल्ला अधिकारी किरण निधि तिवारीले गृह मन्त्रालयमार्फत प्रधानमन्त्री कार्यालयमा पठाउने आश्वासन दिएका छन् ।

सरकारले चालू आर्थिक वर्षदेखि उखुमा दिँदै आएको अनुदान पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेपछि किसानहरू आक्रोशित भएका छन्। किसान अगुवा तथा गरुडाका मेयर प्रत्याशी बृजकिशोर यादवका अनुसार सरकारले अनुदान नदिँदा उत्पादनमा गिरावट आउने र विदेशी चिनी आयात गर्नुपर्ने बाध्यता सिर्जना हुने देखिएको छ ।

किसानहरूले साउन महिनामा चिनी मिल गरुडाको गेटमा टायर बालेर विरोध प्रदर्शन गर्ने र भदौ ८  गतेदेखि काठमाडौँको माइतीघर मण्डलामा धर्ना दिने घोषणा समेत गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप