शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

बाढी पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

शनिबार, ०६ असार २०८३, ०७ : ३१
शनिबार, ०६ असार २०८३

सारांश

  • वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको छ।
  • कोशी प्रदेशका भोजपुर, पाँचथर र इलाममा मध्य पहाडी लोकमार्ग र मेची राजमार्गमा बाढीले अवरोध पुगेको छ।
  • बागमती प्रदेशको बीपी राजमार्गको केही खण्डमा बाढीको जोखिमले सवारी रोकिएको छ भने गण्डकी प्रदेशमा पहिरोले दुई सडक खण्ड ठप्प पारेको छ।

काठमाडौँ । पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको छ। सडक विभागको पछिल्लो तथ्याङ्क अनुसार आज  बिहान ७० बजेसम्म कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न सडक खण्डहरूमा पूर्ण वा आंशिक अवरोध देखिएको छ।

कोशी प्रदेशका तीन जिल्लामा बाढीका कारण मुख्य राजमार्गहरू प्रभावित भएका छन्। भोजपुर नगरपालिका–५ बोखिम र पाँचथरको याङ्वरक गाउँपालिका–२ दोभानमा मध्य पहाडी लोकमार्ग बाढीले गर्दा प्रभावित भएको छ। त्यस्तै, इलाम नगरपालिका–९ राजदुवालीमा बाढीका कारण मेची राजमार्गमा अवरोध पुगेको छ। हाल यी तीनै स्थानमा यातायात एकतर्फी मात्र सञ्चालनमा रहेको छ।

बागमती प्रदेशको बीपी राजमार्ग अन्तर्गत खुर्कोट–नेपालथोक–कटुञ्जेबेंसी खण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ।

त्यसैगरी, मकवानपुरको कुलेखानी-फाखेल-हुमाने-फर्पिङ हुँदै काठमाडौँ जोड्ने सडक खण्ड मर्मत कार्य भइरहेकाले आगामी एक महिनाका लागि पूर्ण रूपमा बन्द गरिएको छ। यो सडक प्रयोग गर्ने यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न सूचित गरिएको छ।

गण्डकी प्रदेशमा पहिरोका कारण दुई मुख्य सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्। लमजुङको बेसीसहर नगरपालिका–६ खरखरे भिरमा खसेको पहिरोले बेसीसहर-मनाङ सडक खण्ड ठप्प पारेको छ।

त्यसैगरी, नवलपरासी पूर्व को गैंडाकोट नगरपालिका-३ घोक्रफातमा आजै बिहान खसेको पहिरोका कारण कालीगण्डकी करिडोर पनि पूर्ण रूपमा अवरुद्ध भएको छ।

727407112_2009308596343532_1463593115847264481_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप