६ घण्टाको निद्रा पुर्याउनु हुन्न ? यस्ता छन् खतरा
सारांश
- नयाँ अनुसन्धान अनुसार, ६ घण्टा वा कम सुत्ने मानिसहरूमा मुटु र मस्तिष्क रोगको जोखिम बढ्छ।
- अनुसन्धानले ९० हजार मानिसलाई ७ वर्षसम्म ट्र्याक गर्यो, जसले निद्राको कमीका विभिन्न स्वास्थ्य जोखिमहरू पत्ता लगायो।
- डाक्टरका अनुसार, कम्तिमा ७-८ घण्टा सुत्नुहोस्, सुत्ने समय निश्चित गर्नुहोस्, र सुत्नुअघि स्क्रिन टाइम कम गर्नुहोस्।
काठमाडौँ । निद्रा केवल आराम गर्ने समय मात्र होइन । यो त शरीर र दिमागलाई मर्मत गर्ने सबैभन्दा महत्त्वपूर्ण हिस्सा हो । निद्रा हाम्रो सम्पूर्ण शरीरलाई मर्मत गर्ने समय हो । केवल ६ घण्टा वा सोभन्दा कम सुत्ने मानिसहरूमा मुटु र मस्तिष्कसम्बन्धी रोगको जोखिम तीन गुणा बढ्न सक्ने हालै एक नयाँ अनुसन्धानले खुलासा गरेको छ । त्यस्ता मानिसहरू पर्याप्त निद्रा पाउनेहरू भन्दा कम बाँच्ने पनि अध्ययनमा भनिएको छ ।
यस अध्ययनमा, लगभग ९० हजार मानिसहरूलाई ७ वर्षसम्म ट्र्याक गरिएको थियो । सबै सहभागीहरूले फिटनेस ट्र्याकर लगाएका थिए । यस उपकरणले उनीहरूको वास्तविक निद्राको डेटा अनुसन्धानकर्ताहरूलाई दिएको थियो । धेरै मानिसहरूले ८ घण्टा सुत्ने गरेको दाबी गरेका थिए । तर ट्र्याकरले उनीहरूको वास्तविक निद्रा केवल ६ घण्टा वा त्योभन्दा कम मात्र भएको देखायो ।
कम निदाउनुका यस्ता छन् खतराहरू
मुटु रोगः कम निद्राले रक्तचाप र कोलेस्ट्रोल बढाउन सक्छ, जसले हृदयघातको जोखिम बढाउँछ ।
मानसिक समस्या: निरन्तर कम निदाउँदा स्मरणशक्ति कमजोर बनाउँछ र डिप्रेसन, चिन्ताजस्ता मानसिक समस्याहरू निम्त्याउन सक्छ ।
मिर्गाैला र फोक्सोमा प्रभावः अनियमित निद्राले मिर्गाैला फेल र सीओपीडीजस्ता रोगहरूको जोखिम पनि बढाउने अनुसन्धानको क्रममा पाइयो ।
मेटाबोलिजममा गडबडीः निद्राको कमीले शरीर सुन्निने अनि यसले जसले मधुमेह र मोटोपना जस्ता समस्याहरू निम्त्याउन सक्ने देखियो ।
घण्टाको गिन्ती मात्रै होइन नियमितता पनि महत्त्वपूर्ण
उसो त निद्राको दिनचर्या नियमित हुनुपर्छ । हरेक दिन एकै समयमा सुत्ने र उठ्ने गर्नु पर्छ । तपाईं कहिलेकाहीँ राती ढिलो सुत्नुहुन्छ, अनि कहिलेकाहीं चाँडै सुत्नुहुन्छ वा बारम्बार उठ्नुहुन्छ भने, यसले शरीरमा धेरै नराम्रो प्रभाव पार्ने पनि अध्ययनले देखाएको छ ।
के भन्छन् डाक्टरहरू ?
– हरेक दिन कम्तीमा ७–८ घण्टा गहिरो निद्रा लिनुहोस् ।
– सुत्ने समय निश्चित गर्नुहोस् र यसलाई परिवर्तन नगर्नुहोस् ।
– सुत्नुअघि स्क्रिन टाइम कम गर्नुहोस् ।
–क्याफिन सकेसम्म कम खानुहोस् ।
–पेट कस्सिने गरी खाना नखानुहोस् ।
निद्रा आराम मात्र होइन, तर स्वास्थ्यको जग हो । हरेक दिन ६ घण्टा वा सोभन्दा कम सुत्नुहुन्छ भने, यसले तपाईंको आयु घटाउन सक्छ र गम्भीर रोगहरूको जोखिम बढाउन सक्छ । त्यसैले आजैदेखि आफ्नो निदाउने बानीमा ध्यान दिनुहोस् र स्वस्थ बन्ननका लागि निद्रामा पनि ध्यान दिनुहोस् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण