काठमाडौँका ट्राफिक लाइटलाई ट्राफिककै समस्या
सारांश
- काठमाडौं उपत्यकामा सवारी चाप बढ्दा सडक यातायात अस्तव्यस्त, ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बनेको छ।
- सडक विभागले मर्मतका लागि ठेक्का खुलाएको र निजी क्षेत्रका ट्राफिक लाइट पनि मर्मत गर्ने तयारी छ।
- जाइकाको सहयोगमा नयाँबानेश्वर र लैनचौर चोकमा पाइलट प्रोजेक्ट सुरु गरिएको छ, जसले यातायात व्यवस्थापनमा सुधार ल्याउने अपेक्षा गरिएको छ।
काठमाडौँ । पछिल्लो समय काठमाडौँ उपत्यकामा सवारीको चाप बढ्दा सडक यातायात अस्तव्यस्त बनेको छ । प्रत्येक चोक–चोकमा जाम, गन्तव्यमा पुग्नै कठिन । जसकारण यात्रुले सास्ती खेपिरहेका छन् । यतिमात्र होइन दुर्घटनाको जोखिम बढेको छ ।
यहाँ १७ लाखभन्दा बढी सवारी साधन दर्ता भएको सरकारी तथ्यांक छ । बढ्दो सवारीको चाप, कमजोर संरचना, चालकको लापरबाही र वैज्ञानिक ढंगले ट्राफिक व्यवस्थापन हुन नसक्दा उपत्यकाको सडक अस्तव्यस्त भएको सरोकारवालाहरु बताउँछन् ।
सबै चोकमा ट्राफिक लाइट छैनन्, भएका पनि बालिँदैनन् । त्रिपुरेश्वर, थापाथली, माइतीघर, महालक्ष्मीस्थानमा लाइट छ तर बालिँदैन । केही स्थानमा बिग्रिएर होला तर त्रिपुरेश्वर, थापाथली र माइतीघर चोकमा चालु अवस्थाको लाइट बालिँदैन ।
त्रिपुरेश्वर, माइतीघर र थापाथली चोकमा ट्राफिक लाइट चलाउन सक्ने क्षमता नै नभएको सडक विभागको सडक सुरक्षा तथा ट्राफिक महाशाखा प्रमुख राकेश महर्जन बताउँछन् ।
‘त्यहाँ त अब लाइटले काम गर्दैन भनौं न । त्यहाँको सवारी चाप यति धेरै छ कि त्यो ट्राफिक लाइटले अब काम गर्दैन,’ महर्जन भन्छन्, ‘त्यहाँ त अब अर्कै विकल्प ग्रेड सेपरेटेड त्यस्तोमा जानुपर्छ । काठमाडौँ भ्याल्ली अर्बन ट्रान्सपोर्ट म्यानेजमेन्ट प्लानले पनि त्यो कुरा उल्लेख गरेको छ । अब त्यसका लागि कि त आईटीएस भन्दा पनि ग्रेड सेपरेट नै चाहिन्छ भन्ने अध्ययनले देखाएको छ ।’
अन्य मुख्य चोकमा चलेको र बेलाबेलामा सफ्टवेयरमा समस्या हुँदा बन्द भएको हुनसक्ने महर्जनको भनाइ थियो ।
कति लाइट चालु छन् ?
_uKVCTIHtSR.jpg)
ट्राफिक महाशाखा प्रमुख महर्जनका अनुसार काठमाडौँ उपत्यकामा कुल ६७ वटा चोकमा ट्राफिक लाइट जडान गरिएको छ । यसमध्ये सडक विभागअन्तर्गत जडान भएका लाइट ४८ वटा छन् । बाँकी निजी क्षेत्र, बैंक र एनजीओहरूले जडान गरेका हुन् ।
यस्तै सडक विभागले जडान गरेको ४८ स्थानमध्ये ३९ स्थानमा चालु छन् भने ९ स्थानमा मर्मतका लागि ठेक्का खुलाइएको छ । यही सातामा निर्माण व्यवसायीसँग सम्झौता हुने र मर्मत प्रक्रिया अघि बढाइने महर्जन बताउँछन् ।
यस्तै निजी क्षेत्रले जडान गरेको ट्राफिक लाइटमध्ये हाल तीनवटा चोकमा चालु छन् भने १६ स्थानका लाइट बन्द अवस्थामा छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले त्रिपुरेश्वरको ट्राफिक लाइट प्राविधिक समस्या भएर नबल्ने भएको जनाएको छ । कार्यालयका प्रवक्ता तथा प्रहरी उपनिरीक्षक दीपक गिरीका अनुसार त्रिपुरेश्वरको लाइट बिग्रेको र थापाथलीको लाइट सवारीको चाप कम भएको बेला बाल्ने र बढी भएको बेला नबाल्ने गरिएको छ ।
‘यो मर्मतका लागि हाम्रो खरिद प्रक्रिया नै अलि बढी समय लाग्ने हुँदा कुनै चोकमा आज लाइट बिग्रियो भने भोलिपल्ट नै मर्मत गर्न सक्ने अवस्था छैन । हामीलाई थाहा छ कुनै एउटा चिज जलेको हुन्छ वा के भएको हुन्छ थाहा हुन्छ तर नीतिगत व्यवस्थाका कारण तुरुन्तै मर्मत गर्न नसकेको अवस्था हो,’ उनी भन्छन्, ‘त्यसको खरिद विधि जुन सार्वजनिक खरिद ऐन छ र प्रक्रिया पूरा गर्दा समय लाग्ने गर्छ ।’
साथै, निजी क्षेत्रले जडान गरेका बिग्रिएर थन्किएका ट्राफिक लाइट पनि विभागले मर्मत गर्ने बताए ।
‘अहिलेको मर्मतमा निजी क्षेत्रले हालेका तर बन्द अवस्थामा रहेका १६ वटा चोकको लाइट पनि समेटेका छौँ । किनभने लामो समयदेखि निजी क्षेत्रले मर्मत गरेको छैन भन्ने हिसाबले विभागले नै त्यसको पनि मर्मतको यही क्यालेन्डरमा चाहिँ हामीले इन्क्लुड गरेका छौँ र छिट्टै ती चोकमा पनि पनि चालु हुनेछन्,’ उनी भन्छिन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले त्रिपुरेश्वरको ट्राफिक लाइट प्राविधिक समस्या भएर नबल्ने भएको जनाएको छ । कार्यालयका प्रवक्ता तथा प्रहरी उपनिरीक्षक दीपक गिरीका अनुसार त्रिपुरेश्वरको लाइट बिग्रेको र थापाथलीको लाइट सवारीको चाप कम भएको बेला बाल्ने र बढी भएको बेला नबाल्ने गरिएको छ ।
समस्या समाधान गर्न ‘पाइलट प्रोजेक्ट’
उपत्यकाको ट्राफिक जाम र बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न पाइलट प्रोजेक्ट अघि बढाएको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत काठमाडौँ उपत्यकाको सहरी यातायात व्यवस्थापनसम्बन्धी परियोजना प्रमुख सुशीलबाबु ढकालले जनाए ।
सोमबार ललितपुरमा आयोजित ‘काठमाडौँ उपत्यकाको सहरी यातायात व्यवस्थापनसम्बन्धी परियोजना’ को नतिजा सार्वजनिक गर्न आयोजित गोष्ठीलाई सम्बोधन गर्दै उनले यो परियोजनाले अस्तव्यस्त सडकलाई व्यवस्थित गर्न सकिने दाबी गरे ।
सवारीको गति ३० प्रतिशत वृद्धि गर्ने ट्राफिक जाममा जाने समय १० प्रतिशत घटाउने र सडक दुर्घटनाबाट हुने वार्षिक मृत्युदर ५ प्रतिशतले घटाउने लक्ष्यसहित उपत्यकाका २५ वटा चोकलाई तत्काल सुधार र ‘सिग्नलाइजेसन’का लागि प्राथमिकतामा राखेको उनले बताए ।
यसमध्ये नयाँबानेश्वर चोक र लैनचौर चोकमा जाइकाको सहयोगमा तयार गरिएको पाइलट प्रोजेक्टले यातायात व्यवस्थापनमा राहत मिल्ने ढकालले बताए ।
‘जाइकाको विज्ञता प्रयोग गरेर योजना बनाएका छौँ,’ उनले भने, ‘अब यसलाई प्रयोग गर्ने जिम्मा हो ।
यो काम कुनै एउटा निकायले मात्र गर्न सक्दैन, सबैको सहकार्य आवश्यक छ ।’
उनका अनुसार ट्राफिक लाइट सञ्चालन तथा मर्मतसम्भार पुराना हुँदै गएका पूर्वाधार, बारम्बार देखिने प्राविधिक खराबी र ट्राफिक प्रहरीमाथिको अत्यधिक निर्भरता जस्ता चुनौतीलाई सम्बोधन गर्ने लक्ष्य छ । यसले ट्राफिक बत्ती सञ्चालन र मर्मतमा एकरूपता ल्याई प्रणालीलाई भरपर्दो बनाउनेछ ।
महाशाखा प्रमुख तथा प्रोजेक्ट म्यानेजर महर्जनका अनुसार नयाँ बानेश्वरको इन्टरसेक्सनमा जाइकाको आर्थिक तथा प्राविधिक सहयोगमा तयार गरिएकाले के कति लागत लाग्यो भन्नेबारे जानकारी नभएको तर्क गरे । लैनचौर, केशरमहल र खानी विभाग चोकको ट्राफिक सिग्नललाई अपडेट गर्न करिब ५५ लाख रुपैयाँ बराबर खर्च भएको उनी बताउँछन् ।
महर्जनका अनुसार ट्राफिक जामको समस्या समाधानका लागि ट्राफिक लाइट मात्र पर्याप्त छैन, भौतिक सुधार पनि उत्तिकै आवश्यक छ । ‘केशरमहल र खानी विभाग चोकमा भौतिक अवरोध (फिजिकल बेरियर) सुधारको काम भइसकेको छैन, जसको विस्तृत अध्ययन भइरहेको छ । यी सुधार लागु भएपछि ट्राफिक लाइट पूर्णरूपमा प्रभावकारी हुनेछ,’ उनले भने ।
उनले प्राथमिकताका आधारमा अन्य चोकमा पनि यस्तै विस्तृत अध्ययन गरिने जानकारी दिए ।
उपत्यकाको सडक सुधारमा सहयोग गर्न जाइका तयार
उपत्यकाको सहरी यातायात व्यवस्थापन सुधारका लागि सञ्चालित परियोजना सफलतापूर्वक सम्पन्न भएको जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले जनाएको छ । परियोजना अन्तर्गत गरिएका सुधार प्रयासले ट्राफिक दुर्घटना न्यूनीकरण र जाम कम गर्न महत्त्वपूर्ण उपलब्धि हासिल भएको भन्दै जाइकाले अब यी उपलब्धिलाई दिगो बनाउँदै विस्तार गर्ने मुख्य जिम्मेवारी नेपाल सरकारको रहेकोमा जोड दिएको छ ।
सोमबार ललितपुरमा आयोजित ‘काठमाडौँ उपत्यकाको सहरी यातायात व्यवस्थापनसम्बन्धी परियोजना’ को नतिजा सार्वजनिक गर्न आयोजित गोष्ठीलाई सम्बोधन गर्दै जाइकाका प्रतिनिधि मिजुकी मात्सुजाकीले मन्त्रालय र परियोजनामा संलग्न विज्ञ टोलीलाई सफल कार्यान्वयनका लागि बधाई दिए ।
उनका अनुसार परियोजनाले नयाँबानेश्वर र लैनचौर चोकमा पाइलट प्रोजेक्टका रूपमा इन्जिनियरिङ सुधार, ट्राफिक अनुशासन र सडक सुरक्षाबारे शैक्षिक कार्यक्रम, बस स्टप सञ्चालन र पार्किङ नीतिको कार्यान्वयन जस्ता कार्य गरेको थियो ।
‘यी प्रयासहरूबाट ट्राफिक दुर्घटनाको संख्यामा कमी आएको र ट्राफिक जाममा सुधार भएको छ,‘ मात्सुजाकीले भने, ‘यो काठमाडौँको ट्राफिक व्यवस्थापनका लागि महत्त्वपूर्ण सिकाइ हो ।’
प्राप्त उपलब्धिमा मात्रै सन्तुष्ट हुने अवस्था नरहेकोमा बताए । ‘सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको यी उपलब्धिहरूलाई नेपाल सरकारले आफ्नै पहलमा दिगो बनाउनु र विस्तार गर्नु हो । ‘काठमाडौँमा बढ्दो सवारी चापलाई हेर्दा एक–दुईवटा चोक सुधारले मात्र पर्याप्त हुँदैन ।’
जाइकाले अन्य २३ चोक सुधार गर्ने र भविष्यमा पनि नेपालको यातायात क्षेत्रमा सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ । मात्सुजाकीले भने, ‘हामीले बीपी राजमार्ग र नागढुंगा सुरुङमार्ग जस्ता ठूला पूर्वाधारमा आर्थिक सहयोग मात्र नभई, प्राविधिक सहकार्यमा पनि जोड दिनेछौं । विशेषगरी काठमाडौँको अवस्था सुहाउँदो सार्वजनिक यातायातको विकल्प पहिचान गर्न सहरी यातायात प्रणाली गुरुयोजना विकासमा सहयोग गर्छौँ ।’
परियोजनाको सफलताको श्रेय जाइकाका विज्ञ र नेपाली अधिकारीहरू सम्मिलित प्राविधिक कार्यदलको सहयोगात्मक कार्यशैलीलाई दिँदै मात्सुजाकीले उपत्यकाको ट्राफिक अवस्था सुधार गर्दै काठमाडौंलाई अझ आकर्षक बनाउन निरन्तर सहकार्य आवश्यक रहेको तर्क गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण