बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

‘सिटामोल’का निर्देशक र वितरकबिचको लेनदेन विवाद टुंगियो

मङ्गलबार, २० साउन २०८२, १९ : ३६
मङ्गलबार, २० साउन २०८२

सारांश

  • निर्देशक राजबहादुर साने र निर्माता सुनिल मानन्धरबीचको लेनदेन विवाद समाधान भएको छ।
  • मानन्धरले रकम फिर्ता नपाएपछि चलचित्र विकास बोर्डमा निवेदन दिएका थिए, जसका कारण सेन्सर सिफारिस रोकिएको थियो।
  • विवाद समाधान भएपछि फिल्म 'सिटामोल' ले सेन्सर सिफारिस पाएको छ र शुक्रबारदेखि प्रदर्शन हुनेछ।

काठमाडौँ । फिल्म ‘सिटामोल’का निर्देशक राजबहादु साने र फिल्म निर्माता तथा वितरक सुनिल मानन्धरबिचको लेनदेन विवाद मिलेको छ । मानन्धरले आफूसँग लिएको रकम लामो समयदेखि फिर्ता नगरेको भन्दै निर्देशक राजबहादुर सानेविरुद्ध चलचित्र विकास बोर्डमा निवेदन दिएका थिए ।

मानन्धरको निवेदनको आधारमा बोर्डबाट फिल्म सेन्सर सिफारिस समेत रोकिएको थियो । निर्देशक सानेले मानन्धरलाई तिर्नुपर्ने रकम अन्य एक व्यक्तिले तिर्ने जिम्मा लिएपछि विवाद मिलेको हो । बोर्डले दुवै पक्षलाई बोलाएर छलफल गराएको हो । 

सोमबार निर्देशक सानेका तर्फबाट अन्य एक व्यक्तिले आफूलाई तिर्नुपर्ने रकम जिम्मा लिएपछि विवाद मिलेको सुनिल मानन्धरले बताए ।

‘निर्देशक सानेले विगत ६-७ वर्षदेखि आफूसँग लिएको रकम नतिरेका कारण आफूले बाध्य भएर बोर्डमा निवेदन दिएको हो,’ मानन्धरले भने, ‘पटक–पटक ताकेता गर्दा पनि उल्टै सम्पर्क बाहिर थिए । 

सानेले भने, ‘अहिलेलाई विवाद मिलेको छ । फिल्म चलेपछि यसबारे हिसाबकिताब हुन्छ ।’ 

विवाद मिलेसँगै फिल्मले बोर्डबाट मंगलबार सेन्सर सिफारिस समेत पाएको छ । 

‘सिटामोल’ आगामी शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा छ । फिल्ममा सौगात मल्ल, बेनिशा हमाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल तथा बालकलाकार करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ । श्रीकृष्ण र जानुकाले यही फिल्मबाट नेपाली रजतपटमा डेब्यु गरेका हुन् ।
तुल्सीदेवी फिल्म प्रालिले जूनतारा फिल्म्ससँगको सहकार्यमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता सिमोस सुनुवार हुन् । भूगोलकुमार कार्की र विकासराज जोशी निर्माता रहेको फिल्ममा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता छन् । गंगाराम श्रेष्ठ सहनिर्माता हुन् । 

फिल्ममा बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, देव महर्जन र शंकर महर्जनको द्वन्द्व छ । फिल्मलाई दिव्य सुवेदीले खिचेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप