शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

अमेरिकाको एक्रोनमा हिमालय एकेडेमीको ‘ग्लोबल कल्चरल फेसन शो’

बुधबार, २१ साउन २०८२, १८ : ५७
बुधबार, २१ साउन २०८२

काठमाडौँ । अमेरिकाको एक्रोनमा ‘ग्लोबल कल्चरल फेसन शो’ भएको छ । ओहायोको एक्रोन सहरस्थित हिमालय आर्ट्स ल्याङग्वेज एण्ड कल्चरल एकेडेमीले गत अगस्ट ३ मा विश्वव्यापी सांस्कृतिक फेसन शो आयोजना गरेको हो ।

‘पहिचान, सम्पदा र सद्भावको विश्वव्यापी उत्सव’ भन्ने नाराका साथ भएको कार्यक्रममा विभिन्न देश र समुदायका बालबालिका र किशोरकिशोरीले आ-आफ्नो सांस्कृतिक पहिचान झल्काउने पोसाकमा सजिएर फेसन शोमा भाग लिए ।

नेपाली, अमेरिकी, बर्मेली, भुटानी, चिनियाँ, ल्याटिन अमेरिकी, भारतीय, अफ्रिकी, कोरियाली, जापानी लगायत देशका ५ देखि १८ वर्षसम्मका युवायुवतीले फेसन शोमा सहभागिता जनाएको हिमालय एकेडेमीका सञ्चालक पुष्प गजमेरले जानकारी दिए ।

Cultural Show1

फेसन शोका अतिरिक्त कार्यक्रममा सांस्कृतिक गायन तथा नृत्यको पनि प्रस्तुति रहेको थियो । कार्यक्रम प्यानलमा अमेरिकी र्‍यापर जेजे ग्राहम, कोरियोग्राफर तथा कलाकार निराली श्रेडर, प्राध्यापक डा. विक्की कोलम्यान गालाघर, र कलाकार दिनेश सुनार थिए । त्यसअवसरमा विभिन्न देशका परिकारहरुको व्यवस्था समेत गरिएको थियो ।

‘कल्चरल फेसन शोले विश्वभरका वेशभूषा र पहिचानलाई एकै मञ्चमा ल्याएको महसुस गरेका छौं । यसले बालबालिका तथा किशोरकिशोरीमा सांस्कृतिक पहिचान बुझाउने विश्वास छ,’ गजमेरले रातोपाटीसँग भने ।

हिमालयन आर्ट्स ल्याङ्ग्वेज एण्ड कल्चरल एकेडेमीको १०औं वार्षिकोत्सवको अवसरमा सांस्कृतिक फेसन शो आयोजना गरिएको हो । नेपालीभाषी कलाकार पुष्प गजमेरको अगुवाइमा सञ्चालित एकेडेमीले नेपाली संगीत, भाषा र संस्कृतिको प्रशिक्षण तथा प्रवर्द्धनमा उल्लेखनीय कार्य गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप