गीतकार ‘धुर्कापानी’को गीतले तानेको मन
सङ्गीतमय धुनमा झुम्दैझुम्दै हलुका पाइला बोकेर मेरो मनले घरको गन्तव्य रोज्यो । सातामा एकपटक आउने शनिबार त्यो पनि दिनभरि घरबाहिर । शनिबार, उसलाई मैले व्यस्त बनाउनुपर्ने, ऊ पो मलाई व्यस्त बनाउँछ अचेल । व्यस्तताका बाबजुद पनि नाइँ भन्न सकिनँ शनिबारको निमन्त्रणालाई ।
डीआर सिर्जनाको ब्यानरमा हुन गइरहेको गीत–सङ्गीतको सार्वजनिकीकरण कार्यक्रम भव्य हुने अनुमान मैले लगाइसकेकी थिएँ । गीतकार डा. तारानाथ घिमिरे ‘धुर्कापानी’को गीत (शब्द)लाई वरिष्ठ गायक विष्णु अधिकारीले स्वर–सङ्गीत भर्नुभएको रहेछ । धेरै समयदेखि उहाँका गीतलाई सुन्दै आएकी रहेछु । व्यक्तिगत रूपमा उहाँलाई नचिने पनि सङ्गीतका माध्यमबाट चिनेकी रहेछु । चिन्दै नचिनेका सिर्जनाले हामीलाई छुनु भनेको कलाको ठुलो शक्ति रहेछ । सङ्गीत शब्द नै काफी छ । हरेक दुःख र सुखमा मानिसलाई साथ दिने अमूर्त वस्तु हो सङ्गीत । कार्यक्रम स्थल (ग्रिनलिफ क्याफे) पुग्नासाथ सामुन्नेमा देखेँ, सङ्गीतका मर्मज्ञ राजु सिंह । आहा ! आजको कार्यक्रम त कति भव्य हुन्छ होला !
झट्ट बाको आँगन सम्झिएँ । घरको मूल खम्बामा जापानी रेडियो झुन्डिएको छ । बिहान ५ बजेदेखि बेलुका ११ बजेसम्म बजिरहन्छ । रेडियोमा आउने हरेक गीत–संगीतका कार्यक्रममा अत्यधिक सुनेको नाम हो राजु सिंह । वरिष्ठ सङ्गीतकार राजु सिंहलाई सामुन्ने देखेर पूर्वस्मृतिमा पुग्छु । त्यो समय मन सङ्गीतमय हुन्छ । नारायणगोपालका गीतलाई दुरुस्त गाउन सक्ने मधुर स्वरका धनी वरिष्ठ गायक, संगीतकार तथा संगीत संयोजक विष्णु अधिकारीलाई देखेर मन अझ प्रफुल्लित हुन्छ । साँच्चै आजको कार्यक्रम निकै भव्य हुनेछ । जहाँ बौद्धिक व्यक्तित्वको उपस्थिति हुन्छ, त्यहाँको आभा नै सुन्दर हुन्छ ।
कलमका साथीको ब्यानरमा धेरैपटक साहित्यिक कार्यक्रम गरिसकेका थियौँ, हामीले ग्रिनलिफ क्याफेमा । यो सङ्गीत र साहित्यको कार्यक्रमको आयोजनाको प्रस्ताव तथा अवसर पनि आएकै हो तर आयोजक बन्ने विविध कठिनाइलाई असमर्थतामा परिणत गर्दै सहभागीका रूपमा निमन्त्रणालाई स्वीकार गरेँ ।
‘कार्यक्रमलाई कति सुन्दर ढङ्गबाट संयोजन गर्न जान्नुभएको छ है हेम सरले’ छेउमा टाँसिएर बस्नुभएकी सुधा म्यामले भन्नुभयो ।
मैले झट्ट सम्झिएँ यसभन्दा अघिका कैयौँ कार्यक्रम ।
पुलुक्क सुधा म्यामलाई हेरेँ र म मुसुक्क मुस्कुराएँ । अहिलेसम्म कलमका साथीले गर्दै आएका कार्यक्रम पनि यसरी नै भव्य ढङ्गबाट सम्पन्न हुन्थे । हरेक कार्यक्रम हेम सरले नै संयोजन गरिदिनुहुन्थ्यो । यस्तै राम्रा कार्यक्रमको संयोजन गरेर कलम र कलमलाई जोड्ने अनि नयाँ लेखनको सुरुवात गर्न, गराउन खोज्ने हेम सरलाई आभार प्रकट गर्नैपर्छ । कुरै कुरामा नवराज लम्साल दाजुले चिया खाँदै भन्नुभएको थियो, ‘हेम भाइ, मेरो र तपाईंको मात्र भाइ होइन नेपालकै भाइ हो ।’ साँच्चै, राम्रो काम गर्ने मानिसप्रति कृतज्ञता ज्ञापन गर्न जान्नु पनि एउटा सुन्दर कुरा हो नि ! आरोप लगाउनु, कलङ्क भिराउनु, आफ्नो स्वार्थ अनुकूल साथ खोज्नु आदि गलत कामले साहित्यिक योगदानलाई जोड्दैन । बरु यस्ता स्वार्थपूर्ण कार्यले साहित्यको स्तरलाई घटाइदिन्छ । जस्ता चुनौती आए पनि यिनलाई किनारा लगाएर आफ्नै गतिमा दौडनुपर्छ हामीले ।
आयोजक ‘डीआर सिर्जना संसार’का अध्यक्ष डीआर राईले हार्दिकतापूर्वक पठाउनुभएको निमन्त्रणालाई स्विकारी बिहान ८ः१५ बजे नै गन्तव्य तय भयो मेरो पुतलीसडकका लागि । स्वास्थ्यले खासै साथ नदिएकाले याङ्गो बोलाएर मैले यात्रालाई सहज बनाएँ । ८ः३० का लागि तोकेको कार्यक्रममा म समयमै पुगेकी थिएँ । आमन्त्रित अतिथिहरूको निकै राम्रो उपस्थिति म प्रवेश गर्नु अगावै भइसकेको थियो । सबैजना चिया र गफमा व्यस्त हुनुहुन्थ्यो ।
ग्रिनलिफ क्याफेको गेटमा ओर्लिएँ । सलले घम्लङ्ग कपाल छोपेर गाडीबाट फुत्त ओर्लिंदा एकजना चिनेको झैँ अनुहार उभिएको देखेँ । बोलुँ कि नबोलुँ दोधारमा म ग्रिनलिफमा भित्रिएँ । सोचेँ, ‘पक्कै गीतकार डा. तारानाथ घिमिरे ‘धुर्कापानी’ चैँ होइन उहाँ । एक त ८ः३० भइसक्यो । म आफैँ हतारिएर हलतिर जाँदै छु । उहाँ त स्वयं कार्यक्रमका नायक । यता अलमलिने कुरै भएन ।’
सबैजनालाई दुवै हात जोडेर आदरपूर्वक अभिवादन गरेँ । अभिवादनका जोडी हातलाई छुटाउन पाएकै थिइनँ, मलाई पाटन कलेजमा एमए पढाउनुभएकी शोभा बराल म्यामलाई भेटेँ । खुसीले गद्गद् हँुदै म्यामलाई हृदयदेखि अभिवादन गरेँ । पछाडिबाट हरिविनोद दाजुले भन्नुभयो, ‘ए भारती बहिनी ! आज अनितालाई मात्र देखेर कलम कता गएछ भनेको त भर्खर पो आइपुग्नुभयो । अनितालाई देखेपछि भारती खोइ भन्ने आइहाल्दो रहेछ ।’ सबैजना हाँस्नुभयो । म मुस्कुराएँ मात्र ।
म म्यामसँग केहीबेर बसेर अनिताले राखिदिएको कुर्सीतिर लम्किएँ । नवराज दाजु सामुन्नेमा हुनुहुन्थ्यो ।
कार्यक्रम समयमा सुरु भएन । केही समय यसै बित्यो । म सोच्दै थिएँ, ‘गीतकारचैँ को हुनुहुन्छ होला ?’ सबै सभाहलतिर पस्यौँ । अगाडिको पङ्क्तिबाट बिस्तारै कुर्सी भरिँदै आयो । हेर्दाहेर्दै सभाहल खचाखच भयो । ठुलो हलको व्यवस्था थियो । पाहुनालाई उभ्याउन बहुत गाह्रो कुरा हो । घरमा बोलाएका पाहुनालाई बस्ने सजिलो व्यवस्था गरेजस्तै यहाँ पनि गर्नैपर्छ । त्यसैले कुर्सीहरू थपिए, तैपनि कम भइरहेको थियो । यही मेसोमा म तेस्रो पङ्क्तिमा थिएँ । अघि गेटमा उभिनुभएको परिचितजस्तो लाग्ने मानिस नै आजका कार्यक्रमका नायक हुनुहुँदो रहेछ । छेउमा आएर भन्नुभयो, ‘सलले मुख छोपेर आउँदै हुनुहुन्थ्यो मैले देखेको थिएँ ।’ बल्ल थाहा भयो । पाहुनाको स्वागतमा गेटमा उभिनुभएको रहेछ ।
समीक्षकका रूपमा उभिनुभएकी डा. गीता त्रिपाठी दिदीले गीतकार ‘धुर्कापानी’का गीतमा प्रतीकात्मक अर्थ खोज्ने ठाउँ धेरै रहेको बताउनुभयो । उहाँले ‘गीतमा व्यक्त अनगिन्ती रुवाइले हामी सबैको संवेदनालाई हल्लाइदिएको छ’ भनिरहँदा भर्खरै गीतले टिलपिलाएका आँखा सम्झिएँ ।
‘हो, हजुरलाई मैले देखेकी थिएँ,’ मैले पनि हाँस्दै भनेँ ।
उहाँलाई चिनेपछि अर्को कुराले पनि सताइरह्यो । किन उहाँले आफूलाई ‘धुर्कापानी’ भन्नुभएको होला ? जिज्ञासा थियो मनमा । लेखक आफैँले धुर्कापानीको अर्थ बताउनुभएपछि निकै मजा लाग्यो अर्थ सुनेर ।
नवीन शैलीमा कार्यक्रमको प्रारम्भ भयो, निकै उत्सुक भएँ म, अब के हुन्छ ?
कार्यक्रमको प्रारम्भमा माइक्रोफोन उद्घोषकको हातमा थिएन । कार्यक्रमका मुख्य नायक डा. तारानाथ घिमिरे सरले सभालाई सुन्दर ढङ्गले सम्बोधन गर्दै आमन्त्रितहरू सबैलाई स्वागत गर्नुभयो । हरेकपटक नयाँ सोचको कार्यक्रम गर्न रुचाउने हेम सरले आज पनि नयाँ स्वाद लिएर आउनुभएछ कार्यक्रममा । गीतकार डा. तारानाथ घिमिरे सरले हार्दिकतापूर्वक पाटन कलेजमा कार्यरत त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. हेम भण्डारी सरलाई कार्यक्रमको सहजीकरण गरिदिनुहुन अनुरोध गर्नुभयो । डा. भण्डारी प्राविधिक तयारीमा जुटिरहनुभएको थियो । अचानक माइक्रोफोन लिएर सभालाई सम्बोधन गर्नुभयो । अनौपचारिकबाट औपचारिक कार्यक्रममा परिणत भयो । अतिथिले खचाखच हल शान्त बन्यो, मानौँ कुनै रहस्यमय कुरालाई भिडले चुपचाप हेरिरहेको छ ।
स्विच बटन थिचेर टीभीको स्क्रिनबाट गीत सार्वजनिक गर्नुभयो, डा. नवराज लम्सालले । जोडदार ताली बज्यो । एकैछिनमा गीतले हल गुञ्जायमान भयो । आहा ! म त गीतका शब्दसँगै हराएछु । यताउता हेरेँ । म मात्र यसरी गीतमा डुबेँ कि भनेर पल्याकपुलुक हेरेको सुवास सर लगायत केही उपस्थित व्यक्तित्वहरू आँखा टिलपिल टिलपिल बनाएर भावनामा पोखिँदै हुनुहुँदो रहेछ । कति मर्मस्पर्शी गीत ! सबैका मर्ममा छोएर सार्वजनिक भयो गीत । नवीनतामा मिठास र आकर्षण बोकेको गीतले पक्कै पनि गीतसङ्गीतका क्षेत्रमा लोकप्रियता कमाउनेछ ।
‘दिनमा पनि रातमा पनि कति रुनु रुन पनि
मनको पीर आँसुले कति धुनु धुन पनि ।
जहिलेदेखि यी आँखालाई ती आँखाले हेरिदिए
मुटु चिरा पर्ने गरी कति छुनु छुन पनि ।
घाममा तिमी, जूनमा तिमी बादल र बतासमा
फूलमा याद, पातमा याद कति हुनु हुन पनि ।’
गीत सकिनासाथ सबैका हातको तालीबाट मिठो धुन प्रवाहित भयो । कार्यक्रम रोचक ढङ्गबाट अगाडि बढ्दै गयो । बेलाबेला आसन ग्रहण भइरहँदा आफू बसेको आसनबाट सबैजना एकैपटक उठेर आफ्नो आसनको ग्रहण गर्दा कति सहज हुन्थ्यो होला जस्तो लागेर छेउमा बस्नुभएकी सुधा म्यामलाई सुनाएँ । उहाँले पनि सही थप्नुभयो । मनमनै यस्तै सहज कुरा सोचिरहेँ । मञ्चबाट कसैलाई पनि नछुटाई बिचबिचमा आसन ग्रहणको क्रम चलिरह्यो ।
समीक्षकका रूपमा उभिनुभएकी डा. गीता त्रिपाठी दिदीले गीतकार ‘धुर्कापानी’का गीतमा प्रतीकात्मक अर्थ खोज्ने ठाउँ धेरै रहेको बताउनुभयो । उहाँले ‘गीतमा व्यक्त अनगिन्ती रुवाइले हामी सबैको संवेदनालाई हल्लाइदिएको छ’ भनिरहँदा भर्खरै गीतले टिलपिलाएका आँखा सम्झिएँ । महारोदनको समयमा लेखिएको जस्तो लाग्ने यो गीत आँसुमा एउटा विरेचनको शक्ति भएको बताइदिँदा निर्धक्क आँसु झारेर रुन नपाएको पीडा महसुस भयो । उहाँले गीतको मर्म सामान्यभन्दा विशेष रहेकाले धुर्कापानीलाई दुःखान्त गीतकारका रूपमा चिन्न सकिने पनि बताई गीतको उचाइ स्पष्ट पारिदिनुभयो ।
कति सुन्दर कार्यक्रम । सबै वक्ता सङ्गीतका ज्ञाता । हरेक वक्ताका बोलीले प्रभाव पारिरह्यो । सङ्गीतका इतिहास सङ्गीतकार राजु सिंहले शब्द विन्यासलाई सङ्गीतले न्याय गरेको र गीतका शब्दलाई संगीत संयोजकले काँधमा राख्न सफल भएको बताउनुभयो । गीतका शब्द असाध्यै राम्रा छन्; शब्दले भन्न नसक्ने कुरा सङ्गीतले भन्न सक्नुपर्छ; यस गीतको सफलता यही हो भन्ने उहाँको भनाइ थियो । गीतकार र संगीतकारले राम्रो श्रोता बटुल्न सक्नुपर्ने बताउँदै गीतकार ‘धुर्कापानी’ र संगीतकार अधिकारीले गीतसङ्गीतमा नयाँ आयाम ल्याउन सफल भएको बताउनुभयो ।
बडो गज्जबको समीक्षात्मक शैली अर्को भेटियो । उहाँले बोलुन्जेल नहाँसी बस्न सकिएन । भौतिकशास्त्रका प्राध्यापक डा. राजुभाइ ट्याटले गीतका बाह्र पङ्क्तिमा व्यक्ति र प्राकृतिक सम्बन्धका विभिन्न कुरा गर्नुभयो । उहाँले भौतिकवादको कोणलाई सैद्धान्तिक अवधारणा बनाएर गीतको समीक्षा गर्नुभयो, जुन साँच्चै चाखलाग्दो विषय थियो । पहिला रातमा भन्ने कि दिनमा भन्ने दोधार रहेको कुरा बताउँदा अन्डा पहिले कि कुखुरी भनेझैँ हामी पनि सोच्न बाध्य भएका थियौँ । उहाँले निकै मिठासपूर्ण शैलीमा ‘मान्छे धेरैका अगाडि रुँदैन । ऊ रातमा रुन्छ । गीतमा पहिला रातमा भनेर पछि दिनमा भन्ने हो कि?’ भन्दै यी आँखालाई ती आँखाले भन्नुभन्दा ती आँखाले यी आँखालाई भने गीत अझ सुन्दर हुने थियो भन्ने तर्क राखी फरक कोणबाट समीक्षा गर्नुभयो । ओहो ! यसरी पनि त समीक्षा गर्न सकिने रहेछ नि ! सोच्दै शान्त बसिरहेँ ।
_hQt8M5zDC7.jpg)
सार्वजनिकीकरण समारोहमा गीतले सबैलाई भावुक बनाइरहेकै थियो । प्रमुख अतिथि वरिष्ठ कवि डा. नवराज लम्सालले डा. तारानाथ घिमिरे ‘धुर्कापानी’को गीतमा संवेदनामा बहुकोण रहेको बताउनुभयो । उहाँले ‘दिनमा पनि रातमा पनि... गीत फूलका पाँच–सातवटा बोटबाट एउटा–एउटा संवेदना टिपेर गीतको सुन्दर माला बनाइएको रहेछ’ भनेपछि त कति सुन्दर ढङ्गले तयार पारिएको गीत रहेछ भन्ने बोध भयो ।
‘दिनमा पनि रातमा पनि..’ बोलका गीतका लागि आफूले धेरैपटकको प्रयासमा सङ्गीत सिर्जना गरेको सङ्गीतकार एवं गायक विष्णु अधिकारीले बताउनुभयो । समाजशास्त्री एवं विश्लेषक डा. विष्णु दाहालले ‘सुगम संगीत ः आस्था र अवस्था’ विषयमा विद्वत् मन्तव्य राख्नुभयो । पछिल्ला दिनमा सुगम सङ्गीतलाई आयातीत र छाडा सङ्गीतले प्रभाव जमाइरहेको पनि उहाँले बताउनुभयो । ‘समाज बदलिँदै जाँदा प्रेमको प्रसङ्ग पनि बदलिँदो रहेछ । कथा बदलिन्छ । सङ्गीतमा पनि फ्युजन हुँदै जाँदो रहेछ । समाज जस्तो छ, त्यसै अनुसारका श्रोता तयार हुन्छन्,’ उहाँले भन्नुभयो, ‘यस्ता कुरालाई समयानुकूल बनाउने संस्थाको भने अभाव छ । भारतीयहरूले हिन्दी गीतमा नेपाली शब्द फ्युजन गरेजस्तै नेपाली गीतमा पनि त्यस्तो प्रवृत्ति भित्र्याउनुपर्छ ।’
भारतमा सुगम सङ्गीतमा धेरै परिवर्तन भए पनि नेपालमा फराकिलो अध्ययन हुन नसकेको प्रसङ्ग जोड्दा साँच्चै नेपालीहरू स्वतन्त्रताका नाममा स्वच्छन्द भइरहेको र त्यसको असर कला–साहित्यमा परेको बोध भयो । यसले हामी सबैलाई चिन्तित तुल्यायो ।
वास्तवमै हामीले देशमा राजनीतिक व्यवस्था परिवर्तन गरेर स्वतन्त्रता मात्र प्राप्त गरेनौँ, बरु हामी स्वच्छन्द पो भएछौँ । त्यसै गरी सङ्गीत पनि समाजसँगै स्वच्छन्द हुँदै गएको कुरा डा. विष्णु दाहालले भनिरहँदा मैले दुई–चार वर्षदेखि आइरहेको तिज गीतको विकृत रूप सम्झिएँ । जसलाई जे मन लाग्यो त्यही गर्ने प्रवृत्तिले कति घीनलाग्दा गीत बजारमा आएका छन् । यसरी नयाँ पुस्ताले अघिल्लो पुस्ताको गीत–सङ्गीतलाई विकास गर्नुको सट्टा स्तर घटाउने परिस्थिति देखिएको छ । डा. दाहालले सुगम सङ्गीतमा जति विम्ब प्रयोग हुन्छ त्यति नै गीत प्रभावकारी हुन्छ भन्दै लोकगीत पनि धेरै स्वच्छन्द भएको बताउनुभयो । यस्ता विकृत साङ्गीतिक भूकम्पले हाम्रा सुगम सङ्गीतलाई हल्लाउन सक्ने पीडा सङ्गीतका क्षेत्रमा रहेकाले यसलाई संस्थागत रूपमा अर्को पुस्तासम्म पुर्याउन सबै पक्षको पहल आवश्यक छ— निकै लामो तर भन्नैपर्ने कुराहरूको संयोजन थियो डा. दाहालको मन्तव्यमा । उहाँको मन्तव्य सुनिरहँदा कला–साहित्यमा विकृति भित्रिनुमा हामी सबै जिम्मेवार रहेछौँ जस्तो लाग्यो मलाई ।
त्रिभुवन विश्वविद्यालय पाटन संयुक्त क्याम्पसका राजनीतिशास्त्रका सहप्राध्यापक डा. तारानाथ घिमिरे ‘धुर्कापानी’को सार्वजनिक भएको यस गीतले हामी सबैलाई एकपटक मुटुमा भावनाको झड्का दियो, जसलाई हामी नजिकका साथीहरूले गीतको सफलताका रूपमा मूल्याङ्कन गर्यौँ । अनितासँगको सल्लाह अनुसार नै पशुपतितिर हिँड्यौँ हामी । बाटामा सुवास सर, सुधाजी, अनिता र म गीतको शक्तिको चर्चामा केन्द्रित भएका थियौँ । थाहै नपाई पशुपति आइपुगिएछ । पशुपतिमा गुञ्जिएको भक्ति सङ्गीत कानमा परेपछि अनिता र मैले पनि विष्णु अधिकारी सरलाई एक–एकवटा गीत सङ्गीत भर्न लगाई गाउन लगाउने योजना बनायौँ । हाम्रो रहर समयले पक्कै पूरा गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण