तारे होटलमा कोदोको तात्तातो सेल !
सारांश
- बुढानीलकण्ठस्थित होटल होलिडे इन रिसोर्टले बिहानको खाजामा कोदोका परिकारहरू प्रस्तुत गरेको छ।
- कोदोको सेलरोटी विशेष चर्चामा रह्यो र विदेशी पाहुनाहरूले पनि यसको स्वाद लिए।
- नेपाली खानालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन पाँचतारे होटलमा नेपाली किचन राख्नुपर्ने कुरा सेफ कँडेलले औंल्याए।
काठमाडौँ । नेपाली तारे होटलमा नास्तासँगै बारा, अमलेट, जेरीजस्ता परिकार लाइभ–किचनमार्फत प्रस्तुत गर्ने चलन पुरानै हो । कोदोका परिकारलाई उच्च महत्वसहित पस्केका उदाहरण भने दुर्लभ छन् ।
पछिल्लो समय कोदो, फापरजस्ता नेपाली रैथाने खानाले चर्चा पाइरहँदा बुढानीलकण्ठस्थित होटल होलिडे इन रिसोर्टले बिहानीको नास्तामा कोदोका परिकार लाइभ–किचनमार्फत प्रस्तुत गरेको छ ।
पाँचतारे होटलको दर्जामा रहेको सो रिसोर्टले गत शनिवार प्रस्तुत गरेका दर्जनौँ परिकारमध्ये कोदोको सेलरोटी विशेष चर्चामा रह्यो । ग्राहककै अगाडि तयार बासनादार सेलरोटीले नेपालीमात्र नभइ विदेशी पाहुनाको पनि मुख रसाएको थियो । रिसोर्टको डाइनिङ हल नै सेलरोटीको वासनाले भरिएपछि विदेशी पाहुनाले यसबारे विशेष चासो राखेका थिए । कोदोको सेलरोटी नौलो लागेर सोधपुछ गरेका उनीहरुले पछि भने रोटी थपी–थपी खाए ।
रिसोर्टमा रहेका कतिपय नेपाली पाहुनाले भने सेलरोटी प्याक गरेरै घर लान इच्छा देखाएका थिए । नेपाली परिकारको छुट्टै लाइभ–किचन रहेको स्टलमा कोदोको सेलरोटीका अतिरिक्त कोदोको मफिन, कोदोको प्यानकेक, शेर्पा समुदायमा प्रचलित रिकीकुर र पानको लड्डु प्रस्तुत गरिएको थियो । नेपाली खाना प्रवर्द्धन अभियान अन्तर्गत भोजनलिपि स्वादले उक्त परिकार पस्केको हो ।
नेपाली खानालाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउने लक्ष्यसहित खाना अनुसन्धानमा सक्रिय सेफ घनश्याम कँडेल नेतृत्वको टोलीले यसलाई मुर्तरूप दिएको हो । उनको टोलीमा सेफ इङ्वा सुब्बा, मानबहादुर तामाङ र सङ्गम मोक्तानले सघाएका थिए ।
विदेशी पाहुना बस्ने ठुला तारे होटलमा नेपाली मौलिक खानाको छुट्टै किचन र परिकारको व्यवस्था अनिवार्य गर्न सके नेपाली खानाको प्रवर्द्धन छिटो हुने यस क्षेत्रका जानकारहरू बताउँछन् ।
होटल सङ्घ नेपाल (हान)का अध्यक्ष विनायक शाह रैथाने खाना संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व भएको बताउँछन् । “नेपाली रैथाने खाना संरक्षण र प्रवर्द्धनसँगै यसको व्यावसायिकतालाई पनि जोड्नुपर्छ”, अध्यक्ष शाहले भने, “नेपाली खानाको धेरै माग छ । ठुला तारे होटलमा नेपाली मेन्यू आवश्यक छ ।”
अध्यक्ष शाहका अनुसार हानको ६०औँ वर्षगाँठको उपलक्ष्यमा ६० प्रकारका रैथाने खानाको परिकारसम्बन्धी पुस्तक प्रकाशनको तयारीमा छ । नेपाली पर्यटकको चहल पहल बढी हुने ठाउँ र विदेशी पर्यटक बस्ने तारे होटलमा अभियान केन्द्रित गर्ने योजना रहेको अभियानका संयोजक देवीप्रसाद सापकोटाले बताए । “नेपालीलाई नेपाली खानाबारे बुझाउने र सँगसँगै विदेशी पाहुना लक्षित कार्यक्रम बढाउने हो”, संयोजक सापकोटाले भने ।
सेफ कँडेलले नेपाली खानालाई प्रवर्द्धन गर्न पाँचतारे होटलमा नेपाली किचन अनिवार्य राख्नुपर्ने आवश्यकता औँल्याए । विदेशीले नेपालमा नेपाली परिकार खान सक्ने अवस्था सिर्जना गर्नुपर्ने उनको भनाइ छ ।
पर्यटन व्यवसायी रामप्रसाद सापकोटाले नेपाली खाना स्वस्थकर र पोसिला भएकाले मेनुमा यसलाई समावेश गर्नुपर्नेमा जोड दिए । “यसको प्रचार प्रसारमा केही समय लाग्छ । तर बिस्तारै कोदो फापर सिस्नोजस्ता परिकारलाई कलात्मक ढङ्गले प्रस्तुत गर्न सके सबै होटल रेस्टुराँमा विदेशी पर्यटकले खाना खाने अवस्था आउँछ”, उनले भने ।
अभियानले यसअघि विभिन्न रेस्टुराँमार्फत नेपाली खानाको प्रवर्धनात्मक कार्यक्रम भोजनलिपि स्वादका पाँच संस्करण सम्पन्न गरिसकेको छ । यस क्रममा ४० भन्दा बढी जिल्लामा उत्पादित कृषि उपजमा आधारित परिकार तयार पारिएको अभियानका संयोजक सापकोटाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण