बागमती प्रदेश : २ वर्ष ८ महिनामा ५ पटक विश्वासको मतको खेल
सारांश
- बागमती प्रदेशसभामा २ वर्ष ८ महिनामा ५ पटक विश्वासको मत लिने प्रस्ताव पेश भयो।
- हालसम्म ३ मुख्यमन्त्रीले विश्वासको मत लिएका थिए, जसमा माओवादी केन्द्र र कांग्रेसका मुख्यमन्त्री थिए।
- मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मंगलबार विश्वासको मत प्राप्त गरे, उनलाई एमाले र कांग्रेसका सांसदले समर्थन गरे।
हेटौँडा । बागमती प्रदेशसभाको २ वर्ष ८ महिनाको अवधिमा ५ पटक विश्वासको मतसम्बन्धी प्रस्तावको खेल चल्यो । २०७९ मंसिरको आम निर्वाचनपछि गठित प्रदेशसभामा हालसम्म तीन मुख्यमन्त्रीले ५ पटक विश्वासको मत लिएका हुन् ।
यस अवधिमा प्रदेशसभाबाट माओवादी केन्द्रका एक र कांग्रेसका दुई मुख्यमन्त्रीले विश्वासको मत लिए । मंगलबार मात्र बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले संसद्बाट विश्वासको मत पाएका छन् । उनको पक्षमा गठबन्धन दल एमालेका २७ र कांग्रेसका ३६ सांसदले मत दिए । कांग्रेसका एक सांसद भने बैठकमा उपस्थित रहेनन् ।
११० सदस्यीय बागमती प्रदेशसभामा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका बानियाँको विपक्षमा २२ र ७ मत तटस्थमा पर्यो । बैठकमा ९२ सांसदको उपस्थिति थियो भने १८ सांसद अनुपस्थित रहे ।
त्यसअघि २०८१ साउन १५ मा तत्कालीन मुख्यमन्त्री एवम् कांग्रेस संसदीय दलका नेता रहेका बहादुर सिंह लामाले संदबाट विश्वासको मत लिएका थिए । त्यस समय वर्तमान गठबन्धनबाट लामाले ६४ मत प्राप्त गरेका थिए । विश्वासको मत लिएर सरकार सुरक्षित गरेका उनले २०८१ साउन ९ देखि २०८२ साउन २० गतेसम्म सरकार सञ्चालन गर्न पाए ।
२०८२ साउन ९ मा उनीविरुद्ध वर्तमान मुख्यमन्त्री बानियाँले संसदीय दलको नेताबाट हटाउन अविश्वास प्रस्ताव दर्ता गराए र साउन १३ मा पारित गराए । साउन १४ मा भएको संसदीय दलको नेतामा लामालाई पराजित गर्दै बानियाँ दलको नेतामा मात्र निर्वाचित भएनन्, पार्टी शीर्ष नेतृत्वको दबाबमा साउन १८ मा मुख्यमन्त्रीबाटै आउट गराउन सफल भए । साउन १९ मा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले आह्वान गरेबमोजिम नेपालको संविधानको धारा १६८ को २ बमोजिम साउन २० मा बानियाँ मुख्यमन्त्रीमा नियुक्त भए ।
१६ महिनामा जम्कट्टेल, तीन पटक विश्वासको मत
प्रदेशसभा गठनको १६ महिनाको अवधिमै संसद्मा तीन पटक विश्वासको मतको खेल भएको थियो । तत्कालीन प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले फरक-फरक गठबन्धनबाट विश्वासको मत लिएका थिए ।
२०८१ साउन ६ मा चौथो पटक विश्वासको मत लिने तयारी गरेका उनले समीकरण अनुकूल नदेखेपछि पदबाट राजीनामा गरेका थिए । विश्वासको मत लिन आह्वान गरेको प्रदेशसभा बैठकमा उनले उल्टो राजीनामा नै दिएका थिए ।
तेस्रो पटक उनले ०८० चैत १९ मा विश्वासको मत लिएर सरकार सुरक्षित गरेका थिए । ०७९ पुस २५ गते संविधानको धारा १६८ को उपधारा (२) अनुसार मुख्यमन्त्री बनेका माओवादी केन्द्र संसदीय दलका नेता जम्कट्टेलले सत्ता समीकरणमा आएको फेरबदलसँगै कांग्रेसले समर्थन फिर्ता लिएपछि चैत १९ मा प्रदेशसभाबाट फेरि विश्वासको मत लिएका थिए ।

त्यस समय प्रदेशसभामा उपस्थित कुल १०८ सदस्यमध्ये उनको पक्षमा ५६ मत परेको थियो भने विपक्षमा ३७ मत । १५ सांसद तटस्थ बसेका थिए । उक्त समयमा जम्कट्टेललाई एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीका सांसदले विश्वासको मत दिँदा कांग्रेसले मात्र विपक्षमा मतदान गरेको थियो । राप्रपा र नेमकिपाका सांसद भने तटस्थ रहेका थिए ।
तत्कालीन मुख्यमन्त्री जम्कट्टेलले पहिलो पटक २०७९ माघ ३ मा विश्वासको मत लिएका थिए । त्यसवेला उनले एमाले माओवादी केन्द्र, राप्रपा र एकीकृत समाजवादीको गठबन्धनबाट विश्वासको मत पाएका थिए । उक्त समयमा जम्कट्टेलले कांग्रेससमेत गरी १०५ सांसदको विश्वासको मत पाएका थिए । त्यतिवेला उपस्थितमध्ये नेमकिपाले मात्रै उनलाई मत दिएको थिएन ।
जम्कट्टेलले गत २०७९ चैत १० मा दोस्रो पटक संसद्बाट विश्वासको मत प्राप्त गरेका थिए । प्रदेशसभाको बैठकबाट विश्वासको मतसम्बन्धी प्रस्तावमा उनको पक्षमा ६७ मत परेको थियो । उनलाई त्यतिवेला कांग्रेस, माओवादी र एकीकृत समाजवादीसहित हाम्रो नेपाली पार्टीले विश्वासको मत दिएका थिए । त्यस्तै विपक्षमा १७ जना सांसदले हस्ताक्षर गरेका थिए भने ७ सांसद तटस्थ थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘बाः एक योद्धा’ ले सार्वजनिक गर्यो कलाकार
-
कलाकार लुकाएर छायांकन सकेको ‘बाः एक योद्धा’ले सार्वजनिक गर्यो कलाकार
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण