बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

एउटा उखान र त्यसको नेपाली राजनीतिमा चरितार्थ

वैकल्पिक शक्तिहरू साँच्चै फरक छन् ?
बुधबार, २८ साउन २०८२, १७ : ०२
बुधबार, २८ साउन २०८२

एक सचेत नागरिक र शिक्षक अनि जीवनको आधाभन्दा बढी प्रारम्भिक समय बिताएको नाताले मातृभूमिप्रतिको मोह, चिन्ता र कर्तव्यबोध सधैँ हुन्छ । देशबाट टाढा रहेर पनि माया र चिन्ताको डोरी कहिल्यै टुट्दैन । देशमा के हुँदैछ, कहाँ पुग्दैछौँ, के गुमाउँदैछौँ भन्ने जिज्ञासा, चासो र बेचैनी निरन्तर मनमा उठिरहन्छ ।

दुर्भाग्यवश, पछिल्ला केही वर्षमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा देखिने प्रवृत्तिले अपेक्षा, उत्साह र सम्भावनाको ठाउँमा निराशा, अपमान र असभ्यताको घनघोर बादल मडारिएको महसुस भएको छ । शालीन संवाद, सभ्य अभिव्यक्ति र विवेकपूर्ण आलोचनाभन्दा बढी गाली–गलौज, दम्भ, ईर्श्या  र असंयमित राजनीति नै दिनहुँको खबर बनेका छन् ।

प्रधानमन्त्री केपी ओलीको ‘मुख कुल्ला... त्यो पर्दैन’, रवि लामिछानेको ‘सरकार म¥यो, हामीलाई जुठो प¥यो’, पूर्वप्रधानमन्त्री प्रचण्डको संसद्मा गरिएको टिप्पणी ‘लातले हानिन्छ÷हान्छु’, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको ‘कम्युनिस्ट शासन आयो भने रुन पनि पाइँदैन’, पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दको ‘मुसा प्रवृत्ति’ जस्ता अभिव्यक्तिहरू पटक–पटक आए । जसले लोकतान्त्रिक संस्कार र नागरिक अपेक्षामाथि चोट पु¥याएको छ । राजनीतिमा शालीनभन्दा आक्रोश र प्रतिशोध अनि गम्भीर छटपटी हाबी भएको देखाउँछ । 

नेताहरूका यी अभिव्यक्तिहरू गिज्याउने, पीडा दिने र कहिलेकाहीँ प्रतिकार गर्न उचाल्ने खालका लाग्छन् । यस्तोमा हालै पूर्वराष्ट्रपति विद्या भण्डारीको ‘म माझकिरातकी छोरी हुँ, खुट्टा कमाउँदिनँ’ ले ती सबै पुराना प्रसङ्गहरू एकैपटक स्मरण गराइदियो । 

बाल्यकालमा गाउँघरमा झगडा हुँदा सुनिन्थ्यो– बाबुले जन्माएको छोरो हो, फूर्ति नगर ।’ अहिले त्यही झल्को मष्तिष्कमा आउन थालेको छ । र यस्तो भाषिक, सांस्कृतिक र मानसिक प्रवृत्तिले आजको नेपाललाई कुन दिशातिर लैजाँदै छ ? यो सोचले फेरि एकपटक झस्कायो । 

‘सार्वजनिक जिम्मेवारी सम्हालिसकेका वा पदमै रहेका व्यक्तित्वहरूका भनाइ, व्यवहार र अभिव्यक्तिले समाजमा कस्तो प्रभाव पारिरहेको छ ? गहिरो चिन्ता जगाउँछ । उनीहरूका यस्ता भनाइले कलिला बालबालिकाको चेतना र भावी पुस्ताको सोचमा असर गहिरो हुन सक्छ । 

त्यही असर बेचैनी सम्झेर आज मैले केही लेख्न जरुरी ठानेँ । 

एउटा पुरानो तर अत्यन्त सान्दर्भिक नेपाली उखान छ – सौताको रिसले पोइको नाक काट्ने । 

सतही रूपमा हेर्दा यो पारिवारिक ईष्र्याको संकेतजस्तो लागे पनि यसको गहिरो अर्थ छ । राजनीतिक, सामाजिक र नैतिक मनोविज्ञानको व्यापक विमर्श यसमा लुकेको छ । बदला र प्रतिशोधको अन्धो दौडमा आफूले आफैंलाई क्षति पु¥याउने यस्तो प्रवृत्ति आजको राजनीतिक, सामाजिक र मानसिक धरातलमा दिन–प्रतिदिन तीव्र बनिरहेको देखिन्छ ।

यहाँ कुनै पनि व्यक्ति वा दलविशेषप्रति मेरो आक्रोश वा टिप्पणी कदापि होइन, यो एक नागरिकको हैसियतमा समग्र परिवेशप्रति गरिएको विमर्श हो, जहाँ विचार, व्यवहार, भाषा र प्रवृत्तिहरूको आलोचनात्मक समीक्षा गर्दै उखान–टुक्कालाई चेतनाको उपकरणका रूपमा प्रयोग गरिएको छ । 

‘सौताको रिसले पोइको नाक काट्ने’ भन्ने उखान आज केवल पारिवारिक होइन, राष्ट्रिय मनोदशाको प्रतिबिम्बजस्तो बनेको छ । त्यसैले यसले बोकेको गहिरो सन्देशलाई वर्तमान सन्दर्भमा समेटेर आफ्ना निजी भावना यस स्तम्भमा पस्केको हुँ । 

उखानभित्र लुकेको चेतावनी

नेपाली समाजमा उखान–टुक्का केवल हाँसो–ठट्टा वा लोकजीवनको रमाइलो सामग्री होइनन्; ती सामाजिक, सांस्कृतिक र मानवीय व्यवहारका सूक्ष्म प्रतिबिम्ब तथा चेतावनीका स्वर पनि हुन् । यिनीहरू हाम्रो चेतनाको गहिराइमा जरा गाडेका जीवनदर्शन हुन्, जसले सोच, प्रवृत्ति र व्यवहारको संरचनालाई उजागर गर्छन् ।

त्यस्तै ‘सौताको रिसले पोइको नाक काट्ने’ ले पहिलो नजरमा पारिवारिक द्वन्द्व, ईष्र्या र अनावश्यक प्रतिशोध भन्ने लागे पनि जब हामी यस उखानलाई पारिवारिक सन्दर्भभन्दा बाहिर ल्याएर समग्र राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक सन्दर्भमा राखेर हेरिन्छ, तब यसको गहिरो व्यंग्यात्मक शक्ति प्रकट हुन्छ । यो केवल सौताको कथा होइन, यो त्यो प्रवृत्तिको कथा हो, जहाँ व्यक्तिगत आक्रोशले सामूहिक विनाश निम्त्याउँछ र रिसले विवेक हराउँदा आफ्नै घाटा हुन्छ ।

वर्तमान नेपालको राजनीतिक व्यवहारले यस उखानको सारलाई जिउँदो उदाहरण बनाएको देखिन्छ । सत्ता र स्वार्थका नाममा नेताहरूले विपक्ष मात्र होइन, आफ्ना समकक्षीहरूलाई पनि कमजोर पार्न रणनीति र षडयन्त्र अपनाउँदा अन्ततः घाटा मुलुकलाई हुने गरेको छ । 

पार्टी फुटाउने, सरकार गिराउने, पद प्राप्तिका लागि अस्वाभाविक गठबन्धन गर्नेजस्ता व्यवहारले नेपाललाई न त दिगो राजनीतिक दिशा दिन सकेको छ न त स्थिर आर्थिक नीति नै । त्यसैले यो उखान केवल पारिवारिक नभई नेपालको राजनीतिमा दोहोरिइरहेको आत्मविनाशको कथा बनेको छ । 

उखानको अर्थ र सांस्कृतिक मनोविज्ञान

नेपाली संस्कृतिमा नाक केवल शरीरको अंग होइन, इज्जत, सम्मान, प्रतिष्ठा र अस्तित्वको प्रतीक हो । सौताले क्रोधमा श्रीमान्को नाक काट्छिन् भन्नुको अर्थ– उनले लिएको पीडा वा अन्यायको बदला त हो, तर समाजमा आफ्नै अपमान पनि । अन्ततः त्यो बदला उनको आत्म–विनाशमा परिणत हुन्छ ।

यही मनोवृत्ति आज नेपाली राजनीतिमा पनि दोहोरिइरहेको छ । 

कुनै नेता वा पार्टीले अर्काको सफलतामा ईष्र्या राखेर त्यो सफलतालाई कमजोर पार्न खोज्दा नाफा न त विपक्षलाई हुन्छ, न आफूलाई । बरु देशलाई नै घाटा हुन्छ । सरकारले राम्रा काम गर्न थालेपछि उसको जरा काट्ने होड चल्छ, बदनाम गर्न षड्यन्त्र र अफवाह फैलाइन्छ र गठबन्धनभित्र असन्तोष पैदा गरेर अस्थिरता निम्त्याइन्छ ।

यी सबै कार्यमा बाहिरी लक्ष्य विपक्षलाई कमजोर बनाउने देखिए पनि भित्री परिणाम देशको राजनीतिक सन्तुलन, नीति स्थायित्व र जनताप्रतिको विश्वासमाथि आघात पु¥याउनु हो । 

त्यसैले, यो उखान केवल सामाजिक कथन होइन, समसामयिक नेपाली राजनीति, नेतृत्व शैली र चेतनाको झल्को पनि हो ।

‘सौताको रिसले पोइको नाक काट्ने’ उखानले नेपालको राजनीतिमा प्रतिस्पर्धा र विचारको नभई, प्रतिशोध र अवरोधको खेल झल्काउँछ । हिजोका निरंकुश शासनविरुद्ध गरिएको जनआन्दोलनको आत्मा परिवर्तन र न्यायमा थियो, तर आज त्यसै आन्दोलनका उत्तराधिकारीहरू नै स्वार्थको आक्रोशमा विवेकको नाक काटिरहेका छन् ।

नेपालको राजनीतिक इतिहास फेरबदलको लहरले भरिएको छ, तर त्यो लहर बहुधा व्यक्तिको स्वार्थ र दलगत प्रतिस्पर्धामा सीमित छ । सत्तामा हुँदा कुनै परियोजना वा नीति राम्रो लाग्ने, प्रतिपक्षमा पुग्दा उही कुरा राष्ट्रघाती ठहरिने प्रवृत्तिले हाम्रो राजनीतिमा गहिरो जरा गाडेर बसेको छ ।

धेरै उदाहरणहरू छन्, जहाँ नेताहरूले सत्ता र प्रतिपक्षको भूमिकाअनुसार आफ्नो विचार नै बदलिदिन्छन् । अमेरिकी सहयोग कार्यक्रम (एमसीसी) को बहसको प्रसङ्ग लिउँ । सत्तामा हुँदा एमसीसीलाई अनिवार्य ठान्ने दलहरूले प्रतिपक्षमा पुग्नासाथ विदेशी हस्तक्षेपको नाममा विरोध गरे । अझ दुःखको कुरा त, एकै नेताको भाषणहरू र भूमिकाले उसको विचारको दिशा बदलिएको देखायो । 

त्यस्तै संसद् अवरुद्ध गर्ने प्रवृत्तिः जनताप्रति उत्तरदायी हुनुपर्ने स्थानलाई प्रतिशोधको अखडा बनाए । यसले समस्या समाधान होइन, समस्या सिर्जना गरायो । बहस र आलोचनाको नाममा नीति अवरोध गर्नु, आफ्नै प्रस्तावित योजना अर्काले कार्यान्वयन गर्न खोज्दा त्यसको विरोध गर्नु, देशलाई फेरि संक्रमणमा झार्नु, यी सबै क्रियाकलापले यही उखानलाई पुष्टि गर्छ । 

यस्ता प्रवृत्तिमा विचार र मूल्य होइन, केवल द्वैध व्यवहार र राजनीतिक अदूरदर्शिता हाबी देखिन्छ । परिणामस्वरूप न त जनताको भरोसा कायम रहन्छ, न त नीति–प्रक्रियामा निरन्तरता । राजनीति विचार र सेवाको क्षेत्र हो  । अहंकार र आत्मघाती प्रतिस्पर्धाको होइन, तर नेपाली राजनीतिमा सहकार्यको संस्कारभन्दा अविश्वासको खेती फल्दो छ । अनि, जब त्यही अविश्वासले मुलुकको दिशा डगमगाउँछ, हामीले प्रश्न गर्नैपर्छ —के नेताहरूले नाक काटेर देशको मुहार कुरूप बनाउँदै त छैनन् ?

आलोचना होइन, आत्मसमीक्षा आवश्यक छ

राजनीतिको मूल थलो हो, सार्वजनिक जिम्मेवारी । तर नेपालमा यस्तो स्थान आलोचना वा प्रतिकार बन्ने ठाउँ बन्न पुगेको छ । एक दलले अर्कोको भ्रष्टाचार उठाउँछ, तर आफ्ना कार्यकर्ताको मुद्दा गुम्स्याउँछ । सांसद बोल्छन्, आन्दोलन गर्छन्, तर आफ्नै गुटका कमजोरीमा मौन बस्छन् । त्यो आलोचना जनताको हितका लागि नभई प्रतिशोधका लागि हुन्छ भने त्यो उखानकै झल्को हो । 

हामी ‘अतिथि देवो भव’, ‘दूध–भातको सम्बन्ध’जस्ता आदर्श बोल्छौँ । तर, व्यवहारमा अपमान, घृणा र बिखण्डन हाबी देखिन्छ ।

सामाजिक सञ्जालमा चरित्र हत्या, सार्वजनिक मञ्चमा गालीगलौज र संस्थागत संवादको अभाव, यी सबै हाम्रो सामाजिक संस्कृतिका विडम्बना हुन् । यो व्यवहार पनि उखानमा अङ्कित सौताको रिस हो, जहाँ ईष्र्यामा जलिएर आफ्नैको सामूहिक इज्जत गुमाइन्छ ।

वैकल्पिक शक्तिहरू साँच्चै फरक छन् ?

विगतको राजनीतिक अस्थिरता, विभाजन, सत्ता स्वार्थ र जनतासँगको दूरीका कारण जनतामा निराशा गहिरिँदै गएको छ । यस्तो वेलामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जस्ता नयाँ नाम र अनुहारहरू राजनीतिक क्षितिजमा उदाए । उनीहरूले जनताको राजनीति गर्ने दाबी गरे, ‘पुराना जस्ता होइनौँ’ भन्ने आत्मविश्वासले गाउँदेखि सहरसम्म लहर नै सिर्जना भयो । खासगरी शिक्षित युवापुस्ता, बिदेसिएका नागरिक, पेसेवर वर्ग र निराश मतदाता ऊतिर आकर्षित भए ।

शब्द–शैलीमा साहस थियो, संकल्पमा ताजगी थियो । नेताहरूले हेलिकप्टर होइन, मोटरसाइकल चढे, भाषणमा गाली होइन, नीति बोल्ने शैली देखाए । त्यो क्षण लाग्थ्यो —सायद अब हामीले पुरानो रोगको औषधि पाएका हौँ । तर सत्ता नजिकिँदै जाँदा त्यो साहस धुमिल हुन थाल्यो ।

मन्त्री बनेपछि देखिएको असमझदारी, मन्त्रालय चलाउने तरिकामा पारदर्शिताको अभाव, सामाजिक सञ्जाल र मिडियासँगको टकराव, आलोचनाप्रति चिडचिडाहट । यी सबैले एकैपटक प्रश्न उठाए – के उनीहरू साँच्चै नयाँ थिए त ?

जब एक मन्त्री पत्रकारमाथि कठोर शब्द प्रयोग गर्छन्, जब आलोचना फेक न्युज भनेर पन्छ्याइन्छ, जब पार्टीभित्रको मतभेदलाई संवादले होइन, निष्काशनले सम्बोधन गरिन्छ । त्यो क्षणमा जनताले सोध्न थाल्छन् – के पुराना दलको अनुहार मात्र फेरिएको हो ?

अर्कोतर्फ, नयाँ दलहरूको संस्थागत संरचना अझै पनि व्यक्तिनिष्ठ छ । विचारभन्दा व्यक्तिलाई केन्द्रमा राखिने परिपाटी कायम छ । शासकीय अभ्यासमा ताजगी ल्याउने अपेक्षाभन्दा व्यवहारमा पुरानै प्रवृत्ति दोहोरिएको अनुभूति दिन्छ । कार्यशैली, निर्णयप्रक्रिया, जवाफदेहिताको स्तरमा ठुला राजनीतिक दलहरूसँग खासै अन्तर देखिएको छैन ।

युवाहरूले भने – अब हामीले बोल्ने मात्र होइन, सुन्ने पनि सिक्नुपर्छ । 

तर आलोचना सुन्ने संयमता यदि नयाँ शक्तिहरूमा छैन भने त्यसले उनीहरूको वैकल्पिक छवि खस्काउँछ ।

राजनीतिक विकल्प हुनु राम्रो हो, तर विकल्पले आफैंलाई ‘नयाँ’ सावित गर्न जीवन्त अभ्यास र आत्मालोचनाको आवश्यकता हुन्छ । केवल पुरानोलाई गाली गरेर नयाँपन देखिँदैन । फरक साबित हुन नयाँ अनुहार मात्र होइन, नयाँ प्रवृत्ति, विधि र विचारमा निरन्तरता देखिनु आवश्यक हुन्छ ।

आजको यथार्थ यही हो, उम्मेदवार परिवर्तन भयो, तर शैली उस्तै छ, बोली बदलियो, तर नीति प्रक्रिया उस्तै जटिल छ ।

रास्वपा मात्र होइन, पछिल्ला वर्षमा बनेका अन्य ‘नयाँ शक्ति’हरू पनि यस्तै दोधारमा छन् । सबैले पुराना पार्टीहरूको आलोचना त गरे, तर के उनीहरूले संस्थागत विकासमा लगानी गरे ? निर्णय प्रक्रिया लोकतान्त्रिक बनाउने प्रयास भयो ? आलोचनालाई सम्मानपूर्वक सुन्ने अभ्यास गरियो ?

‘फरक हौँ’ भन्ने दाबीमा विश्वास दिलाउन केवल भाषण होइन, व्यवहारमा पनि जिम्मेवारी चाहिन्छ । जवाफदेहिता नहुञ्जेल ‘हामी नयाँ छौँ’ भन्नु आफैंमा भ्रम सिर्जना गर्ने खेल मात्रै हो ।

यदि उत्तर ‘छैन’ हो भने फेरि हामी त्यही उखानमा आइपुग्छौँ — सौताको रिसले पोइको नाक त काटियो, तर घरको शिर नै झुकेको छ ।

आलोचना र आत्मसमीक्षाबिच दूरी

नेपालको वर्तमान राजनीतिक व्यवहार हेर्दा लाग्छ, हाम्रो राजनीतिमा आलोचना एउटा अस्त्र बनेको छ, तर आत्मसमीक्षा भने प्रायः गुमनाम शब्दजस्तै बेवास्तामा परेको छ । नेताहरू अरूको कमजोरीमा कति चनाखो छन् भने माइक समाउनेबित्तिकै गम्भीर स्वरमा भ्रष्टाचारको भण्डाफोर गर्छन्, षडयन्त्रको पर्दाफास गर्छन् । तर जब आफ्नै दल, आफ्नै सरकार, आफ्नै मन्त्री, आफ्ना नातेदारको नाम मिडियामा आउँछ, त्यसपछि उनीहरू मौन बस्छन्, उहिले दिएको भाषणमाथि आँखा चिम्लिन्छन् । 

हिजो जनतालाई चित्त नबुझेको कुरा आज आफैंले दोहो¥याउँदा नेताहरूलाई त्यो ‘परिस्थितिको बाध्यता’ भइदिन्छ । अरूलाई ‘देशघाती’ भन्ने नेताहरू आज त्यही सम्झौताको पक्षमा उभिएका छन् । अनि सोध्न मन लाग्छ — विचार बदलिएको हो कि स्वार्थले सोचलाई कब्जा ग¥यो ?

यस्ता क्रियाकलाप केवल राजनीतिक अस्थिरताको होइन, सांस्कृतिक ह्रासको सूचक पनि हुन् । किनभने जब नेतृत्व तहबाटै नीतिगत गम्भीरता र आत्मसमीक्षा हराउँछ, तब त्यो संस्कार जनतामा पनि फैलिएर जान्छ । आजका युवा राजनीतिप्रति आस्थाविहीन मात्र भएका छैनन्, राजनीतिको नै घृणा गर्न थालेका छन् । किनभने उनीहरूले विचारमा सिद्धान्तभन्दा बढी कटाक्ष देखेका छन्, भाषामा योजनाभन्दा बढी गाली सुनेका छन् ।

हामीले हाम्रो पुस्तालाई ‘सकारात्मक असहमति’ सिकाउन सकेनौँ । आलोचना सिकायौँ, तर समाधान खोज्ने संस्कार दिएनौँ । शंका गर्न सशक्त बनायौँ, तर परिवर्तनको विश्वास जगाउन सकेनौँ । यस्तै प्रवृत्तिका कारण सामाजिक संवाद र सहकार्यको संस्कृति कमजोर हुँदै गएको छ ।

नयाँ पुस्ता के देखिरहेको छ भने जो कसैलाई पनि गाली गरियो भने चर्चामा आउन सकिन्छ, तर धैर्यपूर्वक विचार राखियो भने ओझेलमा पर्छ । यो सोचले समाजमा घृणा, अविश्वास र विभाजनको बीउ रोपिरहेको छ ।

राजनीतिक दलहरूमा आलोचना सीमित होस्, आत्मसमीक्षा पनि होस् । गलत निर्णयमा सुधारको साहस होस् अनि जनतासँग संवाद गर्ने सभ्यता होस् । हाम्रा नेताहरूले यो कुरा बुझून् — आलोचना कमजोरी होइन, सुधारको अवसर हो । 

त्यो आत्मस्वीकृतिमा परिणत भएन भने फेरि त्यो उखान लागु हुन्छ । 

अन्तर्राष्ट्रिय दृष्टिकोणः समान उखान, फरक अभ्यास

यो उखान केवल नेपाली समाजको उपज होइन, यस्तै अर्थ बोकेका उखानहरू अन्य भाषामा पनि पाइन्छन् । अङ्ग्रेजीमा एउटा प्रचलित उखान छ – ‘कटिङ अफ त नोज् टु स्पाइट द फेस ।’ जसको अर्थ हो, कसैलाई हानि पु¥याउन खोज्दा उल्टो आफैंले घाटा खानु । 

हो पनि, आवेगमा वा प्रतिशोधमा आएको प्रतिक्रिया आत्मघाती हुन्छ । तर फरक भने अभ्यासमा छ । पश्चिमी मुलुकहरूमा जब राजनीतिमा यस्ता भावनात्मक, आवेगात्मक वा स्वार्थपूर्ण निर्णय हुन्छन्, त्यसलाई लोकप्रियता होइन, अपरिपक्वता मानिन्छ ।

राजनीतिक व्यक्तित्वहरू आलोचना भएपछि माफी माग्छन्, पदबाट राजीनामा दिन्छन् । संसद्मा प्रश्नोत्तर हुन्छ, सार्वजनिक जवाफदेहिता हुन्छ । नेपालमा भने आलोचना गर्दा गाली आउँछ, सत्य कुरा उठाउँदा ‘षडयन्त्र’को आरोप लाग्छ । संस्कार एउटै उखान, तर संस्कारको प्रयोग फरक ।

उदाहरणका लागि, ब्रिटेन वा क्यानडामा कुनै मन्त्रीले झुटो तथ्य बोलेर जनता भ्रममा पा¥यो भने त्यसको सार्वजनिक क्षमायाचना गरिन्छ, कैयौँले राजीनामा दिन्छन् । अमेरिकामा राजनीतिक बहस संसद्मा मात्रै होइन, स्वतन्त्र संस्थाहरू, विश्वविद्यालय, मिडिया र जनस्तरसम्म फैलिन्छ । आलोचनापछि आत्मसमीक्षा हुन्छ, नीतिमा पुनर्विचार हुन्छ ।

नेपालमा चाहिँ आलोचना र प्रतिकार केवल बदला र आक्रोशमा सीमित हुन्छ । नेताहरू आफ्नो कमजोरी छोप्न उल्टै आलोचकको बदख्वाइँ गर्छन्, मिडियामाथि दोष थोपर्छन् । विचारमा गम्भीर बहस होइन, चरित्रहत्या प्रमुख विधि बनेको छ । यही कारण हो, यहाँ दुई तिहाइ बहुमतले पनि स्थायित्व दिन सक्दैन, तर त्यहाँ सानो बहुमतले पनि दीर्घकालीन नीति लागु गर्न सक्छ ।

अर्को उदाहरण, युरोपेली राजनीतिमा जब एक दल पराजित हुन्छ, उसले सत्तारूढ पक्षलाई ‘देशघाती’ भन्ने कुरा सहज हुँदैन । बरु उनीहरू विपक्षमा बसेर नीति निर्माणमा रचनात्मक सहयोग गर्छन् । तर नेपालमा चुनाव हार्नासाथ विरोधीलाई सिध्याउने हतार हुन्छ । सत्तामा हुँदा पनि अघिल्लो सरकारको निर्णय उल्ट्याएर आफ्ना समर्थकलाई खुसी पार्न खोजिन्छ । यसले नीति निरन्तरता भत्काउँछ, संस्थागत सुदृढीकरणमा बाधा पु¥याउँछ ।

त्यसैले समान उखान भए पनि समाजले त्यसलाई कसरी ग्रहण गर्छ भन्ने कुरामा ठुलो भिन्नता हुन्छ । उखान आफैंमा दोषी होइन, त्यसको प्रयोग र त्यसले जन्माउने संस्कार नै निर्णायक हुन्छ । हामीले पनि आलोचना र स्वीकृतिबिच सन्तुलन बनाउने, सार्वजनिक निर्णयमा जवाफदेही बन्ने र रिस वा रागमा होइन, विवेक र दूरदृष्टिमा आधारित अभ्यासको परिपाटी बसाल्ने हो भने यो उखान केवल व्यंग्य होइन, चेतनाको घण्टी बन्न सक्छ ।

सामाजिक र सांस्कृतिक विडम्बनाः बाहिर शालीन, भित्र विषम

नेपाली समाजको परिचय जब हामी दिने गर्छौं, त्यसमा पारिवारिक आत्मीयता, धार्मिक सहिष्णुता र सांस्कृतिक संयमता विशेषगरी जोडिन्छ । हामी भन्छौँ – दूधभातको जस्तो सम्बन्ध भएको हाम्रो समाज हो, जसमा सबै एकापसमा घुलमिल छन् । 

अतिथिलाई देवता मान्ने परम्परालाई गर्वका रूपमा प्रस्तुत गर्छौँ । ‘साँढे मुहान नफोर्ने संस्कृति’ भन्नु हाम्रो व्यवहारिक बुद्धिमत्ताको प्रमाण ठानिन्छ । तर जब व्यवहारको काँचो दर्पणमा हेर्छौँ, यथार्थ झनै कठोर लाग्छ ।

सामाजिक सञ्जालको पाना खोल्नेबित्तिकै जहाँतहीँ गाली–गलौज, आरोप–प्रत्यारोप, खण्डन–प्रत्याख्यान र घृणाले भरिएका स्टाटसहरू देखिन्छन् । कुनै सार्वजनिक वक्ताले गल्ती बोल्यो भने त्यसको आलोचना गर्नु ठीक हो, तर यहाँ आलोचना व्यक्ति र वंशसम्म पुग्छ । सार्वजनिक बहस संस्कार र सन्तुलनको सट्टा चिच्याहट र चरित्र हत्याको अभ्यासजस्तो देखिन थालिसकेको छ ।

यो परिप्रेक्ष्यमा ‘सौताको रिसले पोइको नाक काट्ने’ उखानले सांस्कृतिक चेतावनी दिन्छ—हामीले जुन आत्मसम्मान र सहिष्णुता देखाउने नाटक गर्छौँ, त्यो केवल बाहिरी आवरण हो; भित्रभित्रै हामी आ–आफ्नो रिस, अहंकार, ईष्र्या र घृणालाई पालिरहेका छौँ ।

अझ गम्भीर कुरा त के छ भने, यो विडम्बना केवल राजनीतिक दलहरू वा नेताहरूमा मात्र सीमित छैन । यो विद्यालयदेखि सुरु भएर मिडिया, प्रशासन, सेवा क्षेत्र हुँदै, सामान्य नागरिक व्यवहारसम्म पुगिसकेको छ । कसैले नयाँ काम गर्छ, हामी ‘कतै दोष भेटिन्छ कि ?’ भनेर खोज्न थाल्छौँ । जसरी सौता आफ्नै घरको नाक काटेर ‘जवाफ’ दिन खोज्दछिन्, हामी पनि सामाजिक प्रतिस्पर्धालाई सामूहिक हानिमा परिणत गर्न हिच्किचाउँदैनौँ ।

हामीले आत्मसमीक्षा गर्न आवश्यक छ । हामी साँच्चिकै सहिष्णु छौँ ? साँच्चिकै अतिथि देवो भवःको अभ्यास गर्छौँ ? कि केवल संस्कृतिको नाममा बाहिरी मुखौटा लगाएका छौँ ?

हामीले आफ्नो असली इज्जत (नाक) जोगाउन चाहन्छौँ भने आलोचना–प्रतिक्रिया र सामाजिक व्यवहारबिच नैतिक अनुशासन, आदर र विवेकपूर्ण संवाद स्थापना गर्नुपर्छ । नत्र, समाजमा पनि उखानकै अर्थमा आत्मघाती प्रवृत्ति गहिरिँदै जानेछ, जहाँ घृणाले बौद्धिकताको नाक काट्छ र द्वेषले विकासको मुहान थुन्छ ।

उखानलाई व्यंग्य होइन, चेतना बनाउने समय 

अब हामीसँग प्रश्न उठ्छ — के ‘सौताको रिसले पोइको नाक काट्ने’जस्ता उखानहरू केवल बोलीचालीको हास्यसङ्केत हुन् ? कि ती हामीलाई आफ्नै स्वभाव र समाजको ऐनाबाट अनुहार हेर्ने अवसर पनि हुन् ?

आजको समय यस्तो उखान व्यंग्यभन्दा बढी चेतावनी बनिसकेको छ । यो केवल सौता–पोइको पारिवारिक कलह होइन, राजनीतिक दलहरूबिचको अन्धो विरोध, सामाजिक कटुता र व्यक्तिगत अहंकारको रूपान्तरण हो । जब नेताहरू एक–अर्कालाई केवल ध्वस्त पार्न उद्धत हुन्छन्, जब नागरिकहरू आफ्नै समुदाय र संस्थाको बेइज्जती गर्न रमाउँछन्, जब व्यक्तिहरू आलोचना सहन नसक्ने आत्मकेन्द्रित पात्र बन्छन्, त्यो वेला यो उखानले गहिरो चोट दिन्छ ।

अब यो बुझ्ने वेला आएको छ – ईष्र्या, प्रतिशोध, आक्रोश र घृणाको राजनीति वा समाज कहिल्यै विकास र समृद्धिको बाटो हिँड्न सक्दैन ।

यदि हामी साँच्चिकै फरक समाज चाहन्छौं भने,

–राजनीतिमा विचारको प्रतिस्पर्धा होस्, न कि व्यक्तिको विनास । नेताहरूले आत्मसमीक्षा गर्न सिक्नुपर्छ ।

–संविधान र शासन प्रणालीमा निरन्तरता र जवाफदेहिता होस्, न कि ‘तिमी गलत त म सही’को स्थायी खाल्डो ।

–आलोचना समाधानमुखी बन्नुपर्छ, विनाशकारी होइन ।

–सामाजिक व्यवहारमा सहिष्णुता होस्, रचनात्मक संवाद होस्, र मनको खुट्टा लचिलो हुनुपर्छ ।

–सामाजिक संवाद सहिष्णु र तथ्यमा आधारित हुनुपर्छ ।

–शिक्षा र भावी पुस्तामा समावेशी दृष्टिकोण – आलोचना र द्वेष होइन, सृजनशील विचार र आत्मविश्लेषणको संस्कार लागु हुनुपर्छ ।

हाम्रा उखान–टुक्काहरू हाम्रै मूल्य–मान्यताका प्रतिबिम्ब हुन् । ती केवल ऐतिहासिक साहित्य होइनन्, व्यवहारिक सन्देश हुन् । अब समय आएको छ—यी सूक्तिहरूलाई पाठ्यपुस्तकमा मात्र होइन; नेतृत्व, नीतिनिर्माण र नागरिक व्यवहारमा आत्मसात् गर्ने । नत्र, हामी निरन्तर आफ्नै नाक काट्ने सौता बन्नेछौंँ, कहिले राजनीतिक क्रोधमा, कहिले सामाजिक प्रतिस्पर्धामा र कहिले वैयक्तिक अहंकारमा ।

उखानको चेतावनी, राजनीतिमा आत्मसमीक्षा

उखान–टुक्का नेपाली समाजको मौलिक चिन्तन हो । यिनीहरू केवल लोकगीतजस्तै रमाइला भनाइ होइनन्, यी त जनजीवनका ऐनाहरू हुन्, जसमा हाम्रो सोच, स्वभाव र सामूहिक चेतना झल्किन्छ । ‘सौताको रिसले पोइको नाक काट्ने’ उखान कुनै साधारण कटाक्ष होइन, यो हाम्रो विगतका दुर्भाग्य, वर्तमानका विडम्बना र भविष्यका सम्भावित क्षतिहरूको सटीक व्याख्या हो ।

आज हामी राजनीतिक रिस, पार्टीगत अहंकार र वैयक्तिक महत्त्वाकांक्षामा डुबेर देशको ‘नाक’ आफैँ काटिरहेका छौँ । हामी आफ्नै कर्मबाट राष्ट्रको आत्मसम्मान गुमाइरहेका छौँ ।

अब पनि ढिलो भएको छैन । हामीले आत्मसमीक्षा गर्नुपर्छ । कसको दोष होइन, आफ्नो उत्तरदायित्व खोज्नुपर्छ ।

हामीले संवाद गर्नुपर्छ । गाली होइन, विचारको सहमति र बहसको संस्कृति निर्माण गर्नुपर्छ र हामीले उखानलाई केवल हाँसोको विषय होइन, सांस्कृतिक चेतना र सामाजिक मार्गदर्शनको स्रोत बनाउनु पर्छ ।

उखान टुक्का हाम्रो भाषा र भावनाको जीवन्त अंग हुन् । ती केवल विगत सम्झाउने सामग्री होइनन्, हामीलाई अझ गहिरो रूपमा बाँच्न सिकाउने मार्गदर्शन पनि हुन् । हाम्रो संस्कृतिको गहना मात्र होइन, चेतावनीको दियो पनि हुन् । त्यो दियो निभ्न नदिऊँ । अब तिनलाई केवल सम्झनु होइन, व्यवहारमा उतार्ने समय आएको छ ।

(दुल्लभ मावि, रेडन कलेजका पूर्वप्राचार्य, नेल्टाका पूर्वअध्यक्ष तथा नेपाल शिक्षक संघका पूर्वकेन्द्रीय वरिष्ठ उपाध्यक्ष डा. भट्ट कोवेन्ट्री विश्वविद्यालय ग्रुप, बेलायतमा प्राध्यापन गर्छन्  ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. चण्डिका भट्ट
डा. चण्डिका भट्ट
लेखकबाट थप