बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बाढी–पहिरोले ९ सडक पूर्ण अवरुद्ध, १४२ स्थानमा एकतर्फी आवागमन

शनिबार, ३१ साउन २०८२, १८ : ५१
शनिबार, ३१ साउन २०८२

सारांश

  • बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा ९ वटा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन्।
  • रसुवागढी-स्याफ्रुबेसी सडकखण्डमा मितेरी पुल बगाउँदा चीनसँगको आपूर्ति ठप्प भएको छ।
  • विभिन्न स्थानमा सडक अवरुद्ध हुँदा आवागमनमा समस्या भएको छ, सडक खुलाउने प्रयास जारी छ।

काठमाडौँ । देशका विभिन्न ठाउँमा आएको बाढी–पहिरोका कारण ९ वटा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने १४२ स्थानमा एकतर्फी आवागमन भइरहेको सडक विभागले जनाएको छ।

रसुवाको रसुवागढी–स्याफ्रुबेसी सडकखण्डमा कुलुङस्थित मितेरी पुल बगाउँदा चीनसँगको आपूर्ति पूर्ण रूपमा ठप्प भएको छ। भोटेकोसीले कटान गर्दा सो सडक दुई सातादेखि अवरुद्ध छ।

सुनसरी–संखुवासभा जोड्ने कोशी करिडोर पनि बरुण नदीमा बनेको डाइभर्सन बगाउँदा अवरुद्ध भएको विभागले जनाएको छ। यस्तै ताप्लेजुङको फाक्ताङ्लुङ ५ र ६ जोड्ने रानीपुलको बेलीब्रिज बाढीले बगाउँदा तमोर करिडोर रोकिन पुगेको छ।

सिन्धुपाल्चोकको कोदारीमा गएको पहिरोले अरनिको राजमार्ग बन्द भएको छ भने पश्चिम रुकुमको चोखाखोला, रिजगाड, उसुम खोला र छलगाड क्षेत्रमा गएको लेदोमाटोसहितको पहिरोका कारण भेरी करिडोर पूर्ण रूपमा अवरुद्ध छ।

त्यस्तै रोल्पाको पुतलाचौर–ग्राम्जिम क्षेत्रमा गएको पहिरोले सहिद राजमार्ग, बाग्लुङको काली खोलामा आएको पहिरोले रिडी–तानसेन–कोरला सडक र दैलेखको बग्डुल्लामा गएको पहिरोले खुलालु–जुम्ला सडक पूर्ण रूपमा अवरुद्ध भएको विभागले जनाएको छ।

अवरुद्ध सडक खोल्ने कार्य भइरहेको र आवश्यक उपकरण परिचालन गरी पहिरो हटाउने प्रयास जारी रहेको विभागले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप