शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

बागमतीमा कांग्रेसबाट थपिएका पाँच मन्त्री को कस्ता ?

आइतबार, ०१ भदौ २०८२, ०६ : ५१
आइतबार, ०१ भदौ २०८२

सारांश

  • बागमती प्रदेशका मुख्यमन्त्रीले मन्त्रीमण्डल विस्तार गर्दै कांग्रेसका ५ जना मन्त्री नियुक्त गरे।
  • नियुक्त हुने मन्त्रीहरूमा सहिद परिवारका सदस्य, सत्याग्रही र लामो समयदेखि राजनीतिमा सक्रिय नेताहरू छन्।
  • नियुक्त मन्त्रीहरूमा सुरेश श्रेष्ठ, कञ्चनचन्द्र बादे, प्रभात तामाङ, उर्मिला नेपाल र बिनु रायमाझी रहेका छन्।

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सरकारलाई पूर्णता दिँदै कांगेसका ५ मन्त्रीलाई नियुक्त गरे । प्रदेशका १४ मन्त्रालयमा एमालेका ६ र कांग्रेसका ८ मन्त्री नियुक्त गर्दै सरकारलाई पूर्णता दिएका मुख्यमन्त्री बानियाँले शुक्रबार नियुक्त गरेका ५ मन्त्री सहिद परिवारदेखि २०४२ को सत्याग्रहका साझेदारसम्म रहेका छन् ।

कांग्रेसको राजनीतिका क्रममा सहिद भएका शिव पौडेलकी श्रीमती बिनु रायमाझीदेखि सत्याग्रहका साझेदार कन्चनचन्द्र बादे, उर्मिला नेपाललाई मुख्यमन्त्री बानियाँले मन्त्री नियुक्त गरेका हुन् ।

सुरेश श्रेष्ठ

suresh shresthaभक्तपुर क्षेत्र नम्बर १ चाँगु प्रदेश समिति (क) बाट  निर्वाचित भएका सांसद सुरेश श्रेष्ठ चाँगुनारायण नगरपालिका वडा नम्बर–१ दुवाकोट बेसका स्थानीय हुन् ।

उनी बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्री नियुक्त भएका छन् । उनको पिता पनि नेपाली कांग्रेसबाटै राजनीति गर्ने भएकाले पनि बाल्यकाल देखि बिपीको विचारधाराबाट प्रभावित उनी विद्यालयमा अध्ययन गर्ने क्रममा नै नेविसंघमा आवद्ध भए । उच्च शिक्षा हासिल गर्ने क्रममा सक्रिय रूपमा राजनीतिमा लागेका श्रेष्ठ २०५७ सालमा भक्तपुर बहुमुखी क्याम्पसको स्ववियु सचिवमा विजयी भएका थिए ।

२०६१ सालमा  नेविसंघको भक्तपुर जिल्ला अध्यक्ष भएका श्रेष्ठले २०६२/०६३ को जन आन्दोलनमा नेतृत्वदायी भूमिकामा रहे । कांग्रेसको बाह्रौँ महाधिवेशनमा जिल्ला सदस्य भएका, तेह्रौँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि भएका श्रेष्ठ चौधौँ महाधिवेशनमा महासमिति सदस्यमा निर्वाचित भए ।

कन्चनचन्द्र बादे

kanchan bade

प्रजातन्त्र सेनानी बाबु गोपालदास बादे र आमा चिनीमाया बादेको छोरा कञ्चनचन्द्र बादे २०३६ को जनतसंग्रहकै ताका राजनीतिमा सक्रिय भइसकेका थिए । उनी १५ वर्षको उमेरमा नेपाल विद्यार्थी सङ्घको जिल्ला सदस्य भइसकेका थिए ।

२०४४ सालमा नेपाल विद्यार्थी संघ काभ्रेको कोषाध्यक्ष बनेका बादेले २०४७ सालमा नेविसंघको जिल्ला सभापति बनेर नेविसंघ काभ्रेलाई नेतृत्व प्रदान गरेका थिए । नेविसंघसँगै बनेपाको राजनीतिमा होमिएका उनी २०५१ र २०५८ मा गरी २ पटक नेपाली कांग्रेस बनेपाको नगर सभापति भए । २०५८ मा नेपाल तरुण दलको जिल्ला अध्यक्ष बनेका बादे २०६० सालमा तरुण दलको केन्द्रीय सदस्य भएका थिए ।

नेपाल ट्रेड युनियन कांग्रेस काभ्रेका संस्थापक अध्यक्ष रहेका बादे २०६४ मा नेपाली कांग्रेस काभ्रेको कोषाध्यक्ष भएका थिए । २०५७ मा भएको पार्टीको १० औँ र २०६१ मा भएको ११ औँ महाधिवेशनमा उनी महासमिति सदस्य समेत भएका थिए । पार्टीको १२ औँ र १३ औँ महाधिवेशनमा काभ्रे क्षेत्र नं ३ को सभापति भएका बादे १४ औँ महाधिवेशनबाट बागमती प्रदेश महामन्त्रीमा निर्वाचित भएका थिए ।

२०३६ सालपछिका सबै जनआन्दोलनमा सहभागी भएका उनले २०६२/०६३ सालको जनआन्दोलन घाइते उपचार कोषको संयोजक भएर पनि काम गरेका थिए । २०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा कांग्रेसको तर्फबाट बनेपा नगरपालिकाको उपमेयर निर्वाचित उनी २०७० मा संविधानसभा सदस्य निर्वाचित भएका थिए । सो समयमा उनी उद्योग राज्यमन्त्री भएका थिए ।

उनी २०७९ मा कांग्रेसबाट प्रतिनिधि सभा २ अन्तर्गतको प्रदेश सभा ख मा प्रत्यक्षतर्फ निर्वाचित भएका थिए । नेपाली कांग्रेस संसदीय दलका मुख्य सचेतक रहेका उनी शुक्रबार सामाजिक विकास मन्त्री नियुक्त भएका हुन् ।

प्रभात तामाङ

prabhat tamangरसुवाको गोसाईकुण्ड गाउँपालिका–५ का स्थानीय प्रभात तामाङ संघीयता कार्यान्वयन पछि निरन्तर प्रदेशसभा सदस्य रहेका छन् । अर्थतन्त्र र वित्त क्षेत्रमा रुचि राख्ने उनी २०७४ र २०७९ मा प्रदेशसभा सदस्यमा रसुवा निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित भएका थिए । २०४८ मा नेपाली कांग्रेसको साधारण सदस्य बनेका तामाङ २०६४ सालमा क्रियाशील सदस्य रहे ।

२०६८ मा रसुवा कांग्रेसको जिल्ला सदस्य भएका उनी २०७२ महा समिति सदस्य निर्वाचित भएका थिए । २०७८ महा समिति सदस्य र प्रदेश कार्य समिति सदस्यको जिम्मेवारीमा रहेका उनी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त भएका छन् ।

उर्मिला नेपाल

urmila nepal

नेविसंघबाट राजनीति सुरु गरेकी उर्मिला नेपाल प्रदेशको युवा तथा खेलकुद मन्त्री नियुक्त भएकी छिन् । उनले २०४२ को सत्याग्रहदेखि नै सक्रिय राजनीतिमा अघि बढेकी उनी २०४६ सालको आन्दोलनमा सक्रिय सहभागी भएकी थिइन् । तत्कालीन समयमा उनको राजनीतिक कर्मथलो तेह्रथुम जिल्ला रहेको थियो । तेह्रथुमको म्याङलुङ क्याम्पसको नेविसंघ सदस्य बनेकी उनी सोही समयमा सत्याग्रहमा सहभागी भएकी थिइन् ।

२०४४ मा नेपाली कांग्रेसको तेह्रथुम जिल्ला कार्यसमितिको कोषाध्यक्ष र महिला सङ्घको सभापति पदमा रहेर काम गरेकी उनले तेह्रथुममा रहँदा महिला सङ्घको सभापतिको रूपमा लगभग १६ वर्ष (तीन कार्यकाल) जिम्मेवारी सम्हालेकी थिइन् ।

उनी पटक–पटक प्रहरी गिरफ्तारीमा पनि परेकी थिइन् । विशेषगरी ६२/६३ को जनआन्दोलनको क्रममा थापाथलीमा भएको प्रदर्शनमा उनीहरूको समूहमाथि गोली समेत चलाइको थियो । तर, उक्त गोली केही पर खस्दा आफ्नो ज्यान जोगिएको उनी सुनाउँछिन् ।

२०७० को संविधान सभा सदस्य निर्वाचनमा धादिङ क्षेत्र नम्बर ३ बाट टिकट पाएकी उनले चुनाव लड्ने अवसर पाइन् । धादिङबाट टिकट पाए पनि त्यहाँको परिस्थिति अनुकूल नभएपछि उनले फिर्ता गर्नु परेको थियो । सो पश्चात् उनको नाम समानुपातिक सूचीमा परेकी थिइन् । २०७४ मा पनि उनको नाम संघको समानुपातिक सूचीमा पर्‍यो । तर, सांसद बन्ने अवसर पाइनन् ।

श्रीमानको जागिरको सिलसिलामा तेह्रथुमबाट ललितपुरको बसाइसराइ सरेकी उनी करिब ३० वर्षदेखि राजनीतिमा सक्रिय छिन् । हाल उनी ललितपुर क्षेत्र नम्बर २ अन्तर्गत महालक्ष्मी नगरपालिका–९ मा बस्दै आएकी छिन् । उनी २०७९ को निर्वाचनमा कांग्रेसको समानुपातिक कोटामा सांसद बनेकी हुन् ।

बिनु रायमाझी

binu rayamajhiस्कुले जीवनमा राजनीतिमा खासै चासो नराख्ने बिनु रायमाझी २०६० मा विवाह पश्चात् भने राजनीतिको मूलधारमा उदाएकी हुन् । रत्ननरग नगरपालिका १० की बिनु स्कुलमा रहँदा राजनीति बारे त्यति धेरै सोच नै थिएन । उनी विवाह पछि भने कांग्रेस चितवनको पुवा पुस्ताको नेताको ब्याकबोन नै बनिन् ।

सक्रिय राजनीतिबाट टाढा रहेकी उनको विवाह तरुण दलका नेता शिव पौडेलसँग २०६० मा भएको थियो । श्रीमानलाई राजनीतिमा सघाउनु उनको नियमित प्रक्रिया थिए । भरतपुर–१० का शिव पौडेलसँग प्रेमपछि मागी विवाह गरेकी विनुको श्रीमान् तत्कालीन समयमा तरुण दलको केन्द्रीय पार्षद् थिए । श्रीमानको प्रेरणाबाट उनी कांग्रेसको क्रियाशील सदस्य बनेकी उनी राजनीतिमा रहेपनि जिम्मेवारी भने नलिइ पार्टीमा लागिन् । २०६८ को घटना पछि भने उनी राजनीतिको मैदानमा उत्रिइन ।

२०६८ को पुस २ गते भरतपुर कारागारको घटनामा उनका श्रीमान् शिव पौडेलको हत्या भयो । कारागार भित्रै संघातिक आक्रमणबाट शिव पौडेलको हत्या भयो । त्यति बेला शिव पौडे तरुण दल चितवनको अध्यक्ष रहेका थिए । तत्कालीन समयमा हत्या आरोपमा पुरपक्षमा कारागार गएका शिवलाई सदाका लागि गमाएकी थिइन् । शिवलाई २०६८ माघमा अदालतले सफाइ दिएपछि उनको सपना बोकेर बिनु राजनीतिको मैदानमा होमिएकी हुन् ।

उनी २०६९ मा पहिलो पटक कांग्रेस भातृ सङ्गठन तरुण दलको कोषाध्यक्ष बनिन् । राजनीतिमा उनको यो नै पहिलो औपचारिक जिम्मेवारी हो । श्रीमानको निधन पछि उनी २०७३ मा तरुण दल चितवनको अध्यक्ष पदमा चुनाव लडिन् । सो निर्वाचनमा उनी ४ मतले पछि परिन् ।

सो पश्चात् उनी सङ्गठन र पार्टीको कुनै पनि जिम्मेवारीमा छैनन् । राज्यले उनका श्रीमान् शिव पौडेललाई सहिद घोषण गरेको छ । उनी पार्टीको १३ औँ महाधिवेशनबाट महाधिवेशन प्रतिनिधि बनेकी छिन् । २०७९ को निर्वाचनमा उनलाई कांग्रेसले समानुपातिक कोटामा बागमती प्रदेश सांसद बनाएको हो । उनी हाल बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्री नियुक्त भएकी छिन् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप