सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

‘नयाँ भनेर क्रिम पाउडर लगाएर आएकाहरूले हामीलाई प्रतिस्थापन गर्न सक्दैनन्’

आइतबार, ०१ भदौ २०८२, १० : ०१
आइतबार, ०१ भदौ २०८२

सारांश

  • माओवादी केन्द्रका सचिव राम कार्कीले मजदुर, किसान र श्रमजीवी जनताले समाजको नेतृत्व गर्नुपर्ने बताए।
  • उनले पुँजीवादको विकल्पमा समाजवादी व्यवस्था आउने र त्यसको नेतृत्व किसान श्रमजीवी वर्गले गर्ने दाबी गरे।
  • कार्कीले पार्टी विघटनको प्रक्रियामा जानुपर्ने र युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा जोड दिए।

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सचिव राम कार्कीले अब समाजको नेतृत्व मजदुर, किसान र श्रमजीवी जनताले गर्ने बताएका छन् । मजदुर, किसान र श्रमजीवी जनताको मुद्दा बोक्ने विचार नै अबको नवीनतम राजनीति भएको उनले बताए ।

हाल संसारभर नै पुँजीपति वर्गले समाजको नेतृत्व गरिरहेको उल्लेख गर्दै उनले पुँजीवादको विकल्पमा समाजवादी व्यवस्था आउने र त्यसको नेतृत्व किसान श्रमजीवी वर्गले गर्ने दाबी गरे । सबैभन्दा नवीनतम राजनीति भनेको नै मजदुर किसानको नेतृत्वमा चल्ने राज्य व्यवस्था रहेको उनको भनाई छ । 

उनले अब समाजको नेतृत्व सामन्त वा पुँजीपतिले गर्न नसक्ने दाबी गरे । नयाँ भनेर  क्रिम पाउडर लगाएर आएकाहरूको पनि राजनीतिमा खासै अर्थ नभएको उनको भनाई छ । यद्यपि किसान, मजदुरको प्रतिनिधि भन्ने दलहरूले आफ्नो औचित्य पुष्टि गर्न नसकेको खण्डमा भने नयाँ शक्तिको उदय हुने सचिव कार्कीले बताए । 

उनले माओवादी पार्टीले २०६३/२०६४ पछि पार्टीलाई जुन कार्यदिशामा लैजानुपर्ने हो त्यतातिर लैजान नसकेको बताए । उनकाअनुसार पार्टीले मजदुर किसानको राजनीतिक वर्चस्व हुने खालको एउटा नयाँ कार्यदिशा, रणनीति अगाडी सार्नुपर्ने थियो । तर आफूहरू सतही कुरामा नै रुमल्लिएर बसेको उनको भनार्ई छ । सोही कारण जनता, मजदुर, किसानलाई माओवादी पार्टी पनि पुरानै संसदीय व्यवस्थावादी पार्टी भएको भन्ने भान परेको उल्लेख गरे । 

सबैभन्दा बढी महत्त्व अक्षर, ज्ञानलाई दिनुपर्नेमा माओवादी पार्टी त्यसमा चुकेको उनले बताए । युग अनुकूल, समय अनुकूलको कार्यदिशा विकास गर्न नसकेको उल्लेख गर्दै उनले त्यो कार्यदिशा विकास गर्न कुनै छलफल नै हुन नसकेको बताए । तर आफूले भने निरन्तर यो मुद्दालाई उठाइरहेको उनले बताए । 

नेपाल १९९० देखि नै विश्व पुँजीवादी प्रणालीमा बाँधिएकोले यहाँका उद्योग, कलकारखाना सबै निजीकरण भएको उनको दाबी छ । स्वास्थ्य, शिक्षा जस्तो कुरालाई निजीकरण गरिएर व्यापारको विषय बनाइएको उनले बताए । राजनीतिक पार्टी खासगरी नेकपा एमालेको ठुलो हिस्सा शिक्षा र स्वास्थ्यको व्यापारमा गएको उनको आरोप छ । समाजवादको बीज अङ्कुरण हुने ठाउँ शिक्षा र स्वास्थ्य नै व्यापारमा गएको उनले बताए । नेपालको शिक्षा व्यवस्था फेर्न खोज्ने हो भने कम्युनिस्ट पार्टीभित्रबाट ठुलो प्रतिवाद हुने उनको भनाई छ । 

यहाँको शिक्षा, स्वास्थ्य, कृषि प्रणालीलाई फेर्नमा आफूहरू चुकेको उनले बताए । नेपालको कृषि अहिले उत्पादक र उपभोक्ताको बीचमा दलालतन्त्र बनेको उनको भनाई छ । त्यो दलाल तन्त्रलाई भत्काउन सजिलो नभएको उनले बताए । उनले पार्टी सरकारमा जाँदा पनि किसानको पक्षमा काम गर्न नसकिएको बताए ।  

पार्टी विघटन गर्न सकिएन भने पुनर्गठन हुँदैन

माओवादी सचिव कार्कीले पार्टीलाई विघटन गर्न सक्नुपर्ने बताए । पार्टीको, सत्ता सबै कुराको निश्चित आयु हुने भएकोले पार्टीलाई निरन्तर विघटनको प्रक्रियामा लैजानुपर्ने उनको भनाई छ । पार्टीलाई आवधिक र आंशिक रूपमा विघटन गर्न सक्नुपर्ने भन्दै उनले विघटन गर्न सकिएन भने पुनः गठन गर्न नसकिने बताए । पार्टीलार्ई विघटन गरेर नयाँ कार्यदिशा दिनुपर्नेमा उनको जोड छ । कार्यदिशाको मूल केन्द्रमा मजदुर र किसानलाई राखेर उनीहरूको पक्षपोषण हुने खालको कार्यदिशा लिएर अगाडी जान सकिएमा पार्टी रिभाईबल हुने उनको भनाई छ । कम्युनिस्ट आन्दोलनमा यस्तो हुने उनले बताए । 

महाधिवेशनमा पार्टी विघटन भएपछि त्यसलाई फेरि नयाँ शिराबाट पुनर्गठन गरेर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । यो प्रक्रिया अपनाउन सकिएन भने महाधिवेशन पनि चण्डी, रुद्री, सत्यनारायणको पूजा लगाएजस्तो मात्रै हुने उनको भनाई छ । कर्मकाण्डी महाधिवेशन, सम्मेलन, बैठकको कुनै अर्थ नहुने उनले बताए । आलोचनात्मक चेत कुण्ठित भए त्यो अगाडी बढ्न नसक्ने उनको भनाई छ । हाल पार्टीभित्र भइरहेको अन्तर्विरोध राम्ररी बाहिर आउन नसकेको भन्दै उनले मजदुर किसानबाट पार्टी टाढा भएको हुँदा पार्टीले भोगिराखेको यातनाका बारेमा पार्टीभित्र विभिन्न धारणा अभिव्यक्त भइरहेको बताए । उनले यो अन्तर्विरोधलाई महाधिवेशनमा लगेर महाविवादको रूपमा चलाउनुपर्ने आवश्यकता औँल्याए । 

कार्यकारी भूमिकामा निरन्तर रहनुहुँदैन 

उनले पार्टीको नेतृत्व गर्ने जिम्मेवारी युवा पुस्तालाई दिनुपर्नेमा जोड दिए । खास उमेरमा पुगेपछि, अनुभव गरिसकेपछि पनि कार्यकारी भूमिकामा रहनु उचित नहुने उनको भनाई छ । क्रान्तिको नेतृत्व गर्न, अगुवाइ गर्न पार्टीको कार्यकारी पदमा बसिराख्न जरुरी नभएको उनले बताए । युवा नयाँ उत्साह भएकाहरूलाई पदाधिकारी ल्याउनुपर्नेमा कार्कीले जोड दिए । वैचारिक रूपमा, राजनीतिक रूपमा अगुवाइ गर्ने गरी सङ्गठनमा पनि नयाँ प्रकारको संरचना बनाउन आवश्यक रहेको उनको भनाई छ । उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हटाएर मात्रै पनि समस्याको समाधान नहुने बताए । एउटा व्यक्तिलाई मात्रै फेरेर केही नहुने भन्दै उनले पूरै कार्यदिशा, रणनीति र नेतृत्व फेर्नुपर्ने आवश्यकता  औँल्याए । 

पार्टीको कार्यदिशा, रणनीति, नेतृत्व सबै क्रान्तिकारीकरण हुनुपर्ने उनको भनाई छ । यस्तै उनले पारदर्शिता हुनुपर्नेमा जोड दिए । प्रजातन्त्र र समाजवादसँग पारदर्शी शब्दको अविभाज्य सम्बन्ध रहेको उल्लेख गर्दै उनले हाम्रो जीवन लुकेको छ भने जनताले शङ्का गर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप