जडीबुटी कम्पनीलाई अधिकार सम्पन्न प्राधिकरणका रूपमा अघि बढाउन जरुरी
सारांश
- बारामा जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको समस्या र समाधानबारे पूर्वमन्त्रीको धारणा प्रस्तुत गरिएको छ।
- कम्पनीलाई पुरानै अवस्थामा फर्काउन र प्रतिस्पर्धात्मक बनाउन आवश्यक कदम चाल्नुपर्ने कुरा उल्लेख छ।
- जडीबुटी खेतीको विकास र विस्तारका लागि सरकार र सरोकारवाला सबैको समन्वय आवश्यक रहेको बताइएको छ।
४५ वर्षअघि तत्कालीन सपही गाउँ पञ्चायत अन्तर्गत तामागढी जङ्गलको उत्तरतर्फ जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी स्थापना भएको हो । कम्पनी यहाँ आएपछि हातमा सिप भएका/नभएका, लेखपढका नभएकाले पनि रोजगारी पाए । प्रत्यक्ष/अप्रत्यक्ष रूपमा यहाँको आर्थिक समृद्धिका लागि उद्योगले ठुलो योगदान पुर्याएको छ ।
जडीबुटी कम्पनी बारा जिल्लाकै लागि गौरव र प्रतिष्ठाको विषय हो । यो क्षेत्रमा कम्पनी आएपछि कोल्हवीका जनता कृषि मजदुरको रूपमा काम गर्ने र यहाँबाट जडीबुटी उत्पादन गरेर प्रशोधित तेल बिक्री, वितरण गर्न थाले । अनुसन्धानकर्ताको रूपमा देश/विदेशबाट विज्ञहरू आउँदा यहाँका किसानले खेती सम्बन्धी ज्ञान पाएका छन् ।
धान उत्पादन गरेर जडीबुटी लगाउँदा धानको उत्पादन पनि बढेको किसानहरूको भनाइ छ । खेर गएका जमिनलाई सदुपयोग गरेर थोरै लगानीमा धेरै उपलब्धी भएको छ ।
कम्पनीले बारामा जडीबुटी खेती सुरु गरेको केही वर्षपछि आसपासका गाउँमा पनि यो खेती सुरु हुन थाल्यो । खासगरी मेन्था, सेट्रोनेला, लेमनग्रास र पछिल्लो अवस्था क्यामोमाइल खेती हुन थाल्यो । जडीबुटी खेतीले खाद्यान्न बालीका लागि मलको रूपमा काम गर्ने र उत्पादन वृद्धि हुने गर्दछ । धानबाली भित्र्याएपछि अतिरिक्त समयमा जडीबुटी खेतीबाट ठुलो लाभ पनि लिन सकिने भएकाले किसान आकर्षित भएका थिए । कम्पनीले गाउँगाउँमा गएर जडीबुटी खेती विस्तार गर्ने, किसानलाई आवश्यक परामर्श दिने, प्राविधिक रायसुझाव दिने काम गर्यो ।
केही वर्ष यता यो कम्पनीमा आउने कर्मचारीहरूको जागिरे मानसिकताका कारण जडीबुटी खेतीको प्रभाव र विस्तार कम भयो । यो खेतीप्रति किसानहरू आकर्षित हुन छोडे । कम्पनी स्थापना भएको ४४ वर्षमा पनि जडीबुटी खेतीका लागि आकाशे पानीमा निर्भर रहनुपर्ने अवस्था छ । डिजल, पेट्रोल खर्चिएर सिँचाइ गर्दा लागत बढेर प्रतिफल आउन सकेको छैन । विद्युतीकरणको लागि मैले पनि पहल गरेको छु । विद्युतीकरण हुन सकेमा उत्पादन लागत कम भएर यसले मुनाफा दिन सक्छ ।
जडीबुटी खेतीलाई आधुनिक ढंगले विस्तार गर्न जरुरी छ । कम्पनीले किसानद्वारा उत्पादित जडीबुटी खरिदको सुनिश्चितता गर्नुपर्छ । लागतका आधारमा उत्पादनको मूल्य निर्धारण गर्नुपर्छ । लगानी गरेर घाटा खाने हिसाबमा कोही किसान यो खेतीतर्फ आकर्षित हुन सक्दैनन् । त्यसैले यी कुराहरूलाई पनि जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीले हेर्नुपर्छ ।
जडीबुटी उत्पादनमा लागेका मजदुर वा कृषकहरूको जीवनस्तरमा सुधार ल्याउने ढंगबाट हामी जानुपर्छ । दुर्भाग्यको कुरा भन्नुपर्छ, पछिल्लो समय जो–जो मन्त्री आउनुभयो, उहाँहरूले आ–आफ्नै जिल्लामा जडीबुटी खेतीका कुरा गर्नुभयो । जाजरकोटमा विस्तार भएको छ, रुकुममा विस्तार भएको छ । यसरी मन्त्रीले आफ्नो जिल्लामा जडीबुटीको कार्यक्रम लैजानेभन्दा पनि विश्वबजारमा बिक्री वितरण गर्नसक्ने गरी काम गरौँ ।

जडीबुटी कम्पनीलाई चौतर्फी आक्रमण भएको छ । निजी क्षेत्रले पनि आक्रमण गर्ने, जिम्मेवार तहमा रहेकाले पनि लापर्बाही रूपमा छाड्ने र कर्मचारीहरू पनि आएर दिन कटाउने, तलब, भत्ता पकाउने हिसाबले विगतमा काम भयो ।
सिंहदरबार वैद्यखानासँग समन्वय गरेर कम्पनी आफैँले औषधिहरू उत्पादन गर्ने, अन्तर्राष्ट्रिय बजारकोे खोजी गर्न सम्बन्धित निकायहरूसँग समन्वय गर्नुपर्छ । अहिलेको मुख्य समस्या भनेको लागत अनुसारको प्रतिफल पाउन नसक्नु हो । जडीबुटी खेतीमा धेरै मेहनत गर्नुपर्छ । मजदुर धेरै लाग्ने, ज्याला महँगो भएकाले उत्पादन लागत बढ्ने तर बजारमा भाउ नपाउने समस्या छ ।
जडीबुटी खेती र यसमा प्रयोग भएका प्रविधिहरूका विषयमा छिमेकी मुलुक भारत र चीनसँग अनुभव लिन सकिन्छ । यस भेगको जनप्रतिनिधिको रूपमा उद्योग मन्त्रालयसँग मैले समन्वय गरिरहेको छु । उद्योगमन्त्री र वनमन्त्रीलाई ‘तपाईंहरू हिँड्नुस्, स्थलगत भ्रमण गर्नुस्’ भनेर प्रस्ताव राखेको छु ।
आज मानव स्वास्थ्य र स्वस्थ जीवन, दीर्घायुका लागि जडीबुटी अत्यन्तै आवश्यक छ । ४४/४५ वर्षको इतिहास बोकेको कम्पनीलाई स्थानीय तहले संरक्षण, संवर्द्धन र सम्बन्धित निकायसँग समन्वय गर्न पहल गर्नुपर्छ । एउटा व्यक्ति लागेर पहल हुने कुरा होइन, यसमा सिङ्गो समाज नै लाग्नुपर्छ । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको काठमाडौँस्थित कार्यालयमा दुर्भाग्यवश ठुलो आगलागी भयो । धेरै उत्पादन पनि नष्ट भए । सरकार यसलाई पुनर्निर्माण गर्न प्रयासरत छ । लगानी पनि गरिरहेको छ । दीर्घकालीन रूपमा उपलब्धि हुने हिसाबले लगानी गर्नुपर्छ ।
जडीबुटीमा काम गरेका पुराना कर्मचारी, कृषकहरू, देश/विदेशमा जडीबुटी सम्बन्धी अध्ययन गरेका विज्ञहरूसँग समन्वय गरेर मार्गचित्र बनाएर कम्पनी र तालुकवाला मन्त्रालय हिँड्नुपर्छ । मन्त्री, सचिव र विभागीय नेतृत्वले जडीबुटी कम्पनीको महत्त्व बुझ्नुपर्छ । तीनै तहका सरकारले आपसी समन्वय र तालमेल गरेर अगाडि बढ्नुपर्छ ।
अहिले जडीबुटी कम्पनीको केन्द्रीय कार्यालयमा महाप्रबन्धक तथा सञ्चालक समिति अध्यक्ष पद रिक्त छ । सरकारले यही क्षेत्रको विज्ञहरूलाई सञ्चालक समितिमा नियुक्त गर्नुपर्छ । कम्पनीलाई प्राधिकरणको रूपमा लैजान ऐन बनाउनुपर्छ । जडीबुटी कम्पनीले उत्पादनमात्रै गर्ने होइन, देश/विदेशमा बिक्री वितरण गर्न पाउनेगरी अधिकार सम्पन्न प्राधिकरण बनाएर लैजानुपर्छ । यसमा विज्ञहरूलाई परिचालन गर्न सक्नुपर्छ ।
सङ्घीय सरकारको प्रतिनिधिको रूपमा मैले सदनमा विशेष समय लिएर जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीका आवश्यकता, कम्पनीले समाजमा दिएका लाभहरूको विषयमा बोलेको छु । कम्पनीको तामागढी प्रमुखसँगको सल्लाह, सुझाव लिएर मन्त्री र सचिवकहाँ पनि कुरा राखेको छु । विद्युतीकरणको समस्यामा मैले मधेस प्रदेशको विद्युत् प्राधिकरण प्रमुखलाई जानकारी गराएको छु ।
कोभिड अघिसम्म कम्पनीले उत्पादन गरेको सुगन्धित तेल अमेरिका लगायत युरोपियन देशहरूमा निर्यात हुन्थ्यो । पछिल्लो समय नेपालमा उत्पादन भएको सुगन्धित जडीबुटी तेलले अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी उपस्थिति पाउन सकेन, जसले गर्दा किसानहरूले पनि उत्पादन लागत अनुसारको मूल्य नपाउँदा निराश हुने अवस्था आयो ।
कम्पनीलाई पुरानै अवस्थामा फर्काउन सबै सरकारी कार्यालयहरूले कम्पनीको उत्पादनलाई मात्रै प्रयोग गरेर विदेशी आयातलाई प्रतिस्थापन गर्न सक्नु पर्छ । केही वर्षदेखि निजी लगानीका जडीबुटी उत्पादन कम्पनीहरू बजारमा आएका छन् ।
निजी कम्पनीको तुलनामा सरकारी कम्पनी अनेकन् कानुनी जटिलताहरूले गर्दा प्रतिस्पर्धामा जान नसक्दा पछाडि परेका हुन् । यसलाई अब स्वायत्त अधिकार दिएर निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न सक्नेगरी कानुनी जटिलतालाई फुकाउनु पर्छ ।
हामीकहाँ बर्सेनि करोडौँ लागतमा सौन्दर्य सामग्रीहरू विदेशबाट आयात भइरहेको छ । यो पुँजी पलायन हुन नदिन प्राकृतिक सौन्दर्य सामग्री बिक्री हामी आफैँले उत्पादन तथा वितरण गर्न सक्नुपर्छ । विगतका कमी–कमजोरीबाट हामीले सिक्नुपर्छ । यो कम्पनी यसैगरी छोडिदिने हो भने धराशायी हुन्छ ।
अहिले जडीबुटी कम्पनीको तामागढी शाखामा अनुभवी युवा नेतृत्वको टिम आएको छ । केही गरौँ भन्ने उहाँहरूको हुटहुटीलाई हामी सबैले सम्मान र सहयोग गरौँ ।
(पूर्वमन्त्री तथा बारा–१ का सङ्घीय सांसद मैनालीसँग गरिएको कुराकानीमा आधारित ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण